विजय मल्लः नेपाली साहित्यका बहुआयामिक स्रष्टा
बालकृष्ण ‘पासा’, दोलखा
म पनि नेपाली साहित्यलाई अन्तरहृदयदेखि माया गर्ने नेपाली नागरिकहरूमध्येमा एक हुँ जस्तो लाग्छ । मैले विद्यालय जीवनदेखि नै धेरै साहित्यकारहरूको कृति पढेको छु । प्रायः मलाई सामाजिक, यौन ज्ञान र जासूसी उपन्यासहरू पढ्न रुचि लाग्दथ्यो । अनि छिटफूट कथाहरू पनि । अझ भन्नुपर्दा व्यङ्ग्यात्मक लेखहरूमा मेरो विशेष ध्यान जान्थ्यो । त्यसैले भैरव अर्यालका व्यङ्ग्यहरू पढ्दथेँ । म माध्यमिक कक्षामा अध्ययन गर्दाताका साहित्यका पुजारी विजय मल्लको ‘अन्तिम भोज’ शीर्षक रहेको व्यङ्ग्य कथा पढेको थिएँ । सानै उमेरमा देश विदेशबारे त्यत्ति जानकारी नभए पनि युद्ध, क्रान्ति अनि शान्तिबारे अन्तराष्ट्रिय जगतमा भइरहेको र हुन लागेका घटना परिघटनाले देशभक्तपनको भाव जाग्दथ्यो । झन् त्यो ‘अन्तिम भोज’ कथापरक लेखले मेरो ध्यान आकृष्ट पारेको थियो ।
मल्लको कृतिहरूमा समावेश भएको विशेष कथाहरूमध्ये चर्चित कथा अन्तिम भोज हो । यसमा उनले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय परिवेशलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । ठूला राष्ट्रका बौद्धिक भनिने व्यक्तिहरू एकै ठाउँमा भेला भई आणविक अस्त्र–शस्त्र निर्माणको सफलता मनाउन भोज आयोजना गर्छन् । तर कथाकार मल्लले यसलाई मूर्खता र मानव जीवनमाथि गरिएको घातका रूपमा चित्रण गरेका छन् । यस कथाले युद्ध र हिंसाबाट मानव जीवनलाई मुक्त गर्नुपर्ने सन्देश दिन्छ, शान्ति र सहअस्तित्व नै मानवताको आधार हो भन्ने दृष्टि प्रकट गर्छ । यसरी अन्तिम भोज नेपाली कथामा अन्तर्राष्ट्रिय चेतना, व्यङ्ग्य र बौद्धिक गहिराइको उत्कृष्ट उदाहरण मानिन्छ ।
स्रष्टा विजय मल्लको जीवन जगत र साहित्यिक यात्रालाई स्मरण गर्नुपर्दा उनी ऋद्धिबहादुर मल्ल र आनन्दमायाको कोखबाट वि.सं. १९८२ असार १० गते काठमाडौंको ओमबहालमा जन्मिएका हुन् । उनका पिता ऋद्धिबहादुर मल्ल राणाहरूसंग नजिक भएकोले त्यसबेला दरबार हाई स्कुलबाट शिक्षा प्राप्त गर्ने अवसर पाएका थिए । जतिबेला ऋद्धिबहादुर सुब्बा पदमा कार्यरत थिए ।
उनका पिता शारदा मासिक पत्रिकाका सम्पादक थिए, दाजु गोविन्दबहादुर मल्ल ‘गोठाले’ पनि चर्चित साहित्यकार थिए नै । यसरी आफ्नै घरमा साहित्यिक वातावरण पाएका विजय मल्ल बाल्यकालदेखि नै कथा, कविता र नाटकप्रति आकर्षित भएको उनको प्रतिभाशाली कदमबाट स्पष्ट हुन्छ । दरबार हाई स्कूलमा अध्ययन गर्दै उनले अंग्रेजी, फ्रान्सेली र रसियन साहित्यमा रुचि बढाए, शेक्सपियर, चेखब र इब्सेनका नाटकहरूको अध्ययनले उनलाई गहिरो प्रभाव पारे । जसले नेपाली साहित्यका बहुआयामिक व्यक्तित्व हुन् भन्ने साहित्यिक पहिचान दिलाएको छ ।
उनको साहित्यिक यात्रा वि.सं. १९९७ तिर कथा लेखनबाट सुरु भएको देखिन्छ । उनले सोही बेला ‘मर्नुपर्छ है दाइ !’ शीर्षकमा कविता रचना गरेको देखिन्छ । शारदा पत्रिकामा वि.सं. २००० मा छापिएको ‘दश रूपियाँ’ कथा उनको पहिलो प्रकाशित रचना मानिएको छ । त्यसपछि उनले कविता, कथा, उपन्यास र नाटकमा निरन्तर कलम चलाए । कवितामा उनले विद्रोह, क्रान्ति, शान्ति र मुक्ति जस्ता विषयलाई केन्द्रमा राखे । ‘छोरीलाई मानचित्र पढाउँदा’ शीर्षकको कविता विशेष चर्चित छ, जसमा उनले रगतले कोरिएका सीमाहरूलाई प्रतीक बनाएर युद्ध र विभाजनको पीडा चित्रण गरेका छन् । उनका कविताले विश्वमानवतावादको सन्देश दिएर ‘बसुधैव कुटुम्बकम्’ भन्ने भावलाई उजागर गरको छ ।
मल्लले कथामा समाजका सामन्ती संस्कारविरुद्ध विद्रोह र परिवर्तनको चेतना प्रस्तुत गरेको पाइन्छ । ‘एक बाटो अनेक मोड’, ‘परेवा र कैदी’ जस्ता कथाहरूले सामाजिक यथार्थलाई उजागर गरेको छ । उपन्यासमा उनले प्रेम, समाज र मनोविज्ञानलाई जोडेर गहिरो कथा प्रस्तुत गरे। ‘अनुराधा’ उपन्यासले उनलाई नेपाली उपन्यासकारका रूपमा स्थापित गर्यो भने ‘कुमारी शोभा’ले समाजका विभिन्न आयामलाई उजागर गर्यो ।
वि.सं. २०३९ मा प्रकाशित ‘कुमारी शोभा’ उपन्यासले नेपाली समाजका सामाजिक–सांस्कृतिक यथार्थलाई उजागर गरेको छ । उपन्यासमा पात्रहरूको मानसिक द्वन्द्व, सामाजिक मूल्य–मान्यता र व्यक्तिगत आकांक्षाबीचको संघर्षलाई चित्रण गरिएको छ । यसले नारीको स्थान, संस्कार र आधुनिक चेतनाबीचको द्वन्द्वलाई उजागर गर्दै समाजमा समानता, न्याय र मानवीय मू्ल्यको आवश्यकता देखाउँछ । कुमारीले केही गरी बिहे गरी हाली भने लोग्ने मर्ने भन्ने अन्धविश्वासी धारणालाई तोड्नुपर्ने शिक्षा सो उपन्यासमा व्यक्त गरिएको छ । यस्तै मर्म र धर्मको मेरुदण्डमा रहेको कथा भएकोले नै यसलाई चलचित्रमा उतारिएको थियो । भनिन्छः यसमा विश्व बस्नेत नायक र चैत्यदेवी नायिका रहेका थिए र यही नै नेपालको पहिलो रंगीन नेपाली कथानक चलचित्र हो । जुन प्रेमबहादुर बस्नेतको निर्देशनमा २०३४ सालताका बनेको थियो । यसरी ‘कुमारी शोभा’ उपन्यासले विजय मललाई उपन्यासकारका रूपमा स्थापित र्गयो र नेपाली उपन्यासमा सामाजिक–मनोवैज्ञानिक दृष्टिकोणलाई बलियो बनायो।
नाटकमा विजय मल्लको योगदान अमूल्य रहेको छ । उनले यथार्थवादी र प्रयोगवादी दुवै शैलीमा नाटक लेखे । ‘पत्थरको कथा’, ‘सात एकाङ्की’, ‘भित्तेघडी’, ‘सृष्टि रोकिदैन’, ‘जिउँदो लास’, ‘बहुलाकाजीको सपना’ जस्ता नाटकहरूले सामाजिक, मनोवैज्ञानिक र बौद्धिक विषयवस्तु संयोजन गरेर नेपाली नाटकलाई नयाँ आयाम दिएको पाइएको छ । उनले नाटकमा केवल मानिस मात्र होइन, पशुपन्छी, प्रकृति र वातावरणलाई पनि पात्र वा प्रतीकका रूपमा प्रयोग गरेको पाइन्छ । यसले उनलाई बालकृष्ण सम र गोपालप्रसाद रिमालपछि आधुनिक नेपाली नाटकका प्रतिनिधि लेखकका रूपमा स्थापित गराएको छ । उनको साहित्यिक दृष्टिकोण स्पष्ट छ—साहित्य केवल मनोरञ्जनको साधन होइन, चेतनाको सर्वोच्च स्थानमा पु-याउने माध्यम हो । उनले साहित्यलाई शारीरिक मृत्यु नाघेर जाने सिर्जना मानेका छन् । उनका कवितामा विश्वमानवतावाद, कथामा राजनीतिक चेतना र व्यङ्ग्य, उपन्यासमा सामाजिक तथा मनोवैज्ञानिक विश्लेषण, नाटकमा प्रयोगवादी दृष्टि प्रकट भएको हुन्छ ।
विजय मल्लले साहित्यिक संस्थागत विकासमा पनि योगदान पुर्याए । उनले साहित्यिक यात्राको क्रममा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सह–सदस्य, सदस्य–सचिव, उपकुलपति भएर काम गरे । नेपाल लेखक संघमा सचिव र उपाध्यक्ष भएर भाषा–साहित्यको समुन्नतिमा सक्रिय रहे ।
मल्लको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उनलाई साझा पुरस्कार (२०२७), गंकी बसुन्धरा पुरस्कार (२०४९), भूपालमानंसिं कार्की पुरस्कार (२०५३) र बेदनिधि पुरस्कार (२०५६) प्रदान गरियो ।
नेपाली साहित्यका बहुआयामिक स्रष्टा मल्लको वि.सं. २०५६ साउन ८ गते काठमाडौंमै उनको निधन भयो । तर उनका रचनाले उनलाई अमर बनाएको छ । जसले कविता, कथा, उपन्यास र नाटकमा समान दक्षता देखाए । उनका रचनाले समाजलाई चेतनाको नयाँ दिशा दिए, विश्वमानवतावादको सन्देश फैलाए, राजनीतिक चेतना जगाए, मनोवैज्ञानिक विश्लेषण प्रस्तुत गरे ।
यसरी विजय मल्लको जीवन र साहित्य एक सललल बग्ने धारा जस्तै हो— जन्मदेखि अन्तसम्म निरन्तरता, विविधता र गहिराइले भरिएको उनका रचनाले आज पनि पाठकलाई प्रेरणा, समाजलाई चेतनाको नयाँ दिशा र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेको छ । विजय मल्ल केवल साहित्यकार मात्र होइनन्, समाज सुधारक चेतनाका संवाहक पनि हुन्, जसको योगदानलाई नेपाली साहित्यले सदैव स्मरण गर्नेछ ।
०००
