साहित्यिक पत्रकार संघबाट पाँच सर्जक सम्मानित

मुख्य समाचार

२९ साउन २०८३, काठमाडौं

साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा पाँचजना सर्जकहरू संस्कृतिविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा.मदन चित्रकार,कवि ज्ञान उदास र कलाकारद्वय चैत्यदेवी सिंह तथा सन्तोष पन्तलाई सापस विशिष्ट सर्जक सम्मानद्वारा सम्मानित गरिएको छ।
सभाका सभापति राधेश्याम लेकाली तथा प्रमुख अतिथि के.के.कर्माचार्यद्वारा दोसल्ला ओढाएर ढाका टोपी र फूलको माला लगाइदिएर अभिनन्दन-पत्र समर्पण गरिएको थियो। सो अवसरमा व्यथित काव्य डायस्पोरा सम्मान २०८२
दीपा राई पुन(अमेरिका)लाई समर्पण गरिएको थियो।
कार्यक्रमको शुरूमा संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमाथि संक्षेपमा प्रकाश पारेका थिए।
प्रमुख अतिथि पूर्व कुलपति के.के.कर्माचार्यले अभिनन्दित व्यक्तित्वहरू कोही आफ्नो बालसखा रहेको र कोही पर्दा मार्फत् चिनेको बताए।साहित्यिक पत्रकार संघले यसरी स्रष्टाहरूको चयन गरेर सम्मान तथा अभिनन्दन गर्ने गरेकोमा प्रशंसा गर्दै उनले अभिनन्दित व्यक्तित्वहरूलाई बधाई दिएका थिए।
समालोचक प्रमोद प्रधानद्वारा अभिनन्दित व्यक्तित्वहरूको संक्षिप्त परिचय दिइएको थिये।परिचय दिने क्रममा उनले बयासी वर्षीय ज्ञान उदास कवि साहित्यकार मात्र नभई एक पत्रकार समेत भएको बताए।उदासका हालसम्म आठ थान कृतिहरू प्रकाशित भइसकेको र हस्ताक्षर नामक सङ्ग्रह समेत सम्पादन गरेको बताए।सम्मान तथा अभिनन्दन कार्यक्रम बाहेक स्रष्टाहरूको कृति प्रदर्शनी र अप्रकाशित कृतिहरू प्रकाशन गर्नेतर्फ सोच्नुपर्ने बताए।
त्यसैगरी,प्रा.मदन चित्रकारका विषयमा बोल्दै प्रमोद प्रधानले मदन चित्रकारलाई विरासतमा प्राप्त प्रतिभा भएको बताए।
प्रख्यात चित्रकार तेजबहादुर चित्रकारका पुत्र मदन चित्रकार का कला सम्बन्धी थुप्रै पुस्तकहरू रहेको र केही अंग्रेजीमा समेत रहेको बताए।०३४ मा पहिलोपटक चित्रकला प्रदर्शनी गरेका मदन चित्रकारका चित्रकलामा धर्म र दर्शन,मन्त्र र श्लोकहरू समेत देखिन्छ भन्दै उनका चित्रहरू ज्यामितीय आकारमा रहेको बताए।चित्रकारले कला सम्बन्धी प्राध्यापन पनि गर्दैआएको बताए।
कलाकार चैत्यदेवी सिंहका बारेमा बोल्दै प्रधानले कुमारी चलचित्रकी नायिकाले २०२२ सालमा आमा चलचित्रमा आमाकै भूमिका खेलेको बताए।सोभियत संघ रूसबाट कलामा एम.ए.गरेकी सिंह विदेशमा चलचित्र सम्बन्धी अध्ययन गर्ने पहिलो व्यक्ति समेत भएको बताए।चैत्यदेवी अभिनय,नृत्य र गीति नाटक कलाकार मात्र नभई चलचित्र सह-निर्देशक समेत भएको बताउँदै उनले चलचित्र’जीवन रेखा’को प्रसङ्ग उठाएका थिए।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका बारेमा संक्षेपमा प्रकाश पार्दै प्रमोद प्रधानले डा.श्रेष्ठ इतिहास,पुरातत्त्व तथा संस्कृति सम्बन्धी कार्यमा समर्पित रहेको बताए।प्राध्यापक सेवामा रहेका श्रेष्ठका कृतिहरू प्रशस्त रहेको बताउँदै अरूले नगरेको काममा उनलेे हात हालेको बताए।नेवारी संस्कृति क्षेत्रमा अनुसन्धान र सोध गर्दै आएका श्रेष्ठको सिद्धपोखरी,सुकुल ढोका आदि कृतिको चर्चा गरेका थिए।
त्यसैगरी,कलाकार सन्तोष पन्तको बारेमा बोल्दै समालोचक प्रमोद प्रधानले अभिनयमा विविधता ल्याउने कलाकारको रूपमा चिनिएको बताए।रेडियो नाटक,स्टेज प्रोग्राम,सिरियल मा छुट्टै पहिचान बोकेका पन्तले प्रतिस्पर्धाको युगमा आफू लाई अरुभन्दा अलग रूपमा प्रस्तुत गर्न सफल रहेको बताए
अभिनन्दित व्यक्तित्वहरूले पनि आ-आफ्नो मन्तव्य राखेका थिए।मन्तव्यका क्रममा उहाँहरूले खोजी खोजी सम्मान तथा अभिनन्दन गरेकोमा आभार प्रकट गर्दै धन्यवाद पनि दिएका थिए।मन्तव्यका क्रममा कवि ज्ञान उदासले आफ्नो दुइटा मुक्तक वाचन गरेर सुनाएका थिए।
सो अवसरमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’,कलाकार मदनदास श्रेष्ठ तथा इतिहासविद् प्रा.डा.सुरेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा किरण खरेलको शब्द,चन्द्रराज शर्मा,शिवशंकरको सङ्गीत रहेको तारादेवीले गाएको गीत’आँखाहरूले रून नखोजे,ओठहरूले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला’ बोलको गीतलाई गायिका सरिता सायमीले गाएर सुनाएकी थिइन्।
कार्यक्रमको अन्तमा कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको उद्घोषण साहित्यकार सविता श्रेष्ठ’बेहोसी’ले गरेकी थिइन्।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’, काठमाडौंको सहयोगमा)