चार कृतिको लोकार्पण सम्पन्न

समाचार

३ साउन २०८२, काठमाडौं

दायित्व वाङ्मय प्रतिष्ठान,नेपालको आयोजनामा ठाकुर शर्मा भण्डारीको समालोचनासङ्ग्रह ‘समदृष्टि’,युवराज मैनालीको समालोचनासङ्ग्रह’केही प्रतिभा केही प्रवृत्ति’,रामप्रसाद पन्तद्वारा सम्पादित ‘समालोचनामा ठाकुर शर्मा भण्डारी’तथा ठाकुर शर्मा भण्डारीद्वारा सम्पादित ‘संवार्तामा रामप्रसाद पन्त’नामक कृतिहरू प्रमुख आमन्त्रित व्यक्तित्व महेश्वर शर्मा तथा मञ्चासिन अन्य व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण भयो ।
सो समारोहलाई सम्बोधन गर्दै आजका प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार तथा साहित्यिक पत्रकार महेश्वर शर्माले आफूलाई लोकार्पण समारोहमा निम्तो दिएर लोकार्पण गर्ने अवसर दिएकोमा हार्दिक आभार प्रकट गरेका थिए।उनले वैदिक सम्बोधन गरेका थिए।
लोकार्पित कृतिहरू युवराज मैनालीकृत “केही प्रतिभाः केही प्रवृत्ति”का बारेमा डा. लेखप्रसाद निरौलाले, “संवार्तामा रामप्रसाद पन्त” नामक कृतिमाथि प्रा.भागवत ढकालले,”समालोचनामा ठाकुर शर्मा भण्डारी” नामक कृतिमाथि संक्षिप्त समीक्षात्मक टिप्पणी गर्दै समालोचक कृष्ण प्रधानले तथा ठाकुर शर्माको कृति’समदृष्टि’माथि प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी गरेका थिए ।
समारोहमा समालोचक युवराज मैनालीले आफ्नो कृतिमाथि संक्षेपमा प्रकाश पार्दै कमलमणि दीक्षित र धीरेन्द्र मल्लको स्मरण गरेका थिए भने आफ्नै भाइ भए पनि गोपी मैनालीमा निबन्धकार हुने गुण देखेर समालोचना गरेको बताए।
लोकार्पित पुस्तकहरूका बारेमा बोल्दै स्रष्टा ठाकुर शर्माले आफ्नो समालोचनासङ्ग्रह’समदृष्टि’रमेश विकल प्रतिष्ठानले प्रकाशन गरिदिएको र कृतिको न्वारान दिवङ्गत भइसकेका विजय चालिसेले गरिदिएको बताए।
समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले आफ्नो स्वागत मन्तव्यमा प्रतिष्ठानको गतिविधिमाथि प्रकाश पार्दै लोकार्पित कृतिका बारेमा समेत बोलेका थिए।
समारोहमा समालोचक गोपी मैनाली,नेपाल लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकी,कथाकार भागिरथी श्रेष्ठ तथा विराटनगरबाट आएकी साहित्यकार गङ्गा सुवेदीले शुभकामना मन्तव्य राखेका थिए।
दायित्व वाङ्मय प्रतिष्ठान,नेपालको आफ्नै भवन बुढानिलकण्ठ ८ स्थित भङ्गालमा भएको कार्यक्रमका सहजकर्ता तथा सञ्चालक यादव भट्टराई रहेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’को सहयोगमा)