जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई

मुख्य समाचार

१४ पुस २०८०, मन्थली, रामेछाप

जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८० को जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई प्रदान गरेको छ ।
रामेछापको मन्थलीमा जगदीश घिमिरे प्रतिष्ठानको आयोजनामा भएको १० औं जगदीश स्मृति साहित्यिक सभामा प्रमुख अतिथि कवि तुलसी दिवसले साहित्यकार काफ्लेलाई ५१ हजार नगद राशिको सो पुरस्कार समर्पण गरेका हुन् ।
जगदीश घिमिरे प्रतिष्ठानले हरेक वर्ष रामेछापमा साहित्यसभा गरी साहित्य र पत्रकारिता क्षेत्रमा राष्ट्रिय रुपमा योगदान पुर्‍याएका व्यक्ति छनौट गरी पुरस्कार प्रदान गर्दै आएको छ । जगदीश स्मृति पुरस्कार यसअघि मनु ब्राजाकी, रोचक घिमिरे, डा. सन्दुक रुइत र ध्रुव सापकोटाले प्राप्त गरिसकेका छन् ।
साहित्यकार जगदीश घिमिरेको स्मृतिमा आयोजित १० औं साहित्यसभामा प्रमुख अतिथि तुलसी दिवस, नगेन्द्रराज शर्मा, माधव काफ्ले, उषा शेरचन, हरिकृष्ण काफ्ले, मनोज न्यौपाने, अश्विनी कोइराला, डा. सुमन कर्माचार्य, नविन केसी, रमेश ढुंगेललगायत कवि/कवयत्रीहरुले आ-आफ्ना रचना वाचन गर्नुका साथै जगदीश घिमिरेले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।
रामेछापको मन्थलीमा विसं. २००२ सालमा जन्मिएका दिवङ्गत घिमिरे कविता, कथा, उपन्यास, नाटक विधामा कलम चलाउँथे । उनको अन्तर्मनको यात्राले मदन पुरस्कार प्राप्त गरेको थियो ।

Leave a Reply