मेरी आमा

कविता

तारा पराजुली

 

अमर गीत लेख्ने
प्रेमको गाडा रङको मसी हुन् मेरी आमा।

खोजेर कहिल्यै नभेटिने परिभाषा हुन् मेरी आमा
लेखेर कहिल्यै नसकिने पुस्तक हुन मेरी आमा
पढेर कहिल्यै नसकिने ग्रन्थ हुन्
हिँडेर कहिल्यै नसकिने यात्रा हुन्
फुलेर कहिल्यै नओइलाउने फूल हुन् मेरी आमा
सुवासहरूमा सबैभन्दा मनपर्ने सुवास हुन्
मेरी आमा एकभित्र अनेक हुन्।

सम्झन्छु, उस बेला आधा रातमै उठेर
जाँतो घुमाउथिन् कि दुःखको हातो घुमाउथिन्
खुट्टा लुलो होउन्जेल ढिकी कुट्थिन् कि बाध्यता
खाली खट्टाले पुसको चिसो बिहान
साँगुरो बाटो हिँडेर पँधेरीमा गाग्री भर्थिन् कि
आशाका थोपाथोपा बटुलेर
घैलाभरि भरि पानी भर्थिन्
नबिर्सिइकन हात जोडेर घामलाई ढोग्दै
मेरै लागि भनेर हरेक दिन
उज्यालो भोलि माग्थिन् मेरी आमा।

आफ्नै मन जस्तो हलुको पिउरी पिउरी बनाउँदै
कतुवामा हेरुँ हेरुँ लाग्ने ऊन कात्थिन्
कहिले दुःखको चर्खा घुमाउथिन्
आफ्नै उमेर फनफनी बनाउँदै
आफ्नै काँधमाथि बोकि हिँड्ने
दुःखको लम्बाइ जस्तै
लामो तान हालेर बुट्टे दार राडी पाखी बुन्थिन्।

एक समय सबैभन्दा धेरै हन्डर र ठक्कर
मेरी आमाको टाउकोमा परेको हो
तर चट्टान बनेर सामना गरि रहिन्
जीवनको सबैभन्दा लामो यात्रा गरेर पनि
कहिल्यै थाकिनन् मेरी आमा।

सपना उमार्न भनेर
कहिले जर्जर बाँझो बारीमा कोदालो खन्थिन्
र रोप्थिन् अजम्बरी बिरुवा
जब फुल्थे झुल्थे खेतभरि रहर
केटाकेटी जस्तै रमाउथिन् मेरी आमा।

आफ्नो उचाइभन्दा पनि अग्लो डोकोमा
सगरमाथा जस्तै अग्लो घाँसको भारीमाथि
मलाई बोकेर खै! उकालो चढ्थिन् कि
आशाको अग्लो उचाइ छाम्थिन् मेरी आमा।

मैले खाइ दिए आफू अघाइदिने
म रुँदा दुखी हुने
म हाँस्दा संसार जिते झैँ रमाउने
आफू नाङ्गो आङ हिँडेर
मेरा लागि न्यानो लुगा जोहो गरि दिने
मेरा खट्टामा एक जोर नया चप्पल देखेपछि
खडेरीको डाँडा खेतमा फाटेका धाँजा जस्तै
चरचरी फुटेका पैतालामा
गहिरो राहत महसुस गर्थिन् मेरी आमा।

जीवनको सबैभन्दा शक्तिशाली ऊर्जाको हुन् आमा
मेरो खुसीको मुहान उनै हुन्
नरम नरम बोल्न
काँडामाथि जोगिएर हिँड्न
दुःखमा धैर्य गर्न
आफ्नै पसिनाको सिफोनी मूल्य उनैले चिनाइन्
गन्तव्य नभेटेसम्म अथक हिँडिरहन
उनैले सिकाएकी हुन्।

मेरो आवाजमा गुन्जिने ध्वनि मेरी आमाको हो
मेरो ओठभरि फुलेको गुलाफमा
रातो रङ्ग मेरी आमाले पोति दिएकी हुन्
मैले हिँड्ने बाटोमा पैतालाको लय
मेरी आमाले भरेकी हुन् ।

मैले बाटो भुल्दा सम्झाइदिने
पटक पटक गल्ती गरे पनि माफ गरि दिने मेरी आमा

मेरी आमा!
हरेक दिन तिम्रो अनुहार हेरेर बाँच्न पाउँ।

०००

कवयित्री परिचयः तारा पराजुली मूलतः कवयित्री हुन् । उनको “अर्को राजमार्ग” कविता सङ्ग्रह प्रकाशित छ जुन निकै चर्चामा रहेको थियो ।

 

Leave a Reply