सम्झे विर्सेका यादहरू
अशेष मल्ल, काठमाडौं
तीस सालतिर हुनुपर्छ । बिराटनगरको महेन्द्र मोरङ्ग क्याम्पसमा स्नातकको विद्यार्थी थिएँ । धनकुटामा तत्कालीन राजा वीरेन्द्रलाई कविता सुनाउन निमन्त्रणा पाएँ । प्रज्ञा प्रतिष्ठानको आयोजना । त्यो बेला वीरेन्द्र नेपालको चार विकास क्षेत्रमा महिनौं बस्दथे । त्यही सन्दर्भमा धनकुटा रहेका बेला प्रज्ञा प्रतिष्ठानले कविता वाचनको आयोजना गर्ने गर्दथ्यो । अधिकांश कविहरू काठमाडौंबाट जान्थे । छिटफुट कविहरू क्षेत्र क्षेत्रका छानिन्थे । थाहा छैन म जस्तो सिकारु कविलाई पनि छनौट गरेछन् । जे होस् धनकुटा पुगेँ । दर्जनौं कविहरूको भेला । निकै चहल पहल । यी सबै कविहरूलाई राजाको शिविरमा पुर्याउने संयोजनको जिम्मा विजय मल्लको थियो । हाम्रो लागि विजय मल्ल राजाभन्दा माथिका व्यक्तित्व । नेपाली नाटकका धरोहर । कथा, कविता र उपन्यासका शिखर पुरूष । तत्कालीन प्रज्ञा प्रतिष्ठानका प्राज्ञ । सानैदेखि उनका रचनाहरू पढ्दै हुर्केको मैले पहिलो पटक विजय मल्ललाई भेट्ने खवसर पाएको थिएँ । त्यो पनि धनकुटामा । राजालाई कविता सुनाउनु भन्दा मेरो लागि यो महत्वपूर्ण घटना थियो । विजय मल्ल हामी लेख्न रूचाउनेहरूका लागि आदर्श नाम । पहिलो पल्ट विजय मल्ललाई भेट्न, कुरा गर्ने अवसर मिल्नु म जस्तो सिकारू कविका लागि सानो कुरा थिएन । ‘छोरीलाई मानचित्र पढाउँदा’ कविता हाोस् वा ‘पत्थरको कथा’ नाटक वा ‘अनुराधा’ उपन्यास एक से एक अब्बल । उनको कथाको त के वर्णन गरूँ !
हर लेखनमा उनको कथ्य र प्रस्तुतिमा गजबको पकड देखिन्छ । यस्ता लेखकलाई धनकुटामा भेट्दा मैले सबै कुरा बिर्से जस्तो भएको थियो। राजालाई कविता सुनाउन आएको भए पनि राजा मेरालागि महत्त्वपूर्ण थिएनन् ।
केही दिनको धनकुटा बसाईमा बिजय मल्लसँग नजिकको सम्बन्ध नहुने त कुरै भएन ।अब बिजय दाइ सम्बोधन गर्न थालेँ।
बिजय दाइसँगको दोस्रो भेट काठमाण्डौंमा भएको थियो । २०३२ तिर धनकुटामा मैले पहिलो नाटक लेखेको थिएँ ‘तुवाँलोले ढाकेको बस्ती’ । धनकुटामा एक हप्ता मञ्चन गरेपछि त्यही नाटक लिएर धरान, बिराटनगर हुँदै काठमाडौं आएका थियौं। तीस चालीस जना कलाकारहरूको हूल लिएर काठमाडौ आउँदा पिपल लजमा बसेका थियौं । न्यूरोडको त्यो पिपल लज यिनै बिजय दाइको थियो । अनि प्रज्ञा प्रतिष्ठानमा उनी प्राज्ञ थिए । मलाई लाग्छ उनी छयालिस सालको आन्दोलन अघि प्रज्ञामा कहिल्यै पनि छुटेनन् । जे होस् हामी धनकुटाबाट आएका जम्को टोली सिधै प्रज्ञा भवन पसेका थियौं । प्रज्ञा भवनमा २५ दिन लगातार नाटक मञ्चन ग-यौं। तत्कालीन सदस्य सचिव सत्य मोहन जोशी थिए । उनले गरेको सहयोग अहिले पनि सम्झिरहेको छु। हरिहर शर्मा र प्रचण्ड मल्ल रात दिन खटेका थिए । धनकुटाको स्कुलको सानो हलमा देखाउँथ्यौं । बिजुली बती थिएन । पेट्रोमेक्समा देखाउनु पर्थ्यो। प्रज्ञाको विशाल हलमा त्यै पनि अत्याधुनिक प्रकाश हाम्रो लागि चमत्कारको विषय थियो ।त्यस्तो प्रकाशमा पहिलो पटक नाटक गर्दैथ्यो । मैले नायकको भूमिकामा अभिनय समेत गरेको थिएँ ।
पहिलो दिन प्रज्ञा भवनमा नाटक मञ्चन हुँदा बालकृष्ण समदेखि त्यो बेलाका अधिकांश लेखक कविहरू नाटक हेर्न आएका थिए । जब नाटक सकियो मञ्चमा ती धेरैले बधाई नाटक राम्रो छ भन्दै हात मिलाएको र पिठ थपथपाएको अझै विर्सेको छुईन । तर त्यही भिडमा बिजय मल्लले मलाई अलि पर तानेर जे भने त्यो वाक्य मेरा नाट्य यात्राकै लागि टर्निङ प्वाइन्ट भयो । बिजय दाइले भने ए अशेष ! के यस्तो थात्रो नाटक लेखेको ! आज नाटक कहाँबाट कहाँ पुगिसक्यो यस्तो पुरानो नाटक लेख्ने हो ! आधुनिक नाटक लेख आधुनिक । तिमीले त नेपाली नाटकलाई पचास वर्ष पछि धकेल्यो । आधुनिक नाटक लेख । यस्तो थोत्रो नाटक होईन ।नाटक सकिए लगतै मञ्चमै आएर त्यसो भनिदिँदा म एक छिन अक्क न बक्क भएको थिएँ । धनकुटाको सानो हलमा नाटक गरिरहेको २०/२१ वर्षको ठिटो म । जीवनमा पहिलो पटक नाटक लेखेको । न कसैको नाटक हेर्नै अवसर पाएको थिएँ । नेपालके त्यो सबैभन्दा ठूलो मञ्चमा नाटक गर्दै थिएँ । मलाई के थाहा आधुनिक नाटक कस्तो हुन्छ । आधुनिक नाटक लेख , यो वाक्यले मेरो मन मस्तिष्कमा यसरी घोच्यो कि म थर्रर काम्न थालेँ ।त्यही बेला एक जना दाइ म नजिक आए । मलाई थपथपाए । म विचलित भएको देखेर होला मलाई ढाडस दिन थाले । मैले उनलाई हेरेँ । लउनी भन्दै थिए नाटक राम्रो छ । अझ रामो लेख्नुलपर्छ आदि । उनले आफ्नो परिचय दिंदै भने म हरिभक्त कटुवाल ।
जे होस् बिजय मल्लको त्यो वाक्यले मलाई सोच्न वाध्य बनायो । आधुनिक नाटक लेख्नु पर्छ । बिजय दाइले त्यसो नभनिदिएका भए म त्यस्तै परम्परागत नाटक लेखिरहने थिएँ होला । जब त्यो नाटक २५ दिन चलेर बन्द भयो । सबै कलाकारहरू धनकुटा घर फर्किए म भने काठमाडौमै बसेँ । धनकुटा फर्किन। मलाई महत्वाकांक्षाले छोइसकेको थियो । नाटककार , निर्देशक र कलाकार बन्न काठमाडौं बस्नै थियो ।
त्यसपछि मेरो दिमागमा रातदिन खेल्न थाल्यो के हो आधुनिक नाटक भनेको ? कस्तो हुन्छ आभुनिक नाटक भनेको ? कहाँ कस्लाई सोध्ने ? न नाटकहरू मञ्चन भएको हेर्ने अवसर मिल्थ्यो, न कुनै गुरु नै । प्रज्ञामा तिनै बिजय मल्लको नाटक कहिले कहीँ मञ्चन हुन्थ्यो हेर्थें । तर चित्त बुझ्दैनथ्यो । घ्यारर् र घुर्र पर्दा तानिएर दृश्य परिवर्तनहरू भएको पटक्कै मन पर्दैनथ्यो । कथा, प्रस्तुति पनि हेर्थेँ । के यही हो त आधुनिक नाटक भन्ने लाग्थ्यो । वास्तव मै आधुनिक नाटक कस्तो हुन्छ त्यो भेउ पाउन सकिरहेको थिएन । दिनभरि भारतीय पुस्तकालय जान्थेँ । नाटक छानी छानी पढ्थेँ । एक दिन अचानक मोहन राकेशको ‘आधे अधुरे’ नाटक पढ्न पुगेछु । त्याो नाटक पढेपछि दिमाग रन्थनियो । तीन चार पटक दोहर्याएर पढेँ । संयोग पनि कस्तो भने ठिक त्यही बेला सभागृहमा बम्बैबाट ‘आधे अधुरे’ नाटक गर्ने टोली काठमाडौ आएछन्। भारतीय दुतावासमा गएर पास लिएँ । सभा गृहमा मञ्चन भएको थियो । जीवनमा पहिलो पल्ट कुनै विदेशी नाटक हेर्ने अवसर जु-र्यो । बल्ल जवाफ पाएँ आधुनिक नाटक त यस्तो हुँदारहेछ । मन मनै बिजय दाइलाई लाख लाख धन्यवाद दिंदै अब यस्तै आधुनिक नाटक लेख्ने प्रयास गर्नेछु भन्ने लाग्यो ।
एकेडेमीमा राजालाई देखाउने लक्षले बिजय मल्लकै नाटक मञ्चन हुने गर्थ्यो । तर पर्दा बन्द गर्ने खोल्ने अनि माईकमा चर्को र भद्दा किसिमले सम्बाद बोल्ने प्रवृति पटक्कै चित्त बुझ्दैनथ्यो । मनमनै भन्थेँ यो त आधुनिक जाटक होईन । लाग्थ्यो मैले विजय दाइ वा समका नाटकभन्दा अलग नाटक लेखिन भने म त भिडमै हराएर जानेछु । विजय दाइले ठिकै भनेका हुन् । आधुनिक नाटक लेख भनेर । मोहन राकेशको त्यो नाटक र त्यस्को प्रस्तुतिले मलाई सोच्न सायद वाध्य बनायो । त्यसैको परिणाम होला हामी ‘वसन्त खोजिरहेछौं’ र ‘सडकदेखि सडकसम्म’ नाटक लेख्न पुगेछु ।
‘सडककदेखि सडकसम्म’ नाटकको कथा पनि गजबको छ । यो नाटक मैले कसरी लेखेँ यस्को विस्तृत ईतिहास मेरो आत्मकथामा आउँदैछ । तर बिजय दाइसँग यो नाटकको प्रसङ्ग यस्तो छ । यो नाटक लेखिसकेर मलाई मञ्चन गर्न कुनै समूह थिएन । सर्वनाम त्यतिवेला स्थापना भइसकेको थिएन । ३६ सालको कुरा हो । नाटक महोत्सवको सूचना प्रकाशित भयो । मलाई त्यहाँ मञ्चन गराउन मन लाग्यो । तर समूह वा संस्था थिएन । संयोगले म साहित्यिक पत्रकार संघको कार्यकारी सदस्यमा मनोनित भएको अवसर थियो । मैले संघको बैठकमा यो प्रस्ताव राखेँ । तत्कालै समर्थन गरे साथीहरूले । त्यसपछि संघकै पस्तुतिमा मञ्चन गर्न प्रज्ञा प्रतिष्ठानमा नाटक पेश ग-यौं । अनि रिहर्सल थाल्यौं पद्मकन्या क्याम्पसमा । अच्यूतरमण अधिकारीकै नाताले त्यहाँ सहजै हल उपलब्ध हुन्थ्यो । भएभरका साहित्यकार साथीहरूले त्यो नाटकमा अभिनय गर्न सहमति जनाए । भवानी घिमिरे , नगेन्द्रराज शर्मा , अनिता तुलाधर , किशोर पहाडी , गोविन्द गिरी प्रेरणाा , विष्णु विभु घिमिरे , दिनेश अधिकारी , विश्व विमोहन श्रेष्ठ , नवराज कार्की , गोविन्दसिहं रावत , म स्वयम् , ओममणि शर्मा आदि तीसौं जनाले भाग लिएका थियौं । महिनौं मेहनत गरेर नाटक तयार पा-यौं । जब देखाउन तैयार भयौं ।अचानक प्रज्ञा प्रतिष्ठानले नाटक अस्वीकृत ग-यो । विजय मल्ल सदस्य सचिव थिए । महोत्सवका संयोजक पनि उनी नै थिए । त्यो खवरले हामी सब निराश भयौं । एकाएक भवानी घिमिरे दाइले भन्न थाले जाउँ एकेडेमी कसरी पास नगर्दोरहेछ ! अनि हामी एक हूल साहित्यकारहरू लाग्यौं प्रज्ञा भवन । सिधै सदस्य सचिव बिजय मल्लको कोठाभित्र पस्यौं । भवनी दाइले एकैचोटी बिजय मल्ललाई प्रश्नका प्रश्न तेर्स्याउन थाले । हामी सबै मौन थियौं । भवानी घिमिरे भन्दै थिए एउटा नयाँ युवक नयाँ नाटक लिएर आउदैछ तपाईं यस्को घाँटी रेट्ने ? आदि आदि । टेवुल ठटाउँदै बाघ झै गर्जिए भवानी दाइ । बिजय मल्ल टसकामस भएनन् । कुनै हालतमा यो नाटक पास हुँदैन भन्न थाले । लौ त कसरी पास गर्दैनौ भन्दै चर्को अडान लिइरहे भवानी दाइ । आखिर केही सम्वाद हटाएर पास गर्ने नतिजामा पुगे विजय मल्ल ।
यसरी महोत्सवमा मञ्चन हुन पुगेको थियो । त्यही नाटक उत्कृष्ठ नाटक , उत्कृष्ठ लेखकको पुरस्कार समेत पाउन सफल भयो । नाटक सकिए लगतै दर्शक बनेर हेर्न पुगेका क्षेत्र प्रताप अधिकारीले मसँग त्याो नाटक साझामा बुझाउन भने । मैले पनि बुझाएँ । छापियो । अनि साझा पुरस्कार पनि पाउने सौभाग्य मिल्यो । वास्तवमा यो नाटक लेख्नुको पछाडी विजय दाइको त्यही वाक्यले काम गरेको थियो आधुनिक नाटक लेख , यस्तो थोत्रो नाटक लेख्ने हो !
यहाँनेर एउटा प्रसङ्ग याद आयो । उहिल्यै सायद ३० सालतिर , म बिराटनगर पढ्न बस्दा । युवा साहित्यक परिवार नामले हामी केही युवाहरू सङ्गठित थियौं । मलाई नाटक निर्देशन र अभिनय गर्ने इच्छा भइरहन्थ्यो ।
अनि बिजय मल्लको ‘नाम नभएको मानिस’ नाटक मञ्चन गर्ने निर्णय गर्यौं । रिहर्सल पनि शुरू भयो । रिहर्सल भएको केही दिन पछि नै हामी जति पनि सहभागी थियौं सबै एक एक गरि विरामी पर्न थाल्यौं । आखिर हामीले बन्दै गर्न प-यो रिहर्सल । अझै बुझ्न सकेको छुईन त्यस्तो हुनुको कारण ।
आज बिजय दाइलाई सम्झरहेको छु । अब त बिजय मल्ल नामको लेखक, नाटककार, कवि पनि थिए भन्ने सायद विर्सिसके आजको पुस्ताले । अचानक त्यो महान लेखकलाई मित्र गोविन्द गिरी प्रेरणाले सम्झेर केही लेख्न अर्ह्याए र लेख्न पुगेछु सम्झे विर्सेका सम्झनाहरू । नमन बिजय दाइ !!
०००
लेखक परिचयः नेपाली वाङ्मयमा कवि, कथाकार, नाटककारका रूपमा सुपरिचित अशेष मल्ल नेपाली नाट्य जगतमा सडक नाटकका जन्मदाता हुन् । धनकुटाको तल्लो कोप्चेमा जन्मेका उनी हाल काठमाडौंमा वसोवास गर्छन् । उनका विविध विधामा दर्जनौं कृतिहरू प्रकाशित छन् र उनी राजधानी काठमाडौंमको थियटर सर्वनामका संस्थापक, प्रणेता तथा निरन्तर निर्देशक र प्रशिक्षक हुन् , एक प्रकारले सर्वनाम, सडक नाटक र अशेष मल्ल पर्यायवाची हुन् ।
