नवीन पौड्याल
नेपाली साहित्यमा ज्ञान सुतारको नाम पनि उल्लेखनीय छ। ईश्वीको उन्नाइस सय साठीको दशकदेखि नै उनी नेपाली साहित्यमा सक्रिय थिए। उनी भारतीय सेनाको सेवामा रही नेपाली साहित्य पढ्थे, लेख्थे। साहित्य पढ्ने लेख्ने एउटा जोश र परिवेश थियो। पेशागत भारतीय नेपाली साहित्यमा सैनिक क्षेत्रबाट पनि केही साहित्यकारको योगदान देखिन्छ। सैनिक सेवामा रहने केही साहित्यकारहरूमा गनुसिंह गुरूङ, विक्रमवीर थापा, एम. पी. राई, दिल सुब्बा, लक्ष्मीकान्त जोशी, अमर बानियाँ हुँदै ज्ञान सुतारको नाम आउँछ।
ज्ञान सुतारको जन्म १ अप्रेल, १९४४ सोयेक चियाकमान, दार्जिलिङमा भएको हो। उनका बाबुआमाको नाम स्व. गणेशबहादुर छेत्री र स्व. हर्कमाया छेत्री हो। उनको वास्तविक नाम ज्ञानबहादुर छेत्री भए पनि उनले ज्ञान सुतारको नाममा साहित्य लेख्ने गर्छन्। उनी एक उपन्यासकार, कथाकार र एक समीक्षकका रूपमा रूपमा परिचित छन्। उनी आफ्नो जीवनकालमा कुमुदिनी विद्याश्रमबाट पुरानो प्रणालीको हायर सेकेन्डरी उत्तीर्ण गरेपछि भारतीय सेनामा भर्ती भएर अट्ठाइसवर्ष (१९६३ देखि १९९१ सम्म सुबेदार मेजरसम्मको ओहदामा पुगेका थिए) वर्ष सेवा दिएका हुन्। उनी सेनाबाट सेवानिवृत्त भएर आएपछि केही वर्ष आयकर विभागमा पुनर्नियुक्त भएर र निरीक्षकको पदमा रही सेवानिवृत्त (१९९३ देखि २००४ सम्म) भएका थिए। यसपछि फेरि केन्द्रीय विद्यालयमा हिन्दी शिक्षकका रूपमा (२००४-२००५) पनि सेवा गरेका हुन्। उनी पुराना र नयाँ साहित्यकारका सम्बन्ध सेतु हुन्। उनको पुराना साहित्यकार पारसमणि प्रधान, भाइचन्द प्रधान, सानुमति राई, नरबहादुर दाहाल आदिदेखि लिएर हालसम्मका नयाँ नयाँ साहित्यकारसित संसर्ग छ। साहित्यिक संस्थातिर सक्रिय छन्। उनकै नेतृत्वमा कालेबुङमा मासिक भेला साहित्य संगम शुरू भएको थियो। उनी नेपाली साहित्य अध्ययन समिति, कालेबुङका सभापति हुन्। उनी एक जाँगरिला साहित्यकार हुन्। उनी दिनरात प्रायः साहित्य पढ्छन्, साहित्य चर्चा गर्छन्।
उनले सन् १९६१ मा नै कविताबाट लेखन आरम्भ गरेका हुन्। उनको पहिलो प्रकाशित कृति ‘यौवन लुटिएपछि’ भन्ने उपन्यास (१९६६) हो। हालसम्म उनका जम्मा तीनवटा उपन्यास ‘यौवन लुटिएपछि’ (१९६६), ‘पर्खिदिनु है माया’ (१९७२), ‘करूणा भाउजू’ (१९८६), दुईवटा कथासङ्ग्रह ‘सालीज्यूको झुम्के बुलाकी’ (१९७२), ‘जुलुसमा हिँड्ने मान्छे’ (२०१२), दुईवटा कवितासङ्ग्रह ‘राग अनुराग’ (खण्डकाव्य,१९९२) र ‘विद्रोही स्वरहरू’ (कवितासङ्ग्रह, २००७), ‘हास्य व्यङ्ग्य रचनासङ्ग्रह’ (१९९०), समीक्षामूलक जीवनी ‘भाइचन्द प्रधान’ (२०१८) र समीक्षात्मक लेखसङ्ग्रह ‘सिला’ (२०२२) प्रकाशित भएका छन्। उनले ‘हिमकस्तुरी’ भन्ने नेपाली दैनिक समाचाचारपत्रको सम्पादन, ‘कुमुदिनी परिवारको मुखपत्र’ अङ्क ५ र ‘जनचेतना’ (सामयिक पत्रिका)को सम्पादन कार्य पनि गरेका छन्। हालसम्म उनले भाइचन्द प्रधान स्म़ति पुरस्कार र पूर्ण राई स्मृति पुरस्कार हासिल गरेका छन्।
उनको समीक्षामूलक पहिलो पुस्तक ‘भाइचन्द प्रधान’ हो जुन साहित्य एकादेमी नयाँ दिल्लीको भारतीय साहित्य निर्माता शृङ्खलाअन्तर्गत ईसं २०१८ मा प्रकाशित भएको छ। यसमा साहित्यकार भाइचन्द प्रधानको साहित्यिक योगदान र कृतित्वको समीक्षण र मूल्याङ्कन गरिएको छ। यसमा भाइचन्द प्रधानलाई एक कथाकार, कवि, वैयाकरण अनुवादक सम्पादक आदिका रूपमा परिचित गराइएको छ।
२०२२ मा प्रकाशित सिला नामको पुस्तकलाई लेखकले विविध लेखहरूको सङ्ग्रह भने तापनि यसलाई समीक्षात्मक पुस्तक मान्न सकिन्छ। सिला शब्दको अर्थ बोटबाट टिपिसकेका अन्नादि फेरि सिलाबाला गर्नु, बटुल्नु भन्ने लाग्छ। यसमा पनि विभिन्न समयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका लेखहरूलाई एकमुष्ठ पारी यो पुस्तकको जन्म भएको भन्ने लेखककै स्वीकारोक्ति छ। यसमा कतै समीक्षात्मक अध्ययन र कतै सामान्य पाठक प्रतिक्रिया पाइन्छ। उनको कृति र कृतिकारको मूल्याङ्कन गर्ने हुट्हुटी छ। कालेबुङका धेरै कृति समीक्षित र मूल्य़ाङकित नभएको देखेर त्यसतर्फ हात हालेको प्रतीत हुन्छ। यसमा रहेका लेखहरू हुन्- ‘आदिकवि भानुभक्तसम्बन्धी विविध विवादहरू’, ‘कथाकार भाइचन्द प्रधान’, ‘कवि नरबहादुर दाहालको काव्य प्रवृत्ति’, ‘देवकोटा र गेटे’, ‘द्रुत पठन-पर्वत सोमरा र गोम्बेहरू’, ‘नाभो कथा : परिचयात्मक टिप्पणी’, ‘पारसमणि प्रधान : संक्षिप्त परिचय’, ‘प्रदीप गुरूङकृत पोस्टर र लात : पाठकीय दृष्टिकोण’, ‘भाइचन्द प्रधान- जाँगरिला अनुवादक’, ‘भाषिक एकरूपताको प्रश्न’, ‘बधूशिक्षा अनि आजकी नारी’, ‘श्रद्धेय नरबहादुर दाइ र म : केही भित्री कुरा’, ‘सुषमा शर्माकृत सृष्टि –प्रति मेरो दृष्टि’। यसमा रहेका लेखहरू कुनै पाठक प्रतिक्रिया, कुनै तुलनात्मक, कुनै विश्लेषणात्मक, कुनै जीवनीमूलक, कुनै तार्किक प्रवृत्तिका छन्। यसमा रहेका लेखहरू अध्ययन गर्दा सुतार ओझेलमा परेका कृति र कृतिकारको मूल्याङ्कन गर्नु जस्ता गुण देखिन्छन। मूल रूपमा भने सुतार प्रभाववादी समालोचक हुन्।
‘सिला’ को भूमिकामा सञ्जय विष्टले ज्ञान सुतारको यस पुस्तकको केही मूल्याङ्कन गरेका छन्। यस पुस्तकमा जम्मा सत्रवटा समीक्षामूलक लेखहरू रहेका छन्। यसमा कुनै समीक्षापरक, कुनै जीवनीपरक, कुनै सामान्य टिप्पणीपरक, कुनै व्यक्ति परिचयपरक लेखहरू रहेका छन्।
ज्ञान सुतारको सिला मा जम्मा तेह्रवटा लेखहरू रहेका छन्। यसमा आदिकवि भानुभक्त आचार्य, भाइचन्द प्रधान, नरबहादुर दाहालबारे दुई दुईवटा लेख रहेका छन्। लक्ष्मीप्रसाद देवकोटा, पारसमणि प्रधान, सम्पूर्णा राई, मुन्नु गौतम, प्रदीप गुरूङ, सुष्णा शर्माका व्यक्तित्व र कृत्तित्व विषयमा लेखेका छन्।
पहिलो लेख ‘आदिकवि भानुभक्तसम्बन्धी विविध विवादहरू’ मा भानुभक्तको जन्मसाल, बधूशिक्षा, बिहे गर्दाको उमेर, आदिकवित्व, तस्वीर आदि विषयमा विवादका विषय बनेका छन्। भानुभक्तको जीवनीबारे मोतीराम भट्ट, नरनाथ आचार्य, सूर्यविक्रम ज्ञवाली, यज्ञनिधि आचार्य, शिवराज आचार्य गरी पाँचजना मुख्य हुन्। मोतीराम भट्टले भानुभक्तलाई खोजी निकालेका हुन्। त्यसपछि भने भानुभक्तकै वंशज र अन्यले भानुभक्त अध्ययनलाई अघि सारेका हुन्। भानुभक्तमाथि नकारात्मक कथ्य पनि नबनाइएका होइनन्। ब्रह्मशमशेर जबराले लेखेका कतिपय विचार र मान्यताले भानुभक्तको मूल्याङ्कन नभएर अवमूल्यन भएको छ। यसले गर्दा भानुभक्त अहिलेसम्म ओझेल भइसक्थे भन्ने विचार अघि सारिएको छ।
भानुभक्तसम्बन्धी पहिलो विवाद नै उनको जन्म साल हो। भानुभक्तका पहिलो जीवनीकार मोतीराम भट्टले भानुभक्तको जन्म असार २९ गते वि. सं. १८६९ भनेर उल्लेख गरेका छन्। यो मोतीराम भट्टको अनुमान थियो। भाइचन्द प्रधानले आफ्नो पुस्तक ‘आदिकवि भानुभक्त आचार्य’ भन्ने पुस्तकमा भानुभक्तको जन्म सं १८७० हुन आउँछ भन्ने उल्लेख गरेका थिए। यद्यपि पं. नरनाथ आचार्य भानुभक्तकै कुल वंशज हुनाले भानुभक्तको चिह्रा टिप खोजेर उनको जन्मको वर्ष महिना तिथि घडी पला सबैको पत्तो लाएका हुन्। उनले आफ्नो पुस्तक ‘कविवर भानुभक्त आचार्यको सच्चा जीवन चरित्र’ मा भानुभक्तको जन्म असार २९ गते, वि सं १८७१ हो। यसैलाई आधिकारिक मानेर सर्वस्वीकृत भएको छ।
सुतारले भानुभक्तको विहाको सम्बन्धमा चर्चा उठान गरेका छन्।उनको बिहा कसैले एघार वर्ष र तेह्र वर्षमा भएको भन्ने कुरामा दुइ मत पाइन्छ। त्यसैगरी ‘बधूशिक्षा’ पनि दुईवटा हुनाले पनि विवाद छ। एउटा वि. सं. १९१३ मा रचना गरेको भनिएको सत्र सिलोके र अर्को सं १९१९ मा रचना गरेको भनिएको तेत्तीस सिलोके ‘बधूशिक्षा’ रहेका छन्। पछिल्लो ‘बधूशिक्षा’ भने भक्तिवस् भानुभक्तको नाममा मोतीराम भट्टले लेखिदिएका हुन् भन्ने अनुमान गरिएको छ। भानुभक्तको वधूशिक्षा नै विवादको केन्द्र बनेको छ। समीक्षकले यसबारे अर्को छुट्टै लेख लेखेर आफ्नो तर्क प्रस्तुत गरेका छन्। भानुभक्तको आदिकवित्वमाथि पनि निकै विवाद उठेका हुन्। यद्यपि यहाँ भानुभक्तलाई आदिकवित्वको पगरी गुथाइदिने दीनानाथ सापकोटा हुन् भन्ने कुरा उल्लेख गरिएको छ। यो तथ्य सही नभएर भ्रामक छ। रघुनाथ भट्टको रामायण सुन्दरकाण्डको सम्पादन गर्ने दीनानाथ सापकोटाले आफ्नो सम्पादकीय लेखनमा नेपालीका आदिकवि भानुभक्त नभएर रघुनाथ भट्ट हुन् भन्ने कुराको उठान गरेका छन्। भानुभक्तको तस्वीर विषयमा पनि विवाद पाइन्छ। भानुभक्तका कोही नातेदार नेपालको राजघारानामा धर्मगुरू थिए र नातेदारकामा जाँदा कुनै धार्मिक कार्यक्रमका बेला फोटो खिचिएको थियो र त्यस सामूहिक फोटोमा भानुभक्त पनि सामेल हुन पाएका थिए र त्यसकै आधारमा आचार्य परिवारले फोटोलाई स्वीकृति दिएको र ज्वाला समले नक्सा बनाएकी हुन्। भानुभक्तका वंशजहरूसित पनि अनुहारको आकृत्ति मिल्दो देखिन्छ।
भाइचन्द प्रधानका विभिन्न साहित्यिक व्यक्तित्वमध्ये कथाकार व्यक्तित्व सबैभन्दा प्रखर मानेका छन्। उनका केही कथाहरूको वस्तु र शिल्पबारे चर्चा गरेका छन्। भाइचन्द प्रधान आफ्नो समयका एक प्रखर कथाकार थिए। सामाजिक विषयवस्तुलाई कथाको विषय बनाएका थिए। यसमा भाइचन्द प्रधानको कथाको सबल र दुर्बल दुवै पक्षबारे चर्चा गरेका छन्। उनका कथा परम्परागत भाव र शिल्प नै रहेका छन्।
नरबहादुर दाहालको कवित्वबारे पनि मूल्याङ्कनात्मक समीक्षा गरेका छन्। नरबहादुर दाहालका कविताको उति समीक्षा र मूल्याङ्कन भएको पाइन्न। उनका दुईवटा कवितासङ्ग्रह ‘उन्माद’ र ‘तिम्रो प्रीत नै मेरो गीत’ ले ईश्वीको उन्नाइसय साठ्ठीको समयलाई प्रतिबिम्बित गर्दछ। त्यसबाहेक उनका केही बालकविता पनि लोकप्रिय छन्। त्यस समयका अधिकांश कविता रोमान्टिक भावधाराका हुन्थे। यद्यपि साठीको दशकमा नै आयामेली आन्दोलन भएको थियो। नरबहादुर दाहाललाई भने आयामेली आन्दोलने प्रभावित पारेन। कवितामा हुनुपर्ने सरलता, सुबोध्यता, भावाभिव्यक्तिमा प्रबलतालाई नै नरबहादुर दाहालले परिपालन गरिरहेका छन्। उनका अधिकाङ्श कवितामा रोमान्टिक चेतना नै प्रबल रूपमा पाइन्छ। कविका मनमा उठेका भावविम्बलाई उतारेका छन्। उनका कवितामा छन्द र नयाँ नयाँ प्रयोग आदि नभए पनि कविताको लयलाई भने छाडेका छैनन्। कवितामा बौद्धिक दर्शनभन्दा हार्दिक कोमलता हुन्छ। कविताहरू सरल, सहज, सरस, बोधगम्य र लयात्मकता हुन्छन्। उनका केही कवितामा प्राकृतिक सौन्दर्यलाई दाहालले कवितामा अभिव्यक्त गरेका छन् भने शृङ्गार रसअन्तर्गत रतिरागात्मक भावका स्वच्छन्दतावादी भावधारा छन्। नारी पुरूषका प्रेमका विभिन्न भाव, आकर्षण विकर्षण, मिलन विछोड आदि अभिव्यक्त गरेका छन्। यसैगरी जीवनका विभिन्न कुण्ठा, आशा निराशा, रङ्गीन सपना, यथार्थ, भोगाइका पीडालाई कविता व्यक्त गरेका छन्। दाहालका कवितामा प्रणय, प्रकृति चित्रण, स्थानीय रङ्ग चित्रण, देशभक्ति र राष्ट्रवादी, मानवमुक्तिको चाहना, आत्मपरकता आदि जस्ता प्रवृत्ति र विशेषतालाई आत्मसात गरेका छन् भन्ने कुराको निर्क्योल गरिएको छ।
‘देवकोटा र गेटे’ लेखमा हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि जर्मनीका आदिकवि गेटेसित तुलनात्मक अध्ययन गरेका छन्। दुवै कवि प्रकृति पूजक, रोमान्टिक भावधाराका थिए। समयको अन्तराल भए पनि दुवैमा कवितामा भावाभिव्यञ्जना, मानवता प्रेम, राष्ट्रप्रेम जस्ता साझा प्रवृत्ति पाइने कुरा केलाएका छन्।
‘द्रुत पठन-पर्वत सोमरा र गोम्बेहरू’- मुन्नु गौतमको उपन्यास पर्वत सोमरा र गोम्बेहरूमा पाइने जातीय उन्माद, अराजकता, भीडतन्त्र आदिबारे चर्चा गरिएका पाइन्छ। यसमा रहेका एकेकवटा अध्यायहरू केलाउँदै कथारेखा पहिलाएका छन्। तीनपटकको गोर्खाल्य़ाण्ड आन्दोलनको क्रमबद्ध घटनावलीलाई जोडेर उपन्यास बुनिएको कुरा समीक्षकले लेखेका छन्। आन्दोलनको फलस्वरूप नकारात्मक पक्षहरू बढी प्रबल भएर आए। दार्जिलिङको राजनितीको बागडोर समाजका बदमास, दुर्जन र अयोग्यका हातमा गयो। भविष्य नसोंच्ने, राष्ट्रिय राजनितीका धार नबुझ्ने, शिक्षा र सामाजिक गरिमालाई बुझ्न नसक्ने जस्ता मान्छेका हातमा दार्जिलिङको राजनिती चल्यो। आन्दोलन गलत दिशातर्फ गएको छ भन्नेलाई हत्या गरिदिने जस्ता परिस्थिति जन्मियो। यस्तो अवस्थालाई उपन्यासकारले देखाएकी छन्। हाम्रो आन्दोललाई विभिन्न कोण प्रतिकोणबाट हेरेकी छन् भन्ने कुरा लेखले समीक्षा गरेका छन्। उपन्यासका प्रत्येक अध्यायलाई शीर्षकीकरण गर्दै लगिएको र प्रत्येक अध्यायको कथारेखा र मूल विषयवस्तुलाई सारसंक्षेप रूपमा उतारेका छन्।
‘नाभो कथा : परिचयात्मक टिप्पणी’ अर्को रचना हो । नेपाली कथामा सम्पूर्णा राई पनि एक कुशल कथाकार थिइन्। उनको कथाकारिताको मूल्याङ्कन गर्ने क्रममा ज्ञान सुतारले यथार्थवाद, सामान्य मनोविज्ञान आदि जस्ता प्रवृत्ति केलाएका छन्। नाभो कथासङ्ग्रहमा रहेका जम्मा चौबीसवटा छोटा छोटा कथाहरूको सङ्कलन नाभोका प्रायः कथाहरूको कथावस्तुको सन्धान गरेका छन्। सम्पूर्णा राई एक कुशल कथाकार थिइन्, यद्यपि उनको समुचित मूल्याङ्कन भएको छैन। साहित्य सङ्केत पत्रिकाको एउटा अङ्कलाई सम्पूर्णा राई अङ्कका रूपमा प्रकाशित गरेको पाइन्छ। सुतारका अनुसार यस कथासङ्ग्रहमा नारीका पीडा र व्यथा, स्त्री र पुरूषबीचका नैसर्गिक सम्बन्ध, मनोविश्लेषणात्मकता, आदि जस्ता विषय पाइन्छन्। यसमा श्रीमती राईका कथा लेखनका विशिष्ट सिप पाइन्छन् भन्ने कुरामा जोड दिएका छन्।
‘पारसमणि प्रधान : संक्षिप्त परिचय’ अर्को रचना हो । लेखकको पारसमणि प्रधानसित व्यक्तिगतसमत परिचय थियो। प्रधानका कुरा सुन्न पाएका थिए। यसमा लेखक सुतारको सबैभन्दा बढी गुनासो छ कालेबुङका गौरव पारसमणि प्रधानलाई कालेबुङले नै राम्रोसँग मूल्याङ्कन गरेको छैन। दार्जिलिङ, खरसाङ, नेपालतिर उनको योगदानको कदर भएको छ, उनले विभिन्न मान सम्मान, पुरस्कार, उपाधि आदिले सम्मानित गरे तर आफ्नै कालेबुङले उनलाई केही दिएको छैन। बरू कालेबुङका मान्छेले नै उनको व्यक्तिगत आलोचना, बदनाम गरेका थिए। यद्पि कालेबुङमा पारसमणि प्रधानको प्रतिमा स्थापना गरेको छ, स्थानीय हाटबजारलाई पारसमणि हाट बजार भनी नामकरण गरेको छ र नेपाली साहित्य अध्ययन समितिले पारसमणि प्रधानको नाममा बर्सेनी पारसमणि प्रधान पुरस्कार दिँदैआएको छ।
‘प्रदीप गुरूङकृत पोस्टर र लात : पाठकीय दृष्टिकोण’ मा प्रदीप गुरूङको प्रयोगवादी उपन्यास पोस्टर र लातमा समीक्षकीय टिप्पणी पाइन्छ। यस उपन्यासको कथासूत्रलाई केलाउँदै पाठकलाई उपन्यासका बारेमा चासो जगाउने काम गरेका छन्। पोस्टर र लात उपन्यासमा कथाहरू तासका पत्तीझैं छरपस्ट भएका छन्, तिनलाई तासको एक्कादेखि बादशाहसम्मको शृङ्खला देखाइदिएका छन्। बीच बीचका पंक्ति, उक्ति उद्घृत गर्दै माथिबाट अलमलिएको खोला यसरी बगेको छ है भनेर कथातन्तु देखाउने काम गरिएको छ। प्रथमतः प्रदीप गुरूङको यो सूत्र उपन्यास सामान्य पाठकले पढ्ने आँट पनि गर्दैनन्, आँट गरे पनि छिचोल्न सक्दैनन्, छिचोल्न सके पनि कथातन्तु केलाउन सक्दैनन्। यसलाई समीक्षकीय आलोकित पारेर सुतारले पाठकका निम्ति पठनीय, रूचिकर र बोधगम्य तुल्याइदिएका छन्। यसमा जम्मा १३९ वटा सूत्र रहेका छन्। यी सूत्रहरूबाटै कथाको तुना बुनिएको छ। यस उपन्यासको मूल कुरा हाम्रो गोर्खाल्याण्ड आन्दोलन र परोक्ष रूपमा त्यसका दुष्प्रभाव, अराजकता र दुष्परिणाम देखाएका छन्। आन्दोलनले जन्माएको वेरोजगार, अराजकता, सामाजिक विशृङ्खला सृष्टि भएको कुरा उपन्यासमा पाइन्छ भन्ने देखाएका छन्
‘भाइचन्द प्रधान : जाँगरिला अनुवादक’- यस लेखमा भाइचन्द प्रधानलाई एक कुशल अनुवादका रूपमा लेखाजोखा र मूल्याङ्कन गरेका छन्। भाइचन्द प्रधान सर्जकका साथै एक दक्ष अनुवादक पनि थिए। उनले अनुवाद गरेका पुस्तकहरूको सूची सुतारले तयार गरी पस्केका छन्। सुतारका अनुसार भाइचन्द प्रधानका अनूदित कृतिहरू हुन्- ‘विश्वगुरू महात्मा गान्धी’ (१९४८), ‘शिक्षार्थीका निम्ति बौद्धधर्म’ (१९५३), ‘भारतीय नागरिकता र शासन’ (१९५४), ‘सुबोध संस्कृत व्याकरणको उपक्रमणिका’ (१९५४), ‘खुद्दत पाठ’ (बौद्ध दर्शन, १९५६), ‘धम्मपद’ (१९५६), ‘स्वस्थ्य प्रदीपिका’ भाग १ र २ (१९६२), ‘हीराको ल्याङ्फुली’, ‘भारतका जङ्गली जीवजवन्तु’ (१९६२), ‘जवाहरलाल नेहरूको आत्मकथा’ (१९६२), ‘हिन्दू धर्मको कथा’ (१९६४), ‘श्री अरविन्द र माताजी’, (१९७२), ‘ड्रेकुला’ (उपन्यास, १९८४), ‘प्रेमचन्दका केही कथा’ (१९८२), ‘हिन्दू धर्म के हो?’ (१९९५)। यीबाहेक उनका अप्रकाशित अनुदित कृतिहरूमा ‘जलसमाधि र अन्य कहानीहरू’ (मूल लेखक सुरेशचन्द्र जैन)। उनी अनुवादमा जाँगरिला थिए, अनुवादको काम थालेपछि सकेर मात्र छाड्ने बानी थियो भन्ने विचार पनि व्यक्त गरेका छन्। यो सूची हेर्दा भाइचन्द प्रधानले साहित्यिक धार्मिक, जीवनीपरक, स्वस्थ्य शिक्षा जस्ता विषयका उपयोगी ग्रन्थको अनुवाद गरेका थिए। उनले हिन्दी बङ्गला, अङ्ग्रेजी, नेवारी जस्ता स्रोतभाषाबाट नेपाली भाषामा अनुवाद गरेका छन्। उनको नेपाली भाषामा अनुवादकला विशिष्ट किसिमको पाइन्छ।
‘भाषिक एकरूपताको प्रश्न’ लेखमा भाषा परिवर्तनशील, आर्जित र यादृच्छिक कुरा हुनाले यसका विभिन्न स्वरूप, ढाँचा र अर्थ परिवर्तन हुन्छ भन्ने देखाइएको छ । यसमा भारतमा नेपाली भाषाको एकरूपताका निम्ति पारसमणि प्रधानदेखि लिएर अहिलेसम्म प्रक्रिया चलिरहेको छ। यसमध्ये नेपाली लेखन शैली पनि यसतर्फको एउटा उत्तम प्रयास हो। भाषिक लेखनको एकरूपमा भाषाकै मौलिक स्वरूप प्रयोग अनुसार हुनुपर्छ। भारतको नेपाली भाषा भिन्नै हुनुपर्छ भन्ने विचार पनि सही होइन, किनकि जहाँको भए पनि हिन्दी र अँग्रेजीको मूलस्वरूप एउटै हुन्छ। नेपाल भारत चारैतिरको लेख्य नेपालीमा भने एकरूपता नै हुनुपर्छ। यही एकरूपताको प्रयासस्वरूप विभिन्न सङ्गोष्ठी कार्यशाला भइरहेका छन्। यद्यपि अझै पनि एकरूपता कायम हुनसकेको छैन।
‘बधूशिक्षा अनि आजकी नारी’ मा भानुभक्त आचार्यको कृतित्वको मूल्याङ्कन गर्ने क्रममा भानुभक्तको समयको सामाजिक अवस्थाअनुरूप कविता लेखेका थिए भनेका छन् । त्यस समयको सामाजिक व्यवस्था अनुसार भानुभक्तको उक्त विचार समीचीन छ। यद्यपि बधूशिक्षा पनि दुईवटा हुनाले पछिल्लो ३३ श्लोके बधूशिक्षा भानुभक्तको नहुन सक्छ। यद्यपि दुवै बधूशिक्षाको आशय भने बुहारी शिक्षा नै हो अनि दुवैमा बुहारीले घरको सही हेरचाह गर्नुपर्छ, कर्तव्य पालन गर्नुपर्छ, घरका बुहारीहरू संस्कारित भए घर पनि संस्कारयुक्त हुन्छ, सुसभ्य हुन्ठ भन्ने भाव दर्शाएका छन्।
‘श्रद्धेय गुरू नरबहादुर दाइ र म’: केही भित्री कुरामा लेखकको नरबहादुर दाहालसित आत्मीय सम्बन्ध रहेको केखिएको छ। विद्यार्थीकालदेखि नै लेखकको दाहालसित न्यानो सङ्गत थियो। दुईजनाको बसाइ पनि नजिकै थियो। साना साना लेख कविता आदि दाहाललाई सुधार गर्न दिन्थे, दाहालले झिँजो नमानी सुधारी दिन्थे, सही सुझाव दिन्थे। दाहालका उपन्यास र कवितासङ्ग्रहलाई साफी गर्ने अभिभारा पनि सुतारले लिएका भए। यसबाट सुतारभित्रको लेखकस्व ब्युँझेर त्यसकै प्रभावस्वरूप तीनवटा उपन्यास लेखेर प्रकाशित गरेका थिए। दाहालको उपन्यासको साफी गरेको एक वर्षभित्र नै सन् १९५३ मा सुतारको ‘यौवन लुटिएपछि’ उपन्यास लेखिएको थियो तर आफु सेनामा भर्ती भएर जाने हुँदा दाहाललाई नै प्रकाशनको अभिभारा सुम्पेका थिए। दाहालकै व्यवस्थापनबाट सन् १९६६ मा सो उपन्यास प्रकाशित भएको थियो। दाहालले आफ्नो परिवारको पालन पोषणका लागि विभिन्न सङ्घर्ष गरे, हण्डर खाए। कालेबुङमा नेपाली पाठ्यपुस्तक बिक्री वितरणको काम पनि गरे तर अरूले लम्की लाएर यस कामबाट उनी उछिट्टिनु पर्यो। यसै क्रममा उनी नेपाली फिल्म वितरक भएर गौहाटीमा पनि धेरै वर्ष बसेका हुन्।
‘सुषमा शर्माकृति सृष्टि- प्रति मेरो दृष्टि’- लेखमा सुष्मा शर्माको सृष्टि उपन्यासको समीक्षा गरिएको पाइन्छ। कालेबुङको नारी उपन्यास लेखनमा सुष्णा शर्माको यो उपन्यास नै पहिलो हो भन्ने कुरा ठहर गरेका छन्। सृष्टि उपन्यासमा पाइने सामाजिक यर्थाथतालाई पर्गेल्ने काम गरेका छन्। सृष्टि नामकी नारी पात्रको प्रेम विफल भएको, जीवन निराशामा बितेको, उसको प्रेमीले बाध्यतावस् अर्की केटीसित बिहा हुँदा बिहा असफल भएको स्थिति देखाएर उपन्यास वियोगान्त बन्न पुगेको पाइन्छ। नचिताएको र नचाहेको कुरा हुनु नै जीवनको वास्तविकता हो भन्ने लेखकीय ठहर छ।
नेपाली साहित्यमा ज्ञान सुतार एक कथाकार, कवि, निबन्धकार, जीवनीकार र समीक्षकका रूपमा देखा परेका छन्। उनको सिला समीक्षासङ्ग्रहमा जम्मा सत्रवटा लेखहरूमा उनको कृति र कृतिकारको मूल्याङ्कन गरिएको छ। यसमा कुनै लेख व्यक्तित्वपरक. कुनै कृत्तित्वपरक रहेका छन्। सुतारले समीक्षा गर्दा आफ्नो मौलिक विचार र अभिमत पनि व्यक्त गरेका छन्। कृतिको प्रशंसा मात्र होइन्, त्यसभित्रका कमजोरी पक्षबारे पनि प्रकाश पारेका छन्। यो पुस्तक उनको अध्ययनबाट उब्जेका विचार पाठक प्रतिक्रिया मात्र नभएर आफ्नो समीक्षकीय दृष्टिकोण, ज्ञानानुभव र अध्ययनका सार हुन्। यो पुस्तक पढेर पनि पाठक लाभान्वित बन्न सक्छन्। जस्तै- प्रदीप गुरूङको ‘’पोस्टर र लात’ उपन्यास नपढ्नेले यसमा भएको समीक्षा पढेपछि उपन्यास बुझ्न सक्छ। यसमा मुन्नु गौतम, सुष्मा शर्मा आदिको कृतिमाथि प्रथमपल्ट समीक्षा गरेका छन्। समीक्षाको आलोक नपाएका कालेबुङका स्थानीय कृतिको सम्यक् समीक्षा गरेका छन्। नरबहादुर दाहालको कवि व्यक्तित्व, भाइचन्द प्रधानको कथाकार व्यक्तित्व, सम्पूर्णा राईको कथाकार व्यक्तित्व, महाकवि देवकोटालाई विश्वकविका रूपमा दर्जा दिएर गेटेसित केही काव्यिक पक्षमा तुलना गरेको आदि कुरा पाइन्छन्। मूलतः उनी प्रभाववादी समीक्षक हुन्। कृतिभित्रका कुरा देखाइदिएका छन्। यस पुस्तकबाट पनि ज्ञान सुतार एक समीक्षकका रूपमा दरिएका छन्। पुस्तक सङ्ग्रहनीय पठनीय र मननीय छ।
०००
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१) भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ, भारतमा बसोवास गर्छन् ।
