०५ चैत २०८२, काठमाडौं
नेपाली निबन्ध साहित्यका शिखर व्यक्तित्व साहित्यकार शंकर लामिछानेको ९८ औँ जन्मजयन्ती का अवसरमा शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा’शंकर चर्चा’कार्यक्रम गरिएको छ।
कार्यक्रममा इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी,प्रा.डा.गोविन्द मानसिंह कार्की,शंकर लामिछाने निबन्ध पुरस्कारबाट सम्मानित भइसकेका निबन्धकारहरू पवन आलोक,श्रीओम श्रेष्ठ’रोदन’,ज्ञानेन्द्र विवश,आख्यानकार भागिरथी श्रेष्ठ,युवा निबन्धकार श्रीबाबु कार्की,जरामा अर्थ खोज्ने कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ लगायतले शंकर लामिछानेको कृतित्व तथा व्यक्तित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए।
मन्तव्यका क्रममा प्रा.डा. सुरेन्द्र केसीले कुनै पनि देशको समृद्धि त्यस देशको साहित्यले देखाउँछ भन्दै साहित्यलाई राजनीतिको अखडा बनाउन नहुने कुरा बताए।कर्म गर तर फलको आशा नगर भन्ने भागवत गीताको उक्तिको प्रसङ्गमा उनले गीताको अर्को उक्ति सुनाउँदै कर्म अनुसारको फल र गलत समयको प्रतिफल बारे चर्चा गरेका थिए।
प्रा.डा.गोविन्दमान सिंह कार्कीले लामिछानेका गुरु साहित्यकारहरू गोपालप्रसाद रिमाल,महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम,त्यसैगरी समकालीन साहित्यकारहरू ईश्वर बराल,भूपि शेरचन र भीमदर्शन रोकाको प्रसङ्गमा लामिछानेले छोटो आयुमा धेरै सृजना गरेको बताए।मदन पुरस्कारप्रापत गर्न सफल पारिजातको उपन्यासमा भूमिका लेखिदिएपछि झन लामिछानेको ख्याति चुलिएको बताउँदै विश्वविख्यात विदेशी साहित्यकारहरूका कृतिको अध्ययन गरेका शंकरले घरायसी पारिवारिक परिस्थिति चिरेर साहित्यमा लाग्नसक्नु नै ठूलो चुनौती रहेको बताए।
समालोचक प्रमोद प्रधानले लामिछानेको लेखन फरक शैली भएको बताउँदै देवकोटाले थालेको निबन्धको फाँटलाई लामिछानेले बढाउँदै लगेर फराकिलो बनाएको बताए।उनको कृति र व्यक्तित्व एक अर्काको पर्यावाचक भएको बताउँदै उनले साहित्यको खाली ठाउँहरू भरेको बताए।साथै,उनले शंकर लामिछानेको जस्तो निबन्धहरू न भूतो न भविष्य भनेर बताए।
निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’ले लामिछानेका बारेमा बोल्दै जिउँदै धेरै मरिरहेका बेला थोरै समय बाँचेर कहिल्यै नमर्ने गरी शंकर लामिछाने गएको बताए।साहित्यकारहरूको छवि र व्यक्तित्वबारे यस्तो र उस्तो भन्ने प्रसङ्गमा लामिछानेको खाइलाग्दो र लोभलाग्दो व्यक्तित्व,इमानदारीपन र स्पष्ट वक्ताका रूपमा उनलाई सबैले चिनेको बताए।
निबन्धकार पवन आलोकले शंकर लामिछानेको स्मरण गर्दै कालजयी साहित्यकार रहेका लामिछानेको नामको पुरस्कार ग्रहण गर्न पाएकोमा गर्वको महसुस गरेको बताए।आजको बिहानी सार्थक रहेको बताउँदै उनले शंकर लामिछाने प्रतिष्ठान अविरल चलिरहोस् भन्ने कामना गर्दै लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।
आख्यानकार भागिरथी श्रेष्ठले लामिछानेको लेखन शैली आफूलाई मन पर्ने बताइन्।पारिजातको उपन्यासमा लामिछानेको भूमिका सुनमाथि सुगन्ध भएको बताइन्।
साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले लामिछानेको कृतिको चर्चासँगै आफ्नो कृतिको बारेमा समेत प्रकाश पारेका थिए।
निबन्धकारहरू ज्ञानेन्द्र विवश तथा श्रीबाबु कार्कीले शंकर लामिछानेका बारेमा बोल्दै उनलाई पछ्याउँदै आफूहरू पनि निबन्ध लेखनमा लागेको बताए।
प्रतिष्ठानकी संरक्षक लामिछानेकी बहिनी सविता ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैलाई आमन्त्रित व्यक्तित्वका रूपमा सम्बोधन गरिएको थियो। कार्यक्रममा लामिछानेकी अर्की बहिनी संगीता शर्माको पनि उपस्थिति रहेको थियो।
प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीद्वारा सञ्चालित कार्यक्रममा उनले चैत महिनाको नवरात्रीको पहिलो दिन आज चर्चित निबन्धकारको ९८ औँ जन्मजयन्ती परेको प्रसङ्ग उल्लेख गर्दै माघ १० गते स्मृति दिवस र चैत ५ गते जन्मजयन्ती मनाउने गरिएको बताए।लामिछानेका दुई बहिनीहरूबाट हाल २५ लाखको अक्षयकोष स्थापना गरी शंकर लामिछाने पुरस्कार राखिएको बताए।लामिछानेको लेखन शैली अद्भुत रहेको बताउँदै नवीन सोच र नयाँ पुस्ता को चिन्तन रहेको बताए।लामिछानेलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने सन्दर्भमा उनले हाल लामिछानेका निबन्धहरू साहित्यकार मोहन सिटौलाले अंग्रेजीमा अनुवाद गरिरहेको बताए।
सभाका सभापति प्रतिष्ठानकी संरक्षक सविता ढुङ्गानाले आफ्नो दाजु शंकर लामिछानेको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।लामिछानेलाई माया र श्रद्धा गरेर कार्यक्रममा उपस्थित हुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेकी थिइन्।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष कवि तथा गायिका पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन्।मन्तव्यका क्रममा लामिछानेकै प्रेरणाबाट उनले आठ वर्षको उमेरमा’मेरो फूलबारी’शीर्षकमा बालकविता लेखेको र पुरस्कार बापत लामिछानेबाट कापीकलम पाएको बताइन्। लामिछानेको सामीप्यमा हुर्किएकी उनले लामिछानेकै कारण विश्वका चर्चित कथाहरू पढ्न पाएको बताइन्।
कार्यक्रममा शंकर लामिछानेको तस्बिरमा माल्यार्पण गरी दीप प्रज्ज्वलन गरिएको थियो भने उनको आत्माको शान्ति को कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
