माला (कथा)

कथा

 

माधव सयपत्री

(कथाकार माधव सयपत्रीको कथा सङ्ग्रह “माला” हालै प्रकाशित भएको छ । सो कथा सङ्ग्रहमा २२ कथाहरू रहेका छन् । पुस्तकको शिर्षक कथा “माला” पाठकहरूका लागि प्रस्तुत छ ।)

‘म एउटा कुरा भन्चु, मान्चस् कान्छा ?’ मालाले लाडिएर सोधी ।
‘के कुरा माला ?’ मैले प्रेमपूर्वक सोधेँ ।
‘अँ, म अ‍ैले भन्दिनँ । पोछि भन्चु ।’ मालाले भाका राखी ।
‘अ‍ैल्यै भन् न माला । किन लुकाएर राख्चेस् !’ मैले जिद्दी गरेँ ।
गौरीले मसित के भन्न खोजेकी थिई, त्यो दिन ऊ केही नभनी धन्सारबाट घरतिर उकालो लागी । म उसलाई देखिन्जेल हेरिरहेँ ।

000

माला एकदमै हिस्सी परेकी थिई, सयपत्रीको सुन्दर माला जस्तै । कपाल, जीउडाल, अनुहार सबै चिटिक्क । मभन्दा ऊ तीन वर्ष जति जेठी थिई । उसमा पूरापूर उमेरको रङ चढेको थियो । लुगाको अभावले घाँघर र कट्टु लगाएर हिँड्थी प्रायः जसो । घाँघरको फेरले मुस्किलले घुँडासम्म छोप्थ्यो । साँघुरो घाँघरमा उसको छाती बेस्मारी कस्सिएको देखिन्थ्यो । कहिलेकाँही माला आमाको फरिया बेरेर हिँड्थी । ऊ किञ्चित् आफूभित्रै साँघुरिएकी देखिन्थी । आमाको चोलोले उसलाई धोका दिन्थ्यो । उसलाई छाती थेग्न गाह्रो हुन्थ्यो । चोलो टिमिक्क नभएपछि निहुरिँदा छाती देखिइहाल्थ्यो । उसका मांसल पिण्ड बाहिरै निस्केलान् जस्तो लाग्थ्यो ।
ऊ लजालु थिई । त्यतिकैमा लज्जावती झारझैं लजाइहाल्थी ।
म सोच्थेँ, ‘केटीमान्छेले चैँ किन छाती छोपेर हिँड्न प-या होला ! हामी चैँ नाङ्गै न्वाउन हुने । एउटा कट्टुको भरमा संसारै डुल्न हुने । स्कुल जान हुने । जन्त पनि जान हुने । केटीमान्छेले चैँ लुकार हिँड्न पर्ने !’
मालाको घर अलि परै थियो । भेट्न धाएरै जानुपथ्र्यो । घाँसदाउरा गर्दा बाटामा भेट हुन्थ्यो । कहिलेकाँही स्कुल जाँदा घाँसदाउरा गर्न हिँडेकी माला भेटिन्थी । बोलचाल हुँदैनथ्यो । तल बेँसीमा हाम्रो धन्सार सँगसँगै जस्तो थियो । बिहानबेलुका हाम्रो भेट धन्सारमै हुन्थ्यो ।
हामी दुवैको घरमा आम्दानीको खास बाटो थिएन । आक्कलझुक्कल खसीबोका बेचेर बाउहरू केही पैसा भित्र्याउँथे । दुहुना हुँदाखेरी वर्षमा दुईचार माना घिउ बेचेको पैसाले बाउहरूले चाडपर्व र तिथिसराद चलाउँथे । मैले सानामा कहिल्यै पूरा लुगा लगाउन पाइनँ । माथिको पूरा भए तलको आधा । तलको पूरा भए माथिको आधा । सर्ट भए कट्टु । पँयठ भए बाँकाटे सर्ट । ती पनि ठाउँ ठाउँमा च्यातिएर हत्केलाभन्दा ठुला टालाले टालिएका हुन्थ्यो ।
हामी केटाहरू स्कुल छुट्टी भएपछि हतारहतार घर आउँथ्यौँ । भोकले हाम्रा आन्द्रा बटारिसकेका हुन्थे । आमाले घरमा धेरैजसो भुटेका मकै र कोदाका रोटी खाजा राखिदिनुहुन्थ्यो । म हाँप र झाँप गर्दै छिनभरमै खाजा खाइदिन्थेँ ।
म अगाडि नै धन्सारमा घाँस हाल्न गएको थिएँ । त्यो दिन माला ठुस्स परेर मेरो अगाडि देखा परी । मैले सोधेँ, ‘के भयो माला तँलाई ? किन ठुस्केकी ? बाउले कुटे कि आमाले गाली गरिन् ? अनि अस्ति के भन्चु भन्तिस् त !’
माला निकैबेर बोलिन । खालि तलतिर टाउको झारेर उभिरही । म उसको नजिकै गएँ अनि सोधेँ, ‘के भयो ? भन् न । मलाई नभने कसलाई भन्चेस् माला !’ माला गाह्रो मानेर बोली, ‘मलाई नि कस्तो पढ्न मुन लाछ कान्छा !’
मैले भनेँ, ‘किन पढ्न परो माला तँलाई ? तँ पढेर मास्टर्नी हुन्चेस् र ? सहराँ त हामी जस्ता भुरालाई मास्टर्नीले पढाउँचन् रे !’
उसले भनी, ‘तँसँ पढेर कोई मास्टर्नी हुन्च र ? मास्टर्नी हुन त स्कुलाँ पो पढ्न परो । अलेली अछेर चिन्चु कि भनेर पो त ।’
मैले भनेँ, ‘तेरो बाउलाई भनेर तँ स्कुल हिन् न माला ।’
उसले भनी, ‘छोरी मान्छेको त कर्मै खोटी हुन्च रे ! पढ्न हुन्न रे !’
मालाले पढ्न नपाउनुको पीडा पोखी ।
मैले ठट्टा गरेर सोधेँ, ‘किन पढ्न हुन्न रे माला छोरी मान्छेले ?’
माला गम्भीर भएर बोली, ‘छोरी मान्छे स्कुल गए गाईगोरु रूख चढ्चन् रे ! बाख्रा पखेँटा हालेर उड्चन् रे ! अनि केके हुन्च रे केके !’
मालाका कुरा सुनेर मलाई भित्रभित्रै हाँसो उठ्यो ।
मैले ठट्टैमा भन्दिएँ, ‘गाईगोरु रूख चढे घाँस काट्नै पर्दैन । आफैं रूख चढेर घाँस झार्चन् । बाख्रा उडेर टाढासम्म चर्न जान्चन् । तँ जसरी नि स्कुल हिन् माला ।’
मेरा कुरा सुनेर माला फन्किई । रिसाई । ठुस्स परेर अलि पर सरी ।
मैले फकाएँ, ‘तँ किन रिसाकी माला ? मैले त ठट्टा पो ग¥या त । तेरो पिर मैले बुझ्या छुइनँ र !’
‘बुझ्या भ अनि किन त्यस्तरी भन्या त ?’
‘बुझ्या छु नि माला । मेरो घराँ नि दिदीलाई पढ्न पठानन् । चौद बर्साँ भिनाजुको जिम्मा लाइदिए । यो गाउँबाट सुब्बाकी छोरी विमला मात्र स्कुल जान्चे ।’
मालाको अनुहार पानी छाड्ला छाड्ला जस्तो साउनको बादलझैं कालो भयो ।
उसले भनी, ‘हामी छोरी मान्छे नि तिमीहरू छोरा मान्छे जसरी कैले स्कुल जानी होला है कान्छा ! हाम्ले नि स्कुल जान पाम्ला र !’
उमेरले भाइ भए पनि दुःख र समस्या पर्दा मलाई नै भन्थी माला । म केटौले उमेरको भए पनि दुःख निवारणका अनेक उपाय उसलाई बताइदिन्थेँ भलै मेरा उपाय मालालाई काम नलागून् ।
मालाले स्कुल जाने रहर बाआमालाई भन्न सकिन । मैले भाले पल्टेर फुर्ती लडाउने त हो नि ! कसरी मालाका बाउका सामु मालाको स्कुल जाने चाहना बताउन सक्थेँ र !
खै, मालालाई केले घोचेको थियो ! घाउ कहाँ लागेको थियो ! कहाँनिर दुखेको थियो ! तर उसले स्कुल जाने चाहनाको घाउ बल्झाइरही । मैले उसको घाउमा मलम लगाउन सकिनँ । मालाको घाउ मलाई पनि दुखिरह्यो ।
गाईबाख्रा पाखातिर धपाएर एक दिन हामी गट्टा खेल्दै थियौँ । अनायासै मालाले भनी, ‘अब तँ र म गट्टासट्टा नखेलौँ । तँ मलाई पढ्न सिका ल कान्छा । तेरो गुन म कैले नि भुल्दिनँ । बोरु म तेरो काम गर्दिम्ला । घाँस काटिदम्ला ।’
‘अहो ! मालाले मलाई कस्तो अप्ठेरोमा पारी ! मैले उसलाई कुन बेला पढ्नलेख्न सिकाउने ! अरू केटीलाई चैँ पढ्न प¥या छैन । यै मालालाई चैँ कस्तो पढाइको भोक लाग्या !’
मनले आफैंसित कुरा ग-यो ।
हाम्रो स्कुलमा एक वर्षअघि नयाँ सर आएका थिए । बीस–बाईस वर्षे लक्का जवान । सफासुग्घर ल्वाइख्वाइ । गोरो अनुहार । जुल्फी कोरेर सम्म्याएको कालो कपाल ।
नयाँ सर डेढ हात जति लामो बाँसको छडी लिएर पहिलो पटक हाम्रो कक्षामा पसेका थिए ।
उनले भनेका थिए, ‘नानीहरूहो ! मेरो नाउँ ध्रुव कार्की हो । आजदेखि म तिमीहरूलाई नेपाली पढाउँछु । असल विद्यार्थीका लागि म साथी हुँ तर बदमास विद्यार्थीका लागि म दुष्मन हुँ । मैले भनेको मानेनौ अनि राम्ररी पढेनौ भने यै छडीले कट्टु मुत्नी गरी ठटाउँछु नि !’
‘नयाँ सर त लाज हुनी कुरा नि बोल्दा रान् ।’
बिने खत्रीले मेरो कानैमा आएर भनेको थियो ।
मैले भनेको थिएँ, ‘तँ चुप लाग् है केटा ! यी मास्टर खत्रा छन् जस्तो छ ।’
बिने, बिर्खे र स्वरूपे अलि फटाह टाइपका थिए । नयाँ मास्टरको गर्जन सुनेर थर्थरी नै भए । उनीहरू सासै नफेरी बसेका जस्ता देखिए ।
ध्रुव सरले सुब्बाको घरमा डेरा लिएका थिए । डेरा के भनौँ, त्यै घरमा विमलाका दिदीभाइलाई पढाइदिने र खानबस्न पैसा नलाग्ने । गाउँमा केही समय नयाँ मास्टरको उधुमै चर्चा भयो । उनलाई हेर्न भनेर गाउँलेहरू सुब्बाको घरको आँगनमा जम्मा हुन थाले ।
अर्को दिन पनि मालाले मलाई करकर गरी । धन्सारको फलेकमा मलाई तानेर बसाउँदै भनी, ‘कान्छा, तँ मलाई पढाउँदैनस् त ! तँलाई मेरो मयाँ लाग्दैन है !’
मैले भनेँ, ‘मयाँ त लाग्छ नि ! अलि दिनाँ तँ बे गरेर पोइको घराँ गैहाल्चेस्, तँलाई पढाएर के फाइदा ! मसित बिहे गर्चेस् त माला !’
मालाले लजाए जस्तो गरेर भनी, ‘तँ मलाई बे गर्छस् त कान्छा ? तँभन्दा म कति ठुली छु । मलाई कसरी बे गर्छस् तँ ! बे गर्न त केटीभन्दा केटा ठुलो हुनपर्च नि ! ठुलो भएसि मलाई बे गर्लास् नि !’
मैले अनायासै भनेँ, ‘किन नि माला केटा ठुलो हुनुपर्ने ? केटा सानो भो भने के हुन्च र ! केटीहरू पोइल जान्चन् हो ?’
उसले भनी, ‘मलाई बे गरिस् भने कहाँ लगेर पाल्चस् नि ! तेरो बाउआमाले तँलाई निकालिहाल्चन् ।’
मैले भनेँ, ‘औँस लिएर छुट्टै बसम्ला नि !’
मालाले घोसे मुन्टो लगाई । मालालाई मैले पढ्न नसिकाई भएन ।
मैले पन्छिन खोज्दै भनेँ, ‘सुब्बाको घराँ ध्रुव सर बस्या छन् । उनसित पढ् न माला । कस्तो रामरी पढाउँचन् ।’
उसले लाडिँदै भनी, ‘नाईं, मलाई लाज लाग्च क्या ! यत्री बुढी केटी भर नि सरसँ के सिक्नु ! गाउँकाले के भन्चन् ! फेरि सरले खिसी गरिहाल्चन् नि !’
मैले भनेँ, ‘ध्रुव सरलाई तेरै घरमा ल्यार राख्न ला न बाउलाई ।’
उसले भनी, ‘बाउले मान्चन् र !’
‘म ध्रुव सरलाई भन्दिउँला नि ! सुब्बाकैमा पढ्न जान्चेस् त माला ?’
‘कुन बेला जानु र कान्छा ? भो तँ नै मलाई पढ्न सिका ।’
माला एकछिन् बोलिन । सायद उसको मनले भन्दै थियो, ‘बाउले ध्रुव मास्टरकोमा पढ्न पठाए त कस्तो हुन्थ्यो !’
म दश वर्षको भएपछि स्कुल गएको थिएँ । अरू केटा त झन् मभन्दा ठुला थिए । तीन कक्षामा पढ्ने केटाहरूको जुँगाका रेखी बसेको हुन्थ्यो । तीन कक्षामा पुग्दा मेरा पनि जुँगा देखिन थाल्यो । बट्टे ऐनामा आप्mनो अनुहार हेर्दा मेरो नाकमुनि ससानो झुसिल्किरा बसेको जस्तो देख्थेँ । ऐना हेर्दा लाजलाज लाग्थ्यो ।
अरू केटाहरू खासै पढ्न ध्यान दिदैँनथे । म कुनै कक्षामा नरोकिई पहिलो भएर चारै वर्षमा पाँचमा पुगिहालेँ । घरमा महेन्द्रमाला किताबका कविता मैले लय हालेर पढेको सुन्दा माला घुटुक्क थुक निल्थी । आरिस गरेभैmँ गर्थी ।
ऊ भन्थी, ‘मलाई नि गीत गाउने गरी सिकाइदे बाई ।’
मालाले मलाई उम्कँनै दिइन । म लुकीलुकी मालालाई ‘क ख’ सिकाउन थालेँ । म गुरु भएँ, माला चेली भई । हाम्रो गुरुकूल बेसीको धन्सार बन्यो । हामी बिहानबेलुकै धन्सारमा वस्तुलाई घाँस हाल्न जान्थ्यौँ ।
धन्सारको पालीमुनि धुलो माटो फिँजायौँ । मोटो सिन्कोले मैले ‘क’ लेखेर उसलाई भनेँ, ‘देखिस् माला ? यो ‘क’ हो । ल, यल्लाई ‘क’ भन् ।’
मालाले ‘क’ भनी । मैले ‘ख’ लेखेँ । मालाले ‘ख’ भनी ।
अलिपछि उसलाई मैले मेरै पूरानो खरी र पाटी दिएँ । वनमारा माडेर मोसेपछि पाटी कालो भयो । म उसलाई ‘क ख’ लेख्न सिकाउन थालेँ । ऊ हात अररो पारेर लेख्न थाली ।
उसको पहिलो ‘क’ ले पाटी पूरै भरियो । आफ्नै ‘क’ देखेर माला गालामा गुलाफ फुलाएर खित्का छाडेर हाँसी । हाँस्दा गालामा परेका खोपिल्टाले मलाई भित्रैदेखि रोमाञ्चित बनायो । उसको कञ्चन खित्का सुनेर म उसैलाई एकछिन हेरिरहेँ ।
मैले सोधेँ, ‘माला, तँ किन हाँसेकी ?’
उसले भनी, ‘हेर् त कान्छा, मेरो ‘क’ कत्रो भो ? यत्रो बडो ‘क’ हुन्च र !’
ठट्टा गर्दै मैले भनेँ, ‘मान्छे ठुलो हुँदै जान्च, ‘क’ सानो हुँदै जान्च । तेरो ‘क’ पनि एक दिन ठिक्कको हुन्च नि माला ।’
माला मलाई हेरेर मिठो गरी मुस्कुराई । मैले उसका खोपिल्टिएका गालामा हेरेँ । उसका गालामा रातो गुलाव फुलेको थियो ।
यसै गरी मालाले ‘ख’ लेखी । ‘ग’ ‘घ’ गर्दै छत्तीस वटै नेपाली ब्यञ्जन साँवा अक्षरहरू एक हप्तामै लेख्न सिकी । माला अक्षर लेख्न सकेकोमा जति खुसी थिई, म उसलाई लेख्न सिकाउन सकेकोमा ऊभन्दा सयौँ गुना खुसी थिएँ ।
मेरो काम घटेको थियो । दिउँसो माला मेरो घाँस काटिदिन्थी । मैले बिहानबेलुका घाँस काट्न पर्दैनथ्यो । उसका र मेरा बाउआमाले थाह पाएका थिएनन् । धन्सारमै घाँस काट्यो, उतै वस्तुलाई हाल्यो । हाइसन्चो ।
मालालाई अब कालोपाटीले हुन छाड्यो । ‘क का कि’ ‘अ आ इ’ लेख्न सिकी । आफ्नो नाउँ लेख्न जानी । साथीहरूको नाम लेखी । हुँदाहुँदा माला पटटटअ किताब पढ्न सक्ने भई ।
धन्सार जाने बाटोमा सोम काकाको खिर्चीमिर्ची पसल थियो । खोपी खेलेर जितेको पैसाले केराउगेडे मिठाई किनेर खान्थ्यौँ । कापीकलम त्यहीँ किन्थ्यौँ । मालाले जम्मा गरेको दक्षिणाबाट आफैंले सोह्रपाने कापी किनी । खिटखिटेवाला डटपेन किनी ।
मालाले कापीकलम किनेको देखेर सोम काकाले सोधे, ‘माला, तँ नि पढ्न जान ला क्या हो !’
मेरो मुखतिर हेरेर लजाउँदै मालाले भनी, ‘भाइलाई किन्या हो काका ।’
मालाको भाइ सात वर्षको थियो । उसलाई हामी गुन्टे भन्थ्यौँ । तर उसको नाम रवि थियो । ऊ स्कुल गएको थिएन । ‘क ख’ पनि सिकेको थिएन । नयाँ वर्षमा मालाका बाउले उसलाई स्कुल लगेर भर्ना गरिदिए । ऊ मेरो साथी भयो ।
एक दिन गुन्टुले मलाई भन्यो, ‘हाम्लो घलमा नयाँ सल आछन् बाई !’
‘कैले आका गुन्टे ?’ मैले सोधेँ ।
उसले भन्यो, ‘अस्तिन आका ।’
अर्को दिन म मालाकोमा नयाँ सर हेर्न भनेर गएँ । उही ध्रुव सर पो रहेछन् ! सुब्बालाई भनेर मालाका बाउले छोरालाई पढ्न बानी पार्न ध्रुव सरलाई ल्याएका रहेछन् ।
ध्रुव सरलाई देखेपछि मेरो मनले भन्यो, ‘ठुली भएकी छोरी चैँ मसित पढ्छे । सानो छोरालाई चैँ मास्टर चाहिने ! केटीमान्छेले चैँ नपढे नि हुने तर केटामान्छेले मात्रै किन पढ्नु प¥या होला !’
यताउती हेरेँ । माला देखिनँ । फनक्क फर्किहालेँ । बाटोमा मालालाई भेटेँ । ऊ घाँसको भारी बोकेर आउँदै थिई । मैले भनेँ, ‘माला, अब तँलाई पढ्न सिकाउनु पर्दैन होला नि ! ध्रुव सर तेरै घराँ बस्न लाग्या रचन् । अब उनसितै पढ् ।’
मालाले घाँसको भारी नै नबिसाई भनी, ‘मलाई लाज लाग्च क्या कान्छा !’
‘यत्री ठुली भैसकिस्, अझै लाज मान्चेस् ! सरले बिहानबेलुका जतिबेला नि सिकाउँचन् । स्कुलबाट नयाँ किताब नि ल्याइदिन्चन् । अब उनसितै पढ् ।’
माला मसित रिसाएर हिँडी
अर्को दिनदेखि माला मसित पढ्न आउन छोडी । मलाई नरमाइलो लाग्यो । उसलाई पढ्न नआइज भनेकामा मलाई पछुतो लाग्यो । धन्सारमा वस्तुभाउ गर्न जाँदा माला मसित बोलिनँ । उसको चित्त दुखाएकोमा मलाई गला लाग्यो ।
माला धन्सारबाट फर्कँने गौँडोमै ढुकेर बसेँ । माला घाँस हालेर आई ।
हत्तपत्त सोधेँ, ‘माला, तँलाई के भो ! मसित किन पढ्न नआकी ?’
मालाले रिसाएर भनी, ‘पढ्न नआइज भनेसि किन आउनु नि !’
त्यसपछि माला बोलिनँ । मेरो मन भारी भएर आयो ।
मालासित निकै दिन भेट भएन । मालालाई नदेख्दा म पानीविनाको माछा जस्तो भएको थिएँ । ‘त्यो मसित रिसाएकी छे, के भेट्न जानु !’ मनले सोच्यो । तर भित्रभित्र आगोको जस्तो रापले मलाई पोलिरह्यो । मेरो मनका कुरा बुझ्ने माला नै थिई । उसको कुरा बुझ्ने म नै थिएँ । तर किन माला मसित टाढिएकी होली !
अर्को वर्ष माला र ध्रुव सरको बिहे भयो । मालाले ध्रुव सरलाई स्वयंवर गरी । उसले झुकेर दुई हातले ध्रुव सरको गलामा ‘माला’ लगाइदिई । माला र ध्रुव सर लगनगाँठोमा कसिए । ध्रुव सरले मालाका हातमा औँठी लगाइदिए ।
माला मेरो मुटु सँगै लिएर ध्रुव सरकोमा दुलही बनेर गई । उसको कालो कपालमा सिउरिदिन मनको बगैँचामा फुलाएर राखेको प्रेमको फूल त्यसैत्यसै ओइलायो ।
मेरो मनले आफैंसित बिलौना ग-यो, ‘माला, म तँलाई माया गर्चु नि ! मैले तँलाई पढ्नलेख्न सिकाको होइन ! पढ्नलेख्न सिकाए मसित तैँले बे गर्चु भन्या होइन ! तँलाई नै स्वयंवर गरी माला लगाइदिन्छु भनकी हैनस् माला तैँले !’
मालालाई मेरो मनबाट चोरेर लैजाने ध्रुव सरको स्कुलमा पढ्न जान मन लागेन । ध्रुव सर पनि आएनन् । चारपाँच दिनपछि माला माइत आई । कतिखेर देखूँ लागे पनि मेरो मन अटेरी भएको थियो । म स्कुल जान लागेँ । ध्रुव सर पनि स्कुलमा हाजिर भए । मलाई ध्रुव सरदेखि रिस उठेको थियो ।
पढ्न मन लागेको थिएन । काम गर्न मन लागेको थिएन । बेलुका बाउले भनेपछि म धन्सारमा वस्तुलाई घाँस हाल्न गएँ । अचानक माला पुगी । ऊ बोलिन । म पनि बोलिन । एक अर्कालाई हेरेर मात्रै उभिइरह्यौँ ।
मेरीबास्सै ! कति राम्री देखिएकी माला ! घाँघर र कट्टु लगाएर हिँड्ने माला आज सारीमा सजिएकी थिई । झरझुट्ट गरगहना, श्रृङ्गारपटारले धपधपी बलेकी माला अगाडि देख्दा मेरो त होसहवासै उड्ला जस्तो भयो ।
‘कान्छा ! तँ मसित कत्ति रिसाको होलास् है ! तैँले मलाई लेख्नपढ्न सिकाइस् । उमेरले तँ मेरो भाइ होस् । अब ध्रुव सरलाई भिनाजु भन् है !’
म बोल्दै बोलिनँ । अर्कोतिर मुन्टो फर्काएर उभिरहेँ ।
उसैले फेरि भनी, ‘नरिसा न कान्छा ! तैँले पढ्नलेख्न सिकाको हुनाले तैँले नै मास्टर भिनाजु पाइस् । मलाई अब सप्पैले मास्टर्नी भन्चन् । तेरी दिदी मास्टर्नी हुँदा तँलाई खुसी लाग्दैन ! यो पालिदेखि तिहारमा म तँलाई भाइटिका लाउँचु है कान्छा !’
म अझै बोलिनँ । मेरो मन मालालाई दिदी मान्नै तयार थिएन ।
ऊ मलाई फकाउन लागी, ‘भैगो कान्छा । तेरो गुन म कहिल्यै बिर्सन्नँ ।’
मैले ठस्केर भनेँ, ‘भो, कसैले गुनसुन क्यै मान्नु प-या छैन ।’
माला आद्र् भएर भन्न थाली, ‘मेरा कुरा सुन् न कान्छा ! ध्रुव मास्टर सुब्बाको घरमा आएदेखि नै म उनलाई मन पराउन थालेकी थिएँ । नजिक जान र बोल्न अप्ठेरो भयो । टाढैबाट हामी आँखामै कुरा गर्न थाल्यौँ । एक दिन उनले मलाई एकान्तमा बोलाएर भने, ‘माला, तिमी मसित बिहे गर्छ्यौ त !’
मैले लजाएर भनेँ, ‘मास्टर भैखाको धनीमानी मान्छेसँ हामी गरिबको कसरी बे हुन्च र !’
उनले भने, ‘धनी गरिबको कुरा हैन माला । तिमीले पढ्नलेख्न जानेको हेर्ने इच्छा छ मेरो । तिम्ले पढ्नलेख्न जान्यौ भने हामी बिहे गरौँला नि ! मसित पढ्न आउछ्यौ त माला !’
मैले भनेँ, ‘नाईं, मलाई लाज हुन्च ।’
उनले नै मलाई पढाउन खोज्याथे तर गाउँलेले कुरा काट्चन् भनेर तँसित अछेर सिक्न पठाए । उनले अह्राएको कुरा नभनी मैले तँसित अछेर पढ्नलेख्न सिकेँ । तैँले मेरो लागि धेरै दुःख गरिस् कान्छा । भिनाजुको तलब आएसि म तेरो लागि एकजोर सर्टपयँठ किन्न लाउँचु है !’
मालाका कुरा सुनेपछि मेरा सारा आवेग, कुण्ठा, आशक्ति झ-यामझुरुम एकैचोटि फुटे । मन चङ्गासरी भयो । प्रेमिकाका लागि हृदयभरि फुलाएको प्रेमको फूल, तत्क्षण त्यो फूल मैले माला दिदीलाई श्रद्दास्वरूप अर्पिदिएँ । मैले भनेँ, ‘माला दिदी, भाइले दिदीलाई लेख्नपढ्न सिकाको ज्याला लिन मिल्च र ! अब दिदीले भाइलाई तिहाराँ टिका ला’र माला लाइदिनुहुन्च । अनि भाइले दिदीलाई टिका ला’र माला लाइदिन्च ।’
मालाका गहिरा आँखामा हर्षाश्रु सरर रसाए । नाकको डाँडीबाट पातबाट झर्दै गरेको शीतझैं आँसु तपक्क खस्यो । उसले सारीको सप्कोले पुछी । मैले पनि आँसु थाम्न सकिनँ । सर्टको फेर माथि तानेर आँसु पुछेँ ।
माला धन्सारबाट घरतिर उकालो लागी । मैले मेरी दिदी मालालाई हेरिरहेँ ।

०००