२३चैत २०८१, काठमाडौं
नेपालको शैक्षिक जगतका विख्यात व्यक्तित्व, नेपाली भाषा र नेपाल भाषाका विशिष्ट साहित्यकार, समाज सेवी एवम् सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको चौथो स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक समारोह बीच प्राध्यापक डा. नारायण हरि जोशीलाई विशेष सम्मान अर्पण गरिएको छ । सिद्धार्थ वनस्थली इन्स्टिच्युटद्वारा आयोजित सो समारोहमा प्रा. डा. जोशीलाई इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले सम्मान अर्पण गरे ।
इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले अतिथिहरूलाई स्वागत गर्दै नेपालको शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्व तथा साहित्यकार पिता लक्ष्मण राजवंशी सबैका प्रेरक हुनुहुन्थ्यो भन्नुभयो । उनले लक्ष्मण राजवंशीको अत्यन्त निकटस्थ रहनु भएका प्राध्यापक डा. नारायण हरि जोशीले सिद्धार्थ वनस्थली इन्स्टिच्युटको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रही गर्नुभएको सेवा र नेपालमा विज्ञान शिक्षालाई प्रयोगात्मक र सर्व सुलभ बनाउन गरेको योगदानको स्मरण गरे ।
सो अवसरमा कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्व विद्यार्थी डा. सर्वोत्तम श्रेष्ठले लक्ष्मण राजवंशीले साहित्य र शिक्षा क्षेत्रमा दिएको महत्त्वपूर्ण योगदानको स्मरण गर्दै उनका बारेमा जति नै चर्चा गरे पनि कम हुने धारणा व्यक्त गरे । सभाध्यक्ष श्रेष्ठले हरेक वर्ष साहित्यकार एवम् शिक्षाविद् लक्ष्मण राजवंशीका स्मृतिमा विशिष्ट योगदान गर्ने विद्यार्थी, शिक्षक र राष्ट्रिय व्यक्तित्व मध्येबाट एक जनालाई नगद रु. पच्चीस हजार रुपैयाँसहित विशेष सम्मान अर्पण गर्ने बताए ।
सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी पूर्व विद्यार्थी डा. अस्मिता पौड्याल कोइरालाद्वारा लिखित कविता सङ्ग्रह ‘जब देवी दुर्गा बन्छन्’ को समेत लोकार्पण गरिएको कार्यक्रममा इन्स्टिच्युटका सहायक प्राचार्य सुनिता सिंह, साहित्यकार तथा इन्स्टिच्युटकी शिक्षिका अनुराधा ढकाल, क्याम्पसप्रमुख मनु राजा शाक्य, राजु दवाडी लगायतले लक्ष्मण राजवंशी तथा प्रा. जोशीका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
लक्ष्मण राजवंशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषाका गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । शिक्षालाई सैद्धान्तिकभन्दा बढी व्यावहारिक बनाउनुपर्छ भन्ने राजवंशी संविधानसभा सदस्य एवम् त्यागी राजनीतिज्ञ थिए । उनको २०७८ वैशाख ११ गते लोकतन्त्र दिवसकै दिन ८६ वर्षको उमेरमा निधन भएको थियो ।
