भारतमा प्रचलित नेपाली लोकनाटक – सामान्य परिचयात्मक अध्ययन

गद्य विविध

 नवीन पौड्याल, कालिम्पोङ

यो संसार नै एक नाट्यशाला हो। हामी अभिनेता हौँ र ईश्वर चाहिँ निर्देशक हुन्। अभिनय पक्ष मानवीय जीवनको एउटा मुख्य पक्ष हो। लोकगीत, लोककथा, लोककविता, लोकगाथाझैं लोकनाटक पनि लोकसाहित्यकै रूपमा रहेको छ। यो नाटकको मूल र आदि रूप हो। आज हामी शिक्षित र सभ्य छौं तर आजभन्दा पचास र सय वर्षअघिसम्म हाम्रो समाज कस्तो थियो। मानिसले के काम गर्थे, जनसाधारणको निम्ति सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक इत्यादिको कस्तो स्थिति थियो, उनीहरू कसरी बाँच्थे भन्ने कुराहरूको झलक अहिले आएर हामी लोकसाहित्यमार्फत् बुझ्न सक्छौं। इतिहासकारका निम्ति पनि लोकसाहित्यिक सामाग्रीबाट पनि धेरै सहयोग प्राप्त गर्न सकिन्छ। मानिसमा प्रचलित किंवदन्ती, लोकगीतको कथांश, लोककथा, लोकनाटक, लोकगाथा आदिका कथाहरूमा इतिहासका अनेक घटना, उपघटना, तत्कालीन परिदृश्य आदिको झलक पाइन्छ।

भरतमुनि अनुसार स्वाभाविक, शुद्ध र विकाररहित लोकप्रचलित कार्यसँग सम्बद्ध, अङ्ग-लीलारहित, सहज, विभिन्न प्रकारका स्त्री र पुरूषहरूद्वारा अभिनीत नाटक नै लोकधर्मी नाटक हो। लोकधर्मी रूढिहरूको अनुकरणात्मक अभिव्यक्तिको त्यो नाट्यरूप हो जसले आ-आफ्ना क्षेत्रका लोकमानसलाई आह्लादित, उल्लासित एवम् अनुप्राणित गर्छ, त्यो लोकनाटक कहलाउँछ।– श्रीराम शर्मा।

विधिविधान, कथावस्तु, लोकमञ्च, पात्र, गीत र नृत्य, वाद्य, आदि यसका सामग्री हुन्। लोकनाटकलाई जहाँ पनि र जसरी भए पनि देखाउन सकिन्छ। मेला, सामूहिक भेला आदितिर प्रदर्शन गर्न सकिन्छ। व्यावहारिक रूपमा यो एक प्रकारको लोकमनोरञ्जन, लोकशिक्षापरक हुन्छ। गुरूपरम्परा, कुनै निश्चित कथावस्तु, सहज र सरल भाषा, गेयात्मकता, संवादात्मकता, सहज प्रदर्शन, अभिनेयता, मङ्गलाचरणको प्रस्तुति, समुचित वेशभूषा, रोमाञ्चकारी, मनोरञ्जनपरकता र शिक्षापरकता आदि यसका विशेषता हुन्।

लोकनाटकको विभिन्न प्रकारले प्रस्तुति हुनाले यसका वर्गीकरणका आधारहरू पनि विभिन्न किसिमका हुन्छन्। यसभित्रका अङ्ग-उपाङ्ग पनि विभिन्न हुन्छन्। अभिनेयता, मङ्गलाचरणको प्रस्तुति, निश्चित वेषभूषा हुनु, लोकजीवनमा खेल आदि यसका विशेषता हुनु। प्रयोजनका दृष्टिले मनोरञ्जनात्मक, अनुष्ठानात्मक, अभिनेता वा प्रस्तुतकर्ताका अनुसार सजीव र निर्जीव। प्रस्तुतीकरणका रूपमा एकालाप र वार्तालापीय गरी दुई प्रकारका हुन्छन्।

केही नेपाली लोकनाटक –

दार्जिलिङ, सिक्किम र असमतिर प्रचलित केही लोकनाटकहरू – बालुन, रत्यौली, घाटु, सोरठी, लीला, झाँकी र चरित आदि हुन्।

नेपाली समाजमा पनि लोकनाटकहरू देख्न पाइन्छ। प्रायः सबै मानिसको जीवनमा अभिनय पक्ष रहेकै हुन्छ। उसले कोही बेला अभिनय गरेर भए पनि अरूलाई प्रभावित पार्न सक्छ, लोकलाई मनोरञ्जन दिलाएर आफ्नो जीविकोपार्जन गर्न सक्छ। कुनै मेलामा कसैले छद्मभेष प्रतियोगिताम भाग लिन्छ, कि त कसैले केही अवसरमा नाटक गर्छ। कोही धामीको अभिनय गर्दछ, कोही धार्मिक र पौराणिक पात्रको कृत्य गर्दछन्।

सोरठी – मुख्य गरी मगर र अन्य विभिन्न जातगोष्ठी समुदायबीच रहेको यस नृत्यमा अभिनयगत भाव-भङ्गी पाइनाले यसलाई लोकनाटककै रूपमा हेरिन्छ। विशेष गरी घटस्थापनाको दिनदेखि प्रारम्भ भएर बैशाखसम्मका विभिन्न अवसरमा सम्पन्न हुने यस सोरठीमा विभिन्न सांस्कृतिक झाँकी पाइन्छ। यसमा नर्तक-नर्तकीहरू सोह्र शृङ्गार गरी निस्कन्छन्। उनीहरूमा एक जोर मादले हुन्छन्। नर्तक-नर्तकीहरू कथावस्तुका आधारमा नृत्य अभिनय गर्छन्। यस नाटकको उत्पत्तिको सन्दर्भमा एउटा लोककथा छ। रतनपुर गाउँमा जैसिङ्गे राजाका पन्ध्रवटी पत्नीबाट सन्तान हुँदैनन्। एकदिन राजा शिकारबाट फर्किँदा कुमालेकी सुन्दरी कन्यालाई देख्दा उनी बिहा गर्न खोज्छन्। राजाले ती कन्यालाई सिन्दुर हाल्न खोज्दा कन्या भन्छे –

चेलीको सिउँदोमा बाबाको सिन्दुर

कुनै चेलीले लाउँदैनन्।

राजाले छोरी भनेर चिनेर दरबारमा लगी पालन पोषण गर्छन्।

बालुन – बालुन पनि एक प्रकारले लोकनाटक नै हो। यसमा कृष्ण लीलाका विभिन्न झाँकीहरू प्रस्तुत हुन्छ। यो बाहुन छेत्री समुदायमा चल्तीमा रहेको पाइन्छ। बालनेहरू पहिले आँगनमा आई २-२, ४-४ वा ८-८ जनाको संख्यामा मुखामुख गरी उभिन्छन्। सर्वप्रथम इष्टदेवता र कुलदेवतालाई सम्झन्छन्। दियो कलस र गणेशको पूजा हुन्छ। बालुन नाच्ने घरका घरपतिले बालने, कन्याकुमारी र भजनेहरूलाई स्वागत गर्छन्। अरूलाई चामलको टिका लगाउँछ। बालनेहरू दुवै हात जोरी जोडी माथि उठाएर घुम्छन् र आआफ्ना समूहमा विभाजित भई बालुन शुरू गर्छन्। बालनेहरूले रामायण वा महाभारतका कथानकलाई क्रमशः अघि बढाउँछन् भने भजनेहरूले पनि त्यसमा सहयोग पुर्‍याँछन्। एकै रातमा सक्ने किसिमको रामायणको कथा अथवा कृष्ण चरित्रलाई प्रमुख घटना मात्र लिई प्रस्तुत गरिन्छ। भजनको माध्यमबाट कथानकलाई अघि बढाइन्छ। कालिम्पोङका बालन विशेषज्ञ श्री इन्द्रप्रसाद अधिकारीका अनुसार ‘बालन’ शब्द ‘व्यायाम लय’ बाट व्युत्पन्न भएको हो। देवताहरूले ब्रह्मलोकमा दिनभरि कार्यक्रम गरेपछि रातमा मनोरञ्जन गर्नलाग्दा एकप्रकारले व्यायाम गरेर सिर्जना भएको लयलाई गाउने चलन बसाए र यही व्यायाम लयबाट बालन भएको हो। सीताभारत पनि बालनकै एउटा भाग हो। सीताभारतमा ऱामायणको सीताको गाथा गाइन्छ। सीताभारत उत्पत्तिको एउटा छुट्टै लोकरामायणको उपकथा पाइन्छ। जब सीतालाई नन्द पर्ने एउटी नारीले सोध्छे – ‘भाउजू, तपाईं त तेत्रा दिन लङ्का बस्नु भयो, रावण पनि नजिकैबाट देख्नुभयो होला। रावण कस्ता थिए’? केही सीप नचल्दा सीताले एउटा काठको पिरामा रावणको आकृति जस्तो बनाएर नाम पनि लेखिन्। त्यसै पिरामा रामले भोजन गर्ने गरेको रहेछ। त्यसको राती राम खान खान लाग्दा त्यो पीरा एक तमासले हल्लिएछ। के हो भनी बुझ्नलाई पीरालाई ओल्टाई-पल्टाई हेर्दा त रावणको नामाङकित आकृति देखेछन्। यो कसले लेखेको भनी सोध्दा त सबै कुरा खुलिहाल्यो। उनको पालो सीताको चरित्रमा शङ्का गरेर उनलाई बनवास पठाउन लक्ष्मणलाई अह्राउँछन्। लक्ष्मणले करैले दोजिया सीतालाई जङ्गलमा छोड्छन्। पछि सीताले धरती फाटेर मृत्यु वरण गरेको लोकरामायणको कथा पाइन्छ।

चरित्र र लीला– लोकनाटकका रूपमा कृष्ण लीला, रामलीला, रामचरित, कृष्णचरित आदि विभिन्न अभिनय गरेर देखाइन्छ। कुनै महापुराण समारोहमा कृष्ण, कंस, सुदामा, राम, हनुमान, सीता, रावण, प्रह्लाद, हिरण्यकशिपु, राजा हरिश्चन्द्र आदिका रूप धारण गरेर त्यस्तै अभिनय गरिन्छ। महापुराण आयोजना गरेको बेला पण्डितले कथावाचन गरेको बेला प्रसङ्गमा आएको त्यही कथाको झाँकीका रूपमा अभिनय गरिन्छ। वेषभुषा र शृङ्गार सबै कथाबमोजिम बनाई अभिनय गरिन्छ। जस्तै हिरण्यकशिपु र प्रल्हादको अभिनय गरेर देखाइन्छ अनि नृसिंह आएर हिरण्यकशिपुलाई मारेको अभिनय गरेर देखाइन्छ। त्यस्तै गरी कृष्णले कंलाई मारेको, दुर्गादेवीले महिषासुरलाई मारेको आदि अभिनय गरेर देखाइन्छ। अन्तमा उक्त अभिनयकर्तालाई समेत टिका-प्रसादी, दान दक्षिणा आदि गरिन्छ। यसका निम्ति विशेष गरी बालक-बालिकालाई मूलपात्रकै परिकल्पनाअनुसारका वेषभूषा, आभूषण श्रृङ्गार गरेर अभिनयका निम्ति तयारी पारिन्छ। कथावाचकले सुनाएको पुराणको कथाको मुख्य र चरम अवस्थामा पुग्दा यसरी नाट्यभिनय गरी त्यहाँ रहेका पुराणका स्रोता र दर्शकलाई कथामा लीन र एकाकार बनाइन्छ।

घाटु – विशेष गरी मगर र गुरूङहरूमा लोकनाटकका रूपमा रहेको घाटुलाई पनि लोकनाटक मानिएको छ। यसमा पनि अभिनयात्मक रूपमा गीत प्रस्तुत गरिन्छ। विशेष गरी बाह्रमासे घाटुमा खेलिने गरिन्छ। यसमा जनश्रुतिमूलक कथावस्तु रहेको हुन्छ। यो नाटक गुरूपरम्परामा आधारित छ। यसमा गुरूबाबु र गुरूआमाहरूले देवताको स्थान लिन्छन्। घाटु देवताले समातेको कलाकारले राजाको भूमिकामा अभिनय गर्छन्। यसमा कथावस्तु र सोअनुसारको पात्रगत अभिनय प्रस्तुत गरिन्छ।

वेषभुषा प्रतियोगिता – यसलाई पनि एक प्रकारले लोकनाटकका रूपमा लिन सकिन्छ। कुनै अवसरको मेला आदितिर गोप्य रूपमा वेषभुषा प्रतियोगिता राखिएको हुन्छ। यस्तो बेलामा कसैले दाउरा वा घाँसको भारी बोकेर मेलाको बीच वा छेउछेउ हिँडेको, कोही चना-बदाम बेच्ने जस्तो भएर, कोही मगन्ते भएर, कोही झगडे भएर, कोही बौलाहाजस्तो भएर देखा पर्छन्। दर्शकहरू पहिला त साँच्चिकै त्यस्तै ठान्छन्। कार्यक्रम वा मेलादिको प्रतियोगिताको परिणाम सुनाउँदा उक्त रहस्य खुल्दछ। यसमा पनि अभिनय रहेको हुन्छ। अनुहारमा अनेक किसिमको रूप बनाउँछन्। बोलीको नभए पनि आहार्य किसिमको अभिनय गर्छन्।

रत्यौली – रत्यौलीलाई पनि लोकनाटकका रूपमा लिन सकिन्छ। बिहेको अवसरमा जब बेहुली लिन बेहुला र पुरूषहरू जति जन्ती भएर कतै टाडामा रहेको बेहुलीको घर जान्छन्। बिहेघरका र गाउँले छरछिमेकका पुरूष जति जन्ती गएका बेला उता बेहुलाको घरमा प्रायः नारीहरू मात्र रहन्छन्। त्यतिबेला नारीहरू लाज र संकोचलाई लत्याएर उन्मुक्त भएर आफ्नो मनको भाव व्यक्त गर्छन्। उनीहरू अनेक किसिमका गीत गाउँछन्, अभिनय गर्छन्। नारीमध्येबाट नै कोही बेहुला र कोही बेहुली बनेर अभिनय गर्ने क्रममा बिहा गर्छन्। बिहा गर्दाका मायाप्रितीका अनेक हाव-भाव देखाउँछन्। नर नारीको अभिनय गर्ने क्रममा एकार्कामा आलिङ्गन र चुम्बनादि गर्छन्। यतिसम्म कि बिहेपछिको पहिलो रातको यौनसम्पर्क समेतको अभिनय गर्छन्। अनेक ठट्टा गरी उन्मुक्त वातावरणको सिर्जना गर्छन्। यस्तो रत्यौली पुरूषहरू हेर्दैनन्। उन्मुक्त वातावरण बनाएर अनेक अश्लील बोल्नु, अभिनय गर्नु आदि सबै काम गर्छन्। यसको विशेष गरी रमाइलो मनोरञ्जन गर्ने उद्देश्य हुन्छ। रत्यौलीसित सम्बन्धित कतिपय गीत पनि रहेका छन्। कतिपय गीत त फुहड, अश्लील भावका पनि हुन्छन्।

लोक बालनाटक – बालबालिकाले खेल्ने केही बालखेलहरूलाई पनि लोकनाटकका रूपमा लिनसकिन्छ। भाँडाकुटी, चोरपुलिस, बिहे आदिमा पनि नाटकीय प्रस्तुति पाइन्छ। यी खेलहरूमा पनि अभिनेयता, मनोरञ्जनात्मकता, शिक्षा, रागात्मकता आदि गुण हुन्छन्। केही बाल लोकनाटकहरू –

भाँडा-कुटी – बालबालिकाको सबैभन्दा लोकप्रिय बालखेल भाँडाकुटी हो। भाँडा-कुटी शब्दको खासै अर्थ नभए पनि भाँडा लिएर खेलिने बालखेल हो। यसमा बालक-बालिकाले एउटा परिवारको संरचनाको कल्पना गरी अभिनय गर्छन्। यो घर गृहस्थी र सामाजिक परिवेशबाट सिकेको प्रतिफलित खेल हो। यसमा ससाना नानीहरू मिलेर माटो वा प्लास्टिकका भाँडा वा केही चिजलाई लिएर खाना पकाएर खाएको अभिनय गर्छन्। कुनै बालक घरको बाबु र बालिका घरकी आमा भएर छोरा छोरीलाई खाना पकाएर खुवाएको अभिनय गर्छन्। खाना पकाउने तयारी गरेको, दाउरा खोजेर ल्याएको, आगो सल्काएको, चामल-दाल केलाई सब्जी काटेर खाना आगामा बसाएको, पाक्दै गरेको, भाँडामा पन्यूले चलाएको पस्केर दिएको, खाना खाएको, मिठो भए वा नभएको बारे कुरा गर्छन्, भाँड़ा माझेको आदि कुरा अभिनय गर्छन्।

चोरपुलिस – केटाकेटीले खेल्ने गरेको एउटा लोकप्रिय खेल हो चोर-पुलिस। यसमा एकजना पुलिसका रूपमा हुन्छ। अरू चैं चोर बनेका हुन्छन्। देखेर खेद्ने, पक्रिने, सजाय दिने आदि जस्ता यसका प्रक्रिया हुन्छन्।

उपसंहार – यो संसार नै एउटा नाट्यशाला हो र हामी सबै अभिनेता हौँ भन्ने भाव हामी सबै मानिसमा रहेको छ। जीवन नै एउटा नाटक हो। यस नाटकमा जे जे अभिनय गर्नुपर्ने हुन्छ, सो हामी सम्पन्न गरिरहेका छौं। नेपाली लोकसाहित्यका परम्परामा लोकनाटक पनि महत्त्वपूर्ण विधाका रूपमा रहेको पाइन्छ। जीवनमा अभिनय पक्ष सामान्य रूपमा रहिआएको पाइन्छ। बालुन, रत्यौली, सोरठी, घाटुदेखि लिएर बाल-बालिकाले खेल्ने विभिन्न प्रकारका बालखेल आदि सबै लोकनाटकका परिधिमा आउँछन्।

प्रमुख सन्दर्भ ग्रन्थ –

  • चूडामणि बन्धु, नेपाली लोकसाहित्य, काठमाडौं, एकता बुक हाउस, २०५८
  • मोहनराज शर्मा र खगेन्द्र लुइँटेल, लोकवार्ताविज्ञान र लोकसाहित्य, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, २०६३
  • श्री हिरण्य घिमिरे (सम्पादक), नेपाली संस्कृति सुधा, गौहाटी, गोर्खा उन्नयन परिषद्, २०१५

000

 

लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१)  भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ,   भारतमा बसोवास गर्छन् ।

 

Leave a Reply