२४ चैत २०८२, काठमाडौं
युवा साहित्यकार नीरा श्रेष्ठद्वारा आयोजित तथा नित्य वेयर्स ललितपुरद्वारा प्रायोजित नववर्ष २०८३ को पूर्व सन्ध्याको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुखअतिथि कवि तथा गीतकार एवम् पूर्व अर्थमन्त्री एसपि कोइरालाले साहित्यकार समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीलाई सम्मान गरे ।
प्रमुख अतिथि कोइरालाले सो अवसरमा सम्बोधन गर्दै सम्मानित व्यक्तित्व प्रा.डा.गोविन्दमानसिंह कार्कीलाई सम्मान गरेर आफैँ सम्मानित भएको बताए ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’तथा प्राध्यापक कपिल अज्ञातले शुभकामना मन्तव्य राखेका थिए।
सम्मानित व्यक्तित्व प्रा.डा.को ६२ औँ शुभजन्मोत्सव समेत परेको अवसरमा आयोजित कार्यक्रममा उनको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो।
कार्यक्रममा विजयध्वज थापा,निर्मलरमण पराजुली,कृष्ण बाउसे,ध्रुवराज थापा’महापुरुष’,बद्री उप्रेती, गीता अर्याल,पवनकुमार बुढाथोकी,भानुराज जोशी,मुकुन्द पौडेल,मदन नेपाल,राज रजक,प्रा.डा.गोविन्दमानसिंह कार्की तथा एसपि कोइरालाले रचना वाचन समेत गरेका थिए ।
सभापतिको आसनबाट बोल्दै नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले शालीन व्यक्तित्वका धनी प्रा.डा. गोविन्दमानसिंह कार्कीको सामाजिक,साहित्यिक तथा शिक्षण योगदान बारे चर्चा गरेका थिए।
कार्यक्रममा सम्मानित व्यक्तित्व प्राडा कार्कीले आफ्नो लेखन यात्राका बारेमा संक्षेपमा प्रकाश पार्दै जन्मस्थल भोजपुरको संस्मरण गरेका थिए। साथै,उनले सम्मानका लागि आभार प्रकट गरेका थिए।
सो समारोहको सञ्चालन युवा साहित्यकार नीरा श्रेष्ठले गरेकी थिइन् ।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
