प्रेमको एक निशानी

कविता

जानु धिताल

 

आऊ रोपौँ एउटा प्रेमिल वृक्ष हामी हाम्रो मायाको

प्रेम मलजलले पर्न नदिऊँ अनिष्टताको छायाक‍ो

स्याहार सुसार गरौँ हामी भरमग्दूर है त्यसलाई

होइन सादा वृक्ष, सनातन प्रेमको यस प्रतीकलाई

दिउँला हामी आफ्ना मायाका ती तरङ्गहरू

उठून् सबैतिर प्रेम प्रेमका शकुन्तला वा अनङ्गहरू

हामीमा नै समर्पित होऊन् घाम अनि शीतहरू

चौतारीमा हावा सङ्गै गाऊन् प्रेमिल गीतहरू

हामी प्रेमीहरूका लागि तब एक सहारा बन्नेछौँ

ती सब प्रेमका प्रतीक हुनेछन् हामी संरक्षक हुनेछौँ

जन्म जन्मान्तर होस् बस् तिम्रो मेर‍ो प्रेम कहानी

आज र भोलि इतिहास रच्ने प्रीत हो हाम्रो एक निशानी

०००

कवि परिचयः लेखिका जानु धिताल काठमाडौंमा जन्मिएकी हुन् । उनको पहिलो रचना गीत विसं २०६९ मा स्रष्टा दर्पणमा प्रकाशित भएको थियो । उनको एक कविता सङ्ग्रह “छाउगोठकी आमा” (विसं २०७९) प्रकाशित छ । उनी हाल भैंसेपाटी ललितपुरमा वसोवास गर्छिन् ।

Leave a Reply