होमनाथ सुवेदी, अमेरिका
हातमा घडी गलामा टाइ छ
जाने बेला सबैलाई बाई बाई छ ।
कृष्णचन्द्रसिंह प्रधानको सम्झना गर्दा यी माथिका लोकगीतका हरफ सदा मलाई याद आउँछन् ।
कृष्णचन्द्रसिंह प्रधान— यौटा लोकगीत गाइदिनुहोस्, सक्नुहुन्छ?
त्यसको उत्तरमा मैले माथिका हरफ गाएँ—
हातमा घडी गलामा टाइ छ
जाने बेला सबैलाई बाई बाई छ ।
यो गाउँदा मेरा अगाडि तुलसी दिबस र रत्नध्वज जोशी पनि थिए । गाएको सुनेर त्रिमूर्तिको अनुहारमा यौटा आश्चर्य, यौटा उपहास, यौटा विस्मयको व्यानर टाँगिएको थियो । उनीहरूका सेता बत्तीस दन्तपंतिको फरफराहटका तरंगले उज्वल भविष्यको संकेत जनाएको थियो । वास्तबमा यो मेरो पहिलो जागिर र त्यसको अन्तर्वार्ताको प्रश्नोत्तरको प्रसंगमा कृष्णचन्द्रसिंह प्रधानले गरेको प्रश्न थियो । मैले वि.सं.२०२९ मा एम्.ए.(नेपाली) गरेँ, २०३०मा एकेडेमी, २०३१–३६ जशिसाकेन्द्र, २०३७ पाठ्यकम पाठ्यपुस्तक विकास केन्द्र हरिहर भवन, २०३८ रेडियो शिक्षा शिक्षक तालिम परियोजना सानोटिमी, २०३८ मा अमेरिका करिब ४४ वर्ष अमेरिका करिब ५५ वर्ष अगिका कुरा हुन् यी । त्यो अन्तर्वार्तामा उनले यो प्रश्न गर्नुमा त्यस अगि हाम्रा यी कुरा भैसकेका थिए—
एकेडेमीले ‘नेपाल परिचय’को बृहदाकारको पुस्तक तयार गर्दै रहेछ । त्यसको लागि एकेडेमीले हरएक जिल्ला पञ्चायतबाट त्यो त्यो जिल्लाको परिचय लेखाएर पठाउन परिपत्र गरेको रहेछ । हाम्रो म्याग्दी जिल्ला पञ्चायतले मसहित मोहनप्रसाद रेग्मी र लालबहादुर बानियालाई लेखेर पठाउन समिति गठन गर्यो । त्यसको लागि मेरा भागमा लोकसँस्कृति र लोक साहित्यको विषय लेख्नुपर्ने भयो । म लोकगीत लोकनृत्य भनेपछि कहिल्यै रोदीघर नजाने । गीत गाउन आउँदैन थियो । केही शास्त्रीय अध्ययन गरेर मेरी स्वर्गीय पत्नी नन्दासित मलाई केही गीत सिकाउन अनुरोध गरेँ । उनले लोकवार्ताका लोकगीत, लोककथा, गाउँखाने कथा जस्ता धेरै नै कुरा सिकाइन् । तीमध्येमा यो लोकगीत थियो —
हातमा घडी गलामा टाइ छ
जाने बेला सबैलाई बाई बाई छ ।
तर यो गीत अन्तर्वार्तामा मैले गाएको थिइनँ । कुरा मात्र गरेको थिएँ । नन्दाका ती सामग्री त्यो म्याग्दी परिचयमा प्रयोग गरेको थिएँ ।
यति सुनेपछि मात्र अन्तर्वार्तामा कृष्णचन्द्रसिंह प्रधानले भनेका थिए—यौटा लोकगीत गाइदिनुहोस्, सक्नुहुन्छ?
त्यसैले यो पश्न गर्नेलाई पनि सजिलो किनकि यो अन्तर्वार्ता पनि ‘लोकसंस्कृति सहायक’ (प्राविधिक तृतीय श्रेणी)को लागि थियो । मलाई झन गजब!
अन्तर्वार्ता सकियो म प्रशन्न भएर निक्लेँ, लाग्यो—मैले नै उल्टै भाषण छाँटेर आएँ अन्तर्वार्तामा ।
एक, दुई दिनपछि यसो घुम्दै कमलादीको त्यो महल वरिपरि अन्तर्वार्ताको परिणाम थाहा पाउने लालसाले चोर जस्तै गएँ, भयभीत थिएँ । मेरो पदमा अन्तर्वार्ता दिन गएका मपछिका अरू बेकारहरू पनि त्यहीँ जाने आउने गरेको देखेँ । लाग्यो यी मोराहरूले पो त्यो पद भुत्काउने हुन् कि! खुसामद गर्न आएको भन्लान् कि भन्ने भय त ममा छरिएकै थियो । अचानक एकेडेमीको पुस्तकालयमा अध्ययनको लागि जस्तै गरी जाँदै थिएँ । हलवेमा नै झ्याप्पै कृष्णचन्द्रसिंह प्रधान भेटिए । मुसुक्क हाँसेर भने— ‘तपाईलाई नै छानेका छौँ तर परिणाम निकाल्ने दिवसजीले हो । गर्दै हुनुहुन्छ होला । प्रतिक्षा गर्नुहोस् ।‘
म मस्केर हुन्छ भन्दै नमस्कार गरेर पुस्तकालयमा पसेँ । त्यस्तै अर्को हप्ता त्यही ठाउँमा रत्नध्वज जोशीसित भेट भयो । उहाँ पनि त्यही भनेर खस्किनुभयो । दोस्रो हप्ता दोस्रोपटक त्यही पुस्तकालयनेर भेट हुँदा कृष्णचन्द्रसिंह प्रधानले भने—‘अझ परिणाम आएन र नियुत्ति भएको छैन ह कि ?’
मैले छैन भनेर शिर हल्लाएँ । उनले सान्त्वनासहित भने— ‘नेपाल परिचय प्रोजेक्टमा दैनिक रूपमा काम गर्नुहुन्छ ?’
म अलमलिएँ ।
उनले थपे — ‘अन्तर्वार्तामा तपाई नै भनेर हामीले छानेका छौँ । त्यो पदमा नियुत्ति नभइन्जेल मात्र यता गर्दैगर्नुस् अनि उताको नियुत्ति भएपछि उताको काम गर्नुहोला ।
उहाँको मिठो हँसिलो सल्लाहमा मैले हुन्छ नभन्ने कुरै भएन ‘हुन्छ’ भनेँ । त्यसो भए भोलि आउनुहोला भनेर उहाँ खस्किनुभयो । यसरी कृष्णचन्द्रसिंह प्रधान को सहयोगले मैले करिब एक महिना एकेडेमीमा नेपाल परिचय प्रोजेक्टमा अयोध्याप्रसादसित काम गरेपछि मात्र त्यो अन्तर्वार्ताको परिणाम निक्ल्यो र लोकसँस्कृति सहायकको पदमा नियुक्त्ति लिएर तत्कालीन प्राज्ञ तुलसी दिवससित काम गरेँ ।
यो मेरो पहिलो जागिरमा कृष्णचन्द्रसिंह प्रधानको सहयोग मेरालागि स्मरणीय छ । आज उहाँ हुनुहुन्न गुन भने भुल्नुहुदैन । उहाँको जीवनको अन्त अन्ततिर उहाँलाई अनेसास डिसीका अध्यक्ष गोविन्द गिरी प्रेरणाले अमेरिका बोलाएर सम्मान गर्ने योजना गर्नुभएको थियो । मेरो सल्लाहले होइन स्वयम् गिरीले नै यो कार्यक्रम बनाएकोमा म भित्रभित्र प्रशन्न थिएँ तर दुर्योग उहाँलाई अमेरिकाले भिसा दिएन । हामी सबै बसेको देश यो आप्रवासमा स्वागत गर्न नपाउँदा हामी त सबै दुःखी नै थियौं । त्योभन्दा बढी उहाँमा अमेरिकाप्रति आक्रोस भएको कुरा त्यसपछिका उहाँका लेखहरूबाट जानकारी हुन्छ । मेरो त भेट भएन। नभए पनि कवितारामजीको अस्वीकृत साहित्य पुरस्कार विजेताको रूपमा मेरो नाममा सही गरेर नै उहाँ दिवड्गत हुनुभयो । अस्वीकृत साहित्य पुरस्कार गुठीको उहाँ अध्यक्ष हुनुहुन्थ्यो । ती सुरुका दिनका मान्छे अमेरिकामा भेटेर अभिनन्दन गर्न पाएको भए मेरो मन कति प्रशन्न हुँदो हो ।
प्रसड्गले म यसैसाल नेपाल जाँदा काठमाडौका केही संस्थाहरु मिलेर मलाई शिखर अभिनन्दन गर्दै थिए । त्यो कार्यक्रमको मुख्य अतिथि उनै मेरा अन्तर्वार्ताकार तुलसी दिवस थिए । उहाँले अभिनन्दनपत्र मलाई हस्तान्तर गरेपछि बधाई दिंदै गरेको एकअर्काको अड्कमाल कति भावुक र आनन्ददायी थियो कि त्यो फोटो नै आश्चर्यसाथ कति लेखकले सामाजिक सञ्जालमा पोस्ट गरेर हेरे । हामीलाई खास गरी मलाई त आनन्दको सीमा नै रहेन । त्यस्तो संयोग रत्नध्वज जोशीसित केही पनि परेन । उहाँ अलि चाँडै पनि बित्नुभो । मेरो पहिलो जागिर र त्यसका अन्तर्वार्ताकारहरुको कथा भो यो कृष्णचन्द्रसिंह प्रधानको र मेरो जम्काभेटको कहानी ।
उहाँ एकेडेमीको प्राज्ञ भएकै बेलामा मिति २०३१ सालमा म जनक शिक्षा सामग्री केन्द्रमा भाषा लेखकको पदमा काम गर्न गएको वर्ष नै उहाँ फेरि साझाको महाप्रबन्धक भएपछि जशिसाकेको पाठ्यपुस्तक वितरकको हैसियतले जशिसाकेमा आएको बेला झल्याक्क भेट भएको थियो । त्यसपछि म पाठ्यक्रम पाठ्यपुस्तक सामग्री केन्द्र हरिहर भवनमा सरेँ । त्यसपछि रेडियो शिक्षा शिक्षक तालिम केन्द्र पाटन ढोकामा सरेँ । त्यहाँबाट म स्क्रिप्ट राइटिड्ग तालिममा अमेरिका आएर यतै बसेँ । पछि एकैचोटि गिरीको योजनामा अभिनन्दन गर्न पाउने मौका थियो । उहाँलाई त्यो पनि यो अमेरिकाले पत्याएन वा इर्ष्या गर्यो त्यति उच्चतहको लेखकलाई भिसा नदिनु भनेको त अनौठै कुरा हो । भेट हुन पाएन ।
उहाँसित अरु दुईचारपटक एकेडेमीको जागिर छोडेपछि साझाको महाप्रबन्धकको रूपमा नै भेटेको थिएँ । त्यो किनभने एकेडेमीमा लोकसँस्कृति सहायकको पदमा बसेर मैले काम गर्दा मैले के काम गर्ने र झन् त्यो काममा मैले लोक वार्ताको अध्ययन गरेछु । एकेडेमीका सहसदस्य तुलसी दिवसको साहचर्यमा नेपाली लोक कथाको सङ्कलनको सम्पादन गरियो । त्यो म अमेरिका आए पछि तुलसी दिवसको सम्पादनमा एकेडेमीले नै छापेको थाहा पाएँ । भूमिकामा उहाँले मेरो नाम पनि लेख्न बिर्सनुभएनछ । त्यसको लागि धन्यवाद । त्यसक्रममा मैले छन्त्याल जनजातिको लोकसंस्कृतिको अध्ययन सुरु गरेँ र छन्त्याल बस्तीबाट सङ्कलित कथाहरू र तिनमा भाषा, साहित्य, कला र सँस्कृति अध्ययन गरेका तीनवटा पान्डुलिपि थिए । तीमध्ये दुईवटा लोककथा सङ्कलन त म अमेरिका आए पछि छापेको हो । तेस्रो पनि छाप्न त पछि अमेरिका आएर नै छापेँ तै पनि नेपाल छँदा पनि यो तेस्रो कृति छाप्न साझामा दिएको थिएँ । त्यो सम्बन्धी प्रशस्त कथा, लेखहरू मधुपर्क, झङ्कार, धौलागिरि आदि पत्रपत्रिकामा र रेडियो नेपालबाट पनि प्रकाशित भैसकेका थिए । मैले ठानें यत्रो ठूलो ग्रन्थ छ कसो न छापिएला र ? मैले यो सोचेँ तर कृष्णचन्द्रसिंह प्रधानसित साझामा भेट्दा भन्नुभयो —मूल्याङ्कन त गराएँ ठीक छ तर यो यति ठूलो भोलुम छाप्ता खर्चिलो हुन्छ । यो यो काटेर घटाएर ल्याउनुहोस् । मैले हुन्छ भनेर घर फर्किएँ । आफ्नो मौलिक कुराहरू काटछाँट गरेर प्रकाशक लाई छाप्न दिनभन्दा छाप्नै दिन्न भनेर भन्दा नभन्दै म अमेरिका आउने मौका मिल्यो । आएपछि मै छाप्छु नि मेरो जस्ताको तस्तै भनेर पछि ई २०१३÷२०७० मा अनेसास केन्द्रबाट छापेँ । नेपाली लोककथाको परम्परामा छन्त्याल लोककथाको अध्ययन पुस्तक थियो त्यो ।
उहाँले त्यसमा आफै पनि केही काम गर्नुभयो । तर यो कतै परिवर्तन गरिनँ र त्यति उल्लेखनीय पनि थिएन । रूपरेखा आदिमा छापिएका मेरा लेखको प्रतिक्रियामा हो यसरी छपाउदै गएर पछि सङ्ग्रह गर्दा उत्तम हुन्छ, एकैचोटि ठूलो किताब निकाल्नभन्दा भन्नुहुन्थ्यो । आफूमा त्यो धैर्य कहाँ पाउनु ? आफू त अमेरिका आएर फटाफट उपन्यासका ठेली प्रकाशन गर्न थालियो ।
मेरो व्यक्तिगत जीवन र साहित्य दुवैमा क्रमोच्छेदको विजय छ । नेपालमा नै म बसेको भए । शायद अरू केही ब्यबहार हुन्थ्यो होला । उहाँ त २०४५ सम्म नै साझाको महाप्रबन्धक नै हुनुहुन्थ्यो । यस्तै हो जे भए पनि कृष्णचन्द्रसिंह प्रधान मेरा जागिरका सुरुदेखि अन्तसम्म गाँसिएका नातासम्बन्ध भन्दा पनि उहाँले गरेका मप्रतिका सद्भाव अविस्मरणीय छन् । अझै पनि मलाई याद आउँछ । तीन जना उता सोफामा कृष्णचन्द्रसिंह प्रधानको मुस्कान, म यता कुर्सीमा बसेर यौटा अपराधीले हाँसी हाँसी गाए जस्तो उदात्त स्वरमा गीत—
हातमा घडी गलामा टाइ छ
जाने बेला सबैलाई बाई बाई छ ।
० ० ०
कृष्णचन्द्रसिंह प्रधानसँग ठूलो औपचारिक डिग्री थिएन तापनि उनी राष्ट्रिय स्तरका साहित्यकार बने । यो उनको पारिवारिक विरासत थियो । उनका पिता सूर्यप्रसादसिंह प्रधान कम्युनिष्ट नेता थिए । कृष्णचन्द्रसिंह प्रधानका दाजु हृदयचन्द्रसिंह प्रधान पनि वामपन्थी साहित्यकार थिए । स्वास्नी मान्छे उपन्यास यसको प्रमाण हो । त्यसैले कृष्णचन्द्रसिंह प्रधान पनि दाजु जस्तै प्रगतिशील थिए र दाजुले जस्तै कविताहरू लेखेर दाजुको जस्तै नाम कमाउन चाहन्थे । स्वाध्ययन छ भने डिग्री चाहिंदैन । उनको पहिलो कविता थियो — हाय तमाखु । उनी श्रावण ११, १९८२, काठमाडौँमा जन्मे र २ वर्षदेखि १८ वर्षसम्म बिरगन्जमा बिताए । बिरगन्जमा उनका पिता सूर्यप्रसादसिंह प्रधान र माता सूर्यमायादेवी प्रधान मौजावाल थिए । कम्युनिष्ट भए पनि मौजावाल, सामन्त नै थिए ।
हुन त नेपालको कुन कुनाका सामन्तका छोराहरू कम्युनिष्ट छैनन् र ? पढेलेखेका यिनै नेता बन्ने त हुन् नि । कृष्णचन्द्रसिंह प्रधान वि.सं.२००५ र २०१० गरी २ पटक ६, ६ महिना जेल परे । उनको पहिलो कविता नेवारी थियो — ‘हाय तमाखु’ उनी १३ वर्ष हुँदा लेखेका थिए । उनको गद्य रचना ‘झुत्रो लुगा’ साहित्य स्रोत २००४ मा छापिएको थियो । उनको पहिलो कविता ‘अश्रुधारा’ बनारसबाट निक्लने वि.सं.२००२ को उदय पत्रिकामा छापिएको थियो । उनी राजनीति र साहित्यमा केदारमान व्यथितसित नजिक थिए । त्यसले पनि उनी व्यथित मन्त्री हुँदा वा एकेडेमीका उपकुलपति हुँदा उनलाई फायदा नै भएको बुझ्न सकिन्छ तापनि महत्वाकांक्षा त कृष्णचन्द्रसिंह प्रधानको आफ्नो र उनको परिवारको हुँदै हो ।
उनको प्रथम कविता सङ्ग्रह ‘भन्ज्याङनिर’ २००८ सालमा प्रकाशन भएको थियो । अन्य प्रकाशन यी हुन्— १. कविव्यथित र काव्य साधना वि.सं.२०१५, २. सालिक निबन्ध सङ्ग्रह २०१६, ३. नेपाली उपन्यास र उपन्यासकार २०३६, ४. सिर्जनाको सेरोफेरो (समालोचना) २०४०, ५. अनाम सत्य (निबन्ध सङ्ग्रह) २०४४, ६. पाइला आगत टेकेर (निबन्ध सङ्ग्रह) २०४७, ७. वाग्मतीको हरक (निबन्ध सङ्ग्रह) २०५७, ८. नफर्किने ती दिनहरू (निबन्ध सङ्ग्रह) २०५९, ९. जिन्दगी टिपोटहरू (निबन्ध सङ्ग्रह) २०६३, १०. समय सुनामी (निबन्ध सङ्ग्रह) २०६३ आदि । नेपालभाषाका पनि कृति छन् ।
पुरस्कार—मदन पुरस्कार २०१५, रत्नश्री स्वर्णपदक २०२२, साझा पुरस्कार २०३७, उत्तम शान्ति पुरस्कार २०३७, प्रतिभा पुरस्कार २०४६, धरणीधर पुरस्कार २०४७, झपट पुरस्कार २०५५, सीताराम प्रज्ञा पुरस्कार २०५७, त्रिभुवन प्रज्ञा पुरस्कार २०६०, आदि । उनले पाएका कतिपय पुरस्कार थाप्न पाएनन् — सरस्वती सम्मान र बसुन्धरामान प्रज्ञा पुरस्कार, महाकवि देवकोटा सम्मान ।
कृष्णचन्द्रसिंह प्रधान २००४ सालको देशव्यापी साहित्य सम्मेलनमा सक्रिय थिए । उनी २०२६ सालमा राकीय प्रज्ञाप्रतिष्ठानका सहसदस्य भए । २०३१ सालदेखि २०४५ सम्म साझाका महाप्रबन्धक भए । २०४७ मा फेरि नेराप्रप्रका सदस्य भए । उनको मृत्यु २०६७ असार १७ गते भयो । उनका छोरा १ र २ छोरी छन् । कृष्णचन्द्रसिंह प्रधान प्रगतिशील पृष्टभूमिका भए पनि पञ्चायती व्यवस्था, साहित्यमा प्रयोगवाद, अस्तित्ववाद र समसामयिक नेपाली साहित्यको करिब आधा शताब्दीको युगको एकछत्र राज गरेका साहित्यकारहरूमध्ये एक थिए ।
उनीसित मेरो पुरानो अरू कुनै नाता थिएन । उनको मप्रति सहानुभूति हुनुको पछाडि म मुस्ताङ्गबाट पक्राउ भएर दानाको जेल बसेको, बाग्लुङ्गको जेल बसेको, पोखराको जेल बसी २०२६ सालको अराष्ट्रिय तत्वको बिल्ला लाएको घटना आदि बारेको जानकारी नै हो जस्तो लाग्छ । मौजावालको छोरा भएर प्रगतिशील खेमामा जानु अनि जेल पर्नु पछि पञ्चायतभित्रै काम गर्न पर्नु आदि बाध्यतालाई विकल्पको चयन गर्नु थियो । उनी मान्थे जीवन यौटा सङ्घर्ष हो । यसको पीडाभित्र सफलता निहित थियो र करुणाभाव प्रफुल्लित थियो । म नै प्रधान सम्पादक भएर धवलागिरि जनक्लब, काठमाडौँबाट धौलागिरि त्रैमासिक साहित्यिक पत्रिका चलाउँदा साझाका विज्ञापन कृष्णचन्द्रसिंह प्रधानको हातबाट लिएको कुराका प्रसङ्ग शेष छन् । अन्तर्वार्तामा धान्यपर्वत, पुस्तकालय, जिल्लापन्चायतका कुराका सन्दर्भ थिए तर यो सानो स्मरणमा यति मात्रै अट्ला । कृष्णचन्द्रसिंह प्रधानको महत्वाकांक्षासित मेरो परिवार जेल, र अमेरिका आजसम्मको यो यात्रा विस्तार गर्ने ठाउँ छ भविष्यको लागि ।
यद्यपि म २०३८ सालमा अमेरिका छिरे पछि कम्तिमा ४५ वर्ष फेरि फर्केर नेपाल हेरिनँ र कृष्णचन्द्रसिंह प्रधानलाई भेटिनँ । अन्तर्वार्ता दिंदा उनलाई भेटेको त झन्डै ५४ वर्ष पहिलेको कुरो गर्दै छु । सबै बिर्सेको थिएँ । एकैचोटि याद आयो जब गोविन्द गिरी प्रेरणाले उनलाई अमेरिका बोलाउने योजना गरे । म प्रशन्न थिएँ मेरा आदरणीय कृष्णचन्द्रसिंह प्रधानलाई भेट्न । उनी आएनन् बरु अन्तमा मलाई २००९ को अस्वीकृत विचार साहित्य पुरस्कारमा सही गरेर सदाका लागि गएछन् । यो उनको शतवार्षिकीमा उनी कतै न कतैबाट मसित जोडिएका होलान् र त यो श्रध्दाञ्जली अर्पण गर्ने अवसर मिल्यो । सदा यादमा रहुन् ।
०००
