१७ साउन २०८३, काठमाडौं
बानेश्वर बहुमुखी क्याम्पसको बानेश्वर सर्जक समाज तथा दायित्व वाङ्मय प्रतिष्ठान लगायत एघार वटा विभिन्न साहित्यिक संघ संस्थाहरूको आयोजनामा लेखकद्वय महेश प्रसाईं तथा तेजेन्द्र प्रसाईद्वारा सम्पादित ‘एउटा अथक योध्दा गोपाल कोइराला’त्यागी’कृति लोकार्पण तथा सतासी वर्षीय गोपाल कोइराला’त्यागी’लाई देशको सीमा सम्बन्धी कार्य र साहित्यमा समेत उल्लेखनीय योगदान पुर्याए बापत स्वस्ती वाचन गर्दै फूलको माला लगाएर सम्मान गरियो ।
सो अवसरमा प्रमुख अतिथि पूर्व सचिव डा.द्वारिकानाथ ढुङ्गेल ले मोफसलमा बसेर सीमाको चासो राख्ने गोपाल कोइराला राष्ट्रसेवी र समाजसेवी भएको बताउँदै सीमा सम्बन्धी कार्य मा उनको ठूलो योगदान रहेको बताए।
इतिहासविद् प्रा.डा.सुरेन्द्र केसीले देशको विभिन्न सीमा क्षेत्र को आफूले स्थलगत भ्रमण गरेको प्रसङ्ग उठाउँदै राज्यबाट सीमाङ्कनको काम अझै नसकिएको बताए।कोइराला सीमा नाकामा बसेर लगातार तीस वर्षदेखि यसैमा संलग्न भएर काम गर्दै आएको र उनको सक्रियतामा हराएको निकै क्षेत्रफल जग्गा देशको नाममा ल्याउन सफल भएको बताए।
लोकार्पित कृतिमाथि संक्षिप्त समीक्षात्मक टिप्पणी गर्दै डा. हरि सिलवालले कवि महेश प्रसाईंलाई आधुनिक मोतीराम भट्टको संज्ञा दिएर आजको कार्यक्रम इतिहास बुझ्न योगदान बुझ्न आयोजना भएको लाग्छ भनेर बताए।
समालोचक गोपी मैनालीले त्यागी समाजसेवी तथा राष्ट्रसेवी भएको बताए।बीसदेखि तीसका दशकसम्मका त्यागीका कृतिहरूमा बिम्बको बढी प्रयोग भएको बताउँदै त्यसबखतको राजनीतिक अवस्थाको स्मरण गरेका थिए। देश विदेशमा समेत प्रचारित भइसकेका स्रष्टा गोपाल त्यागी हामीलाई प्रेरणा दिनका लागि भए पनि सयौँ वर्ष बाँच्नुपर्छ भन्दै दीर्घजीवन र सुस्वास्थ्यको कामना गरेका थिए।
सम्मानित व्यक्तित्व गोपाल कोइराला’त्यागी’ले आफू १०० वर्ष बाँच्ने बताउँदै सबैको आशीर्वाद चाहेको बताए र यो सम्मानले खुसी लागेको बताउँदै आयोजक संस्थाप्रति आभार प्रकट गरेका थिए।
कार्यक्रमका सभापति कवि महेश प्रसाईंले त्यागी स्वाभिमानी र राष्ट्रप्रेमी भएको बताउँदै शताब्दीमा पुग्न लागेका उनको सक्रियता र क्रियाशीलताको प्रशंसा गरेका थिए।कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गर्दै धन्यवाद पनि दिएका थिए।
कार्यक्रममा डा.विनोद बम्जन,प्रा.खेम कोइराला बन्धु,ठाकुर शर्मा भण्डारी,युवराज मैनाली,प्रा.डा.घमानसिंह खड्का तथा क्या.रोशन कोइरालाले शुभकामना मन्तव्य राख्दै गोपाल कोइराला’त्यागी’को व्यक्तित्व र सीमा स्तम्भ सम्बन्धमा उनले पुर्याएको योगदान बारे संक्षेपमा चर्चा गरेका थिए।
कार्यक्रममा सुरुमा बानेश्वर सर्जक समाजका सचिव डा.रमेश शुभेच्छुकले सीमा सम्बन्धी काम गर्ने,लेख्ने र माटोलाई माया गर्ने गोपाल कोइराला त्यागीको ८७ औँ जन्मोत्सव महिनाको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको बताए।
कार्यक्रममा गजल वाचन र गीत गायन पनि गरिएको थियो।
कार्यक्रम सञ्चालन प्रकाश समीरले गरेका थिए।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)
