विजय मल्ल शतवार्षिकी विशेष-एक

गद्य विविध

विश्वपरिक्रमा डेस्क

नेपाली साहित्य जगतका विलक्षण प्रतिभा हुन् विजय मल्ल । नेपाली वाङ्मयमा कविता, कथा, नाटक, उपन्यास चारै विधामा विसारत हासिल गर्ने थोरै दुर्लभ प्रतिभामा उनको गणना हुन्छ । माता आनन्दकुमारी मल्ल र पिता साहित्यकार ऋद्धिबहादुर मल्लका सुपुत्रका रुपमा विसं १९८२ सालमा उनी काठमाडौंको ओमबहालमा जन्मेका थिए ।
नेपाल सम्बत् १०७३ मा नेपाल पत्रिकामा पहिलो कथा रचना “ज्यानमारा काय्” कथा प्रकाशन थालेका मल्लले लेखन कर्ममै जीवन विताए ।
उनका प्रकाशित कृतिहरूमा कोही किन बर्वाद होस् (नाटक, २०१६), विजय मल्लका कविता (कवितासङ्ग्रह, २०१६), जिउँदो लास (नाटक, २०१७), अनुराधा (उपन्यास, २०१८), एक बाटो अनेक मोड (कथासङ्ग्रह, २०२६), बौलाहा काजीको सपना (नाटकसङ्ग्रह, २०२८), परेवा र कैदी (कथासङ्ग्रह, २०३४), पत्थरको कथा (नाटक, एकाङ्की, २०२८), दोभान (एकाङ्कीसङ्कलन, २०३४), कुमारी शोभा (उपन्यास, २०३९), भूलैभूलको यथार्थ (एकाङ्की, २०४१), पहाड चिच्याइरहेछ (नाटक, २०४१), सृष्टि रोकिँदैन (नाटक-२०४८), पियानानी (लघुउपन्यास), स्मृतिको पर्खालभित्र (नाटक), मान्छेको नाच, भोलि के हुन्छ ? (नाटक), भित्तेघडी, नाम नभएको मान्छे (एकाङ्कीसङ्ग्रह) नाटक : एक चर्चा (समीक्षा), किसि न्याइम्ह मदनमान ।
उनको कुमारी शोभा उपन्यासको नेपाली कथानक चलचित्र बनेको थियो र जापानी भाषामा समेत अनुवाद भएको थियो ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य पददेखि सदस्य सचिव हुँदै उपकुलपति पदसम्म पुगेका थिए ।
पिता पनि साहित्यकार र सहोदर दाई गोविन्दबहादुर मल्ल गोठाले पनि साहित्यकार, उनको घरको पूरै माहौल साहित्यमय थियो ।
उनको निधन वि.सं. २०५६ साउन ८ का दिन ७४ वर्षको उमेरमा भयो।
यो बर्ष उनको जन्म शतवार्षिकी वर्ष भएकोले विश्वपरिक्रमामा विभिन्न साहित्यकारहरूको संस्मरण तथा लेखहरू क्रमसः प्रकाशित हुनेछ ।

०००