अमरकुमार प्रधान, काठमाडौं
माता सूर्यमाया देवी र पिता सूर्यप्रसाद प्रधानको कोखबाट ११९२ साउन ११ गते नागपञ्चमीको दिन पैदा भएका कृष्णचन्द्रको प्रारम्भिक नाम गोविन्द थियो । तर साहित्यमा उत्कर्ष भई नाम चलाएका दाजु हृदयचन्द्र सिंहकै नामको सिको लिएर ‘कृष्णचन्द्र सिंह’ कहलाइए ।
स्मरणीय छः हृदयचन्द्र सिंहको नाम चन्द्रप्रसाद थियो । जो १९७२ मा जन्मेका थिए । पाँच वर्षकै उमेरमा दमको रोग लागेर उनलाइै लेखपढ गर्न अभिप्रेरित गरिएन । भनिन्छः १९ वर्षको उमेरमा मात्र कखरा सिके ।
बुबा सूर्यप्रसाद जागिरको सिलसिलामा वीरगञ्जमा कार्यरत हुँदा चन्द्रप्रसाद पनि सँगै गएका थिए । उनको आत्मकथा अनुसार त्यसबेला बडाहाकिमले आफ्नो बैठकेलाई ‘ए चन्द्र यता आइज’ भनी बोलाउँदा उनी बाहेकै चारजना ‘चन्द्रप्रसाद’ कुदेका थिए रे । यो सस्तो नाम फेर्नु पर्छ जस्तो लाग्यो । बुझे पनि नबुझे पनि सीमावर्ती रक्सौल गई हिन्दी पुस्तक पसलमा पाइने कथा, उपन्यास पढ्न थाले र अनि बल्ल नाम जुराए ‘हृदयचन्द्र सिंह’ ।
नाम त जुर्यो तर आफ्नो यो नाम अरूलाई कसरी चिनाउने ? त्यसबेला ऋद्धिबहादुर मल्लको सम्पादकत्व र प्रकाशकत्वमा ‘शारदा’ नेपाली मासिक पत्रिका प्रकाशित हुन्थ्यो । अनि उनले बडो मेहनत गरी ‘भातृस्नेह’ शीर्षक निबन्ध लेखी ‘शारदा’मा हुलाकबाट पठाए । लेखकको खडेरीको बेलामा उनको रचना छापियो । अनि उनी उत्साहित भएर स्वाध्ययन गरी एकांकी नाटक, कथा, उपन्यास, प्रबन्ध र समालोचनाका सर्जक भए । दाजु हृदयचन्द्रको नेपाली साहित्य प्रवेश र सेवालाई नजीकबाट बुझेका कृष्णचन्द्र (वि.सं. १९८२–२०६७) ले पनि को बीचमा दाजुकै पथमा लागे । उनी पनि स्रष्टा र द्रष्टा बनेर बाचुञ्जेल (८५ वर्ष) सम्म कृत संकल्पित रहे ।
कृष्णचन्द्रको बारेमा कोर्दा मेरा गुरु डा. कविताराम श्रेष्ठलाई पनि सम्झनु मनासिब होला ।
२०२४ सालको दशैंताका श्रेष्ठ सर भीम पब्लिक हाइस्कुलको का.मु. हेडमास्टर भएर आफ्नी पत्नी चन्द्रासँग दोलखा आउनु भएको थियो । उहाँको साहित्यिक नाम ‘कविताराम’ प्रछन्न रह्यो । रामबहादुर श्रेष्ठ नामबाट उहाँ चिनिनु भयो ।
२००८ सालमा भीम आधार स्कुल स्थापना भएको थियो । २०१० सालमा सामुदायिक त्रिपुरा पुस्तकालय स्थापना भएको थियो । २०१४ सालमा अमेरिकी लाइब्रेरीको सहयोगमा भैरबहादुर श्रेष्ठ र हरिभक्त श्रेष्ठको सक्रियतामा प्राइभेट ‘भैरब लाइब्रेरी’ त स्थापना भयो तर २०२३ साल जेठ ९ गते दोलखाको ५२ चुल्हो बल्ने ठूलो ‘डोक्छेँ’ घर आगलागी हुँदा उक्त दुई पुस्तकालयका किताबहरू संरक्षणका लागि भीम पब्लिक हाइस्कुलमा थुपारिए । रामबहादुर श्रेष्ठ सरले त्रिपुरा भन्दा भैरवलाई नहुने, भैरव भन्दा त्रिपुराले विमति जनाउने हुनाले स्कुलकै नाम लिएर ‘भीम पुस्तकालय’ न्वारान गरी आफ्नै अध्यक्षतामा तदर्थ समिति गठन गर्नु भयो । जसमा म सचिव भएँ । तीन महिनापछि मेघराज कोइराला हेडमास्टर भै आउनु भएपछि हेडमास्टर पदेन अध्यक्ष, प्रधानपञ्च (भरतबहादुर श्रेष्ठ) पदेन उपाध्यक्ष, श्रेष्ठ सर सचिव र म लाइब्रेरियन भई स्थायी सञ्चालक समिति गठन भयो । पुस्तकालयमा कृष्णचन्द्र सिंह प्रधानको कृति कविता सङ्ग्रह ‘भञ्ज्याङनेर’ (२००८) र ‘कवि व्यथित र काव्य साधना’ कृति पनि पाइयो । पछिल्ला कृतिले २०१५ को मदन पुरस्कार पाएको थियो ।
दाजु जस्तै कृष्णचन्द्रले पनि कुनै औपचारिक डिग्री लिएका थिएनन् । स्वाध्ययनबाटै उनी कवि, समालोचक र निबन्धकार भए ।
कृष्णचन्द्र सिंह प्रधान प्रज्ञा प्रतिष्ठानका प्राज्ञ भए । साझा प्रकाशनको महाप्रबन्धक पनि ।
फेरि म डा. कवितारामसंग जोड्छु । रामबहादुर श्रेष्ठ सर र मेघराज कोइराला दुबै शिक्षक (कर्मकाण्डीय) मात्र थिएनन् । बरु दुबै नयाँ संचेतना र जागरणको लागि प्रेरणादायी ।
दुबै सरहरूको संयुक्त सिकाइमा ‘लाहुरे’ रूपक प्रस्तुति भयो । साथै ‘पानी पर्यो हरियो परियो पोइको घर नजाने ठहरियो’ जस्ता झ्याउरे गीतमा छात्र छात्राको दोहरी चलाएर नृत्य प्रदर्शन भयो । जबकि यस्ता सांस्कृतिक कार्यक्रममा छात्राहरूको ठाउँमा ‘छात्रले’ नै अभिनय गर्नु पर्दथ्यो ।
२०२४ माघ २४ गते २०१८ सालमा राजा महेन्द्रको जनकपुर भ्रमणमा बम प्रहार गर्ने दुर्गानन्द झाको मृत्युदण्डलाई रूपकको रूपमा स्कुलकै प्राङ्गणमा मञ्चन भयो । मञ्च निर्माणको सिलसिलामा म चाहिँ लडेर घाइते भएकोले मैले हेर्न पाइनँ । नायक राम सर र पृष्ठ उद्घोषक कोइराला सर हुनुहुन्थ्यो । प्रशासनले कारवाही गर्ने डरले ‘कापी’ जलाइएको थियो ।
भदौमा राम सरको छोरी ‘रश्मी’ पैदा भएको खुशीयालीमा ‘नौलो पाहुना’ शीर्षक कथा प्रतियोगिता भयो । जसमा मेरो र मित्र चोकबहादुर दाहालजीको कथा प्रस्तुति शैलीले उत्कृष्ट भए पनि वियोगान्त हुनाले पुरस्कार सापेक्ष भएन भन्दै कोइराला सरले निर्णय दिनु भयोः उमेशचन्द्र श्रेष्ठको संयोगान्त कथालाई पुरस्कार योग्य बनाएर ।
बिस्तारै हामीले बुझ्दै गयौं– ‘कोइराला सर कांग्रेसी रूझानको, राम सर बामपन्थी !’ अन्ततः राम सर प्राइभेट बी.ए. जाँच दिन माघ महिनामा काठमाडौं आउनु भएकोमा (त्यो बेला एस.एल.सीं परीक्षाको छुट्टी थियो ।) तर प्रश्नपत्र लिक भयो भनी परीक्षा नियन्त्रण कार्यालय जलाए पछि परीक्षा स्थगन भयो र पछि सर्यो । स्वभावतः स्कुल खोले पनि राम सर आउनु भएन । यही निहुँमा कोइराला सरले आफ्नो कूटनीति प्रयोग गरी राम सरलाई स्कुलबाट अवकास दिलाउने प्रपञ्च रच्नु भयो ।
राम सर फर्कनु भएपछि तत्कालीन गाउँ पञ्चायत (जसको अध्यक्षतामा जेष्ठ वडाध्यक्षको हैसियतले मेरो साहिँला बाजे हरिबहादुर प्रधानले गर्नुभएको थियो)को निर्णयले अवकास बदर गरी हाजिर गराउने निर्णय गर्यो । तर त्यस परिस्थिति भए सबै शिक्षकले राजिनामा दिन लाउने घुर्की कोइराला सरको तर्फबाट आयो । एस.एल.सी. परीक्षा सकेको भोलिपल्टदेखि कोइराला सरले मलाई पनि शिक्षण सेवामा राखिसक्नु भएको थियो । मेरा लागि दुबै गुरुहरू आदरणीय हुनुहुन्थ्यो । राम सरको बिरोधमा सही गर्न मैले समय मागेँ र त्यो रात गहिरोअन्तर्द्वन्द्वमा रुमल्लिरहें । तर भोलिपल्ट सबैले (जो राम सरकै पक्षपाति थिए तर परिस्थितिले पासा पल्टिसकेको बोध गराईः कोइराला सरको चक्रबाट उन्मुक्ति लिए एक्लिने डर देखाए । पञ्चायतको निर्णय बमोजिम राम सरले हाजिर गर्न त पाउनु भयो तर छुट्टै कापीमा । उहाँलाई कक्षा अध्यापन गर्न दिइएन । हुन त पछिका लेखहरूमा उहाँले आफूलाई कोइरालाले होइन अनुदार प्रशासनले नै निष्काशन गराएको उल्लेख गर्नु भएको छ ।
१९ दिन पछि उहाँ सपरिवार हिउँद लागेको फागुन महिनामा नाबालक बच्ची बोकाई दोलखा शहरबाट १० कोस पैदल बाह्रबिसेसम्म र अनि बसमा ४ घण्टामा काठमाडौं गई केही दिनपछि राजिनामा पत्र हुलाकबाट पठाउनु भयो ।
यतिञ्जेल हामीले उहाँलाई ‘रामबहादुर’ कै नामबाट चिनेका थियौँ । अचानक ‘सञ्जीवनी’ पत्रिका अस्वीकृत जमातको संगालोको रूपमा न्यूरोड पीपलबोटमा निस्केको खबर आयो । जसमा बासु शशीको ‘पुल’ कथा पनि थियो । अनि यो पत्रिकाको सम्पादकमा कविताराम थियो । यसरी शैलेन्द्र साकारको सम्पादनमा ‘मन्त्र’ पनि । दुबै पत्रिकामा ‘अस्वीकृत जमात’को वकालत गरिएको थियो । दुबै पत्रिका पाइने ठाउँमा मेरो र भीम पुस्तकालय उल्लेख थियो ।
२०२८ सालमा म ब्रतबन्ध गर्न काठमाडौं आउँदा राम सरसंग भेट भयो । उहाँसंग मैले आफ्नो परिचय ‘किन लुकाउनु भएको’ भनी सोद्धा ‘प्रशासनको बक्र दृष्टि नपरोस् भनेर छिपाएको तै पनि सुख दिएन’ भन्नु भयो ।
कोइराला सरले २०२६ बडा दशैंमा त्यतिखेरका जम्मा विद्यार्थी १०० जना हरेकबाट रु. ५।- उठाई ‘आँखा’ प्रवेशाङ्क आफ्नै प्रधान सम्पादकत्वमा, मलाई र श्याम कृष्ण श्रेष्ठ (कवि डा. मधु ‘माधुर्य’को पिता) सम्पादकमा राखी छापियो । अलि पछि कोइराला सर पनि चूपचाप दोलखा छाडी जानु भयो । हाल आँखाको पूर्णाङ्क २१ सम्म प्रकाशन कालिञ्चोक युवा क्लवबाट भइसकेको छ ।
परिस्थितिले गर्दा मैले भीम माध्यमिक विद्यालयको शिक्षक सेवा छोडेँ । यद्यपि २०३० भदौमा विद्यालयमा पढाउँदा पढाउँदै सिकिस्त विरामी भई त्यस बेला कार्यरत अमेरिकी शान्ति सेना स्वयंसेवक जिम गिसेनको सौजन्यबाट हेलिक्याप्टर झिकाई शान्तभवन हस्पिटल पुर्याई पेटको शल्यचिकित्सा गरी १९ दिनमा डिस्चार्ज भएको थियो । कविताराम सरले केही समय ‘यु.एस. पिस कर्प भोलेन्टियर’हरूसगं पनि काम गर्नु भएको जस्तो लाग्छ ।
अरू साहित्यकारले ‘अस्वीकृत जमात’लाई कसरी सकारे त्यो अर्को अध्याय छ तर कविताराम सरले चाहिँ आफूलाई ‘अस्वीकृत साहित्यकार’कै रूपमा स्थापित गराउनु भयो । अनि आफ्नो किताबबाट प्राप्त रोयल्टीबाट’ अस्वीकृत पुरस्कार स्थापना गर्नु भयो । रकमको हिसाबले धेरै नभएपनि यो पुरस्कारलाई कसैले पनि इन्कार गरेनन् । बरु प्रतिष्ठागत पुरस्कार भनी ग्रहण गरे । यसरी पुरस्कार लिनु हुनेमा मदनमणि दीक्षित देखि विजय चालिसे, तेजप्रकाश श्रेष्ठ, शैलेन्दुप्रकाश नेपाल आदि स्वनामधन्य स्रष्टा थिए ।
यो ‘अस्वीकृत पुरस्कार’को लागि उपयुक्त व्यक्ति चयन गर्न कृष्णचन्द्रसिंह प्रधान, अभिव्यक्तिको सम्पादक–प्रकाशक नगेन्द्रराज शर्मा, कविताराम श्रेष्ठ र माइन्यूट लेख्ने अभिभारा चाहिँ मैले गर्नु पर्दथ्यो । बैठक स्थल कृष्णचन्द्र सरको निवास ताहाचलमा थियो । बैठकसंग खानपिन र हलुका सोमरस पनि ग्रहण गरिन्थ्यो ।
श्री कृष्णचन्द्र सिंह प्रधानको निधन पछि अस्वीकृत पुरस्कारः नगेन्द्रराज शर्मा, कविताराम र म बसी कहीँ (रेष्टुराँ) माइन्यूट गरी घोषणा गर्दथ्यौँ ।
अन्ततः कविताराम सरको भौतिक शरीरको अवसान ७० वर्षको उमेरमा २०७४ मंसिरमा भएपछि यो पुरस्कार पूर्ण विराम लाग्यो । तर नेपाली साहित्यमा ‘अस्वीकृत जमात’को स्थापित मान्यताको स्वीकृतिको लागि कृष्णचन्द्र सिंह प्रधानले आफ्नो तर्फबाट जसरी योगदान पुर्याए त्यो भने मेरो सुस्मृतिमा छ ।
०००
