कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार समर्पण

मुख्य समाचार

८ कार्तिक २०८३, काठमाडौं

कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२ लेखिका पद्मावती सिंहलाई एक समारोहबीच अर्पण गरिएको छ ।
ललितपुरस्थितको एक होटलमा आयोजित कार्यक्रममा कवि गोपाल पराजुलीले प्रमुख अतिथिको हैसियतमा सो पुरस्कार अर्पण गरे । साथै आफ्नो मन्तब्यको क्रममा उनले सर्जकलाई सम्मान र पूजा गर्ने यस्तो पवित्र कार्यमा साक्षी बन्न पाउँदा खुसी व्यक्त गर्दै पुरस्कृत व्यक्तित्व सिंहलाई शुभकामना व्यक्त गरे ।
सो अवसरमा प्रकाश सायमी, मातृका पोखरेल र भागिरथी श्रेष्ठ लगायतका व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्दै सम्मानित स्रष्टा सिंहको सक्रिय र सार्थक लेखनको कामना गरेका थिए ।
बि.सं. २००४ सालमा ओमबहालमा जन्मेकी पद्मावती सिंहले ‘पत्थरका देवता’ कथा मार्फत साहित्यिक क्षेत्रमा प्रवेश गरेकी हुन् । उनका आधा दर्जन बढी कथा सङ्ग्रहहरु प्रकाशित छन् र उनी गायनमा पनि रुचि राख्छिन् तथा साहित्यिक गतिबिधिमा पनि सकृय रहन्छिन् । उनी महिला साहित्यकारहरूको संस्था गुञ्जनकी पूर्ब अध्यक्ष हुन् ।
सोही कार्यक्रममा अर्को स्रष्टा सरला श्रेष्ठको शब्द तथा पद्मावती सिंहको स्वर, कृष्णदेव रुपाखेतीको निर्देशन, हरीश कल्पित एवं अनु श्रेष्ठको अभिनय रहेको राजु सिंहद्वारा संगीतवद्ध म्युजिक भिडियो ‘म मौन रहिरहें’ समेत लोकार्पण गरिएको थियो ।
उक्त कार्यक्रमका कविहरु विश्व विमोहन श्रेष्ठ, सरला श्रेष्ठ, उषा शेरचन र डा. गीता त्रिपाठी लगायतले आ-आफ्ना रचना वाचन गरेका थिए ।
समारोहको सुरुमा सङ्गीतकार राजु सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने डा. सृजना शर्माद्वारा पुरस्कृत व्यक्तित्व पद्मावती सिंहका साहित्यिक ,साङ्गीतिक , पाटोहरुलाई प्रभावकारी रुपमा प्रस्तुत गर्दै उनका साहित्यिक एवं कृतित्वमाथि प्रकाश पारेकी थिइन् ।
समारोहको समापन कवि डाँडा साहित्य समाजका अध्यक्ष तथा समारोहका सभापति एल.बी. क्षेत्रीद्वारा आफ्ना कविता वाचनसहित गरिएको थियो ।
सो कार्यक्रमको उद्घोषण सिर्जना शर्माले गरेकी थिइन् ।
स्मरणीय छ, “कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार” कवि तथा गीतकार सरला श्रेष्ठद्वारा आफ्ना मातापिता सुवर्णजङ्ग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको नाममा स्थापना गरेकी हुन् ।