सुरभिको वार्षिकोत्सबमा अभिनन्दन,पुरस्कार समर्पण तथा पुस्तक लोकार्पण

मुख्य समाचार

१७ माघ २०८२, काठमाडौं

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ वार्षिकोत्सबका अवसरमा प्रा.डा.समालोचक अभि सुवेदीलाई अभिनन्दन गर्नुका साथै ४ प्रतिभाहरूलाई बिभिन्न पुरस्कारहरू प्रदान गरियो ।
पुरस्कृत हुने प्रतिभाहरूमा नगद राशि रू ५१०००/ को “सुरभि विजय वाङ्मय पुरस्कार” समालोचक ठाकुर शर्मा भण्डारी, नगद राशि रू २५०००/- को “गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार” आख्यानकार खगेन्द्र संग्रौला, नगद राशी रू २५०००/-को “सुरभि बाजुराम आख्यान साधना पुरस्कार” कथाकार सुशीला प्रधानाङ्ग तथा नगद राशि रू २५०००/-को “सुरभि रमा- बद्री निबन्ध पुरस्कार”निबन्धकार रामप्रसाद पन्त रहेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक युवराज मैनालीले पुरस्कृत तथा अभिनन्दित व्यक्तित्वहरूको बारेमा संक्षेपमा मन्तव्य राख्दै उहाँहरूका कृतित्व तथा व्यक्तित्वमाथि समेत प्रकाश पारेका थिए।पुरस्कार चयन समितिका संयोजक समेत रहेका मैनालीले पुरस्कार छनौटका बारेमा समेत बोलेका थिए।
कार्यक्रममा समालोचक गोपी मैनाली,प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल,इतिहासविद् प्रा.दिनेशराज पन्त,प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे तथा कवि श्रीहरि फुयाँलले शुभकामना मन्तव्य राख्दै अभिनन्दित र पुरस्कृत व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
अभिनन्दित व्यक्तित्व प्रा.डा.अभि सुवेदी तथा पुरस्कृत व्यक्तित्वहरू खगेन्द्र संग्रौला तथा सुशीला प्रधानाङ्गले मन्तव्य राखेका थिए।
सो अवसरमा प्रतिष्ठानका संरक्षक तथा कथाकार युवराज मैनालीद्वारा लिखित’पात्र विघटन’लघुकथासङ्ग्रह लोकार्पण गरिएको थियो । बिमोचनपश्चात् पुस्तकका भूमिका लेखक समेत रहेका समालोचक महेश प्रसाईले लोकार्पित लघुकथाहरूको संक्षेपमा समीक्षात्मक टिप्पणी पेश गरेका थिए।टिप्पणीका क्रममा उनले कथाकार युवराज मैनाली नेपाली लघुकथामा पहिलो खलिल जिब्रान भएको बताउँदै मैनालीका कथाहरू पढ्दा कविता पढे जस्तो लाग्छ भनेर बताए। कार्यक्रममा मुक्ति गौतम (मणिपुर-आसाम,भारत),ललिता दोषी,महेन्द्र चालिसे,मधुसूदनप्राद घिमिरे र परशुराम पराशर ले लघुकथा वाचन गरेर सुनाएका थिए।घिमिरे र पराशरले भने’पात्र विघटन’पुस्तकबाट लघुकथा वाचन गरेर सुनाएका थिए।
प्रमुख आमन्त्रित व्यक्तित्व मेयर दीपककुमार रिसालले गोकर्णेश्वर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा साहित्यिक कार्यक्रमहरू समावेश गर्ने गरिएको बताउँदै नगरपालिकाभित्र स्थानीय,राष्ट्रिय साहित्यिक कार्यक्रम हुँदै आएकोमा अब अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम गर्ने योजना रहेको बताए।हाल नगरपालिकाभित्र १० साहित्यिक संस्थाहरू रहेको उल्लेख गर्दै सबै संस्थालाई नगरपालिकाले सहयोग गर्दै आएको बताए।नगरपालिकाभित्रका स्कुलहरूमा वर्षको एउटा कार्यक्रम गरियो भने पनि सयौँ साहित्यिक कार्यक्रम हुने बताए।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले अभिनन्दित तथा पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै कार्यक्रममा उपस्थित सबैमा हार्दिक आभार प्रकट गरेका थिए।
प्रतिष्ठानको गतिविधि तथा पुरस्कारहरूका बारेमा सदस्य वसन्त रिजालले प्रकाश पारेका थिए।
कार्यक्रममा सुलेख साहित्यिक मासिक पत्रिकाको विजय चालिसे स्मृति पनि लोकार्पण गरिएको थियो भने कथाकार तथा पत्रकार विजय चालिसेको तस्बिरमा फूलमाला चढाई हार्दिक श्रद्धा सुमन अर्पण गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका सहसचिव मेनुका पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव अच्युत घिमिरेले गरेका थिए।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)