मुक्तिप्रसाद उपाध्याय, सिलगढ़ी
“यस कृतिका सर्जकलाई म सानैदेखि मुक्ति भनेर बोलाउँदथिएँ। अहिले पनि पुछारमा भाइ शब्द जोड़ेर ‘मुक्तिभाइ’ भनेरै बोलाउने गर्छु। उनको किशोर अवस्था भनौँ बाल्यकालदेखि नै देख्दै आएको, भेट्दै आएको र उभय पक्षबाट पारिवारिक सम्बन्ध सरह माया साट्दै आएको छ भने, त्यहाँ मान मनिताका प्याउला शब्दभन्दा हँसिला रसिला चल्ती शब्द नै मनोग्राही हुन्छन् भन्ने मलाई लाग्छ।”(उपाध्याय, पदचिह्न पहिल्याउँदै, पृष्ठ -१।)
उक्त भनाइ लीलबहादुर दाइकै हो। मैले लेखेको उपन्यास पदचिह्न पहिल्याउँदै(सन २०२३)मा दाइले लेखेको भूमिकाबाट उद्धृत गरिएको। मेरा बा टिकाराम बराल र लीलबहादुर क्षत्रीज्यूका बा प्रेमबहादुर क्षत्रीज्यूका बीचमा निकै गहिरो मित्रता थियो। हुनत मेरा बा हुनुहुन्थ्यो पण्डित अनि लीलबहादुर क्षत्रीज्यूका बा प्रेमबहादुर क्षत्रीज्यू पुलिस विभागका डीएसपी। डीएसपी प्रेमबहादुर क्षत्रीज्यू रौबदार व्यक्तित्वका धनी हुनुहुन्थ्यो।गुवाहाटी छेउछाउका मानिसहरूले गुवाहाटीलाई ‘गोहोटी’ अनिप्रेमबहादुरलाई‘डेस्पीसाब’ भन्ने गर्थे। हामी केटाकेटी पनि ‘डेस्पीसाब; नै भन्थ्यौँ। नजिकै थियो घर। हिँड़ेर चार-पाँच मिनटमा नै पुगिन्थ्यो। दाइको परिवार र हाम्रो परिवारमाझ निकै आत्मीय सम्बन्ध थियो। सो सम्बन्ध अहिले पनि कायमै छ।
लीलबहादुर दाइको जीवनको गतिविधिलाई नियालेर हेर्दा उहाँ भाषा, साहित्य, कला, संस्कृति आदिको मोहनी छातीमा कर्णको कवच झैँ बाँधेर नै जन्मिनु भएको भन्ने लाग्छ। सम्वाद बोल्नु र अभिनय गर्ने तीब्र चाहना फुच्चे उमेरमा नै उहाँको मनभित्र अति नै गहिरो प्रकारले स्थान बनाइसकेको रहेछ। आफ्ना निबन्धमा उहाँले यसरी भनेको पाइन्छ – “शिलाङ पुलिस बजार अपेरा हलमा मञ्चन हुन्छ नाटक अम्बरीष, निर्देशन उही मास्टर मित्रसेनको। एक रुपियाँ तिरेर हेरेपछि हिन्दी चलचित्रको वहावले नाटकतिर लहसिएको फुच्चे मनभित्र एउटा कुरा गहिरो जम्छ – नेपाली नाटक पनि हुनसक्छ।– हुँदो रहेछ, अभिनय नेपालीमा पनि। चल्न थाल्छ भित्रभित्रै एक्लै अभ्यास अभिनयको – चलचित्रबाट सम्वाद, मन परेका, कण्ठस्थ टिपेका सँघाउँछन् अभिनय अभ्यासमा।”(क्षत्री, झाउरे पार्टीमा लाग्दा, पृष्ठ २८-२९।)
उक्त उहाँको भनाइमा उल्लेख गरिएका मास्टर मित्रसेन को हुन भन्ने सायद भनिरहनुपर्दैन।सबैलाई थाहा भएकै कुरा हो। यहाँ उहाकै शब्दहरू राखेँ – “नेपाली लोकगीत, संस्कृति, नाटक, नैतिक उपदेश, यस्तै कोशेली बोकेर पारम्परिक रथका घोड़ा आदर्श पथमा हाँक्दै यही साल आउने, ती थिए नैतिक सारथी मित्रसेन। मित्रसेन, लोकगीत गाउँछन्,कथा भन्छन्, नाटक गर्छन्, चित्र कोर्छन् – उद्देश्य छ जातीय चेतना, नैतिक जागरण।”(क्षत्री, झाउरे पार्टीमा लाग्दा, पृष्ठ २७।)
भनेपछि लीलबहादुर दाइमा सानैमा मास्टर मित्रसेनको गहिरो छाप परेको रहेछ। यस्तै यस्तै प्रेरणाले उहाँ शिलाङमा छँदा सात कक्षामा पढ़दा नै आफ्नो अभिनय कला प्रस्तुत गरेर सबैलाई मोहनी लगाइ सक्नुभएको थियो। त्यही समयमा उहाँले शिवस्तुति कविता लेखेर पर्चाको रूपमा त्यसलाई छापिसक्नुभएको थियो।हिन्दी भाषामा नाटक हरिश्चन्द्र लेखेर त्यसलाई मञ्चन गराइसकेको कुरा उहाँका आत्मनिबन्धहरूमा पाइन्छ।नाटक हरिश्चन्द्र लेख्ने प्रेरणाको पृष्टभूमि रोचक छ। शिलाङको पुलिस लाइनमा त्यसताका भव्य दुर्गापूजा हुनेगर्थ्यो।विभिन्न ठाउँबाट नर्तकीहरू निम्त्याएर सप्तमी, अष्टमी र नवमीका रात्री विचित्र कार्यक्रम हुने गर्थे। त्यतिबेलाका पुलिस ठिटा र लैन छोकड़ाहरूमा नाटक गर्ने हट चल्यो। यो १९४९-५० तिरको कुरा हुनुपर्छ।त्यतिबेला लीलबहादुरज्यूले हिन्दी चलचित्र शैव्या हरिश्चन्द्र हेर्नुभएको रहेछ अनि नेपालीमा पनि डी.बी. परियारको निर्देशनमा हरिश्चन्द्र बनिँदै गरेको कुरा थाहा थियो। उहाँले लेखेको नाटक हरिश्चन्द्रका सम्वाद लेखनमाविशेष रूपमा शैव्या हरिश्चन्द्रचलचित्रको प्रेरणा रहेको थियो। त्यस नाटकमा हरिश्चन्द्रको अभिनय स्वयम लीलबहादुर दाइले गर्नु भएकोथियो भने निर्देशन पनि उहाँकै नैथियो भन्नेकुराउहाँकै संस्मरणबाट जान्न पाइन्छ। (क्षत्री, झ्याउरे पार्टीमा लाग्दा, पृष्ठ –३०-३१।)
उहाँले शिलाङ छोड़ेको वर्ष हो सन १९५२। प्रवेशिका परीक्षा सकेर आइए पढ़्नकालागि गुवाहाटीको कटनकलेजमा भर्ना हुनुभयो। त्यस समयमा शिलाङमा हाम्रा गोर्खाहरूका सांस्कृतिक गतिविधिहरू निकै गतिला देख्नुभएको क्षत्रीलाई गुवाहाटीमा पनि सोही अनुरूप भाषा, साहित्य र संस्कृतिको गतिवधि देखेर खुशी अनुभव भएको थियो। त्यसपछि उहाँको कर्मभूमि गुवाहाटी हुनपुग्यो।हुन पनि त्यस समयमा गुवाहाटीको सांस्कृतिक गतिविधि धेरै आकर्षक थियो। भाषा, साहित्य र संस्कृतिप्रेमी युवाहरू निकै सक्रिय थिए। सन १९४५ मा उजानबजारका हाम्रा युवाहरूले सत्यवान सावित्री, ध्रुव आदि नाटक खुल्ला मञ्चमा मञ्चन गरिसकेका थिए।उजान बजारका त्यसबेलाका सक्रिय युवाहरूको नाम यहाँ छुटाउन मन लागेन। दाता देवी, मोहन कुमारी, नरहरिसाइँला, जुम्ली,धनध्वज रावल, टेकबहादुर छेत्री, पुष्पलाल शर्मा, लालबहादुर रावल, योगेन्द्रप्रसाद रावल आदिको नाम लिनुपर्ने हुन्छ। सर्वोपरि थिए नाट्यकार, सङ्गीतकार, अभिनेता मोहन जोशी। त्यसरी नैनाटक हरिश्चन्द्र पनि खुल्ला मञ्चमा उजान बजारकोखारगुलीमा मञ्चन गरिएको थियो।
त्यसपछि सन १९४८ मा देखा पर्नुभयो अर्का एकजना सक्रिय नाटककार, निर्देशक प्रेमसिंह सुवेदी। उहाँको लेखन र निर्देशनमा विजययात्राअत्यन्त सफलताका साथ मञ्चन भइसकेको थियो। सन १९५१ मा गुवाहाटीकै भास्कर नाट्य मन्दिरमा सुवेदीकै लेखन र निर्देशनमा गोलीको निशानमञ्चन भएको थियो। सोही अनुरूप सन १९५३ मा सुवेदीकै लेखन र निर्देशनमा गुवाहाटीको आर्य नाट्य मन्दिरमालइन छोकड़ो मञ्चन गरिएको थियो। त्यसमा छत्रबहादुर गुरुङ, चन्द्रा मजुमदार, रत्ना पौडेल, विष्णुमाया उपाध्याय, मामा साही, विमल शर्मा आदि कलाकरहरूले अभिनय गरेका थिए।यस्तो सांस्कृतिक सक्रियताको बेलामा लीलबहादुर दाइकोगुवाहाटी आगमनले सुनमा सुगन्ध थपिएको थियो। गुवाहाटीको नाट्य परम्परा देखेर उहाँ धेरै खुशी हुनुभएको थियो।
सन १९५४ मा असमीया नाटक आल्पनालाई रेखी शिर्षक राखेर मोहन जोशीले नेपालीमा रुपान्तर गरे। त्यतिबेलासम्म लीलबहादुर गुवाहाटीका सांस्कृतिक कलाकारहरूसित एकाकार भइसक्नुभएको थियो।गुवाहाटी उजान बजारको भास्कर नाट्य मन्दिरमा मोहन जोशीकै लेखन, निर्देशन र सङ्गीतमा सो नाटक मञ्चन भएको थियो। लीलबहादुरदाइले गुवाहाटी आएर अभिनय गरेको पहिलो नाटक नै रेखी थियो। कृष्ण शर्मा (जुम्ली), मोहन जोशी, खगेश्वर शर्मा, टेकबहादुर छेत्री, नरबहादुर छेत्री, धनध्वज रावल तथा लीलबहादुर क्षत्री आदि कलाकारहरूले नाटक रेखीमा अभिनय गरेका थिए।त्यसपछि लेखन, आभिनय तथा सामाजिक गतिविधि आदिमा दाइ थामिनुभएन।
सन १९५४ मा नै उहाँले एउटा हास्यव्यङ्ग्य नाटक साइँला दाइ लेख्नुभयो। यो नाटक गुवाहाटी पल्टन बजारको गोर्खा स्कूल प्राङ्गणमा मञ्चन भएको थियो। यसमामुख्य कलाकार अमर छेत्री अनि लीलबहादुर क्षत्री हुनुहुन्थ्यो। शुरूदेखि अन्त्यसम्म नै विचित्रको हास्य परिवेश यस नाटकले सृजना गरेको थियो। तर यस्तो हास्य नाटकलाई लीलबहादुर क्षत्रीःचर्चित नाटकहरू(वि.स. २०७८)पुस्तकमा समावेश गरिएको पाइएन। त्यो हास्य नाटकउहाँका चर्चित नाटकहरूमा राख्नु पर्ने थियो भन्ने लाग्छ। किनभने हाम्रो साहित्य फाँटमा हास्य विधाको छुट्टै महत्व रहेको पाइन्छ।
साहित्य संस्कृति भनेपछि त्यसको जगेड़ा गर्ने र जनमानसमा त्यसको छापले समाजलाई अघिबढ़ाउने उहाँको मनमा प्रबल इच्छा रहेको थियो। त्यही इच्छाले गर्दाउहाँ सामाजिक साहित्यिक, सांस्कृतिक, शैक्षिक सबै दिशामा नेतृत्व प्रदान गर्न अघि सर्नुभयो। तत्कालीन हाम्रो समाजलाई भानुभक्तलाई चिनाउन उहाँले सन १९५५ मा गुवाहाटीमा भानुजयन्ती कार्यक्रमको आयोजन गर्नुभयो। त्यस भेकमा यो एउटा ठूलो उपलब्धि थियो जसले आजसम्म निरन्तरता पाइरहेको छ।
साथ साथै उहाँको अध्ययन पनि निरन्तर चलिरहेको थियो। बीएको परीक्षा सकिएपछि सन १९५६ मा उहाँले लेख्नुभयो नाटक लक्ष्य। “यो लेख्ने प्रेरणास्रोततत्कालीन फेलापारेको गुवाहाटी नेपाली सामाजिक परिवेशनै थियो धेरै। कता समको मुकुन्द इन्दिराले पनि झकझक्याएको थियो कि मनभित्र आँतमा?”(क्षत्री, झ्याउरे पार्टीमा लाग्दा, पृष्ठ – ३३।)
यो नाटक चार अङ्क रबाह्र दृश्यमा विभाजित छ। त्यतिबेला मञ्चन भएको यो नाटकमात्यस समयको आधुनिक प्रविधि भित्रिएको थियो। यो एउटा विराट आयोजन बन्न पुगेको थियो। त्यतिबेलाको प्रसिद्ध गुवाहाटी उजान बजारको आर्य नाट्य मन्दिरमा यो नाटक दुई दिन लगातार मञ्चन भएको थियो। त्यसताका भव्य सफलताका साथ मञ्चन भएका नाटकहरू समयमा प्रकाशित हुन नसक्नु एउटाविड़म्बना नै थियो। यो लक्ष्य नाटक ६३ वर्ष पछि प्रकाशित हुनपुग्यो।लीलबहादुर दाइको भनाइ यस्तो रहेको छ – “लक्ष्य सफलतापूर्वक मञ्चस्थ भएको हो, तर मौलिकताबाट टाढ़ा सम्झेर प्रकाश नगर्ने विचारमा थिएँ र६० वर्ष फाइलमै पोको परिरह्यो। पछि धेरै साथीहरूबाट यसमा तत्कालीन मौलिकता छ र त्यस ताकाको असमेली गोर्खे जीवन शैली यथावत पाइने हुनाले यसको ऐतिहासिक महत्व पनि छ भन्नेकुरा भयो र प्रकाशमा ल्याउने मत भयो।”–(भट्टराई, लीलबहादुर क्षत्रीः चर्चित नाटकहरू, पृष्ठ – दुई।)
मेरो जन्मथलो नैभएको हुँदा आज पनि म प्रायः गुवाहाटी गइरहन्छु। गुवाहाटी जाँदा लीलबहादुर दाइका घर नपस्ने कुरै आउँदैन। पारिवारिक सम्बन्ध हुँदा उहाँका परिवार विशेष गरी दाइ र दिदी धनमाया क्षत्रीलाई भेट्न गइरहन्थे।एक पल्टको भेटमा दाजुले मसित पनि नाटक लक्ष्य छाप्ने नछाप्ने भन्ने सम्बन्धमा कुरा उठाउनुभयो। सो नाटक मञ्चन हुँदा म तीन-चार वर्षको थिएँ हुँला। नाटकबारे सुनेको मात्रै थिएँ। तर नाटक हेर्ने वापढ्ने मौका परेको थिएन। त्यसो हुँदा सो नाटक मलाई दाइले सम्पूर्ण पढ़ेर त्यसदिन सुनाउनुभएको थियो। त्यस उमेरमा पनि नाटक सुनाउँदाको उहाँको जोश र जाँगर देखेर म आश्चर्यचकित भएको थिएँ।त्यतिबेला मैले पनि यसो भनेको थिएँ –“दाजु! यो नाटक त छाप्नैपर्छ। यसमा साठी वर्ष अघिको हाम्रो समाजको प्रतिविम्ब रहेको हुनाले यसको ऐतिहासिक महत्व ठूलो छ।”
सन २०२२ मा डा. गोविन्दराज भट्टराईको सक्रियतामा लीलबहादुर दाइका धेरै अप्रकाशित नाटकहरू नेपालबाट प्रकाशित हुन पुगे। यो अत्यन्त खुशीको कुरा हो।लीलबहादुर क्षत्रीः चर्चित नाटक पुस्तकमा त्यसका सम्पादक डा. गोविन्दराज भट्टराईज्यूले थोरैमा धेरै कुरा भन्नुभएको छ – “५०-६० वर्ष अघिको भोगाइ कस्तो थियो होला बुझ्न बुझाउन यस नाटकको ठूलो ऐतिहासिक महत्व रहेको छ। लेखक एक साक्षी, भोक्ता र भविष्यद्रष्टा पनि हो। त्यसको प्रमाण हो लक्ष्य।”(भट्टराई, लीलबहादुर क्षत्रीः चर्चित नाटकहरू, पृष्ठ – बाइस।)
लीलबहादुर दाइको मस्तिष्क खाली कहिले पो बस्थ्यो र? लक्ष्य नाटक लेख्नुभन्दा अघिदेखिनै उपन्यास बसाइँको बीजारोपण भइसकेको थियो। सन १९५७ मा गएर काठमाण्डुबाट प्रकाशित भयो। अनि त त्यो उपन्यास बसाइँ नेपालको आइए पाठ्यपुस्तकमा समावेश भयो। पाठ्यपुस्तकमा समावेश हुनु नै लीलबहादुर दाइको एउटा ठूलो उपलब्धि नै बन्न पुग्यो। उपन्यास बसाइँ नेपाली उपन्यास जगतमा यथार्थवादी मूल्यको एउटा प्रस्तुति बन्न पुग्यो।त्यसबेला आधुनिक नेपाली उपन्यासको विकासक्रम अन्तर्गत यथार्थवादमा प्रवेश उत्पन्न गराउने गतिशील स्वरूपको प्रतिविम्ब झल्काएको एउटा उच्चस्तरीय कृति बन्न पुग्यो उपन्यास बसाइँ।बसाइँ सम्बन्धमा डा. गोविन्दराज भट्टराई यसो भन्नुहुन्छ- “उहाँले साहित्य सिर्जनामा प्रवेश गरेका दिन नेपाली साहित्यको इतिहासले भर्खरै आदर्शवाद छोड़्दै थियो, भर्खरै यथार्थवादको गहिराइमा प्रवेश गर्द थियो, भर्खरै मनोविश्लेषणलाई छुँदै थियो।”(भट्टराई, लीलबहादुर क्षत्रीः चर्चित नाटकहरू, पृष्ठ – बाह्र।)
गुवाहाटी आएर नाटक लेखन र मञ्चनतिर उहाँको प्रवेश हुनुभन्दा एक वर्ष अघि नै अर्थात् सन १९५४ मा उहाँलाई गुवाहाटी रेडियोमा बाल कार्यक्रम प्रस्तुत गर्ने मौका परेको थियो। त्यस बाल कार्यक्रमका लागि उहाँले एउटा रेडियो बाल नाटकबनभातलेखेर गुवाहाटी गोर्खा स्कूलका नानीहरूलाई तालीम गराएर प्रसारण गराउनु भएको थियो। यही नै उहाँको पहिलो रेडियो नाटक लेखन थियो। पछि फेरि १९५७ मा पनि गुवाहाटी रेडियोले नेपाली कार्यक्रम प्रसारण गर्ने क्रममा लीलबहादुर दाइलाई नै सम्झना गरेछ। त्यस प्रसारणमा चाहिँ उहाँ आफैंले लेखेको गीतविशेष गरी मोहन जोशीको सहयोगले प्रसारण भएको थियो। त्यसपछि फेरि उहाँ गुवाहाटी विश्वविद्यालयको विद्यार्थी हुँदा सन १९५८ मा गुवाहाटी रेडियोमानेपाली गीतहरूको स्वर गुञ्जाउन पुग्नुभयो। यसरी तीन पल्ट रेडियोमा कार्यक्रम उहाँले गरिसकेपछि सन १९५९ देखि हप्ताहको दुई दिन नियमित रूपमा नेपाली कार्यक्रम हुन थाल्यो र त्यसको अभिभारा पनि उहाँले के कसरी स्वीकार गर्नुभयो भन्ने कुरा झ्याउरे पार्टीमा लाग्दा उहाँको निबन्धमाराम्ररी वर्णन गर्नुभएको छ। त्यसपछि उहाँले उत्तराञ्चल अनुष्ठान नामले प्रसारण हुने त्यस नेपाली कार्य्रमममा आठ वर्ष निरन्तर सेवा पुऱ्याउनुभयो।त्यस आठ वर्षको अवधिमा लीलबहादुर दाइले रेडियोमा प्रसारणका लागि धेरै रेडियो नाटक, नृत्यनाटिका, रुपक, लेख आदि लेख्नुभयो र आफ्नो लेखन कलालाई स्वतः तिखार्दै जानुभयो।
सन १९६०,१९७० र १९८० को दशकमा मनोरञ्जनको सहज उपलब्ध साधनहरूमा रेडियो नै जनप्रिय थियो। साहित्य चर्चा, सङ्गीत, नाटक, रुपक, कथा र समाचार आदिका प्रसार प्रचारमा त्यतिबेला रेडियोको भूमिका महत्वपूर्ण थियो। त्यस समयमा रेडियोमा काम गर्न पाउनु, गीत गाउन पाउनु, बोल्न पाउनु भनेको निकै सम्मानको काम हुन जान्थ्यो।रेडियोमा बोल्न, गाउन र अभिनय गर्न पाउनुप्रायः सबैको ठूलो रहर हुन्थ्यो ।
रेडियोमा काम गर्दाका उहाँका निकै संस्मरणहरू रहेका छन्। एउटा सम्झना यहाँ राख्न मन लाग्यो। उहाँ भन्नुहुन्छ –“मेरा पिताज्यूलाई मैले रेडियो स्टेशनमा काम गरेको ठ्याम्मै मन परेको थिएन। रेडियोमा काम गर्न थालेपछि सधैँ बाहिरबाट आउने कलाकारको एउटा झुण्ड मसित हुन्थ्यो। कहिले-काहीँ तिनलाई घरैमा रिहर्सल पनि गराउँदथिएँ। रेडियोमा तिनको कार्यक्रम रेकर्ड गराएपछि,तिनलाई गुवाहाटी डुलाइदिने र अन्यकार्यहरू पनि गरिदिनुपर्ने बाध्यता हुन्थ्यो। त्यसताक मलाई सोध्न मेरो अनुपस्थितिमा कोही घर आइपुग्यो भने पिताज्यू भन्ने गर्नुहुन्थ्यो –‘गयो होला कतै झ्याउरे दलसित। झ्याउरे पार्टीमा लागेको छ केरे।’”(क्षत्री, झ्याउरे पार्टीमा लाग्दा, पृष्ठ –७-८।)
लीलबहादुर क्षत्री झ्याउरे पार्टीमा लागेर गुवाहाटी रेडियोको नेपाली कार्यक्रमको जिम्मा लिनु उहाँको आत्माको पनि पुकार थियो अनि हृदयको प्रेरणा थियो, भाषा, साहित्य र समाज सेवा तर्फको एउटा निस्वार्थ भावनाले मुछिएको आकर्षण थियो, प्रेम थियो, श्रद्धा थियो, एउटा जुनुन थियो, समर्पण थियो। लीलबहादुर दाइद्वारा सञ्चालित गुवाहाटी रेडियोबाट प्रसारण हुने नेपाली कार्यक्रम अर्थात् उत्तराञ्चल अनुष्ठानत्यस समयमा अति नै लोकप्रिय तथा सफल बनेको थियो। असम पूर्वाञ्चलका घर घरमाबिहानको ७.१५ मा सो नेपाली कार्यक्रम बजेकै हुन्थ्यो। त्यस समयमा असमका प्रायः नेपाली भाषी मानिसहरू रेडियो सुन्नझुम्मिएका हुन्थे। त्यसो नहुँदा अचम्म हुन्थ्यो।गुवाहाटी लगायत पूर्वाञ्चलतिर सो कार्यक्रम सुन्ने एउटा दैनिक अभ्यास बनिसकेको थियो। त्यसको ज्वलन्त साक्षी म स्वयम पनि छु। मेरो दाजुले त्यस समयमा डेढ़ फिट लामो र एक फिट अग्लो मार्फीको ठूलो रेडियो किनेको थियो। त्यत्रो रेडियो छर छिमेकमा सायद त्यतिबेला कसैकामा थियो। त्यसैले छिमेकीहरू बिहानको ७.१५ मा हाम्रो घरमा भेला हुन्थे। त्यस कार्यक्रमले गुवाहाटीका युवाहरूमा भाषा, साहित्य, कला, संस्कृतिबारे चर्चा हुन्थ्यो र त्यसतर्फ केही गर्ने हुटहुटी हुन्थ्यो।१९६०, १९७० र १९८० को दशक भाषा, साहित्य, कला, संस्कृति आदिको चर्चा साथै नाटक मञ्चनका गुवाहाटीको एउटा सुनौलो युग थियो।
“झ्याउरे पार्टीमा लागेर आफ्नो जीवन बरबाद गरिस। बरू यो भन्दा त पुलिसको दरोगा नै भएको भए पनि राम्रो हुन्थ्यो।” आफ्ना बुबाको यस्तो भनाइलाई पनि उहाँले याद गर्नुभएन। लीलबहादुर दाइ कुनै सरकारी नोकरीमा लागेर आफ्नो जीवन र परिवार पक्कै पनि राम्रै प्रकारले धान्नसक्नु हुन्थ्यो। तर के त्यस जागिरले साहित्य संसारमा ख्यातिमान, श्रद्धावान हुनपुग्नुहुन्थ्यो र? कसले चिन्ने थियो उहाँलाई?उहाँलाई कलेजको प्राचार्य पदमा पनि आमन्त्रण गरिएको थियो। तर उहाँले सो पद स्वीकार गर्नुभएन। उहाँ आफैँ यसो भन्नुहुन्थ्यो –“के प्राचार्यको मानसिकता र जिम्मेवारी लिएर ब्रह्मपुत्रका छेउछाउ जस्तो राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्ने ग्रन्थ लेख्ने मेरो मानिसक प्रस्तुति रहन्थ्यो होला?”(क्षत्री, झ्याउरे पार्टीमा लाग्दा, पृष्ठ –१३)।फेरि त्यसरी नै अर्को एकठाउँमा उहाँले यसो भनेको पाइन्छ– “रेडियोले मलाई कला जगतकोधेरै अनुभवहरू संगेटिदिएको छ। मेरो लेखनीमा एउटा नयाँ आयाम थपिदिएको छ।” (क्षत्री, झ्याउरे पार्टीमा लाग्दा, पृष्ठ – १३)।
अर्को एउटा गजबको कुरो के थियो भने, प्राइमरी स्कूल पढ़दा देखिनै मलाई पनि झ्याउरे पार्टीको हावाले छोइ सकेको थियो। लीलबहादुरदाइको झ्याउरे पार्टीमा लागेर रेडियोमा प्रसारण हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कलाकारहरू केही हाम्रै घरमा बस्थे भने केही अलिक वरपर बस्ने गर्थे। यस अवसरमा मलाई ती झ्याउरे पार्टीका सदस्यहरूको नाम लिन मन लाग्यो। जस्तै हरिप्रसाद गोर्खा राई, पद्म ढकाल, लोकनाथ उपाध्याय चापागाइँ, नरबहादुर साही, गोपाल नेवार, कर्ण बहादुर छेत्री, दुर्गा मिश्र, माया छेत्री आदि।अनि त्यसबाहेक उजान बजारतिरका सदस्यहरू मोहन जोशी,धनध्वज रावल, टेकबहादुर छेत्री (नानी), योगलाल शर्मा (लखे), नरहरि साइँला आदि सबैसित मेरो भेट भइरहन्थ्यो। म सबैको प्यारो मुक्ति भाइ थिएँ। त्यसर्थ कलाप्रतिको मेरो झुकाउ देखेर उनीहरूले मलाई रेडियोमा हुने विभिन्न रेकर्डिङहरूमा लाने गर्थे र म रेकर्डिङ रुममा बसेर विभिन्न रेकर्डिङहेर्ने गर्थेँ। यसरी सानैदेखि मलाई पनि रेडियो कार्यक्रम सञ्चालन गर्ने रहर पलाएको थियो। पछि १९७३ तिर बाट १९७९ सम्म मैले रेडियोमा क्याजुएल आर्टिस्टको रूपमा कार्यक्रम सञ्चालन गर्दा कुनै अप्ठ्यारो अनुभव भएको थिएन।सायद लीलबहादुर दाइकै झ्याउरे पार्टीको असरलेहोला मैले पनि अलि अलि नाटक लेखेँ, अभिनय गरेँ,गीत सङ्गीतमा रमेँअनि भनौँन अहिले पनि साहित्य लेखनमा केही थोरै कलम चलाउँदै छु।
उहाँ रेडियोमा काम गर्न थालेको वर्षदिन पछिनै सन १९६० माउहाँले नाटक दोबाटो लेख्नुभयो। त्यसबेला स्थापना भएको नेपाली उदय सँघका साथीहरू नाटक गर्न तम्सिएछन् र उनीहरूकै करकरले प्रत्येक राति एउटा दृश्य लेखेर, भोलिपल्ट रिहर्सलको निम्ति पुऱ्याउने र पूर्वाभ्यास गराउने क्रममा सातादिन भित्रै सो नाटक लेखिसकिएको हो भन्ने उहाँको आफ्नै कथन रहेको पाइन्छ।सो नाटक उजान बजारको आर्य नाट्य मन्दिरमा भव्यताका साथ मञ्चन हुन्छ। त्यस नाटकमा अइतीमाया,लक्ष्मी छेत्री, दुर्गा खड़का, कर्ण छेत्री, अमर छेत्री, डम्बर गुरुङ, ध्रुव राई, काशीराम सुवेदी आदि अभिनय कलाकार थिए भने जीतु राई र मोहन जोशी सक्रिय थिए सङ्गीत र नृत्य निर्देशनमा।
मानसिक रुपमा खलबलि मचाउने समस्या प्रधान नाटक थियो त्यो। युद्धमा पतिको मृत्युको समाचार पछि, एउटी शिक्षिता नारीलाई सामाजिक बाध्यताछ पतिकै मित्रलाई जीवन साथी अँगाल्न। तर युद्धमा उसको पति मरेको हुँदैन युद्धबन्दी भएको हुन्छ। बन्दीहरू मुक्त भएपछि ऊ फर्किन्छ। अनि शुरू हुन्छ दोबाटो नारी जीवनमा। यो नाटक सन १९६७ मा साझा प्रकाशन काठमाण्डुले प्रकाशन गरेको थियो। सो दोबाटोनाटक अहिले फेरि लीलबहादुर क्षत्रीः चर्चित नाटकहरूमा प्रकाशित भएको छ।
लीलबहादुर दाइ रेडियोमा पसेपछि धेरै रेडियो नाटक, गीति नाटक आदि लेखेर प्रसारण गराउनु भएको थियो। रेडियोका लागि उहाँले लेखेका कतिपय नाटक, नाटिका, कथिका, गीति कथिका, रुपकआदि केहीको उल्लेख गर्न मन लाग्यो। ती धेरैमा उहाँको वाचन, अभिनय र निर्देशन हुने गर्थ्यो। शुरू शुरूमा एउटा बाल कथिका म्याउ भन्ने को त? लेखेर आफ्नै वाचन र अभिनयमा प्रसारण गरिएको थियो। नेपाली समाजमा भएका केही रूढ़ि- बुढ़ी सम्बन्धी सुधार मूलक व्यङ्ग्य नाटिका धामी सुधार लेखेरटेकबहादुर छेत्री, कर्ण छेत्री,गोपाल नेवार, मोहन जोशी, फूलपर्साद शर्मा, हरिप्रसाद गोर्खा राई आदि कलाकारहरूबाट अभिनय गराएर प्रसारण गराउनु भएको थियो।मादल,विघ्नमय जीवनमा नेपाली बालाको आदर्श, नारीको जन्म हारेको कर्म, पागल, आन्तरिक वेदना, आशा, बिहान, चिम चिम नानी चिम चिम लै (जनसङ्ख्या वृद्धिमाथि व्यङ्ग्य), पचास वर्षको अवधिभित्र एक जोर परेवा (हास्यव्यङ्ग्य नाटिका),परिवर्तन (बाल मनोविज्ञानमा आधारित), महत्वपूर्ण वैज्ञानिक साँचो (व्यङ्ग्य नाटक), निभेको आगो (नाटिका)गीति कथिका र नाटकहरू लीलबहादुर दाइका कलमबाट निसृत भएका थिए। तर ती अनमोल साहित्यिक सामग्रीहरू कतै प्रकाशन भएको जानकारी पाइँदैन।केही बाध्यता केही रहरले प्रसारणका निमित्त अनगन्ती रेडियो नाटक लेखाउँछ भनेर उहाँले भनेका कुरा उहाँका आफ्ना संस्मरणहरूमा पाइन्छ। उहाँकै संस्मरणहरूमा उहाँले लेखेका अझै केही रेडियो नाटकहरूको सूची यसप्रकार छ–निभेको आगो, शान्तनुको शोक, एम.एम.एम, मिलन, हिमालयको पुकार,विजय दशमी, महिषासुर वध, रहस्योद्घाटन,भाइटिका, कर्म, टेगोरको कथामा आधारित काबुलीवाला, टलस्टयको कथामा आधारित नपत्याउने छिल्काले घर डढ़ाउँछ, कन्यार्थी आदि आदि।
उहाँका रेडियो नाटक र रुपकहरू मध्येलीलबहादुर क्षत्रीः चर्चित नाटकहरू पुस्तकमारेडियो रुपकहरू भनेर प्रतीक्षा, अर्द्ध शताब्दीभित्र एकजोर परेवा, कन्यार्थी, मिलन, महिषासुर वधयी पाँचवटा मात्रै प्रकाशित छन्।
प्रतीक्षाशिर्षक रुपकमा उद्घोषकले राखेको भनाइबाट नै यसको कथासार छर्लङ्ग हुन्छ। एउटी अबला नारीलाई प्रतीक्षा हुन्छ उसको विदेशिएको पतिको अनि बाबुको स्नेहबाट वञ्चित छोरालाईप्रतीक्षा हुन्छ उसको बाबुको। नारी पात्र प्रभाको जीवनमा पति आउँछ भन्ने आश मात्र रहेको हुन्छ। उसको मुटुको चोइटो एकमात्र सहारा छोरोमात्रै हुन्छ। छोरालाई सुताएर ऊ पनि सुत्छे अनि निद्रामा पतिसित भेट भएको सपनामा रुमलिन पुग्छे। तर सपना टुट्छ, ऊ आत्तिन्छे उसको मन रुन्छ। भन्नुपर्दा नाटकमा वास्तविक जीवन कठोर बनेको देखिन्छ। जीवन सङ्घर्षमा जुझिरहेकी एउटी नारीको आँसुमा डुबेको कथा छ यसमा।
त्यस सङग्रहमा परेको दोस्रो रेडियो नाटक अर्द्ध शताब्दीभित्र एकजोर परेवा हो। यो नाटक तत्कालीन हाम्रो समाजको एउटा चित्रण हो। एउटी नारीलाई जीवनकालभरिका विभिन्न अवरोधले गर्दा घर बाहिर निस्किन सक्ने अवस्था हुँदैन। यसमा रहेको पुरुष चरित्र रेशमको सम्वादबाट नाटकको मूल विषय छर्लङ्ग हुन्छ – “वा! क्या गजब! बिहेअघि दुनियाको लाज, बिहेपछि सासू ससुरा, घरका जहानको लाज, नानी भएपछि बच्चाहरूको लाज, अब बुढ़ेसकालमा छोरा बुहारी, नाति नातिनाको लाज। स्त्री जातिको यो लाजले पनि जीवनमा यस्तो पर्खाल तेर्स्याई दिँदो रहेछजोकहिल्यै नापिदैँन। भैगो नातिलाईनै लिएर जाउ सिनेमा हेर्न।”– एउटी नारी स्वतन्त्र भएर आफू खुशी आनन्द र रमाइलो गर्ने मौका जीवनभरी जुटाउन नसकेको कुरा छ यस नाटकमा।
यस सङ्ग्रहमा परेको तेस्रो रेडियो नाटक कन्यार्थी हो।हास्यव्यङ्ग्य विधा अन्तर्गत लेखिएको यो रेडियो नाटक राम्रो बनेको छ। यसका सम्वादहरूलेआनन्द दिँदै श्रोतालाई निकै हँसाउँछ। आँफूकाले नराम्रो केटाभए पनि उसलाई केटीचाहिँ गोरी र राम्री अग्ली चाहिने। केटो चन्दु पनि पढ़ेको भए हुन्थ्यो नि। ऊ आइएमा पाँचपल्ट फेल गरेको हुन्छ तर उसलाईकेटी चाहिने पढ़ेकी। गजब छ। साथी भाइ लिएर कन्यार्थी भएर एउटा घरमा जान्छन्। परिबन्धले आफू जस्तै काली र होची केटी उसलाई फेला पर्छ। यस नाटकले श्रोता वा पाठकलाई निकै आनन्द दिन्छ।
सङ्ग्रहमा परेको अर्को रेडियो नाटक हो मिलन। गुवाहाटीको नेपाली कार्यक्रम उत्तराञ्चल अनुष्ठानबाट यो नाटक सन १९६४ मा प्रसारण भएको थियो।यस रेडियो नाटकको कथा मन छुने खालको राम्रो छ। मदन फौजी हुन्छ। उसकी एउटी बैनी हुन्छे। बहिनीलाई मदनले होस्टलमा राखेर कलेज पढ़ाउँछ। आमाबाउ हुँदैनन्।बहिनीलाई दाजु मदनको बिहे गरिदिन पाए हुन्थ्यो भन्ने लाग्छ। मदनको साथी र ऊ भएर एउटी केटी हेरेका हुन्छन्।मदन केही दिनको छुट्टीमा आउँदा केटीसित जनै सुपारी गरेर बिहेको तयारी हुँदै गर्दा फौजबाट मदनलाई बोलाइन्छ। ऊआफ्नो बिहे छोड़ेर देशको सुरक्षाका लागि फौजमा फर्किन्छ र युद्धमा सामेल हुन्छ। बम लागेर ऊ घाइते हुन्छ अनि दृष्टिहीन हुनपुग्छ। हस्पिटलमा उसलाई सेवा गर्ने नर्सलाई आफ्नो व्यथा सुनाउँछ। भाग्यवश त्यो नर्स ऊसित जनै सुपारी भइसकेकी त्यही केटीहुन्छे। उसले अन्य केटासित बिहे गरेकी हुन्न। हस्पिटलमा मदन र कलाको भेट हुन्छ र एक अर्कामा समर्पित हुन्छन्। यही हो नाटक मिलनको कथा सार।
प्रकाशित रेडियो नाटकहरूमा पाँचौ रेडियो नाटक महिषासुरवधहो। सबैले जानेकै विषय हो यो। माता दुर्गा देवीले दानवीय शक्ति महिषासुरको वध गरेको नाटकीकरण हो यो रेडियो नाटक। यसमा मिथकीय पात्र पात्राको मानवीकरण प्रस्तुत गरिएको छ। असत्यमाथि सत्यको विजय नै यस रेडियो नाटकको सारतत्व हो। पढ़दा यसको नाटकीकरण सुन्दर बनेको पाइन्छ। शब्द र ध्वनि मिश्रणसित यो त्यतिबेलाको प्रस्तुति गजबकै थियो होला।
उहाँका संस्मरणात्मक निबन्धहरू पढ़दा उहाँले विभिन्न समयमा मञ्चन गराउनका लागि एकाङ्कीहरू लेख्ने गर्नुभएको कुरा थाहा लाग्छ। नाटक लक्ष्य र दोबाटो नाटकको चर्चा मोटामोटी यहाँ गरिसकियो।
उहाँले लेखेर मञ्चन समेत भएको पहिलो एकाङ्की साइँला दाइ हो। यस एकाङ्कीमा हास्य र व्यङ्ग्य मिसिएको थियो। यो कतै प्रकाशित भएन। १९७०-७१ तिर उहाँले माग र भाइटीका एकाङ्की लेख्नुभएको हो। सन १९७१-७२ तिर मालिगाउँ इन्स्टिट्यूटको भानुजयन्तीमा देखाउन दुई दृश्यको भानु र घाँसी लेख्नुभयो। सन १९८६ मा नेपाली छात्र सङ्घको करकरले वगरमा छिरल्लिएका ढुङ्गा लेख्नुभयो। यसमा तत्कलीन असमेली नेपालीको सन्त्रस्त स्थितिको चित्रण रहेको छ। यो एकाङ्की सन १९८६मा निकासीमा त्यतिबेला भएको भाषा अधिवेशनमा मञ्चन गरिएको कुरा थाहा पाइन्छ। उहाँले लेखेको एउटा एकाङ्की मर्चामृत शिलाङबाट त्यतिबेला प्रकाशित हुने उषा पत्रिकामा प्रकाशित भएको भन्ने कुरा थाहा पाइन्छ। तर लेखन र प्रकाशन कालको उल्लेख भने पाइँदैन।
जे होस्, डा, गोविन्दराज भट्टराईको सम्पादनमा प्रकाशित लीलबहादुर क्षत्रीः चर्चित नाटक पुस्तकमा शुरूको शुरू,माग र भाइटीकाभित्रै तीन एकाङ्कीहरूलाई समावेश गरिएको छ। शुरूको शुरू एकाङ्की १९८७ मा भवानी घिमिरेको भानुको एउटा विशेष अङ्कमा केवल यही एकाङ्की मात्रै प्रकाशित हुन्छ। यो निकै चर्चित एकाङ्की हो। यसमा तत्कालीन भाषा मान्यताको, माटाको, उच्छेद आदिका विभिन्न समस्यालाई समेटिएको पाइन्छ। सन १९८६ तिर हास्यव्यङ्ग्यका शैलीमा लेखिएको यो एकाङ्की त्यतिबेलाको नेपाली गाउँले परिवेश तथा तत्कालीन समसामयिक स्थितिमाथि विचित्रको चित्रण छ। एकातिर नेपाली भाषा आन्दोलन चर्किएको अर्कातिर गोर्खाल्याण्डको आन्दोलन अनि फेरि विदेशी बहिष्कार आन्दोलनको चेपारामा परेका नेपालीको अस्तित्वको चित्रणअति नै सुन्दर बनेको छ।
रामलाल अधिकारीको एकाङ्की यात्रामा एकाङ्की माग समावेश भएको छ। यो नाटक असमका गाउँ गाउँमा मञ्चन भएको भन्ने कुरा क्षत्रीज्यू आफ्ना संस्मरणमा भन्नुहुन्छ।माग एकाङ्कीमा आसामको औद्योगिक क्षेत्र विशेष गरी डिगबोइको कुनै कारखानामा काम गर्ने नेपाली श्रमिकको साह्रो गाह्रोको कुरा उल्लेख छ। यस एकाङ्कीमा मूल पात्र मानवीरको परिवारले भोगेको आर्थिक स्थितिको मार्मिक चित्रण अति नै सावधानीपूर्वक गरेको पाइन्छ।यसमा देखाइका ऋणात्मक दुई चरित्रले दर्शकको घृणा पाउनुको साटो दर्शकबाट सहानुभूति प्राप्त गरेकोथियो भनिन्छ। यो एकाङ्कीको मञ्चन भएको स्थान र समय थाहा नभए तापनि यसले निकै प्रसंशा बटुलेको थियो भन्नेकुरा जान्न पाइन्छ। (भट्टराई, लीलबहादुर क्षत्रीः चर्चित नाटक, पृष्ठ –१३२।)
भाइटीकाभित्रै एकाङ्की वास्तवमा रेडियो नाटकका रूपमा लेखिएको थियो। पछि भाइटीका नामले यसलाई मञ्चन गरिएको कुरा पनि क्षत्रीज्यूको संस्मरणमा पाइन्छ। तर कहाँ र कहिले मञ्चन भयो भन्ने कुरा चाहिँ थाहा पाइँदैन। रेडियोमा प्रसारण भएको समय पनि थाहा पाउन सकिएन। तर यो सामाजिक एकाङ्की राम्रो बनेको छ। यसमा एउटा साधारण निम्न परिवारमा तिहारपर्व आउँदा देखिने चहलपहल, पुगअपुगव्यवहार आदिकुराहरूको उठान राम्रो बनेको छ। एकाङ्कीले तत्कालीन समाजको मात्रै चित्रण गर्दैन तर आजको हाम्रो समाजलाई पनि यसले सुन्दर भावना दिएको छ। यसका पात्र गणेशले बोलेको एउटा मीठो सम्वादले नाटकले दिन चाहेको भावना छर्लङ्ग पार्छ – “मैले हाँसो गरेको होइन बा। जात हामी दुवैको एउटै नेपाली हो। एउटै भाषा, एउटै धर्म, एउटै संस्कृति। चार जात छत्तीस वर्ण, हामी हौँ एउटै बगैँचाका विविध पुष्प नेपाली। यहाँ ठूलो र सानोको पनि प्रश्न आउँदैन। वैवाहिक सम्बन्ध मनको मिलनले हुने कुरा हो। घर घरान सानो ठूलो मिलाएर मात्र हुने कुरा होइन।”(भट्टराई, लीलबहादुर क्षत्रीः चर्चित नाटक, पृष्ठ – १८५।)
यस एकाङ्कीबारे डा. गोविन्दराज भट्टराईले उहाँले सम्पादन गरेको पुस्तकलीलबहादुर क्षत्रीः चर्चित नाटकमा अति नै छोटकरीमा यसो भन्नुभएको छ – “मानिसको आशा र आकाङ्क्षा छन्, निम्नस्तरको नोकरी र घरबार यस्तै दुःखहरूको जीवन्त चित्र र सांस्कृतिक झलक छ।” (भट्टराई, लीलबहादुर क्षत्रीः चर्चित नाटक, पृष्ठ –उनन्तीस।)
सम्झना सागरमा लीलबहादुर दाइलाई सम्झँदा उहाँले बाल्यकालदखि नै कविता गीत आदिबाट आरम्भ गरेर नाटक एकाङ्की, कथा, उपन्यास, लघुकथा, विविध थरिका निबन्ध, प्रबन्ध, रेडियो नाटक, रुपक, बालसाहित्य, पाठ्य पुस्तक, अनुवाद साहित्य, अनगन्ती भूमिका, संस्मरण, ऐतिहासिक कृति आदि साहित्यका प्रायः सबै विधामा आफ्नो कलम चलाउनुभएको थियो। बहुप्रतिभाका धनी हुनुहुन्थ्यो उहाँ। यस लेखमा उहाँले लेखेका रेडियोनाटक, एकाङ्की र नाटक लेखन र नाट्य गतिविधिको भवसागरबाट केही थोपा मात्रै अञ्जुलिमा भरेर यहाँ पस्किने प्रयास गरियो। केही त औँलाका च्यापबाट चुहे पनि होलान्। अस्तु।
- उपाध्याय, मुक्तिप्रसाद, पदचिह्न पहिल्याउँदै। सन २०२३।
- भट्टराई, डा. गोविन्दराज, सम्पादक, लीलबहादुर क्षत्रीः चर्चित नाटकहरू, वि.स. २०७८।
- क्षत्री, लीलबहादुर, झाउरे पार्टीमा लाग्दा, सन १९९९।
सन्दर्भ पुस्तक –
१) झ्याउरे पार्टीमा लाग्दा (निबन्ध सङ्कलन), सन १९९९– लीलबहादुर क्षत्री।
२) सिमलको भुवा (निबन्ध सङ्कलन), सन २०१२ – लीलबहादुर क्षत्री।
३) झ्याउरे पार्टीले गर्नुगऱ्यो (लेख सङ्कलन), सन २०१४ – मुक्तिप्रसाद उपाध्याय।
४) अतीतको ऐनाभित्र विविध झाँकीहरू (निबन्ध सङ्कलन), सन २०२५ – सम्पादक डा. खगेन शर्मा।
५) त्रिफला दर्पण, लीलबहादुर क्षत्री स्मृति ग्रन्थ वि.स. २०८२ – सम्पादक, डा. गोविन्दराज भट्टराई।
*********
———
