जीवन खत्री
यसो एकछिन आफैँलाई नियालेँ, आज
कति कति भैसकेछ
लामो स्वास भरेर फोक्सोमा, नसुस्ताएको
कति कति भैसकेछ
मुस्कानको मुहान बोक्ने ओठ नमुस्कुराएको
भोकको स्वादले जिब्रोलाई कैयौँ पटक गिज्याईसक्यो, मौन
कपडाको रङले शरीरलाई कयौँ पटक सम्झाईसक्यो, मौन
मौनताको यो श्रृङखला कहिले टुट्छ?
र कहिले हुन्छ एकबारको जीवनजस्तो जीवन
म कहाँ हराई रहेछु?
आनन्दको ऐनामा हेरेर
उदास अनुहारमा दल्नुथियो खुसीको अलिकति क्रिम
र उज्यालो पार्नुथियो मुहार
कामै कामको पहाड उक्लिन छाडेर
रोकिनु थियो लाँकुरीको शितलमा केहीबेर
र गाउनु थियो जिन्दगीको रमाईलो गीत
घरमा अँध्यारो नहोस् भनेर बत्ती किन्दा किन्दै
जीवनमा कतिबेला साँझ आईसकेछ
सपनाको राजमार्गमा गाडी कुदाउँला भन्दा भन्दै
पाईतालामा कतिबेला खिल बसिसकेछ
अहो !
आफैँलाई बिर्सेर कहाँ हिँडेको हुँ म?
जबकि
मृत्युको ठेगाना नजिक नजिक हुँदैछ
र मलाई आफैँलाई नियाल्नेसम्म फुर्सद रहेनछ ।
*
कवि परिचयः कवि जीवन खत्री रामेछापमा जन्मेका हुन् । विसं २०६१ सालमा “मेरो कथा मेरो ब्यथा” कविता प्रकाशनसँगै साहित्य क्षेत्रमा पदार्पण गरेका हुन् । उनी साहित्यका कविता, गीत, गजल, मुक्तक, हाइकु एबम् कथा लगायतका विधामा कलम चलाउँछन् । उनका २ गजल सङ्ग्रह ‘मेरो शिखर टाढा छ‘(२०६५), ‘जीवन कसका लागि‘(२०६९) तथा एक कविता सङ्ग्रह ‘आगोको वर्णमाला’ (२०७५) प्रकाशित छन् । हाल उनी दक्षिण कोरियामा छन् ।
