नवीन पौड्याल
यस वर्ष २०२४ भारतीय नेपाली साहित्यका दुईवटा महत्त्वपूर्ण संस्थाले आफ्ना स्थापनाको स्वर्ण जयन्ती समारोहपूर्वक मनाए। एउटा हो असम नेपाली साहित्य सभा र अर्को डुवर्स नेपाली साहित्य विकास समिति। गत ६ देखि ९ डिसेम्बर, २०२४ मा असमको सरूपथारमा आयोजित चारदिने स्वर्णजयन्ती समारोह र २७-२९ डिसेम्बरको डुवर्सको वीरपाडामा आयोजित तीनदिने समारोह। यी दुई समारोहलाई नेपाली साहित्यको संस्थागत इतिहासमा महत्त्वपूर्ण घटनाक्रम मान्न सकिन्छ।
गत २७ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म डुवर्स नेपाली विकास समितिको पचास वर्षको स्वर्ण जयन्ती वीरपडाको नेपाली उच्चतर विद्यालयमा बडो धुमधाम हर्षोल्लास र भव्यताका साथ सम्पन्न भयो। मलाई लाग्छ सायद आयोजकले र अन्य साहित्यिकप्रेमीले चिताएको भन्दा सभ्य भव्य र सफलतासँग सम्पन्न भएको हो। समारोहलाई मूलत: पाँचवटा मुख्य मुख्य कार्यक्रम भएका हुन्- भारतभरिका नेपाली साहित्यिक संस्थाको सहभागितामा उद्घाटन सत्र, दुईवटा वार्तासत्र, डुवर्सव्यापी कवि गोष्ठी, राष्ट्रिय कविगोष्ठी, सम्मान कार्यक्रम र दुईदिने साङ्गीतिक सन्ध्या कार्यक्रम। यसबीच तीनजना जिवीत संस्थापक सदस्यहरूलाई सम्मान गरियो। कार्यक्रमको मञ्चलाई जम्मा छजना डुवर्सका दिवङ्गत विभूतिहरूका नामकरण गरियो- स्व. चन्द्रवीर प्रधान स्मृति मञ्च, किताबसिंह राई स्मृति मञ्च, स्व. इन्द्रबहादुर गुरूङ स्मृति मञ्च, बद्रीनारायण प्रधान स्मृति मञ्च, स्व. सुखमन मोक्तान स्मृति मञ्च, डि बी घिसिङ स्मृति मञ्च, बी बी दर्नाल स्मृति मञ्च। कार्यक्रम बडो योजनाबद्ध, सुशृङ्खलित, सुचारू रूपमा सम्पन्न भयो।
यस भव्य समारोहमा सहभागी, सहयोगी हुन भारतका धेरै नेपाली साहित्यिक संस्थाको उपस्थिति थियो। देहरादुन, दिल्ली, कोलकाता, मणिपुर, असम, सिक्किम, दार्जिलिङ, खरसाङ, मिरिक, कालिम्पोङ, पेदोङ, सिलगडी, नक्सलबारी आदि चारैतिरका नेपाली साहित्यिक संस्थाको उपस्थिति थियो। भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष, असम गोर्खा सम्मेलनका केन्द्रिय सभापति आदि जस्ता महत्त्वपूर्ण जातीय सङ्गठनको उपस्थिति थियो। दार्जिलिङ, कालचिनीका सासंद, वीरपाडाका विधायक, सिक्किमका मन्त्री विधायक आदिको पनि गरिमामय उपस्थ्ति थियो।
समारोहमा साहित्यिक चर्चा निकै भए। मुख्यगरी ‘भारतीय नेपाली साहित्य दशा र दिशा’ र ‘साहित्य र समाजको अन्तर्सम्बन्ध’बारे सार्गर्भित वार्ता मुख्य कार्यक्रम थियो। यी दुई कार्यक्रममा निकै छळफल भए। डा. योगेश खातीको ‘भारतीय नेपाली साहित्यको दशा र दिशा’बारे सारगर्भित वार्ता र नवीन पौड्यालको टिप्पणी वार्तामा धेरै कुरा विवेचित भए। अध्ययन, अनुवादका धेरै चर्चा उठे। अर्को दिनको कार्यक्रममा जय क्याक्टसको साहित्य र समाजबारे र टिप्पणीकार डा. राजकुमार छेत्रीको टिप्पणीमा पनि धेरै कुरा उठान भए। यी दुई मूल विषयमाथि अन्य विद्वान विदुषीको पनि वार्तामा सहभागिता थियो। कसैले साहित्यले समाजका जम्मै कुरा बोक्न सक्दैन भने, कसैले साहित्य समाजभन्दा अघि जान्नुपर्छ, समाजले सही दिशा निर्देश दिन सक्नुपर्छ भने। दर्शक स्रोताहरू पनि चिन्तन गर्न बाध्य बने। विन्द्या सुब्बा, सानु लामा, बिर्ख खँड्का डुवर्सेली, सि. के. श्रेष्ठ, नवराज लम्साल, पुरू लम्साल, राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, युवराज काफ्ले, रूद्र बराल आदिका वैचारिक मन्तव्यले कार्यक्रम चिन्तनमूलक पनि बनेको थियो।
दुई दिनव्यापी कविगोष्ठी पनि अति महत्त्वपूर्ण र अविष्मरणीय रहे। पहिलो दिनको कविगोष्ठीमा बाहिरका अतिथिहरूले डुवर्सका कविता सुने भने दोस्रो दिनको कविगोष्ठीमा बाहिरका कविहरूका कविता डुवर्सले सुन्यो। डुवर्सेलीले कविहरूमा दुईचार जना प्रखर रूपमा अघि आए। बिलोक शर्मा, किरण उपाध्याय, नारायण काफ्ले आदिले आफ्नो प्रभाव जमाए। अर्का दिनको अन्तराष्ट्रिय कवि गोष्ठी (भारत, नेपाल र भुटानका प्रतिनिधि) मा पवित्रा लाको अभिसङ्गी कविता (वाचिक अभिनयसहितको) ले सबैभन्दा प्रभाव जमायो। उनको कविताको प्रस्तुतिमा सबै स्रोतागण मन्त्रमुग्ध भए, आनन्दविभोर भए। कविता पनि कुनै मिठो गीतभन्दा कमी छैन भन्ने कुरा जनायो। कतिपय कवि भने सोरसारे खालका पनि नभएका होइन्। कविगोष्ठी लामो भयो, बेसी मिठो खाँदा गुँड पनि तितो हुन्छ भनेझैं दिनभरीका रङ्गीचङ्गी कविता सुन्दा सुन्दा स्रोतालाई वाक्क भएको, अब भयो भयो भनिन्जेलसम्मको स्थिति पुगेको थियो। यसमा आयोजकको कमजोरी नभएर उपस्थ्ति भएका कविहरूलाई मञ्च दिएर समुचित स्थान र मन राखिदिनाले यस्तो लम्बिएको थियो। यद्यपि स्तरीय कविताको रोचक प्रस्तुति भयो भने दर्शक स्रोताले दिक्क नमानेर रमाइलो मान्छन् भन्ने कुरा पनि सिद्ध भयो। कविताहरूका भाव थरी थरीका आए, कोही जाति सेलाएको छ भन्ने ठानेर बलभद्रको आगमनको आह्वान गरी जाति तताउने, कुनै दाइजो प्रथाको विरोध गरिएको, कुनैमा जात प्रथाको विरोध गरिएको, कुनै आफ्ना व्यक्तिगत समस्याको उठान गरेका, कुनै दर्शनमूलक, कुनै विषवमन। कुनै प्रस्तुति रोचक कुनै घोचक । कसैका कवितामा गम्भीरता कसैका कवितामा सामान्य भाव र विचार। नवीन र प्रवीण दुवै खाले थरी थरीका कविहरूले कविता पाठ गरे, आयोजकले मञ्च दिएर ती कविहरूले अवसर दिएको मान्न सकिन्छ।
साङ्गीतिक कार्यक्रम पनि अब्बल थियो। दोस्रो दिनको सङ्गीत सन्ध्यामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सांस्कृतिक विभागको आयोजना भव्य रूपमा कार्यक्रम सम्प्न भयो। तेस्रो दिनको साङ्गीतिक कार्यक्रमा डुवर्सकै इन्द्रजित मिझार, पुष्पन प्रधान र उनको नेतृत्त्वमा भव्य कार्यक्रम सम्पन्न भयो। मलाई लाग्छ, योभन्दा राम्रो साङ्गीतिक कार्यक्रम कहीँ हुनसक्दैन। नयाँ र पुराना गीत, सुगम सङ्गीत र अचेलका गीत सबै खाले कार्यक्रम भयो। सङ्गीतको भेल बग्यो, हजारौं दर्शक स्रोताले सङ्गीत सरोवरमा चुर्लुम्म डुबे, भरमग्दुर आनन्द लिन पाए, नाचे, झुमे, आह्लादमा रमे। उदीयमान र वरिष्ठ कलाकारको दह्रिरो उपस्थिति थियो। काठमाडौंका नवराज लम्साल र कालिम्पोङका नाट्यप्रतिभा सि. के. श्रेष्ठका वक्तव्यसमेत पनि रोचक उत्तेजक र घैंटामा घाम लाग्ने खालका थिए।
कार्यक्रमलाई सफलीभूत पार्न सुनियोजित व्यवस्था मिलाइएको थियो। समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, सचिव रबिन खवास, रूपेश शर्मा, गणेश गजमेर, वेगवसन्त थापा आदिको नेतृत्त्वमा रहेको आयोजक समितिले डुवर्सको यस कार्यक्रमलाई चारैतिरबाट प्रशंसा भइरहेको छ। निस्वार्थी केही स्वयम्सेवकहरू जस्तै नवीन मुखिया र राजु शर्माको नेतृत्वको खानाको तयारी टोली, दिवाकर राई, सुवास छेत्री, विनोद मोक्तान आदिजस्ता सक्रिय कार्यकर्ताले पाहुनालाई बास बस्ने, स्वागत सेवा, पाहुना सेवा र अन्य व्यवस्था मिलाउने कार्यक्रम उतारेका हुन्। यस्ता दिनरात खटेर कार्यक्रम सफलीभूत पारिदिने निस्वार्थी स्यमसेवकहरू पायो भने कुनै पनि साहित्यिक संस्थाले आयोजना गरेको कार्यक्रम सफल हुन्छ अनि संस्थाको समुचित विकास हुन्छ । हल्ला र विज्ञापनदेखि टाडा रही भित्रभित्रै मौरीजस्तो भएर काम गरिरहने यस्ता कार्यकर्ताहरू नै यस समोरहको शफलताको कडी हुन्, स्तम्भ हुन्। वीरपाडा नेपाली विद्यालयको विशाल मैदानमा आयोजित तीनदिने साहित्यिक महापर्वमा त्यहाँ उपस्थित हजारौं जनभेला साहित्यिक, साङ्गीतिक, मैत्रीय आत्मीयताको रसमा डुबे, आनन्दमा हेलिए, मग्न र एकाकार भएका थिए। नेपालका केही विशिष्ट व्यक्तिदेखि लिएर डुवर्सकै कवि र गायक कलाकारको प्रतिभाको राम्रो कदर भयो।
तीनदिने कार्यक्रममा पुस्तक लोकार्पण, पुस्तक बिक्री वितरण, गोर्खा खाद्यान्न बिक्री भण्डार, खानाका लागि राम्रो व्यवस्था, बाहिरका अतिथिहरूलाई बास दिने सठिक व्यवस्था थिए। यद्यपि भव्य कार्यक्रम आयोजनाको तुलनामा दर्शक भने केही थोरै हुन् कि भन्ने लागेको छ। बाहिरका र डुवर्सका स्थानीय मानिसहरूको धेरै नै उपस्थिति पाइएको थियो। वक्तव्यका बीचबीचमा करतल ध्वनिले कार्यक्रम गुञ्जयमान भयो। केही थोरै गुनासो र कमजोरी नरहेका होइनन्। एक दुई साहित्यिक निमन्त्रणा पाएर कुनै कुनै संस्थाले सही स्थान पाएनन्, उच्चारितसम्म भएन भन्ने केही गुनासो आए तर यस्ता ठुलो कार्यक्रममा केही न केही भूलचूक हुन्छ नै। यस्तो भूल जानीजानी नभएर केही अन्य कारणले हुन सक्छ। समग्रमा कार्यक्रम भव्य भयो, सफल भयो, विराट रूपमा भयो। साहित्यिक महोत्सवका रूपमा भयो, नेपाली साहित्यको मानचित्रमा डुवर्सलाई चिनाउने गरी भयो। डुवर्सवासी साहित्यिक समागममा हेलिन पुगे, साहित्य भनेको के हो आममानिसले पनि बुझे, अब कस्तो लेख्नुपर्छ साहित्यकारले बुझे, डुवर्स भन्नाले के हो भन्ने कुरा बाहिरकाले बुझे।
आयोजक समितिले केही माग र आगामी कार्यक्रमको बाह्रवटा बुँदाको प्रस्तावना राखेको छ। यसमा साहित्य अकादमीबाट पुनः मान्यताका निम्ति पत्राचार गर्ने, जलपाईगुड़ी र अलिपुरद्वार जिल्ला भानुजयन्तीको छुट्टीको माग गर्ने, डुवर्समा छुट्टै नेपाली एकाडेमीको माग गर्ने, वीरपाडामा गोर्खा भवनको स्थापनाका निम्ति पाइला चाल्ने, शिक्षाशास्त्र (डिएलएड)मा नेपाली पठन पाठनका लागि माग गर्ने, विकास समितिको मुखपत्र अवलोकनलाई स्वर्ण जयन्ती अङ्कका रूपमा प्रकाशित गर्ने आदि जस्ता मुख्य रहेका छन्।
कार्यक्रम सफल ऐतिहासिक र गरिमामय बन्यो। तीन दिन साहित्य सरोवरमा डुब्न पायौं। आनन्ददायक आगह्लादकारी थियो। यत्तिको कार्यक्रम हत्तपत्त कुनै संस्थाले गर्न सक्दैन भन्न सकिन्छ। आयोजकहरू बधाइका साथै धन्यवादका पात्र बने।
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।

विज्ञ नवीन भाइले यति चाँडो त्यो पनि विस्तारित ढङ्गमा कार्यक्रममाथि विवेचनात्मक मन्तव्य दिनुभएको गजब लाग्यो।आलेख सूचनामूलक र प्रेरक लाग्यो।