विष्णुप्रसाद शर्मा पराजुली
धनरत्नले कालीगण्डकीको मोहनी लगाउने नागबेलीमा पौडिए । महाभारतका अग्ला पहाड उक्लने र ओर्लने गरे । त्यसैगरी खोलानाला तर्दै देउरालीमा पाती चढाएर भञ्ज्याङको शीतल हावामा रमाए । खेतबारीमा खेतीपाती, पशुपालन, घाँस र दाउरा गर्दै हुर्केका हुन् धनरत्न । शरददेखि वसन्त ऋतुसम्म नयाँ हिउँको श्रीपेच पहिरेर नजिकै आएर गाला मुसार्ने सेता हिमालय पर्वतसँग सानैमा मित लगाएका थिए । कहिलेकाहीँ निगालोको डालो र थुन्से लिने निहुँमा बाबुको पछि लागेर लुरिङकोट पुग्दा मितज्यूसँग अँगालो हाल्थे । भोटो, आस्कोट र कछाड पहिरेर छमछम नाच्थे । पहाडी जीवनको भरपुर भोग र अनुभव दस पास गर्दासम्म गरी भ्याए । आज उनको स्मृतिमा गाउँको चित्र जे जति छ त्यो बाल्यकालको मस्तिष्क र हृदयमा कोरिएको चित्र हो ।
“कालीगण्डकीको साउनको भेल जसरी एकपछि अर्कोलाई धकेल्दै आउँछ उसैगरी मेरो दिमागमा गाउँको सम्झना इन्द्रेणी बनेर आउँछ ।” धनरत्नले सुनाउने गर्थे ।
“धनरत्नले काठमाडौँमा नोकरी गर्ने भयो रे । कालीगण्डकी उपत्यकाको नाक राख्ने भयो ।” ऊ जागिरे भएपछि गाउँले हर्षित हुँदै भनेका थिए ।
एक पटक कार्यालयबाट सात दिने तालिममा धनरत्न अमेरिका पुगे । जागिरबाट बर्खास्त गरिएको सूचना पत्रिकामा छापिएपछि उतै भासिएछ भन्ने धेरैले थाहा पाए । पाँच वर्षसम्म परिवारसँग बाहेक कसैसँग सम्पर्क गरेनन् । ग्रीनकार्ड बनाएपछि मात्र उनी नेपाल फर्के । केही दिन बसे । पत्नीलाई लिएर उतै गए । सन्तान जन्मे, हुर्के, बढे, पढे । विभिन्न राज्यमा काम गर्न गए । धनरत्न कागजमा अमेरिकी भए तापनि मनमस्तिष्कमा गण्डकी क्षेत्रका नेपाली थिए । उनका सन्तानचाहिँ मन र कागज दुवैमा उतैका भइसकेका थिए ।
धनरत्न अमेरिका छिरेको चालिस वर्ष भएको थियो । “धने वर्षैपिच्छे आउँछ । आमाबाको हेरचाहको व्यवस्था गरेर जान्छ । कुमाल गाउँको यमलालको परिवारलाई आमाबाबुको हेरचाहको लागि राखेको छ । यमलालका तीन सन्ततिलाई उसैले पढाइदिएको छ ।” काशीरामले भन्थे ।
“चालिस वर्ष अमेरिका बसे पनि मात्तिएको छैन धने । खेत र बारी जो-यो । आमाबाबु खुसी र सुखी छन् । नेपालमा भएका छोराबुहारी सहर पसेर बुढाबुढी पिँढीमा एक्लाएक्लै छन् । आमाबाले दिएको संस्कार सात समुद्रपारि पुगेर पनि धनरत्नले बिर्सेन । साँचै हो कवि शिरोमणिले ‘..फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र !’ भनेको ।” नौनादीका काशीराम काकाले गाउँभरि भन्दै हिँड्थे । काशीराम नेपाली सेनाका पेन्सनर हुन् । दिनको एक पटक गाउँको चक्कर लगाउने काकाको बानी छ ।
“म अमेरिका छिर्दा ग्रीनकार्ड पाउन कठिन थिएन । एक वर्ष मात्र लुकेर बसेँ । दोस्रो वर्ष विश्वविद्यालय भर्ना भएँ । इलेक्ट्रोनिक इन्जिनियरिङमा मास्टर गरे । पहिलो तीन वर्ष त मैले रेष्टुराँ, ग्याँस कम्पनी, डिपार्टमेन्ट स्टोर आदिमा घण्टामा चार–पाँच डलर पाउने गरी लुकेर अठार घण्टासम्म काम गरेँ । पढाइ सकेपछि त राम्रो कम्पनीमा नोकरी पाएँ । त्यसैले ग्रीनकार्ड बनाइदियो । डिग्रीअनुसारको काम पाएपछि मेरो जीवनमा वसन्तको बहार आउन ढिलो भएन, काका ।” काशीरामलाई आफ्नो विगत सुनाउँथे धनरत्नले ।
“म किसानको छोरो हुँ । मेरा आमाबा निरक्षर छन् । म यहाँ तिमीहरू जस्तै जीवन व्यतित गरेको छु । तर मेरो पसिनामा नेपालको माटोको सुवास पाउँछु । मेरो शरीर यहाँ भए पनि मन नेपालकै कुनाकन्दरामा नाचिरन्छ ।
मैले यहाँको नागरिकता लिए पनि यो माटो मलाई विदेशी लाग्छ ।” धनरत्नले कञ्चनजङ्घा आधार शिविरको पदयात्रा गरेको जर्सी सिटीको आफ्नो साथी जोहान्स लार्सनसँग भन्ने गर्थे ।
“कठोर मेहनतको कारण मैलेभन्दा तिमीले सफलताको सिँढी चढ्यौँ ।” जोहान्सले भन्थे ।
पत्नी पूर्णशोभाले नेपालमा कलेज सके पनि अमेरिकामा डिग्री लिइनन् । एक छोरी र दुई छोरा हुर्काउन उनले कठोर मेहनत गरिन् । सन्तान हुर्काउँदा नेपालका वृद्ध आमाबाबुलाई कष्ट दिएनन् । आफैँ थप मेहनत गरे । ती दुईबीचको गहिरो प्रेम र समझदारीले सबै सम्भव भयो ।
“सन्तानले नेपालीमूलका नागरिकसँग बिहे गरून् भन्ने हाम्रो हरदम प्रयास हुनुपर्छ । शोभा तिमीले यो संस्कार बालबच्चालाई देऊ है । विदेशमा भए तापनि परिवारमा नेपाली परिवेश बनाइराख्नुपर्छ । अन्यथा पहिचानको नास हुन्छ । पछिल्लो पुस्ताले हाम्रो ग्राण्डफादर र मदर नेपाली हुन् रे भन्ने वातावरण नहोस् ।” धनरत्नले पत्नीलाई एकान्तमा भन्ने गर्थे । डिनरको बेला पाँचै जना सँगै भएको बेला धनरत्नले “तिमीहरू नेपाल जानुपर्छ । हजुरबा र आमालाई भेट्नुपर्छ । तब मात्र तिमीहरूलाई नेपालको माया लाग्छ ।” भन्थे ।
आफ्नो सोच र सांसारिक गति सँगसँगै हिँडेको हुँदैन । अथक प्रयास गर्दागर्दै तीनवटै सन्तानले गहुँगोरो छाला भएको दक्षिणपूर्व एसियामूलका नागरिकसँग सम्बन्ध जोडे । सबै कुरा मिसाएर बनाएको अचारजस्तो संस्कृतिलाई सहर्ष स्वीकार गर्न धनरत्न र पूर्णशोभा बाध्य भए ।
“उनीहरूले राम्रो जागिर खाएका छन् । सन्तान खुसी र सुखी भएपछि के चाहियो र ?” हृदयमा गहिरो चोट भए तापनि नेपाली समुदायबीच कुराकानी हुँदा त्यसो भन्थे । सन्तानलाई “उनीहरूको दाम्पत्य जीवन सुखमयी होस् ।” भन्ने कामना गर्थे ।
धनरत्नको उच्च अमेरिकी जीवनस्तर थियो । न्यू जर्सीको सर्ट हिल्समा बगैँचा र निजी वनभित्र उनको आकर्षक बङ्गला थियो । हिउँदको चार महिनाबाहेक बगैँचामा रङ्गीबिरङ्गी फूल फुल्थे । हरियाली टुट्दैनथ्यो । घरनजिकै पर्खाल उठाएर चार मिटर अग्लो नेपालको झल्को दिने झरना बनाएका थिए । बगैँचावरपर ढुङ्गा ओछ्याएका थिए । घरको मूल ढोका र दुई आँखी झ्याल नेपाली काष्ठकलाले सुसज्जित थियो । ढोका र झ्याल भक्तपुरमा कुँद्न लगाई त्यहाँबाट झिकाएर राखेका थिए । नजिकै पौडी पोखरी र बाल खेलमैदान थियो । घरका भित्ता र दराज नेपालका मन्दिर र हिमालका चित्र तथा मूर्तिले सजाइएका थिए ।
अमेरिका पुगेर त्यहाँको सुख र समृद्ध जीवनको भोग र सामाजिक मान्यताभित्र रहेर जीवन बिताएका थिए । त्यो वैभव बनाए तापनि त्यस्तो शिष्टता र मर्यादित जीवन कमै नेपालीमा थियो । त्यस्तै जीवन बिताउने सपना बुनेर धेरै युवा नेपालको सारा सम्पत्ति बेचेर, आमाबाबुलाई ऋणको पहाडले थिचेर, दलाललाई पैसा ख्वाएर, महिनौँ महाकष्ट भोगेर अमेरिका पुगेका छन् । कति बीचमा नै समातिएर अमेरिका नटेक्दै सपना चकनाचूर पारेका छन् । कति अमेरिका पुगेर जेल परेका छन् । त्यस्ता खबर सुन्दा धनरत्न मर्माहत हुन्थे ।
धनरत्नका बुबाको देहान्त भएको सत्ताइस र आमा बितेको सोह्र वर्ष पूरा भएको थियो । तीन सातासम्म धनरत्न र पूर्णशोभाले बुबाको स्याहार गरे तर बचाउन सकेनन् । आमा अचानक बिमार भएको थाह पाएपछि दुवै जना नेपाल गए । आमालाई मुटुको समस्या थियो । चिकित्सकले “तिम्रो आमाको मुटुमा प्वाल छ । शल्यक्रिया गर्न मिल्दैन । आमा धेरै दिन बाँच्नुहुन्न ।” भन्ने मार्मिक जानकारी गराएका थिए ।
“मेरा नातिनातिनालाई बोलाइदे । मेरो मुटु फुटेको छ अरे । म धेरै बाँच्दिनँ । तिनीहरूको अनुहार हेरेर मर्छु ।” आमाले छोराबुहारीलाई भनेकी थिइन् । आमाको मरणइच्छा पूरा भएन ।
आमाको मृत्युपछि धनरत्न मानसिक र शारीरिक रूपमा पाँच वर्ष निकै कमजोर भए ।
“बासँग नजिक छु जस्तो लाग्थ्यो तर होइन रहेछ । आमा त मुटुको नसाभित्र पो बस्ने रहिछन् । आमा बितेपछि त मेरो मुटुको नसा नै चुँडिए जस्तो भयो । म एक्लो भएँ । बा बित्दा मैले आफूलाई एक्लो पटक्कै ठानिनँ । आमा हुँदा आमासँगै बा हुनुहुन्छ भन्ने लाग्थ्यो । आमा हुँदा मैले औँसीको रात कहिल्यै देखिनँ । आमा बितेपछि भने यो जगत् नै औँसीको रातमा रूपान्तरण भयो । मेरी पत्नी, मेरा सन्तान हुँदाहुँदै पनि आमा हुनुहुन्न भन्ने सम्झँदा म निस्सासिएँ । मैले आफूलाई सम्हाल्न पाँच वर्ष लाग्यो ।” उनले जोहान्स र प्रबलसँग भन्ने गर्थे ।
आमा बितेको सोह्र वर्षबीचमा उनी तीन पटक मात्र नेपालको जन्मघर पुगे । गाउँमा चारैतिरबाट मोटरबाटो पुगेको थियो । पोखराबाट तीन घण्टामा बाच्छा विहादी पुगिन्थ्यो । बिजुलीबत्ती बलेको थियो । स्कुलका कक्षाकोठामा कम्प्युटर थिए । स्वास्थ्य चौकीमा एक जना चिकित्सक बस्थे । सिँचाइको सुविधा भने पुगेको थिएन । धनरत्न पढ्ने बेला नुन र मट्टीतेल लिन बटौली जानुपथ्र्यो । बिरामी परे खरानी छर्केर भूतप्रेत भगाउँथे । बिसको उन्नाइस भयो भन्थे । उन्नाइसबाट अठार नहुँदै मानिसको इहलीला सकिन्थ्यो ।
अहिले मानिसलाई नभई नहुने न्यूनतम आधारभूत कुरा गाउँमा छ । थप सुविधा खोज्दै गाउँले दिनहुँ सहर बसाइँ सर्थे । बेरोजगार युवायुवती विदेसिएका थिए । पिँढीमा प्रौढको बास थियो । कोही आफ्नै छातीबाट निस्केको अधमरो दममिश्रित खोकीको आवाजसँग झर्किँदै भन्थे “काल आउन पनि कति ढिलो गरेको होला ? मर्न पाए त हाइसञ्चो हुन्थ्यो नि ! हे भगवान् !” कोही आँसुले लत्पटिँदै बिदेसिएको सन्तानलाई सम्झँदै भन्थे “म मरेको कति दिनमा थाहा पाउँलान् ? के जमाना आयो खै ? पानी खुवाउने मानिस पनि भएनन् ।” गाउँमा पनि विदेशबाट सन्तान नआउञ्जेल लास नकुहियोस् भनेर लास अटाउने बरफको मदुस (डिप फ्रिज) राख्न थालेका थिए । लास बोक्ने मलामी पाइँदैनथे । साँच्चै गाउँको सामाजिक परिवेश परिवर्तन भएको थियो । त्यो दयनीय अवस्था कहाँ पुगेर कसरी टुङ्गिन्छ थाहा थिएन ।
‘शान्ति’ र ‘जनता’को नाममा विश्वभर युद्ध, मारकाट र दमन भइरहेको थियो । सीमित व्यापारी र सत्तामा बस्ने मानिसले ‘जनता’को नाममा विश्वभर शासन गरेका थिए । हजार वर्ष पहिलेदेखि आदिवासी जातिलाई खेती गरेर खान र आङ ढाक्न सिकाउने नेपालीभाषी भुटानी नागरिकलाई शासकले क्रूरतापूर्वक लखेटेपछि धनरत्न मर्माहत भएका थिए । उनले म्यानमार, आसामको दृश्य पनि देखे । लोकतन्त्रको जननी भन्ने देशमा पनि छालाको रङको आधारमा साङ्लोले बाँधेर कारबाही गरेको उनले देखेका थिए ।
त्यस्ता घटनाहरूले धनरत्नलाई एक्लै पारेर प्रश्न गरिरहन्थे – “ए धनरत्न ! तँ नेपालीभाषी अमेरिकी नागरिक भए तापनि भविष्यको कुनै दिन तँ पनि भुटानबाट नेपालीभाषी भुटानी धपाइए झैँ नधपाइएलास् भन्ने के भरोसा छ र ? भारतलाई बेलायतीको दासताबाट स्वतन्त्र बनाउन र अमेरिकालाई समृद्ध बनाउन नेपालीको योगदान छ तर किन ती विदेशी हुनुप-यो ? दौरासुरुवाल, गुन्युचोली, टोपी, नेपाली भाषा र संस्कृति बचाएकै नाममा विदेशी भइदिनुपर्ने हो त ?”
धनरत्नको सत्तरीऔँ जन्मदिन मनाउने साँझ उनका छोरी, ज्वाइँ, छोरा र बुहारी सर्ट हिल्सको घरमा भेला भए । छिमेकी र साथीभाइ भोजको रमझमबाट बिदा भएपछि परिवारका सदस्य चकित पर्ने गरी उनले आफ्नो निर्णय सुनाउँदै भने “मेरी आमाले मलाई जन्माएको भूमिमा फर्कन्छु अनि पिताले देखाएको जीवनको गोरेटो पछ्याउँदै त्यही माटोको सन्तान बनेर हिमालय पवर्तको काखमा नै बस्छु ।”
पत्नी पूर्णशोभालाई बाहेक अन्यलाई उनको प्रस्तावले एकअर्काको अनुहार हेराहेर गर्न बाध्य पा-यो ।
“बुबा अमेरिकाको यो सुविधासम्पन्न जीवन त्यागेर सत्तरी वर्षको उमेरमा सुविधाविहीन पहाडमा कष्ट हुँदैन र ?’’ ठुलो छोराले सोध्यो ।
“त्यहाँ मलाई मलिलो माटो, लेकको चिसो पानी, न्यानो घाम, धवलागिरिको शुद्ध हावाले उपचार गर्नेछ । चीबे, गौँथली, कोकले, कोइली, न्याउली, लामपुछ्रे, ढुकुरको स्वर र नृत्यले मनोरञ्जन दिनेछन् । कालीगण्डकीको पानीले रोँचे भरिए झैँ हृदयको मन सन्तोषले भरिएपछि असुविधा भन्ने नै हुँदैन । तिमीहरू सक्षम भइसक्यौँ । अब म यहाँ बस्नुको कुनै अर्थ र औचित्य छैन । मेरो मन चौबिसै घण्टा म जन्मेहुर्केको गाउँमा पुगेको हुन्छ, शरीर मात्र यहाँ राखेर बस्न अब म सक्दिनँ । म फर्केपछि कुनै दिन मन कुँडियो भने वंशवृक्षको जरा खोज्दै फर्कँदा तिमी परदेशी बन्न पनि पर्नेछैन । मैले बनाएको गुँडले माया गर्नेछ ।” उनले आफ्नो मनको अठोट स्पष्ट गर्दै पारिवारिक समर्थनको लागि आग्रह गरे । छोराबुहारीहरूले नाइँनास्ती गर्न आवश्यक ठानेनन्, मौन सहमति जनाए ।
भोलिपल्ट सबै आआफ्नो काममा गए ।
परिवार, साथीभाइ सबैसँग बिदा भएर त्यसको तीन महिनामा धनरत्न जन्मघर फर्के ।
जीवनको उत्तराद्र्धमा एउटी आमालाई पतिभन्दा सन्तान प्यारो हुँदोरहेछ । सायद, त्यसैले होला पूर्णशोभा हिउँदको तीन महिनामात्र धनरत्नसँग बस्ने गर्थिन् ।
धनरत्नको नेपाली नागरिकताको प्रतिलिपि उनीसँगै थियो । कानुनी विधिबमोजिम विदेशको नागरिकता त्यागेर पुनः जन्मस्थानको ठेगाना राखेर नेपाली नागरिकता लिए ।
“धने त विदेशको कागजमा मात्र परदेशी बनेको रहेछ । त्यसको मन र मुटु यथार्थमा गाउँले नेपाली रहेछ ।” भन्दै काशीराम गाउँ चाहार्थे ।
“मान, इज्जत, सम्पत्ति र सुविधा भएको मानिस यो रित्तो गाउँमा के बस्ला र ?”
“नैतिकता गुमाएको, राज्य नै मिलेर भुटानी शरणार्थीको नाममा नक्कली शरणार्थी बनाएर सन्तान बेच्ने जस्तो निकृष्ट काम गर्ने देशमा के अडिन सक्ला ?” चौपारी र पधेँरोमा जताततै धनरत्नबारे चर्चा हुन्थ्यो ।
धनरत्नले आफ्ना आमाबाबुले बनाएको घर पुरानै शैलीमा पुनःनिर्माण गराए । भित्रपट्टि बलियो पारे । बाहिरी गारो पुरानै शैलीमा ढुङ्गा कुँदेर चिटिक्क पारे । ढलान गरेपछि दुईपाखे छानो पातलो कालो स्लेट ढुङ्गाले छाए । आफ्नै बारीको साल, चिलाउनी र साजका रूख काटे । भक्तपुरबाट कालीगढ मगाएर पुरानो घरका जस्तै झ्याल, ढोका र कार्नीस राखे । पाली, कोठा र बरण्डासहितको घर बनाए । आँटीमा जाने पुरानो लिस्नोको ठाउँमा फराकिलो भरेङ हाले । सिमेन्टले ढलान गरेपछि भुइँ, दलिन र भित्तामा काठ टाँसेर अनुहारै देखिने गरी चिल्लो पारे । बाहिरबाट हेर्दा ढुङ्गा, माटोले जोडेर बनाएको नेपाली घर भए तापनि भित्र स्नान, भान्सा, सुत्ने कोठा सुविधायुक्त बनाए । उनी विदेश बस्दा बाँझो, रूखो बनेको पाखोबारी दुई वर्षमै सुन्दर बगैँचामा रूपान्तरण भयो ।
जग्गा बाँझो राखेर सहर पसेका सँधियारको जग्गा किनेर आफ्नो पाखो बाआमाको पालामा भन्दा फराकिलो पारे । पहाडको पुछारमा रहेको खेत, त्यसभन्दा माथि पाटापाटा परेको बारी, खरबारी र वनसहित एउटा सिङ्गो पखेरो नै आफ्नो बनाए । त्यो पखेरो हरियो भएको मात्र कहाँ हो र ? विभिन्न प्रकारका फलपूmलको लोभलाग्दो बगैँचा नै बनेको थियो । तल्लो पाखोमा केरा, आँप, लिची रोपे । बीचको भागमा सुन्तला, कागती, अनार सारे । माथिल्लो पखेरोमा मार्फाबाट स्याउको बेर्ना ल्याएर रोपे । पखेरो एक हजार मिटरदेखि एक हजार आठसय मिटरको उचाइसम्म फैलिएको थियो । उचाइ भूगोलको कारण तराई, पहाड र हिमालतिर हुने फलफूल र वनस्पति त्यो पखेरोको पुछारदेखि सिरानसम्म हुर्केका थिए । त्यहाँ लोप भएका कोकले, लामपुछ्रे, कोइली, लाटोकोसेरो, हुचिल, लेकाली ढुकुरसहित अन्य चराचुङ्गी फर्केर आउन थाले ।
उनले अमेरिकामा दुःख गरेर कमाएको रकमले कालीगण्डकीबाट पानी पम्पिङ गरी ताने । पम्पबाट पानी तानेर अन्य कृषकलाई निःशुल्क दिए । आफूले फलफूलमात्र लगाए । खेतीपाती र पशुपालन गर्ने किसानलाई उनले प्रोत्साहित गरे । उजाड बनेको गाउँ पनि केही वर्षभित्रै त्यस्तो हराभरा र सुन्दर बन्न सक्छ भन्ने विश्वास त्यही गाउँमा जन्मे–हुर्केकाहरूलाई पनि थिएन तर आफ्नै आँखा अगाडि भएपछि विश्वास नगरी धर थिएन ।
धनरत्नले गरेको कामको परिणामको प्रत्यक्ष असर कालीको काखमा परेको थियो । एक हिउँदमा त्यहाँ पुगेका उनका मित्र जोहान्स लार्सन वनस्पति, चराचुरुङ्गीभन्दा पनि भौगोलिक अवस्थिति र त्यहाँबाट देखिने विविधतायुक्त दृश्य देखेर मन्त्रमुग्ध भएका थिए ।
उनले त्यहाँबाट कालीगण्डकीको नागबेली परेको गहिरो साँघुरो उपत्यका, उपत्यकाबाट बिस्तारै उचालिँदै, काटिँदै, खप्टिँदै गएका महाभारत र मध्यपहाडका सयौँ पहाडहरू लहरै देखे । उपत्यका र पहाडभन्दा धेरै टाढा, तीभन्दा धेरै अग्ला हिउँ नै हिउँले ढाकिएका हिमालय पर्वत देखिए जो कहिल्यै झुक्दैनथे । बिहान ती पर्वत सुनमा परिणत हुन्थे । दिउँसो चाँदी भएर मोहित पार्थे अनि गोधूलि साँझमा धपधप तातो राप दिने आगोको गोलाजस्तो पहाडमा परिणत हुन्थे । अचम्मै थियो उनको घरबाट देखिने त्यो अनुपम सुन्दर दृश्य ।
त्यो देखेर लार्सनले “अमेरिकाको धनी खेलाडीका बङ्गलामा हुने सुविधा र वातावरणभन्दा धेरै गुणा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेछ तिम्रो घर । कालीगण्डकी उपत्यका विश्वकै सुन्दर उपत्यका हो । तिम्रो आँगनबाट महाभारत र हिमालय पर्वतको विहङ्गम दृश्य देखिने रहेछ । खेत, बारी, गाउँ र हरिया पहाड गहनाले सुसज्जित नेपाली नारी जस्तै देखिँदोरहेछ । धवलागिरि शृङ्खलाका सबै चुचुराहरू नजिकै देखिने रहेछन् । हेर त, ऊ धवलागिरि र अन्नपूर्णलाई विभाजन गर्ने संसारकै गहिरो अन्ध गल्छी त्यही खोँच होइन त ?” उनको घरबाट देखिने बृहत् दृश्य हेर्दै लार्सनले भनेका थिए ।
त्यस्तैमा “म पनि मेरो गाउँ फर्केर तिम्रो जस्तै शैलीमा घर र बगैँचा बनाएर उतै जिन्दगी बिताउँछु ।” भन्दै मेरील्याण्ड बस्ने उनका नेपालीभाषी अमेरिकी मित्र प्राध्यापक प्रबल गाउँ फर्केका थिए ।
धनरत्नको देखासिकी गरेर स्वदेशकै रुपन्देही बसाइँ सरेर गएका चार घर गाउँले आफ्नो घर फर्के । ‘बगेको पानी फर्कनु र बसाइँ सरेका फर्कनु उस्तै हो’ भन्ने भनाइ असत्य साबित भयो । गाउँले फर्कदा गाउँका खोला, रूख, कुनाकन्दरा, खेतबारी हर्षले आह्लादित भएका देखिन्थे ।
“इमानमा रही निरन्तर कठोर परिश्रम गरे माटोमा सुन फल्छ । कर्म गर्नुपर्छ तब मिठो फल खान पाइन्छ ।” पिता तीर्थरत्नले भनेको अर्तीलाई धनरत्नले जीवनदर्शन बनाएका थिए । त्यति मात्र होइन घर फर्केपछि स्कुलमा गएर आफूले पश्चिमा देशमा गरेको अनुभव सुनाउँदै भन्थे, “अमेरिकाका मानिसले वर्ष दिन गरेको जस्तो मेहनत नेपालमा चार महिना मात्र गर्ने हो भने नेपाल बिस वर्षमा चीनजत्तिकै विकसित हुनेछ, विदेश पस्नुपर्दैन ।” उनको कुराले कालीगण्डकी करिडोर क्षेत्रका युवाहरूले विदेश जानुभन्दा पहिले दस पटक सोच्न थालेका थिए । विदेशी भूमिबाट घर फर्कने बढेका थिए । उजाड गाउँ चालिस वर्षपछि पहिले जस्तो फलफूल र खेतिपातीले भरिपूर्ण भएकाले त्यो प्रभाव परेको थियो ।
“दृढ निश्चय गर्ने हो भने नर्क पनि स्वर्ग बन्न धेरै दिन कुर्नुनपर्ने रहेछ । गर्छु भन्ने दृढ निश्चयीलाई राजनीतिको डढेलोले लपेट्न सक्दोरहेनछ । ढुक्क भए हुन्छ, बाँकी साठी जिल्लामा पनि घर फर्कँदैछन् बिदेसिएका धनरत्नहरू !” असी वर्ष नाघेका काशीराम काकाले तलमाथि गर्दै गाउँमा नयाँ सन्देश छर्न छोडेका थिएनन् ।
जन्मनु र मर्नु नियमित प्रक्रिया हो । कालीगण्डकी र धवलागिरिले पनि भौगर्भिक हलचललाई भोग्नैपर्छ । नदी र पर्वतजत्तिकै लामो बाँच्ने सत्कर्म हो । घर फर्केपछि धनरत्नले पन्ध्र वर्ष सक्रिय जीवन बिताए । उनले आफ्नो अस्तु आफ्नै बारीको सिरानको पाटोको पूर्वी छेउमा धुपी सल्लोको रूखमुनि राख्न लगाई त्यस स्थानमा परिक्रमा गर्न मिल्ने गरी सानो स्तूप आकारको मठ बनाउन लगाएका थिए । काशीराम र धनरत्न बितेको आठ वर्ष भइसकेको थियो । त्यो स्थलले तीर्थको रूप लिन थालेको थियो ।
काशीरामको जेठो छोरा बाबुझैँ गाउँ घुम्दै गाउँलेलाई नयाँ खबर सुनाउँदै हिँड्ने गर्थे । एक दिन उनले भन्दै थिए– “इण्डोनेसियाको बाली माइत भएकी कान्छी बुहारी र छोराले धनरत्नको बगैँचा झन् राम्रो पो बनाएछन् ।”
०००
लेखक परिचयः विष्णुप्रसाद शर्मा पराजुली मूलतः नियात्राकार हुन् । पर्वतमा जन्मेका उनी हाल बूढानीलकण्ठमा बसोवास गर्छन् । उनका तीन नियात्रा कृतिहरू “तिब्बत यात्रा, (२०७२ ),” डोल्पोः विश्वको जीवित सङ्ग्रहालय” (२०७४), श्वेत पर्वत, (२०७८) प्रकाशित छन् । उनको एक कृति अङ्ग्रेजी भाषामा समेत प्रकाशित छ ।
