३० साउन २०८२, काठमाडौं
२०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार गरिँदै आएको नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गतको मासिक कथा वाचन कार्यक्रमको बाइसौं श्रृङ्खला सम्पन्न भएको छ ।
सदा झैं दिवंगत कथाकारहरूप्रति सम्मानस्वरूप एक जनाको प्रकाशित कथा वाचन गरेर शुरू गरिने परम्परा अनुसार दिवंगत स्रष्टा एम.लक्ष्मीको ‘रोदन’ शीर्षकको कथा कवि प्रह्लाद पोख्रेलले वाचन गरे ।
२०४० को दशकको कथा अन्तर्गत कथाकार सुनील पौड्यालले,‘आमा ! म दुख्दिन’, २०५० को दशकको कथा अन्तर्गत कथाकार मन्जु काँचुलीले ‘आगो’, २०६० को दशकको कथा अन्तर्गत कथाकार मणि लोहनीले ‘अनेक रंग जीवनका’ वाचन गरेका थिए ।
२०७० को दशकको कथा अन्तर्गत कथाकार निरुपा प्रसूनले ‘बोको’ कथा वाचन गरेकी थिइन् ।
समीक्षक प्रा डा भरतकुमार भट्टराईले कथाकारद्वय सुनील पौड्याल र मन्जु काँचुलीका कथामाथि, अर्का समीक्षक प्रमोद प्रधानंले कथाकारद्वय मणि लोहनी र निरुपा प्रसूनका कथाहरुमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रमको शुरुमा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरुको स्वागत गर्दै कथा विधाप्रति आम पाठकको रुचि जगाउन र यसको कालखण्डगत विकासबारे चिन्तन, छलफल, अनुसन्धान जस्ता कार्यहरूका माध्यमबाट समग्रमा नेपाली कथा विधाको विकास गर्ने बृहत उद्देश्य लिई यो पुनर्जागरण अभियान शुरु गरिएको बताए ।
अर्का परिकल्पनाकार पुष्कर लोहनीले कथासाहित्यको विकासक्रमबारे संक्षिप्त चर्चा गर्दै आफूले २०१३ सालदेखि हालसम्म एउटै सिद्धान्तमा लेखिरहेको कुरा स्मरण गर्दै, प्रेम, प्रणय र मानिसभित्रका स्वाभाविक प्रवृत्तिहरुलाई कसरी उधिन्ने भन्ने विषयमा आफ्नो लेखन केन्द्रित रहेको बताउँदै वाचन गरिएका कथामा आफूले शुरुदेखि उठाउँदै आएका विषयहरु समेटिएको पाउँदा खुशी लागेको बताए ।
उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
०००
