लेखकको गृह नगरमा `सत्यम्´को गृह विमोचन तथा विमर्श एवम् सिर्जना वाचन

समाचार

१४ असार २०८२, स्याङ्जा

युवा लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ को वालिङ, मिर्दीमा गृह विमोचन तथा विमर्श गरिएको छ ।
समारोहका प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल, प्रमुख वक्ता युवा समालोचक डा. अशोक थापा तथा वक्ताद्वय शान्ता थापा र शम्भु अर्याल एवम् युवा कथाकार लक्ष्मण वियोगीद्वारा संयुक्तरूपमा कृतिको विमोचन गरिएको थियो ।
बिमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व ढकालले ´साहित्य कल्पना र यथार्थताको संयोजन हो, यो पक्ष सत्यममा पाइन्छ, वियोगीका कथामा २०५२ सालदेखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको परिवेश पनि समेटिएको छ ।´
युवा समाचोलक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा चाहेर पनि लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताए । असत्यले सत्यलाई छायामा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उत्घाटित गर्नु कथाकृति सत्यम्‌को विशेषता रहेको उनको भनाइ थियो ।
कृतिको समीक्षा गर्दै समीक्षक शान्ता थापाले सत्यम् स्याङ्जाको मौलिक संस्कृति समेटिएको कृति रहेको बताइन् ।
अर्का समीक्षक तथा शम्भु अर्यालले नेपाली ग्रामीण समाज र परिवेशका अति सुक्ष्म विषयलाई कृतिले उधिनेर निकालेको बताए ।
सो अवसरमा कथाकार वियोगीले कृति रचनाको पृष्ठभूमिका विषयमा बोलेका भने, ‘म कथाकार वा लेखक बनुँला/नबनुँला, सबैभन्दा ठूलो कुरा धेरैले मलाई सहयोग गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु । मैले सत्यम्‌लाई होइन, सत्यम्‌ले मलाई चिनाइदिए पुग्छ ।’
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष कुमार रानाले वियोगीले कथामार्फत आफ्नो जन्मभूमि र यहाँको मौलिकतालाई थप उजागर गरेको बताए ।
सो कार्यक्रमको अर्को पाटोमा संस्कार गैह्रे, खगेन्द्रजंग थापा, स्मारिका अर्याल, झवनाथ बस्याल, अग्निकुमार रेग्मी पल्लव, उपमा पाण्डेय, लोकहरि पाण्डेय क्षितिज, कृष्ण खड्का, चिन्तु गिरी, लेखनाथ काफ्ले, इन्द्रप्रसाद पाठक, तोरणराज बस्याल, विष्णु पङ्गेनी पाण्डे, सरस्वती अर्याल, सम्झना थापा मगर, लक्ष्मी काफ्ले, बोधराज न्यौपाने, खगेन्द्र अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, भविश्वर पङ्गेनी, सीताराम अधिकारी, वसन्त खनाल, टीकाराम वाग्ले, कमला अधिकारी सिग्देल, तोलाकान्त बगाले, मिलन समीर लगायतका स्याङ्जाली सर्जकहरूद्वारा आफ्ना उत्कृष्ट सिर्जना वाचन गरिएको थियो । वाचन गरिएका सिर्जनाहरुमाथि केन्द्रित रहेर ध्रुवबन्धु पौडेलद्वारा संक्षिप्तरूपमा समीक्षासमेत गरिएको थियो।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाको अध्यक्षतामा भएको सो समारोहको मिलन समीरद्वारा सहजीकरण गरिएको थियो ।

(मिलन समिर स्याङ्जाको सहयोगमा)