२ जेठ २०८३, काठमाडौं
नियात्राकार रामप्रसाद पन्तका चौबीसौँ र पच्चीसौँ नियात्राकृतिहरू’शिखर शिखरको सौर्न्दर्य’र ‘शिवलोकको आलोक’को लोकार्पण भएको छ।
सो पुस्तक कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई , सभाध्यक्ष दायित्व वाङ्मय प्रतिष्ठान,नेपालका उपाध्यक्ष प्रा.डा.भागवत ढकाल तथा मञ्चासिन व्यक्तित्वहरू प्रा.डा.रामप्रसाद ज्ञवाली,स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’समालोचकद्वय प्रमोद प्रधान र युवराज मैनाली,नियात्रा समाजका अध्यक्ष मोहन चापागाई ले सामुहिक रुपमा सो पुस्तकहरू लोकार्पित भए ।
कार्यक्रममा रामप्रसाद पन्तद्वारा रचित विजय गुरुङद्वारा सङ्गीतबद्ध र विजय गुरुङ तथा तृप्ति खड्का गुरुङको स्वर रहेको ‘गाजलु त्यो आँखा’बोलको गीत पनि लोकार्पण गरिएको थियो।
गीत लोकार्पण कार्यमा सुभाषचन्द्र पौडेल’भीमफेदीया’ले सघाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा गोविन्दराज भट्टराईले नियात्रा शब्द प्रयोगको चर्चा गरेका थिए।
लोकार्पित कृतिहरूमाथि समालोचकद्वय प्रा.डा.रामप्रसाद ज्ञवाली तथा प्रमोद प्रधानले समालोचकीय टिप्पणी पेश गरेका थिए।
दुबै समालोचकहरूले पुस्तकभित्रका केही भाषागत त्रुटिहरू र शुद्धाशुद्धी समेत औंल्याएका थिए।
कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले लोकार्पित कृतिहरूका बारेमा बोल्दै नियात्रा बारे सधैँ पुराना कुराहरू उठाएर नयाँ कुराहरूको अवमूल्यन गर्नु नहुने बताए।
समालोचक युवराज मैनाली र नियात्रा समाजका अध्यक्ष मोहन चापागाईले शुभकामना मन्तव्य राखेका थिए।
सभापतिको आसनबाट बोल्दै दायित्व वाङ्गमय प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा.भागवत ढकालले साहित्य लेखनले जीवन पद्धति देखाउँछ,पन्तका लेखनमा समाजलाई आवश्यक पर्ने कुराहरू हुने गरेको बताए।कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गर्दै धन्यवाद पनि दिएका थिए। नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंले लेखक पन्तको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै बधाई तथा शुभकामना दिएका थिए।नियात्राकार निर्मोही व्यासको सन्देश पढेर सुनाउँदै उनले हिन्दीमा प्रचलित एउटा उखान टुक्का सुनाएका थिए।
लोकार्पित पुस्तकका स्रष्टा रामप्रसाद पन्तले लेखकीय मन्तब्य प्रकट गरेका थिए ।
कार्यक्रममा समीक्षक अरूण नदी खत्रीलाई सर्वाधिक कृति समीक्षा गरे बापत पत्रम् पुष्पम् सहित सम्मानपत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका महासचिव कवि यादव भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन पनि उनैले गरेका थिए।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
