२८ असार २०८३, काठमाडौं
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा कवि हरिप्रसाद चौलागाईँको कवितासङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’को लोकार्पण राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा सम्पन्न भएको छ ।
पुस्तक प्रा.डा.रामप्रसाद ज्ञवाली,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओमश्रेष्ठ रोदन,ठाकुर शर्मा भण्डारी,कवि चौलागाईँ,रामसुन्दर देउजा लगायतले सामुहिक लोकार्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा.ज्ञवालीले भने, ‘कविताको मूख्य कुरा भनेकै भावना हो । विचार,संकल्प र साधनाले यसमा महत्व राख्दछ । उनले अगाडि भने, “कविताको पहिलो शर्त लयको माधूर्य,दोस्रो शब्दको सौन्दर्य,भाव सौन्दर्य संप्रेषणीयता हुनुपर्छ तब कविता सुन्दर हुन्छ ।“
प्रा.डा. लक्ष्मणप्रसाद गौतमले भने ‘सर्सती कृति हेर्दा चौलागाईँका कवितामा नेपाली कविताक्षेत्रमा कम प्रचलित छन्दहरु पनि प्रयोग गरिएको पाएँ।“
कृति चर्चा गर्दै समालोचक ठाकुर शर्मा भण्डारीले भने, ‘कविता सिर्जना गर्दा सबै विषयहरुमा ध्यान गएको देखिन्छ । संवेदनशील भएर भावनालार्य ह्रदयस्पर्शी हुनेगरी कविताहरु लेखिएका छन् । उनले भने,समाजको संगत विसङ्गत कविताहरुले देखाएका छन् । सकारात्मक सोचले भरिएका छन् कविताहरु । पदयोग र वियोगमा केही ध्यान नपुगेको देखिएजस्तो लागेपनि छन्दमा भने दोष कम छ ।’
अर्का वक्ता श्रीओमश्रेष्ठ रोदनले भने, ‘लेखनीलाई उमेरले छेक्दैन् भन्ने कुरा कविको कृति प्रकाशनले प्रष्ट पारेको छ । सरल,शालीन भावका कविका कविता उनीजस्तै छन् ।’
कवि हरिप्रसाद चौलागाईँले लेखकीय मनत्ब्य दिंदै सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा डा.सिता सुवेदी,रुपा रिसाल र दीपक चौलागाईँले कृतिभित्रका कविताहरु बाचन गरेका थिए ।
गायक रामहरि न्यौपानेले गीत गाएको उक्त कार्यक्रम रामसुन्दर देउजाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन प्रदीप सापकोटाले गरेका थिए भने पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तब्य प्रकट गरेका थिए ।
०००
