“कालो आँधी” बजारमा

समाचार

२७ चैत २०८२, काठमाडौं

शारीरिक रुपमा अत्यन्त स्वस्थ, हृष्टपुष्ट, सधैँ हँसिलो र सधैं रसिलो डा. दामोदर पुडासैनी किशोरलाई एक्कासी नेजोफेरेन्जियल कार्सिनोमा नामको क्यान्सरले आक्रमण ग-यो । क्यान्सर डायग्नोसिस हुने बित्तिकै पुडासैनीले रेडियोथेरापी, किमोथेरापी र अरु धेरै औषधिहरू लिन त शुरु गरे, तर तिनै थेरापीहरू र औषधिहरूको असरले उनको शरीर घाउनै घाउको जीर्ण पोको बन्यो । कपाल दाह्री र शरीरको पुरै रौं झ-यो । आवाज बन्द भयो । सबै किसिमको स्वाद पूर्णतः हरायो । खाने पानी निल्न असाध्यै गाह्रो भयो । उपचारकै क्रममा चौध किलो तौल घट्यो । टोटल व्लड काउण्ट, सुगर, नुन, प्रेसर सबै घटेर बेला बेलामा उनलाई मृतप्रायः बनायो । बाँच्ने सम्भावना अत्यन्त क्षीण हुँदा हुँदै पनि पुडासैनीले विज्ञानले गरेको प्रगतिमाथि भरोसा गरे । मृत्युलाई जित्ने आत्मविश्वास जगाए ।
उनका ती अनुभव र अनुभूतिहरूको मनोलाप कृति हो “कालो आँधी” जुन हालै बजारमा आएको छ ।
यसको भूमिकामा नेत्र एटमले लेखेका छन्, “यो छटपटीको बेला वा मनस्तापले ग्रस्त अर्धबेहोसी अवधिमा प्रकटित अभिव्यञ्जना हो ।”
प्रकाशन संस्था रत्न पुस्तक भण्डारले आफ्नो प्रकाशकीयमा लेखेको छ, ” क्यान्सरको दर्दनाक पीडामा फस्दापनि ठूलो हिम्मतसाथ लेखिएको यो कृतिले पुडासैनीले भोगेका पीडा मात्र नभई मान्छे, समाज र विश्वलाई फरक दार्शनिक दृष्टिबाट नियालेर फरक मार्गप्रशस्त गर्न सफल कृतिको रुपमा समेत पाठक समक्ष आएको छ ।”
लेखक स्वयमले भनेका छन्, ” यो जीवन र मृत्युको लडाइँको मझधारमा बसेर लेखिएको मनको आलाप हो ।”