डा. दामोदर पुडासैनी किशोर
साथी-१
सुनसान सडकमा
हिँडिरहेथेँ एक्लै
अघिल्तिर वाहवाही गर्नेहरू
परपर लुकेर हेर्दैथे मलाई
त्यतै कतै सिध्याउन
साथ दिने कोही नभेटेको बेला
त्यही सडक बाहेक कोही भएन मेरो
एक्लो र भरपर्दो साथी ।
साथी-२
कैयौँ खेतमा आगजनी भएको छ
कैयौ बाली जलेर नष्ट भएको छ
आगजनी रोक्नेहरू पनि जलेका छन्
आगजनी गराउनेहरू पनि जलेका छन्
जलेका सबैलाई शहीद घोषणा गर्न
साँझमा बैठक बसेको छ मन्त्रीमण्डलको
जल्नेका आफन्तहरू नारा लगाउँदैछन्
हाम्रा मागहरू पुरा नभए
तत्कालै शुरू हुनेछन्
यो भन्दा ठूला ठूला आगजनी ।
साथी-३
म मृत्युलाई पन्छाएर आइरहेथेँ
सधैँ मलाई भीरबाट धकेल्न खोज्नेहरू
चाखपूर्वक सोधिरहेथे मृत्यु पन्छाएका कथाहरू
खासमा उनीहरूलाई
म मृत्युबाट छुटकारा पाएको खुशी भन्दा पनि
सिक्नु थियो
मृत्युबाट छुटकारा पाउने अनमोल सूत्र ।
साथी-४
घनघोर पीडाबाट जीवन बाँचेर आयो
जीवनसँगै
बाँचेर आयो त्राश
बाँचेर आयो दुःखको नयाँ शृङ्खला
साथीहरू पनि बाँचेका छन् बिना कुनै परिवर्तन
अन्धकार रातमा
प्रहार खपिरहेको मलाई नदेखेझैँ गर्नेहरू
बिहान ठमठमी हिँडिरहेको बेला
हात मिलाउँदै सोध्छन् क्षेमकुशल
म केही नबोलि हासिदिन्छु मुसुमुसु ।
साथी-५
सबै स्वादहरू
मीठा हुँदा रहेछन् बालककालकै
अरू त अरू
बालककालका निर्दोष साथीहरूपनि
बिस्तारै डुब्दै जानेरहेछन्
विषका घडाहरूमा ।
०००
कवि परिचयः दामोदर पुडासैनी किशोर विविध बिधाका सकृय लेखक हुन् । उनी पछिल्लो समय नियात्रा विधामा बढी केन्द्रित भएका छन् । उनका स्वदेश तथा विदेश भ्रमणका कृतिहरु प्रकाशित छन् । उनको पछिल्लो नियात्रा कृति “डोल्पो ओ डोल्पो” साझा प्रकाशनबाट प्रकाशित छ ।
