‘वसन्त कविता महोत्सव’ सम्पन्न

मुख्य समाचार

२१ चैत २०८२, काठमाडौं ।

‘वर्तमान कविता समूह’को आयोजनामा राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा शनिबार विशेष ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक अनुभूति, सामाजिक यथार्थ र दार्शनिक संवेदनाहरू अंग्रेजी भाषामार्फत प्रस्तुत गर्दै बहुभाषिक अभिव्यक्तिको नयाँ आयाम उद्घाटित गरे ।
कार्यक्रमको सुरुवात गर्दै कवि विश्व सिग्देलले ‘वर्तमान कविता समूह’ले आगामी दिनमा अन्य भाषामा पनि यस्ता बहुभाषिक काव्य–अभिव्यक्तिहरू प्रस्तुत गर्ने योजना रहेको र यो पहिलो प्रयास भएको जानकारी दिए । उनले आफ्नो कविता ‘पब्लिक टोइलेट’ मार्फत आधुनिक सभ्यता र राजनीतिमाथि कडा व्यङ्ग्य प्रहार गर्दै सत्ता र नैतिकताको दोहोरो चरित्रलाई प्रश्न गरे ।
कवि भीष्म उप्रेतीले ‘ह्वाट इफ द स्काई फल्स’ शीर्षकको कवितामा बाबु–छोराबीचको संवादमार्फत आकाशलाई विश्वास, आशा र उच्च आकांक्षाको प्रतीकका रूपमा चित्रण गरे । कवि रजनी मिलाले ‘डार्कनेस इन सर्च अफ लाइट’ मार्फत उज्यालोको खोजीमा रहेका सिर्जनशील चेतनाको व्याकुलता व्यक्त गरिन् भने कवि अभय श्रेष्ठले ‘लभस् अ मेडिटेटिभ स्लीप’ मार्फत प्रेम, निद्रा र देश गुमाउनुको पीडाबीचको सम्बन्धलाई गहिराइका साथ प्रस्तुत गरे ।
कवि सुमन वर्षाले ‘लुज’ शीर्षकको कविता वाचन गर्दै इन्द्रियको त्यागमार्फत प्राप्त हुने आन्तरिक शान्ति र जीवनको वास्तविक उत्सवबारे दार्शनिक विमर्श गरे । कवि रामगोपाल आशुतोषले ‘वान डे द नेसनल एन्थम विल बी प्लेड फर मी टु’ मार्फत भविष्यमा समानता स्थापित हुने र सिमान्तकृत आवाजले न्याय पाउने आशावादी दृष्टि व्यक्त गरे ।
कवि करुणा नेपालले ‘न्यू विगिनिङ’ मार्फत पीडा र निराशापछि आउने नयाँ आरम्भको सम्भावना उजागर गरिन् । कवि तेजिन एमिल इजमले आफ्नो शीर्षकविहीन कविता (जुन उनले जेन्जी विरोध प्रदर्शनबाट प्रेरित भई लेखेका थिए) मार्फत शान्तिका प्रतीक फूल कसरी घृणा र बारुदमा परिणत हुन्छ भन्ने यथार्थप्रति आक्रोश व्यक्त गरे ।
वातावरणीय चेतका साथ कवि सुवास सिंह पराजुलीले ‘नोटिस फर द लस अफ रिभर’ मार्फत हराउँदै गएका नदीहरू र भू–माफियाको कब्जामा परेको प्रकृतिको पीडादायी अवस्थालाई उजागर गरे । कवि कृपा खनालले ‘लुकिङ फर अ म्यूज’, ‘ब्रीदिङ विथ द म्यूज’ र ‘लेसन्स फ्रम अ म्यूज’ गरी तीन खण्डमा सहरी जीवन, सिर्जनात्मक प्रेरणा र कल्पनाशील उडानको सौन्दर्य प्रस्तुत गरिन् ।
कवि भुवन थपलियाले ‘स्प्रिङ’ शीर्षकको कवितामा प्रकृति र वनसँगको सामीप्यले मानिसको आत्मा शुद्ध हुने भाव व्यक्त गरे । कवि आनन्द विजय गुरुङले ‘मोटरसाइकल सायरी’ मार्फत सहरीकरणका कारण प्राकृतिक सौन्दर्य कुरुप बन्दै गएको यथार्थ चित्रण गरे भने कवि अमर आकाशले ‘एभ्रीबडी नोज, नोबडी नोज’ मार्फत गरिबी र सामाजिक अन्यायको कटु यथार्थ उजागर गरे । कवि रमी प्रियाले ‘इन्चान्टेड इल्यूजन’ मार्फत प्रेमको जादुमयी भ्रमबाट मुक्त हुने चाहनालाई कलात्मक रूपमा व्यक्त गरिन् ।
कार्यक्रमको अन्त्यतिर कवि चन्द्रबहादुर लामाले ‘कोइसन’ मार्फत आफ्ना ‘कमरेड’हरूले गरेका बाचा अधुरा रहेको भन्दै राजनीतिक विश्वासघातप्रति प्रश्न उठाए । कवि धीरकुमार श्रेष्ठले ‘द कल’ मार्फत मृत्युको मौनता र अन्तिम यात्राको सत्यलाई मार्मिक रूपमा प्रस्तुत गरे । कवि हरीश अधिकारीले प्रतिकूल मौसममा पनि अस्तित्व जोगाउन संघर्ष गर्ने बिरुवाको प्रतीक प्रयोग गर्दै मानवीय जिजीविषाको कथा सुनाए ।
कार्यक्रमको उद्देश्य नेपाली माटोको सुगन्ध, अनुभूति र जीवनभोगाइलाई अंग्रेजी भाषामार्फत विश्वमञ्चमा पुर्‍याउनु रहेको आयोजक तथा उद्घोषक चन्द्रबहादुर लामाले बताए । महोत्सवमा प्रस्तुत कविताहरूले सामाजिक विसंगति, प्रेम, प्रकृति, राजनीतिक निराशा, प्रतिरोध र मानवीय अस्तित्वका विविध आयामलाई समेट्दै समकालीन संवेदनालाई सशक्त रूपमा अभिव्यक्त गरेका थिए ।

०००