डा. शरद परासर मरहट्टा
इजरायल–प्यालेस्टाइनको युगीन पौठेजोरीको नयाँ बिसौनीमा
खण्डहर वर्तमान चर्च-याएको बेला
बन्दुकी उन्माद सुस्ताएको बेला
अनिश्चितताको अर्धविरामसँगै
बारुदको धुवाँ रोकिनुको पटाक्षेपमा
शुष्क हाँसो र रोदनको मनोवाद निराश–निराश छ
गाजामा दुखेको कञ्चनपुर उदास–उदास छ।
कठिन ‘बाँदर नियन्त्रण’को विदेश यात्रा पश्चात्
सरल ‘बन्ध्याकरण’ बिर्सिएका विधायकहरू
‘कुलिङ अफ पिरियड’को लुकामारीमा
‘फुलिङ अफ पिपुल’ बनाउने प्रतिनिधिहरू
बेडरूमलाई बैंकको लकरमा अनुवाद गरी
‘ज्योतिष वचन’को ‘शुभ साइत’ कुर्ने अगुवाहरू —
सबै–सबैसँग जोडिएका प्रश्नहरूको प्रत्युत्तरमा
विमानस्थलको आगमन कक्ष
रातो बाकसको लामो लाइनसँग भयभित–भयभित छ
गाजामा दुखेको कञ्चनपुर द्रवित–द्रवित छ।
खग्रास ग्रहण लागेको सूर्य
अहंकारको भट्टीमा स्खलित हुँदै–हुँदै
पहाडी भू–खण्डबाट भर्खर अस्ताएको बेला
जाज्वल्यमान चम्किलो तारा
बालुवाको बस्तीछेउ
रातको अँध्यारोलाई चिर्दै–चिर्दै झरेको सुन्दा
‘पढ्दै–कमाउँदै’ गर्नुको अर्थ बारम्बार अल्झिरहेछ
गाजामा दुखेको कञ्चनपुर बल्झिरहेछ।
०००
कवि परिचयः कवि डा. शरद परासर मरहट्टा आँप पीपल, गोर्खामा जन्मेका हुन् र हाल अमेरिकाको नर्थ क्यारोलाइनामा वसोवास गर्छन् । उनको पहिलो रचना कथा ६ कक्षामा पढ्दा २०३५/३६ तिर चितवन माध्यमिक विद्यालयबाट प्रकाशित ‘बेणी’ नामक मुखपत्रमा ‘कान्छी’ शीर्षकको कथा प्रकाशित भएको थियो । उनका रचनाहरू विभिन्न मिडियाहरूमा प्रकाशित हुँदै आएका छन् । हाल उनी एक कविता सङ्ग्रह प्रकाशनको तयारीमा छन् । उनले “पाइला र प्रवाह” (२०४८), “पाल्ही नन्दन” (२०५४) सम्पादन गरेका छन् ।
