दशैंको भिन्नता

कविता

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक)

डा. बमबहादुर थापा जिताली

कसैलाई दशैंको दशा
कसैलाई सधैँको तमासा।।

कसैलाई दशैं आयो, कसैलाई दशा
महँगीले ओठ तालु,सुके सबै नशा।

पैसा भए ग्याँस छैन,चामल भए मासु
गाईजात्रे दशैं बन्यो,मिली हाँसो आँसु।।

कसैको छ हातभरि भण्डारको साँचो
कसैको छ दुई छाक खान पनि खाँचो।

छोरा छोरी रुँदै भन्छन् मेरो नाना खोई
यौटा सारी पनि छैन,भन्छे फेरि जोई।।

कुखुराले पनि भन्छ तन्काएर घाँटी
बजारमा जाँदाखेरि केही छैन खाँटी।

नौ दुर्गाको मन्दिरमा गए ठूला टाउका
पसलमा आएका छन् शुद्ध मासु माउका।।

टीका थाप्न जाउँ भने खहरेको डर
कहरमा कुम्ल्याउनेको के हुन्छ र भर।

हुँदा खाने रोएका छन् हुने खाने हाँसे
रित्तो खल्ती भित्तो पुग्यो भन्छन् आसेपासे।।

ㅁ ㅁ