नायग्राका अद्भूत खेलाहरू

नियात्रा

तेजप्रकाश श्रेष्ठ

नायग्रा फल्स । धेरै पहिलेदेखिको हुट्हुटी ।
“नायग्रा फल्सको मज्जा त मिड अफ द मिस्ट र केभ अफ द विन्डमा पो हुन्छ त ।” स्नेही बधू समित्राले मसिनो स्वरमा भनिन् ।
हामीलाई चौ चौ लागिहाल्यो । के हुन् ती ? कस्तो मज्जा पाइँदो हो ? खुल्दुलियो मन । नामैले अनौँठा ! कुइरो कुमारी र हुरीको गुफा ।
“गएपछि थाहा पाइहालिन्छ नि किन हत्तारिनु । झ्वाम्मै भोग्दा अर्कै अनुभूति हुन्छ ।” सौजनले मुसुक्क हाँस्दै भन्यो । हो त नि किन हतारिनु ।
हामी लाग्यौँ मिड अफ द मिस्टतर्फ । के होला यो मिड अफ द मिस्ट अर्थात् कुमारी कुहिरो भनेको ? अल्झिँदै थिएँ म । सौजनले लम्बेतान लाइनमा लगेर उभ्यायो हामीलाई । टिकट काटेर उभियो ऊ पनि । भिडको लाइन देख्दैमा अत्यास लाग्दै थियो । फन्फनी घमिरहेको थियो लाइन, हुल बाँधेर । गन्तव्यमा पुग्न नै कतिबेला लाग्ने हो ?
बल्लतल्ल मिड अफ द मिस्टको प्रवेशव्दारमा पुग्यौँ । ठेलमठेल छँदै थियो । त्यहाँ एक जिउले अर्को जिउमा छुनु नहुने अमेरिकी व्यवहार पनि काम लागेको देखिएन । जेनतेन सिँढी उक्लिएर फलामे साँघुमा पुग्यौँ ।
त्यो लम्बेतान आकाशे साँघु दुईतर्फी थियो एकातिर जाने र अर्कोतिर फर्कने । जानेतर्फ भिड थियो । हामी टावर जस्तो संरचनामा भित्रियौँ । त्यो टावर जस्तो संरचना त नदी तटमा ओर्लिने लिफ्ट कोठा पो रहेछ ।
लिफ्ट जमीन सतहबाटै बनाइएको भए पनि हुन्थ्यो, किन त्यति अग्लाएर लिफ्ट हालियो ? बुझ्न सकिनँ मैले । सायद आकर्षक तुल्याउनु हो कि ? त्यहाँ चार ओटा लिफ्ट रहेछन् लस्करै । आफ्नो पालोमा हामी पनि छि-यौँ लिफ्टमा । करिब १७५ फिट तल झर्दा नायग्रा नदीको तटमै पुग्यौँ ।
तटमा पुग्दा प्रत्येकलाई प्लास्टिकको नीलो रेनकोट ओडाइयो । झट्पट् सबैजना नदीमा तैनाथ स्टिमरमा सवार भयौँ । दुईतले स्टिमरमा हामी छतमा उभिन पुग्यौँ । करिब डेढ दुईसय पर्यटकहरू बोकेर स्टिमर अगाडि बढ्यो ।
बल्ल पो बुझेँ मैले मिड अफ द मिस्टको अर्थ । नायग्राको एउटा रोमाञ्चक खेला पो रहेछ यो ।
स्टिमरमा सवार गराएर कुहिरो उड्दै गरेको झरनाको साक्षात् स्पर्श गराउने मेलोमेसो । नायग्रा झरनाको वास्तविक मज्जा चखाउन मिड अफ द मिस्ट (कुहिरा कुमारी) को व्यवस्था मिलाएको रहेछ । क्यानाडाली भूमिबाट हेर्न नसक्ने विश्व पर्यटकलाई समेत लोभ्याउने मेलोमेसो । प्रकृतिलाई प्रविधिसँग जोड्ने प्रयास गज्जब थियो ।
जलकण र कुहिरोको सङ्गम अति सुन्दर देखिन्थ्यो । क्यानाडातर्फ जान नपाए पनि प्रत्यक्ष झरनाको मुहार हेर्न पाउँदा रमायो मन ।
नदीमा रातो रङको ज्याकेटले भरिएको अर्को स्टिमर पनि क्यानडातर्फबाट आइरहेको देखियो । सायद रातो रङ र नीलो रङले अमेरिकी र क्यानडेली पर्यटक छुट्याइँदो हो ।
स्टिमर झरनाहरूको नजिकै पुग्दा अत्यायो हामीलाई । जलकण र कुहिरोको मुस्लोले झ्वाट्टै ढाक्दा तिल्मिलाएँ म त ।
माथितिर निख्खर सेता कुहिरोका मुस्लाहरू आकाशिएका थिए भने, निर्मल जलकणका मुस्लाहरू पातालतिर कुद्दै थिए फिँज काढ्दै । तिनैका बिचमा हामी रुमल्लिएका थियौँ । तिल्मिलाइरहेका थियौँ र रमाइरहेका थियौँ ।
यात्रुहरू आआफैंमा मस्त थिए, प्रफुल्ल थिए । कोही भिडियो खिच्दै थिए त कोही युगल जोडीहरू अँगालो मार्दै फोटो खिच्नमा तल्लीन थिए । विशुद्ध जलकण र जलवाष्पको अद्भूत मिलन नै त होला कुमारी कुहिरो ? मिड अफ द मिस्ट । अडकल काँटेँ मैले ।
हावामा तैरिएका बाछिटाले नै हामीलाई पूर्ण स्नान गराइ दिएथ्यो । उत्तरवाहिनी झरनाको वर्षाले नुहाउँदा रमायौं हामी । उत्तरायणी नदीमा स्नान गर्दाको पूण्य मिल्यो कि मिलेन ? थाहा भएन । आशा पनि गरिएन, तर हृदय गदगद भयो ।
नाति निभेद अत्तालिँदा पनि रमाइरहेको थियो । पानीका घना जलकण र कुहिरोले छपक्कै ढाकिएका थियौँ र आँखै चिम्लेर रमाइरहेका थियौँ । आँखा खुल्दा चारैतिर सेता फिँजयुक्त जलकणहरू ओइरिरहेका देखिए ।
तीन ओटा झरनाका जलकणले निथ्रुक्क भिजाइ छोड्यो । सौजनले पहिले नै भनेको थियो, “ड्याडी ! जुत्ता भिजाउन सक्छ, फेर्न जुत्ता पनि बोक्नुहोस् है ।” तर त्यहाँ हामीले जुत्ता बोकेका थिएनौँ । फलतः होटल कोठामा नपुग्दासम्म भिजेकै जुत्ताको सहारा लिन वाद्य भयौँ । बेलैमा जोगाड नगर्दाको परिणाम ।
करिब आधा घण्टा जतिको मिड अफ द मिस्टको यात्रा रोमाञ्चक रह्यो । निस्किँदा दिनको दुई नाघिसके छ । पेटमा मुसाको दौडसँगै हामी ४३१ थर्ड स्ट्रिटमा सञ्चालित नेपाली रेष्टुरामा पुग्यौँ ।
मूल ढोकामै लेखिएको थियो टेष्ट अफ नेपाल, नेपाली इन्डियन कुजिन । अनि भित्र लेखिएको थियो नेपाली दाइको नेपाली रेष्टुरा ।
भट्टराई बन्धुले खोलेका रहेछन् केही वर्षअगि । नेपाली कर्मठहरू जहाँ पुगे पनि आफ्नो कर्ममा दिलोज्यानले लाग्दा रहेछन् । नेपालीहरू कहाँ पुगेका रहेन छन् त ! जहाँ नपुगे रवि, त्यहाँ पुगे नेपाली भन्नुपर्ने भएछ अब त !
जता पुगे पनि नेपाली दाजुभाइ दिदीबहिनीको श्रम हाँसिरहेको देखिरहेछु । होटल रेस्टुरा होस् वा डिपार्टमेन्ट पसल, मल, ग्यास डिपोमा होस् नेपाली हात सल्बलाएकै भेटिरहेछु । त्यति मात्र हैन साना ठुला कार्यालय, कारखानामा पनि उत्तिकै जाँगर मौलाएको देखेको छु । कलेज, विश्वविद्यालयहरूमा त नेपाली मनमस्तिष्क तिखारिनु त छँदै छ । यस्तो परिवेशमा आफ्नै संस्कृति, रहनसहन र खानपानमा रमाउन पाउनु कम गौरवको कुरा थिएन । मात्र यत्ति हो, नेपाली भूमि युवाशक्तिको खडेरी व्यहोरी रहेको यथार्थ हो ।
हामी पाँच जनाले आफूलाई मनपर्ने खाना मगायौँ । यसरी आआफ्नो छनोटको खाना मगाएर खाने यहाँको चलनै भने पनि हुन्छ । हामी अमेरिका र क्यानाडाको सीमान्तकृत नगरमा पनि नेपाली स्वाद चाख्न पाउँदा तृप्त भयौँ र खाना खाएर कोठामा फर्कियौँ ।
“जाऔँ ड्याडी मम्मी । राति दशबजे भुइँचम्पा (आतासबाजी) हुन्छ, रमाइलो हुन्छ ।” सौजनले कुत्कुत्यायो हामीलाई । साँझ आठ बजे नै कोठाबाट निस्कियौँ र एउटा रेष्टुरामा डिनर भ्यायौँ ।
आतासबाजी हेर्न झुम्मिदै थिए नायग्रा फल्स स्टेट पार्कमा । पार्क झिकीझकाउ थियो रातकी रानी झैँ । झरना अवलोकन स्थलको वरिपरि समूहका समूह थपिँदै थिए रमितालुहरू ।
मलाई अचम्म के लाग्दै थियो भने अधिकांश अनुहारहरू एसियाली अनुहारका झैँ लाग्थे । अझ भनौँ, इन्डियन अनुहारकै चहलपहल बढी देखिरहेको थिएँ म । नझुक्किनुहोस् इन्डियन (भारतीय) भन्नाले अमेरिकी आदिवासी अर्थात् रेड इन्डियन हैनन् नि ! यहाँका आदिवासीलाई अमेरिकी इन्डियन भन्ने गरिन्छ, जुन अन्वेषक कोलम्बसले नाम दिएका थिए ।
बुढापाकाहरू भन्ने गर्छन्, आदिवासीहरू अनादिकालदेखि उत्तरी अमेरिकामा बसोवास गर्दै आएका हुन् । उनीहरू प्रकृतिलाई विश्वास गर्थे र भूमिलाई पुज्थे । कछुवाको ढाडमा पृथ्वीको श्रृष्टि भएको विश्वासमा उनीहरू उत्तरी अमेरिकालाई कछुवा टापु भन्थे । उनीहरूको इतिहासले महान् आत्माहरूले पृथ्वी, जीवजन्तु, बोट विरुवा र मानिसहरू कसरी उत्पत्ति गरे भन्ने दर्शाउँछ ।
सदियौँदेखिका रैथाने रहेका ती मूल अमेरिकी आदिवासीहरूले त खानुसम्म गोता खाएका थिए नवप्रवेसीहरूबाट । नवप्रवेसी अर्थात् फ्रान्स, जर्मनी, बेलायत, स्पेन जस्ता युरोपेली मुलुकबाट छिरेका नवउपनिवेशवादीहरू हुन् ।
कोलम्बसले अमेरिका पत्ता लगाएपछि नयाँ मुलुक हेर्न ओइरिएका थिए युरोपेलीहरू । तिनीहरूले नै आदिवासीहरूलाई थिचोमिचो गरेर कैयौँलाई मारे, कैयौँलाई धपाए र बचेखुचेकालाई आफ्नो दास तुल्याए वा आरक्षणमा सीमित तुल्याए । यति हुँदाहुँदै पनि नायग्रा फल्स क्षेत्रमा केही आदिवासीहरू अझै अस्तित्वमा रहेको बुझ्दा झनै जिज्ञासु बन्दै थियो मन ।
तर यतिबेला हामी भुइँचम्पा अर्थात् आतसबाजीको आशमा चिसोमा रल्लिरहेका थियौँ झरनाको झर झर सङ्गीतमा झुम्दै । सङ्गीतका साथ बहुरङ्गी प्रकाशव्दारा झरनाको रङ फेराई झन् सुन्दर देखिन्थ्यो । आदिवासी बन्धुहरू नभेटे पनि आदिम झरनाको इन्द्रधनुषी सौन्दर्यमा मख्ख थिएँ म ।
आजको आतसबाजी कार्यक्रम रद्द भएको रहेछ, सुइँको नै पाएनौँ । बालक निभेदको उत्सुकता गर्ल्यामगुर्लुम ढल्यो । हामी पनि हिस्स बुढी खिस्स दाँत गर्दै फर्कियौँ भोलिको पर्खाइमा ।
मे, २८, २०२४ को बिहान वातावरण हुस्सुमय थियो । बाहिर त चिसो हुँदो हो, तर हामी बिहान दश बजे मात्र होटलबाट निस्किएकाले चिसो अनुभव गर्नु परेन । घाम पोतिँदै थियो वातावरणमा ।
सौजनले कार पार्किङ ग-यो गोट इज्ल्याण्डको पार्किङ स्थलमा । अनि हामी हान्नियौँ केभ अफ द विन्ड अर्थात् हुरीको गुफातर्फ ।
केभ अफ द विन्ड एउटा रोमान्चक गन्तव्य रहेछ । प्रतिव्यक्ति २१ डलरको टिकटमा अति रोमाञ्चक क्षण बिताउन पाइँदोरहेछ ।
एउटा पुरानो घरमा प्रवेश गर्नासाथ इतिहास बोलिरहेको भेट्यौँ । यो प्राचीन घर पहिलेको विद्युतगृह पो थियो कि ! थाहा भएन । यसैमा सानो सङ्ग्रहालय बनाइएको रहेछ ।
यस सङ्ग्रहालयद्वारा नायग्रा नदी विद्युत उत्पादनको विशाल भण्डार हो भन्ने बुझेँ । जल विद्युत उत्पादन भएपछि यहाँको जीवन शैली नै बदलिएको बुझियो । अठारौ शताब्दीदेखि नै विद्युत उत्पादनमा अग्रणी रहेको नायग्रा नदीबाट वर्तमानमा सत्ताइस लाख किलोवाटभन्दा बढी विद्युत त अमेरिकालाई मात्रै उपलब्ध गराउँछ भन्ने सङ्केत पनि पाइयो ।
अर्को कक्षका प्राचीन फोटाहरूले र डकुमेन्ट्री प्रदर्शनले इतिहास सम्झाउँदै थियो । म तेह्र हजार वर्ष पहिलेको हिम युगको नायग्रा फल्समा विचरण गर्न पुगेछु, जहाँ आदिमानवको भर्खर भर्खर आगमन हुँदै थियो ।
हिउँ पग्लेर इरी र ओन्टारियो ताल बन्दै थिए । नायग्रा नदी कलकलाउँदै बग्न खोज्दै थियो ।
जाडोमा कठ्याङ्ग्रिदै हिँड्दै थिएँ टुप्लुक्क ह्युडेनसुनी र अनिसिनाब आदिवासीसँग जम्काभेट भयो । भर्खर भर्खर जीवन बाँच्ने सुरसार गर्दैरहेछन् तिनीहरू । अचम्मित भएँ म, उनीहरूको अनौठा वेषभूषा र जीवन शैली देखेर ।
झल्यास्स झस्किएँ वर्तमानमा, डकुमेन्ट्री फिल्म भन्दै रहेछ, “यो पवित्र भूमि हो । यसलाई मेटिस र इन्यूट जनजातिको घर पनि मानिन्छ । यो भूमिमा आदिम मानव सभ्यताको इतिहास भरिएको छ । हाल यो भूमि क्यानडासँगको द दिश विथ वान स्पून वाम्पम सम्झौताअनुसार सुरक्षित रहेको छ ।”
अलिअलि बुझेँ इतिहास, अलिअलि बुझेँ भूगोल । तर कौतुहल अझै सेलाएको थिएन । हामी एउटा मानव निर्मित पुरानो लामो गुफा जस्तो संरचनामा छि-यौँ र बाहिर निस्केर नजिकै रहेको लिफ्टबाट तल नदीतटमा ओर्लियौँ ।
त्यो नदीतट ब्रिडल भेल फल्सको मुन्तिर रहेछ । त्यहाँ पहेँलो प्लास्टिकको रेनकोट सबैलाई ओडाइयो ।
समुद्री सेता चराहरू भुर्र भुर्र उडे । हस्स गन्ध नाकमा ठोकियो बिस्टाको । ढुङ्गे नदीतटमा सामुद्रिक सेता चराहरू प्रशस्तै उडिरहेका र बसिरहेका देखेँ । ढुङ्गेलो बगरमा ससाना बचेराहरू पनि असरल्लै देखिए । सायद गाँसवास त्यहीँ हुँदो हो तिनीहरूको । जीवन न हो !
“उः हेर्नोस् त, त्यहाँ मसिनो सर्प ढुङ्गाको कापमा मडारिरहेछ ।” प्रतिभाले देखाइन् ।
“खै खै ?” निभेदले चासो देखायो र हेर्नथाल्यो ।
हामी अगाडि बढ्यौँ जहाँ ब्रिडल भेल झरना बेजोडले झरिरहेको थियो छङ्छङाउँदै । झरनाबाट झरेको कञ्चन पानी शास्त्रीय सङ्गीतको धूनमा बुर्कुसी मार्दै बगिरहेको थियो चट्टाने परिवेश छिचोल्दै ।
कोलाहलमा पनि शान्तमय वातावरण । दुध झैं स्वेत र निर्मल झरनाको छङ्छङ् सङ्गीतमा नाच्न थाल्यो मन । जलक्रिडाको रमाइलो अनुभूत गरिरहेछु म !
अग्लिएको चट्टाने परिवेशले गर्दा झरना केही छोट्टिएको देखियो । अरू झैं एक सय सठसठ्ठी फिट अग्लो थिएन सायद । बेजोडको जलप्रवाहको निकट पुग्न व्यवस्थित र सुरक्षित काठे सिँढीहरूमा उमङ्ग पोखिएको थियो । उक्लिन थाल्यौँ हामी ती सिँढीहरू झरनाको हुरीसमान जलकणको बाक्लो बाछिटा आइपुग्ने स्थानसम्म ।
अरू पर्यटकहरू हुत्तिदै आइपुग्ने पानीका बाछिटामा रुझ्दै रमाइरहेको देख्दा नै हौसियौं हामी पनि । लम्क्यौँ सुस्त सुस्त नजिक नजिक हुँदै । पहिलो झमटमै पानीका कणहरूले हामीलाई स्पर्श गर्न आइपुग्दा रोमाञ्चित नभइ रहन सकेनौँ हामी ।
झरना दुधका धारा झैँ झरिरहेका थिए । सेता कणहरू मोतीका दाना झैँ चम्किरहेका थिए । हाम्रो मन हत्तारिँदै थियो जलप्रवाह चुम्दै । कहिल्यै जलक्रिडामा सरिक नहुने मलाई पनि लोभ्याइरहेको थियो निर्झर जलकणहरूले ।
निभेद झन् उत्साहित देखिन्थ्यो । सौजन र सुमित्राले उसलाई सुरक्षा दिइरहेका थिए । हौसला थपिरहेका थिए । ऊ पनि बुद्रुक बुद्रुक उफ्रेर जलकणको स्पर्शमा रमाइरहेको थियो ।
हामी पनि लग्लगाउँदो बुढ्यौली शरीरसहित बेजोड हुरीसमान वर्सिरहेका बाक्लै बाछिटामुनि होमिएका थियौँ, भनौँ हुरीको गुफामा पसेका छौँ । सायद हुरीसमान झरनामुनि रम्नुपर्ने भएकोले केभ अफ द विन्ड (हुरीको गुफा) भनिएको हो !
रुझनु पनि कति मज्जा आउँदो रहेछ ।
आहा ! मज्जा आयो ! निथ्रुक्कै भिजियो पनि जुत्तासम्मै । हिजो र आजको भिजाइमा बेग्लाबेग्लै आनन्दोभूति गर्न पुगेँ म ।
हिजो स्टिमरको छतमा चल्मलाएका थियौं नियन्त्रित परिवेशमा । आज प्रत्यक्ष भूमिमा टेकेर झरनाकै मुन्तिर स्वैच्छाले उफ्रिरहेका थियौँ । रमाइरहेका थियौँ, फोटो खिचिरहेका थियौँ । समयको कुनै पाबन्दी थिएन । उन्मूक्त थियौँ हामी । यस्तो उन्मूक्ति हत्पती कहाँ पाइन्छ र जीवनमा ।
केटाकेटी त रमाए रमाए, बुढ्यौलीले ङ्याकेका हामी दम्पती पनि बालबालिका झैँ उत्साहित थियौँ, रोमाञ्चित थियौँ । रमाउन र अनुभूति समेट्न उमेरको हद पनि लाग्दोरहेन छ । वातावरण चाहिँदो रहेछ, बस् !
प्रतिभा र म पनि झुम्यौँ मज्जाले झरनाको बाछिटे गुफामा । झरनाको बेगवान् मूल छाँगोभित्र छिर्ने अनुमति कसैलाई थिएन । बाछिटाले नै हुत्याउन खोज्थ्यो राम्रैसँग ।
यही त हो उमङ्ग जीवनको । दुःखजिलोको जिन्दगीमा सधैँ कहाँ पाइन्छ र यस्तो उमङ्ग, यो अनुभव अतुलनीय थियो । जीवनमा पहिलोचोटी यस्तो अनुभूति बटुल्ने संयोगका स्यावासी र आशीषका हकदार थिए प्रिय पुत्र सौजन र स्नेही पुत्रबधु सुमित्रा ।
बफ्यालो र रेन्बो नामधारी सडकहरू फुटपाथे बजारसँगै चलायमान थिए । फुटपाथे पसलहरूमध्ये घुम्ती नेपाली खाजा घर हाम्रो रोजाइ बन्यो । नायग्रा फल्स सिटीमा हिजो नेपाली रेष्टुरा भोगेका थियौँ भने आज नेपाली खाजा घर
लन्चपछि सौजन र सुमित्रा निभेद लिएर क्यानडातर्फ लागे पैदलै सीमान्तकृत पुल तरेर । नायग्रा नदी अमेरिका र क्यानडाको साँध सीमाना हो । पानी नै आधाआधा !
उनीहरूलाई भिसाको आवश्यकता हुँदोरहेन छ । हामी दम्पतीले क्यानडा पस्न कहाँ पाउँथ्यौ र अतिरिक्त भिसा नभई । हामीसँग थिएन ।
छुन नपाए पनि सीमान्तकृत बजारमा केही बेर अल्मलियौँ र कोठामा गएर आरामका साथ पल्टियौँ ।
मनले आराम गर्न के दिन्थ्यो मलाई । अमेरिकी आदिवासीहरूको घर गोठ चाहार्न कुत्कुत्याइ हाल्यो नि !
नेटिभ अमेरिकन, ए हिस्टोरी इन पिक्चर कृतिका लेखक आर्लेन हिच्जेल्डर आफ्नै सामु उभिएर भनिरहे झैं लाग्यो ।
“बुझ्यौ तेज ! अमेरिकी आदिवासीहरूको कथाव्यथा साह्रै मार्मिक छ । हालको अमेरिका आप्रवासीहरूले कब्जा गरेर बनाएको देश हो । सर्वप्रथम युरोपबाट भित्रिएका गोराहरूले यहाँका रैथाने रेड इन्डियन अर्थात् अमेरिकी इन्डियनहरूलाई कजाएर वा धपाएर साम्राज्य खडा गरेका थिए । त्यस बेलाको आदिवासीहरूको सङ्घर्ष टीठलाग्दै छ नि !”
“हो र ?” म अवाक भएर सुन्नथालेँ ।
“हो नि ! लौ सुन ।” उनी धारावाही भन्न थाले ।
वषौंवर्ष पहिले उत्तरी अमेरिकामा अमेरिकी मूलबासिन्दाका विभिन्न ४०० भन्दा बदी भाषा बोल्ने जनजातिका ७ देखि १० मिलियन बासिन्दा बस्दथे । विभिन्न स्वतन्त्र संस्कृतिहरू अपनाउने उनीहरूको नेतृत्व योग्यताअनुसार छानिन्थ्यो र भूमिको स्वामित्व सामूहिकतामा रहन्थ्यो । अमनचैन थियो । झैझगडा कमै हुने गर्थ्यो ।
जब नवआगन्तुकहरूको आगमन हुनथाल्यो अमेरिकी आदिवासीहरू पनि उल्सुक देखिए । सुरुमा उनीहरूले युरोपेली आगन्तुकहरूलाई स्वागत गरेका थिए पाहुनाको रुपमा । अझ व्यापारिक साझेदारीको रुपमा पनि स्वीकारेका थिए ।
संख्या ज्यादै कम भएकाले युरोपेलीहरू पनि आदिवासीहरूको सहयोग चाहन्थे । फलतः उनीहरूले मूलनिवासीको सार्वभौमिकतालाई मान्यता दिए झैँ गरी विभिन्न सन्धीहरू गराए । अनि भूमिअधिग्रहण गरी उनीहरूलाई भूमिहीन पार्दै अन्ततः दासतुल्य व्यवहार गर्दैलगे ।
स्पेनीहरूले आदिवासीलाई वहुमूल्य धातुहरूको खानीमा काम लदाउन थाले भने फ्रान्सेली र अङ्ग्रेज व्यापारी र ट्रापरले भारी बोकाउन थाले । सन् १६०० को दशकमा अङ्ग्रेजहरूले उनीहरूको जमिन हडप्दै अनेकन अव्यवहारिक व्यवहार गर्नथाले । तर आधुनिक हातहतियारले सुसज्जित युरोपेलीहरूसँग कुनै जोर चलेन । तैपनि बिद्रोह गर्न छोडेनन् । रैथाने र युरोपेलीहरूको विचमा रक्तरञ्जित युद्ध सुरू भयो भने उपनिवेशिकवादीहरूले भित्र्याएका नयाँ रोगहरूसँग पनि आदिवासीहरूले सामना गर्नु प-यो । सत्रौं शताब्दीको अन्त्यसम्म त एट्लान्टिक समुद्री किनारामा रहेका आदिवासीहरूको अस्तित्व नष्ट भएर युरोपेली उपनिवेशिकहरूको निमन्त्रणमा पुग्यो ।
”अनि के भयो ?” म झनै उत्साहित भएँ ।
त्यसपछि भूमिशोषण गर्न र उपनिवेश खडा गर्न युरोपेलीहरूलाई खुल्ला भयो । उनीहरूले आदिवासीहरूको भूमिमा विभिन्न सीमा स्थापना गरे, जसबाट आदिवासीहरू झन् पिल्सिदै गए । आदिवासीहरूको भूमि प्राप्त गर्न र नियन्त्रण गर्न विभिन्न सम्झौता गराइयो र आदिवासीहरू सीमित स्थानमा रहनुपर्ने व्यवस्था गर्दा बिद्रोहको स्वर गुन्जिरह्यो । पछि अमेरिकी सरकारले नै सन् १८७१ मा सन्धी गर्ने प्रणाली नै बन्द गरी पूर्वसन्धी पनि पालना गर्न आवश्यक ठानिएन । झन् पिल्सिँदै गए आदिवासीहरू ।
फलतः आदिवासी नेता टेकुमसेहले सबै जनजातिका आदिवासीहरूलाई एकवद्धता हुन र कुनै पनि भूमिहस्तान्तरण गर्न अस्वीकार गर्न आग्रह गरेपछि तनाब झन् बढ्यो । अनि अमेरिकी इन्डियनहरूलाई आफ्नो मातृभूमिबाट हटाउन नयाँ राष्ट्रिय नीति नै लागू गरियो । उनीहरूले संरक्षित क्षेत्रमा रही गोरा सभ्यतामा समायोजन हुन समय तोकियो । उत्तरपूर्व र दक्षिणपूर्वमा जनजातिले आफ्नो जग्गा बेच्नैपर्ने गराइयो ।
सन् १८२५ सम्म केही जनजाति स्वेच्छाले पश्चिम भारतीय क्षेत्र (हाल ओक्लाहोमा राज्य) मा सरे । तर ग्रेट लेक क्षेत्र र दक्षिणपूर्वका अन्य जनजाति सर्न मानेनन् । राष्ट्रपति एन्ड्ूयू ज्याक्सनले सन् १८३० मा अमेरिकी भारतीय हटाउने ऐन नै पारित गराए,जसबाट मूलनिवासीहरूले आफ्नो पु्ख्र्यौली भूमि गुमाउनु प-यो ।
सन् १८४० सम्म करिव १ लाख मूलनिवासीहरूलाई जवर्जस्ती हटाएर आरक्षित क्षेत्रमा सारियो । त्यहाँ मिसेनरी र सरकारद्वारा उनीहरूलाई इशाई धर्म सिकाउने लक्ष्यका साथ सुन खानीको उत्खनन्, सडक निर्माण, रेलमार्ग निर्माण आदिमा जोताउन थाले ।
आरक्षणमा बलजफ्ती पठाउन खोज्दा दुई दशकभन्दा बढी गृहयुद्धमा होमिनु प-यो । जनजातिहरू दक्षिणी र उत्तरी मैदानहरूमा, टेक्साल र दक्षिणपश्चिम, बेसिन पठाइए । तर आफ्नो पूख्यौली थलो फिर्ता ल्याउन र जनजीवनको मार्ग प्रशस्त गर्न लडिरहे । तैपनि १०० भन्दा बढी जनजातिहरू युद्ध र रोगले मर्न थालेपछि सन्धीमा हस्ताक्षर गर्न र आरक्षणमा जान बाध्य भए । आदिबासीहरूका संस्कृति नष्ट गर्न सरकारले अमेरिकी संस्कृति आत्मसात गर्नेपर्ने कार्यक्रम ल्यायो । तर अमेरिकी राष्ट्रिय संस्कृति अझै पूर्ण भएको छैन बरु आलिवासीका संस्कुतिहरूले नै राष्ट्रिय पर्वहरूमा शोभा बढाइरहेको पाइन्छ ।
ए हो र ! म छक्कै परेँ । लेखक आर्लेन हिच्जेल्डर फिस्स हाँसे । यो सारांश मात्र हो है ! भन्न खोज्दै थिए त्यत्तिकैमा ढोका ढक्ढकाएको आवाज सुनियो । लेखक हिच्जेल्डर अलाप भए तत्क्षण !
आँखा मिच्दै उठेँ सौजन सुमित्रा आइपुगेका रहेछन् क्यानाडाको भूमि टेकेर । आराम ग-यौँ हामीले बेलुका नौबजेसम्मै । अब कतै जानु थिएन सिवाय हिजो साँझ अनुभूत गर्न नपाएको आतसबाजी हेर्न ।
बेलुकी नौबजे साँझमा निस्क्यौँ कोठाबाट हामी आतसबाजीको रङ्गीन संसारमा लुट्पुटिन । डिनरका लागि एउटा रेष्टुँराबाट पिजाका पाकेट बोकर लम्कियौँ नायग्रा फल्स स्टेट पार्कतर्फ जहाँ राति १० बजेदेखि आतिसबाजी अर्थात् भुइँचम्पाको खेला हुन्छ ।
नायग्रा नदीको क्यानडातर्फको तटबाट विभिन्न रुपरङका आतिसबाजी उडाउन थालिए । होलीमा रङ्गिए झै रङ्गीन बन्यो वातावरण । झरनाका रुपरङमा नौरङ्गी डाँफे फुरफुर नाचेको देख्न थाले म !
आहा ! रङ्गीन् विशाल झरनाका साथै धुर्मैलो आकाशमा झिलिमिली फूलहरू फुलेको देख्दा अलौकिक आनन्द छायो । हुर्रे, सबै कराए स्वागतमा । क्यानाडेली भूमिबाट आधाघण्टा जति आतासबाजीको वर्षा गराइँदोरहेछ । अमेरिकी भूमि पनि झल्झलाकार भएको पायौँ । नायग्रा फल्सको अनुपम दृश्य मनमस्तिष्क र क्यामेरा र मोबाइलफोनमा कैद गर्न सबै लालायित देखिए । मैले पनि एक दुई क्लिक हानीहालेँ ।
निभेद र सुमित्रा आफैमा मगनमस्त थिए । अझ तात्तातो पिजा टोक्दै रङ्गीन झरना र भुइँचम्पा हेर्दाको अनुभूति बेग्लै थियो ।
अनुभूति न हो, रमाइलो लाग्न पनि सक्थ्यो नरमाइलो पनि । अवस्था र परिस्थितिले अनुभूति निर्धारण गर्दोरहेछ । सौजन र प्रतिभा भुइँचम्पामै अल्झिएका थिए पिजा टोक्दै । उनीहरूले कस्तो अनुभूति गरे ? थाहा भएन । तर सबै रमाइरहेकै थिए । म पनि रमाएँ, जीवनमा अब नायग्रा फल्सको यस्तो संयोग कहिले भेटिन्छ र !
राति निद्रा पनि मस्तले लाग्यो ।
२९ मे २०२४ को बिहान साढेचार बजे बफेलो विमानस्थलतर्फ लाग्यौँ फिर्तिका लागि । भाडाको कार पार्किङमा राखेर रिटर्न कार लेखिएको स्ट्यान्डमा कारको साँचो घुसारेर ढुक्क भयो ऊ । कति सजिलो प्रबन्ध ।
विमान समयमै उड्यो तर डालसमा मौसम खराब भएकोले एक डेढ घण्टा नै आकाशमा चक्कर लगायो । तैपनि टेनसी राज्यको मेम्फिस् विमानस्थलमा अवतरण हुनैप-यो सुरक्षाको लागि । काशी जानु कुतीको बाटो भने झैँ करिब आधा घण्टा विश्राम गरी विमान फेरि उड्यो ।
डालसको मौसम कस्तो होला ? अवतरण हुने हो होइन ? हामी कुशलताका साथ पुग्छौँ कि पुग्दैनौँ ? जस्ता तर्कनाहरू उडिरहे मनभरि । नायग्रा फल्सले दिएको उमङ्ग र रोमाञ्चित क्षणहरू धुमिल हुनखोज्दै थिए । तर सकुशल अवतरित भयौँ हामी ।
लौ न नि ! डालसमा त वर्षासँगै हुरीबतास पनि जोडले चलेको रहेछ । कैयौँ रुख त सोत्राम्मै ।

०००

लेखक परिचयः तेज प्रकाश श्रेष्ठले वि.सं. २०२५ फागुनमा “गाउँफर्क” कविता प्रकाशन गरी लेखन यात्रामा होमिएका हुन् । उनका पाइलाका डोवहरु(२०४८), दौडाहा घुमाउरा बाटाहरूमा(२०५७), स्वप्नलोकका पदचाप(२०६७), अशान्त मन र यात्राका बिम्बहरू(२०७१), बुर्कुसीमा रम्छ मन(२०७५), म्यान्ली रोमाञ्च(२०७९) लगायतका नियात्रा कृतिहरु प्रकाशित छन् । उनका पाँच वाल नियात्रा कृति समेत प्रकाशित छन् । उनका ६ कथा सङ्ग्रह, २ उपन्यास, २ कविता सङ्ग्रह, लोक साहित्यमा ७, संस्मरण विविध ७ तथा वाल साहित्यका ७५ कृति प्रकाशित छन् । हाल उनी चन्द्रा गिरी नगरपालिका, तीनथानामा बसोवास गर्छन् ।

 

Leave a Reply