यदि म मरेको भए … ! (नियात्रा)

गद्य विविध

सागर गैरे, कोहलपुर

(सागर गैरे कोहलपुरमा ब्यवसाय र लेखनमा जति सक्रिय छन्, नियमित साइकल यात्रा र स्वदेश भ्रमणमा पनि उत्तिकै सकृय छन् । ती भ्रमणहरू उनमा मात्र सीमित छैन, तिले शब्दको बाणी पाउँछन् र पाठकको हातहातमा पुग्छन् । उनको नयाँ भ्रमण साहित्य “एउटा अल्बाट्रस” प्रकाशनको तयारीमा छ । अब छिट्टै पाठकको हातमा आउन लागेको सो कृतिमा मलेशिया, भियतनाम, भारत(गोवा), फिलिपिन्स तथा जर्जियाको भ्रमणका ३३ रचनाहरू समाविष्ट छन् । सोही पुस्तकको मलेशिया भ्रमणको एक रचना पाठक समक्ष प्रस्तुत छ ।)

मस्त निद्रामा भएकै बखत रिसेप्सनबाट आएको फोनको तीखो घन्टीले निद्रा खुल्यो । बत्ती बालेर घडी हेरेँ । बिहानको पाँच बज्दै रहेछ । उठेर शौचालय गएँ । डाइभर्टर घुमाएँ, रेन सावरबाट तातो पानी निक्लियो । दाह्री काटेँ र मज्जाले नुहाएँ ।

मैले ड्रेस लगाएर तयार हुँदा यशोदा पनि तयार भइसकेकी थिइन् ।

लबीमा झर्दा खानेकुराहरूले टेबल सजिसजावट थियो । मानिसहरू रेस्टुराँमा जुटिसकेका थिए ।

खानेकुराका अनेक भेराइटी थिए । हामीलाई बोक्नका लागि बसहरू पार्किङ लटमा तम्तयार थिए । गाइडहरू म्याक्स महम्मद र शिवराज अनि बसका चालकहरू आपसमा गफ गरिरहेका थिए ।

बिहानको वातावरण सुरम्य थियो । बिहानबिहानै साइक्लिस्टहरू देखिन्थे । कस्तो रमाइलो दृश्य । साइक्लिङ भनेपछि म पनि हुरुक्कै हुने मान्छे हुँ ।

आँपको बोटमा बसेर कोइली मच्चिईमच्चिई ‘को हो ? को हो ?’ भन्दै थियो । हाम्रोतिरका कोइली र यहाँका कोइलीले गाउने भाका एउटै रहेछ । मनमा लकडाउनको सम्झना आयो । कुनैबेला ती दिन पनि थिए । बजारका पसल बन्द थिए । गाडीघोडा, स्कुलकलेज, यातायातका साधन सबथोक बन्द थिए । बजारमा चहलपहल भन्ने केही थिएन । एकाबिहानै काफल चरी र कोइली कराउँथे र तिनका आवाज टाढाटाढासम्म सुनिन्थे । त्यही झल्को कोइलीको आवाजले दिइरहेको थियो ।

म केहीबेर हामीहरूका पथप्रदर्शक म्याक्स मोहम्मदसँग गफिएँ ।

म्याक्स मोहम्मद हाम्रा पर्यटक गाइड हुन् । उमेरले तीस वर्षका, तर तौल स्वभाविक रूपले बढी देखिन्थ्यो । उनले हाइस्कुल लेबल मात्रै अध्ययन गरेका छन् । उनको अङ्ग्रेजी भाषा मलाई ठिकै लाग्यो ।

म्याक्सका हजुरबा भारतको चेन्नईबाट मलेसिया आएका थिए कुनै बेला । उनी यतै बसे, यतै बिहे गरे । म्याक्सका बाबु मुस्लिम हुन्, आमा हिन्दू । उनले मात्र तीन महिना पहिले क्वालालम्पुरबाट बिहे गरेका रहेछन् । उनी १८ वर्षको उमेरदेखि पर्यटक गाइडको पेसामा छन् । म्याक्स हेर्दा मोटो देखिए पनि फुर्तिला छन् ।

तपाईंलाई नेपाली पर्यटकहरू कस्तो लाग्यो भनेर मैले म्याक्ससँग सोधेको थिएँ । उनी एकछिन हाँसे र भने ‘नेपालीहरू निकै रमाइला हुँदा रहेछन् ।’

अर्का पथप्रदर्शक थिए शिवराज निथिआन्थन् । उनी हिन्दू रहेछन् । उनको नामले नै त्यो बताइरहेको थियो । उनको घर लङ्काबीकै तान्जिङ रुमा छ । उमेरले उनी पनि ३० वर्षका भए । उनी र म्याक्स स्कुले साथी रहेछन् । न मास्टर्स न डिग्री । म्याक्सको तुलनामा शिवराजको अङ्ग्रेजी राम्रो छ । सन् २०१५ देखि शिवराजले पर्यटक गाइडको काम सुरु गरेका हुन् ।

म राम्रो फोटोग्राफरको रूपमा चिनिन्छु ।’ शिवराजले आफ्नो बारेमा थप बताए ।

बिहानको नौ पनि बजेको छैन । कति चर्को धुप हो ? यस्तो गर्मी त नेपालमा एक दुई बजेतिर हुन्छ,’ सरफराजले भने ।

अँ यहाँको धुप बहुत चर्को हुँदो रहेछ,’ मैले भनेँ ।

पानोरमा केवल कार (स्काई क्याब) र स्काई ब्रिज दुवै ओरियन्टल गाउँ भएर जानुपर्छ । अब हामी पहिले ओरियन्टल गाउँ पुग्छौँ,’ शिवराजले भने ।

पहाडी बाटो भएर बस हिँडिरह्यो । शिवराजले कुनै भवन देखाउँथे र भन्थे–‘यो भिल्लामा एक रात बिताएको ५० हजार रिङ्गेट तिर्नुपर्छ । यस्ता भिल्लामा अर्बपतिहरूले रात बिताउँछन् ।’

होला पनि, नहुने भन्ने के छ र ? म ‘ए…’ मात्र भन्छु ।

पहाडी बाटो सुर्खेत जाने बाटोजस्तै लाग्छ । फरक यत्ति छ कि यहाँका बाटाहरू राम्रा छन् । बाटोमा खाडलहरू कतै देखिँदैनन् । पहिरो जाने ठाउँमा माथिसम्मै ढलान गरिएको छ । सडकका दायाँबायाँ पोतिएका रङहरू गाढा छन् ।

यहाँ हामीले जति पनि बाँदरहरू देख्यौँ ती ढेडु बाँदर थिए । केहीबेरको यात्रापछि हामी ओरियन्टल भिलेज प्रवेश गयौँ ।

गाडीबाट झरेपछि शिवराजले हामी सबैलाई सम्झाउँदै भने, ‘पहाडमा देखिएको त्यो टावर केबुलकारको हो । बस यही ठाउँमा पार्किङ हुन्छ । तपाईंहरू फर्किएपछि सिधै बसमा आएर बस्नुहोला ।’

हामीले ‘हुन्छ’ भन्यौँ ।

केबुलकार ओरियन्टल भिलेजको टेलुक बुराउबाट सुरु भएर गुनुङ माचिच्याङ पहाडमा सकिन्छ । हामी एउटा ससानो झोलुङ्गे पुल भएर गयौँ । अगाडिका साथीहरूले पुल बेस्सरी हल्लाइदिए । पुल बच्चा सुताउने झोलुङ्गोझैं हल्लिन थाल्यो । त्यही पुलको छेउमा सानो तलाउ थियो, त्यसमा माछाहरू थिए । मान्छेले खानेकुरा दिन्छन् भन्ने आशले माछाहरू जता आवाज आउँछ त्यतै कुद्ने रहेछन् । पानीमा गाढा पिङ्क रङका कमलका फूलहरू फुलेको निकै सुन्दर देखिन्थ्यो । झोलुङ्गे पुलको केही अगाडि तीन चार थरिका पुल थिए, आकारप्रकार र बनोटले भिन्न ।

वसन्त ऋतुले लङ्काबीलाई पनि छोपेको थियो । फूलहरू फक्रिएका थिए । आँप मजुराएको र फलेको दृश्य देख्न सकिन्थ्यो ।

किताबमा पढेकोभन्दा प्रत्यक्ष हेर्दा, टेक्दा र घुम्दा धेरै फरक अनुभव हुँदो रहेछ । लङ्काबीको बारेमा थोरबहुत जानकारी सामाजिक सञ्जालबाट थाहा भए पनि प्रत्यक्ष आँखाले नियाल्दा फरक अनुभूति हुँदोरहेछ ।

लङ्काबीको भूबनोट झट्ट हेर्दा नेपालको जस्तै छ । यहाँ पनि पहाड छन्, जङ्गल छन् । लङ्काबीमा समुद्र छ, नेपालमा छैन । फरक यत्ति हो ।

शिवराजले सबैको नाडीमा केबुलकारको टिकट बाँधिदिए । सबैलाई दुईतर्फी टिकट थियो, तर हामीलाई एकतर्फी मात्रै । पछि फेरि अर्क टिकट माग्यौँ । एउटा गोन्डुलामा ६ जना अटिँदो रहेछ । लामो भिड छिचोलेर हाम्रो पालो आयो । हामीसँगै हुनुहुन्थ्यो गोपाल कृष्ण । उहाँसँग इतिहास र भूगोलका धेरै कुरा भए ।

गुनुङ माचिच्याङ पहाडको टुप्पोमा केबुलकारको टप स्टेसन छ । जुन समुद्री सतहबाट ९५० मिटरको उचाइमा छ । यहाँबाट एन्डोमन समुद्रमा छरिएका लङ्काबी द्वीपका सम्पूर्ण टापुहरू स्पष्ट देखिन्छन् । केबुलकारको बेस स्टेसन ओरिएन्टल भिलेजबाट सुरु हुन्छ । ४२ डिग्री भर्टिकलको ठाडो भीरमा केबुलकारको यात्रा साँच्चिकै रोमाञ्चक थियो ।

लङ्काबी स्काई क्याबको माथिल्लो स्टेसन पुगेपछि एउटा शिशाको कार (रेलजस्तो डिब्बा) मा चढेर रेलको लिकमा जस्तै ओरालो झरेपछि पुल आउँछ । कारमा चढ्नेको लामो लाइन थियो । लाइनमा कति बस्ने झन्झट मानिरहेको थिएँ । केबुलकारको केही तलबाट मान्छे हिँड्ने ट्रेल रहेछ । जङ्गलको बाटो भएर हिँड्ने सिँढी बनाइएको रहेछ । हामी ओरालैओरालो झयौँ । थुप्रै मानिसहरू पैदल हिँडिरहेका थिए ।

कस्तो रमणीय मौसम । कस्तो रमाइलो वातावरण । कति हरियो जङ्गल । केही पाइने आशाले बाँदरहरू मानिस हिँड्ने बाटोको किनारमा आशापूर्ण नजरले हेरिरहेका थिए । केहीबेरको पैदलपछि हामी लङ्काबी स्काई ब्रिजमा पुग्यौँ ।

स्काई ब्रिज एउटा इन्जिनियरिङ चमत्कार थियो । पहाडको टाकुरामा निर्मित सस्पेन्सन पुलबाट चारैतिरका आकर्षक दृश्य नियाल्न सकिन्छ । यो विश्वकै सबैभन्दा लामो फ्री स्पान कर्भ पुल हो । यस्तो पहाडमा यति जटिल पुल कसरी बन्यो होला ? हेर्ने जो कोहीलाई अचम्म लाग्छ । इच्छाशक्ति भएपछि हर कुरा सम्भव छ । टाढाबाट हेर्दा पुल हावामा झुन्डिएझैँ देखिन्छ । लङ्काबी पुलमा शाहरूख खानको फिल्म डनको केही दृश्यहरू २००६ तिर खिचिएको रहेछ । सिङ्गल स्पान पिलरमा कर्भ आकारको १२५ मिटर लामो यो स्टिलको पुल दुई वटा पहाडी थुम्कोमा अडिएको छ ।

लङ्काबी टापु चारैतिरबाट एन्डोमन सागरले घेरिएको छ । करोडौँ वर्ष पुराना चट्टानी पहाडहरू यत्रतत्र देखिन्छन् ।

हामीले पुलमाथि उभिएर थुप्रै तस्बिरहरू खिचेर पैदल नै फर्कियौँ । फर्किंदा उकालो हिँड्नुपयो । हामी केबुलकारको टप स्टेसनमा फर्कियौँ ।

स्टेसनमाथि भ्यु पोइन्ट रहेछ, चारैतिर नियाल्न पाइने । दृश्य नियाल्नका लागि बाइनाकुलर रहेछ । सिक्का हालेपछि काम गर्थ्यो होला । साथमा सिक्का नभएकाले प्रयास गरिएन ।

छेउमै रहेछ टन्डास । एक रिङ्गेट तिरेर हल्का भइयो । चर्को घाम थियो । ‘अब फर्किऔँ’ मैले यशोदालाई भनेँ ।

नाडीमा ब्रासलेट जस्तै बाँधेको टिकट स्क्यान गरेर हामी केबुलकारमा चढ्यौँ । केहीबेरमै हामी बिहान केबुलकार चढेको ठाउँमा आइपुग्यौँ ।

एक जना गायक स्टुलमा बसेर गितार बजाउँदै गीत गाइरहेका थिए । उनी अङ्ग्रेजी गीत गाउँदै थिए । मैले केही पैसा उनको दान पेटिकामा राखिदिएँ र अनुमति लिएर केही तस्बिर खिचाएँ । मानिसमा रहेको सिर्जनाको महत्व जहाँ भए पनि कम हुँदैन । उनको प्रस्तुति शैली सुन्दर थियो । केहीबेर उनको गायन नियालेर बसेँ ।

त्यसपछि हामी थ्री डी म्युजियम हाउसमा गयौँ । भित्तैभरि अनेकन चित्रहरू बनाइएका थिए । त्यहाँ आइन्स्टाइन र मोनालिसाका तस्बिर थिए, डायनोसर र झरनाका पेन्टिङ पनि । इजिप्टका पिरामिडको तस्बिर अद्भूत थियो ।

फोटो खिच्नु पनि एउटा कला हो । तस्बिर लिनुभन्दा पहिले तस्बिरको भाका बुझ्नु जरुरी थियो । त्यसपछि तस्बिर कसरी लिँदा राम्रो आउला सोच्नु जरुरी थियो । मैले यशोदाका थुप्रै तस्बिरहरू खिचिदिएँ ।

त्यहाँ हामीसँग जम्मा १५ मिनेटको समय थियो । राम्रो तस्बिर लिने हो भने त्यहाँ दुई दिनको समय पनि कम हुन्थ्यो । तर, हामी हतार हतार गरेर बाहिर आयौँ ।

नजिकै फोरडी सिनेमा हेर्न पाइँदो रहेछ, समय पुगेन । त्यहाँका हरेक घर पृथक र आकर्षक थिए । घरको पेन्टिङ फरक थियो । रोपिएका रूखहरूमा विविधता अनुभव गर्न पाईन्थ्यो ।

बसले हामीलाई नै कुरिरहेको रहेछ । हामी बसेपछि बसले गति लियो । हामी सिधै ओरियन्टल भिलेज पुग्यौँ । रोयल इन्डिया होटलमा खाना खायौँ ।

यात्राको तालिकामा आइल्यान्ड हपिङ अन्तिम प्याकेज थियो ।

लङ्काबीको महत्वपूर्ण आइटम रहेछ आइल्यान्ड हपिङ । आइल्यान्ड हपिङ भनेको एउटा टापुबाट अर्क टापुमा जानु रहेछ । लङ्काबीमा धेरै टापु छन् । अधिकांश टापुमा मानव बसोबास छैन । यद्यपि ती टापुमा गएर घुमफिर गर्न सकिँदोरहेछ । आइल्यान्ड हपिङको मज्जा भनेकै यही रहेछ । ३ घन्टा ३० मिनेटको प्याकेज हुँदोरहेछ आइल्यान्ड हपिङको । त्यहाँ जान कसैले प्राइभेट स्पिड जेट रिजर्ब गर्दा रहेछन् । हामीले पेन्टाई सिनाङ बीचबाट आइल्यान्ड हपिङ सुरु गयौँ ।

कसैले जेटस्की लिएका थिए, कसैले प्राइभेट बोट । उनीहरू आफैँले बोट चलाउँदै चाहेको टापुमा जान पाउँथे । हाम्रो ठूलो ग्रुप भएकाले बीसबीस जनाको दरले स्पिड बोटमा बस्यौँ । बोटका चालकले हामी सबैलाई लाइफ ज्याकेट बाँडे ।

स्पिड बोटका इन्जिनमा सुजुकी लेखिएको थियो । बोट समुद्रतिर दगुर्न सुरु ग-यो । बोटको पछाडि पानीको विशाल लहर बन्ने रहेछ । चालकले घरिघरि बोट यति स्पिडमा दौडाउँथे जसले गर्दा हाम्रो सातै जान्थ्यो ।

समुद्रमा रहेका सानादेखि ठूला टापुहरूको नजिकबाट टापु नियाल्दै हिँड्नुको मज्जा बेग्लै थियो ।

चालकले केहीबेर बोट रोके । शिवराजले एउटा पहाड देखाउँदै सोधे, ‘ऊ त्यो पहाड हेर्नुस् त । एक जना गर्भवती महिला सुतिरहेको जस्तो आकार देख्नुभयो तपाईंले ?’ सबैले नियालेर हेरे । पहाड कतै टाउको जस्तो कतै पेट उठेजस्तो कतै खुट्टा लम्पसार पारेर सुतेजस्तो ।

धेरैले ‘हो त’ भने ।

यही पहाडको फेदमा छ ताल । यही आकृतिका आधारमा त्यो तालको नाम प्रिगनेन्ट मेडन लेक रहेको हो !’ शिवराजले भने ।

दुई पहाडको खोँचमा पुगेर बोट अडियो । समुद्रमै रहेछ विश्रामस्थल । बोटबाट झर्ने ठाउँलाई जेट्पोर्ट भनिन्छ भनेर शिवराजले सम्झाएँ । बोटबाट ओर्लिएपछि हामी एउटा लामो पुलबाट किनारमा पुग्यौँ । समुद्र किनारमा ससाना घर रहेछन् । त्यहाँ नेपाली गीत घन्किरहेको थियो । केही साथीहरू नाच्न सुरु गरिहाले । शौचालयसँगै रहेछ । मलेसियामा निःशुल्क शौचालय प्रयोग गर्नु असम्भवजस्तै रहेछ ।

समुद्र किनारमा पानी चरा रहेछन्, कराइरहेका थिए । खोया हाँस मङ्गोलिया, चीन तथा मध्य एसियाबाट नेपाल हुँदै भारत पुगेर फर्किन्छन् । हिउँदमा यिनीहरू खाद्यान्नका लागि लामो यात्रा गर्छन् र गर्मी चढ्दै गएपछि फेरि आफ्नै थलोमा फर्किन्छन् । उत्तर दिशामा जाडो सुरु भएपछि यिनीहरू मैदान झर्ने र मैदानमा गर्मी बढेपछि फेरि उत्तर फर्किने यिनीहरूको आप्रवासन हजारौँ वर्षदेखि जारी छ ।

यात्राका लागि यिनीहरूलाई न पासपोर्ट चाहिन्छ, न भिसा, न एयरपोर्टमा बोर्डिङ पास नै गर्नुपर्दछ । यिनीहरू आफ्नै सामर्थ्यमा उड्छन् । उनीहरूलाई यात्राका लागि कुनै बन्धन छैन ।

कौतूहल थियो, कस्तो होला मलेसिया ? मलेसियामा धेरै नेपालीहरू श्रम बेच्न आउछन् । मेरै ठाउँका, मेरै टोलका दर्जनौँ साथीहरू कुनै न कुनै बेला मलेसियामै हुन्थे । कतिले मलेसियाकै कमाइले नेपालमा राम्रै बन्दोबस्ती मिलाएका छन् ।

एकदिनको घुमाइमै थाहा भयो, मलेसिया प्राकृतिक सम्पदाको धनी देश रहेछ । मलेसियाले प्रविधिको भरपुर प्रयोग गरेको रहेछ । मलेसिया दक्षिण पूर्वी एसियाको एउटा महत्वपूर्ण शक्ति राष्ट्र रहेछ भन्ने पनि थाहा भयो ।

मेडन लेक घुम्ने टिकट सबैको हातमा घडीझै बेरिएको थियो । कति अग्ला रुखहरू । ठाउँठाउँमा काला र ठूल्ठूला ढुङ्गाहरू । सायद यी भोल्कानो जाँदा पृथ्वीको गर्भबाट निक्लिएका होलान ? मैले अनुमान गरेँ । अलिक पर दुई युवाले बाँदर लखेटिरहेका थिए । निक्खर काला बाँदर । अघि बाटोमा शिवराजले लङ्काबी माफियासँग सतर्क रहनुहोला भनेको सायद यिनै बाँदरलाई रहेछ । यी बाँदरले हातमा समातेको झोलादेखि अनुहारको चस्मा समेत खोसिदिँदा रहेछन् ।

म सोच्छु, मान्छे बाँदरदेखि टाढा पुगेकै छैन । हाम्रो मस्तिष्कका मुटुका कोषहरू र बाँदरका कोषहरूमा कति अन्तर होला र ? बेलाबेलामा मानिसलाई केले उत्साहित बनाउँछ ? बेलाबेलामा मानिसलाई केले निराश बनाउँछ ? हामीले के काम गर्दा मनमा शान्ति भेट्छौँ ? यहाँसम्म भीडको हिस्सा भएर म के हेर्न आइरहेको छु ? धेरै कुराहरू मनमा आइरहे, गइरहे ।

जङ्गलमा केहीबेर तेर्सो हिँडेपछि हामी ओरालो झर्यौँ । त्यहीँबाट देखियो पहाडको खोँचमा एउटा सुन्दर तलाउ । मेडन लेक यही रहेछ भन्ने सोचेँ । तालको चारैतिर पहाड थिए । पहाडमा अग्ला अग्ला रूखहरू थिए । ताल खासै ठूलो होइन । देशभित्रै तमाम तालतलैया देखेका नेपालीहरूका लागि यो ताल आश्चर्य मानिहाल्नुपर्ने खालको थिएन । तर मलेसियाले यो तालको राम्रै ब्रान्डिङ गरेको रहेछ ।

तालछेउमा पेडल डुङ्गाहरू थिए । चर्क घाम लागेको थियो । अत्यधिक गर्मी भएर पनि होला शरीरमा स्फुर्ति थिएन । सबै जना तालमा पौडी खेल्ने भनेर उत्साहित थिए । ताल हेरिसकेपछि धेरैजना शिथिल भए ।

यशोदाले पौडी खेल्ने भनेरै कपडा बोकेकी थिइन् ।

तिमी पौडी खेल्ने भए खेल न त !’ मैले यशोदालाई भनेँ । हामीसँगै आएका अरू महिलाहरू पौडी खेल्न इच्छुक नदेखिएपछि यशोदाले पनि रहर मारिन् ।

तपाईं खेल्ने भए खेल्नुस् न । म झोला समाइदिन्छु,’ यशोदाले मलाई भनिन् । पाँच सात जना साथीहरू त्यतिन्जेलमा लाइफ ज्याकेट पहिरिएर पौडी खेल्न थालिसकेका थिए ।

गाउँका सानातिना खोला, ताल तलैयामा पौडी खेलेका सानातिना अनुभव भए पनि मसँग गहिरा नदी र तालहरूमा पौडिएको अनुभव खासै थिएन । अरू पौडिरहेका थिए । म पनि सक्छु भन्ने लाग्यो । मैले पनि पाँच रिङ्गेट तिरेर लाइफ ज्याकेट लिएँ । चारैतिर समुद्रमा नुनिलो पानी छ । पहाडको बीचमा चिसो र पिउन लायक पानी हुनु आफैँमा अनौठो कुरा थियो ।

चर्क घामले सताएको बेला शीतल तलाउ देखेपछि मैले पौडिने रहर गरेँ । त्यसबाहेक मैले दायाँबायाँ केही सोच्न थालिनँ । तालमा सिधै डाइभ हानेँ, मानौ गहिरा तालहरूको म पौडीबाज नै हुँ । पानी चिसो थियो । सबैभन्दा पहिले जमिनमा खुट्टाले टेक्न खोजेँ । तालको गहिराइ कति छ भनेर अन्दाज गर्न चाहन्थेँ । खुट्टाले जमिन छोएको भए पो गहिराइ थाहा हुन्थ्यो । त्यो कति गहिरो थियो थाहा भएन । न मैले गहिराइ टेक्न सकेँ, न सोचे अनुसार तलाउको सतहमा आउन । मलाई अनुभूति भयो, कि मैले गलत निर्णय लिएँ । त्यसपछि म आत्तिएँ । मैले टाउको डुबाएर पारि जाने कोसिस गरेँ । लाइफ ज्याकेटका कारणले होला सोचेजस्तो सहज भएन । अचानक मैले आफ्ना पाखुराहरूमा ऊर्जा घटेको महसुस गरेँ । मैले आफ्नो ऊर्जा र शक्ति हराउँदै गएको महसुस गरेँ ।

बूढा बाआमा, साना सन्तान, घरव्यवहार र कारोबार सबै छोडेर मलेसिया घुम्न आएको म । प्रतिसेकेन्ड हजारौँ किलोमिटरको वेगमा मस्तिष्क चल्यो । मैले आफ्नै मृत्युको कारुणिक र भयानक चित्र कोरेँ । कम्पनीले जसोतसो बाकसमै हालेर भए पनि निष्प्राण शरीर घरसम्म त पु-याइदेला, तर यशोदा ? मेरा साना छोराछोरीहरू कसो गर्लान् ? बूढा भइसकेका ती बाआमाको मनमा के बित्ला ? के होला अब ? उफ् …

पानीमुनि यसरी सोच्दासोच्दै पनि मैले हिम्मत हारेको थिइनँ । विडम्बना, त्यहीबेला देब्रे खुट्टाको मांशपेसी फर्कियो । असह्य भएर दुख्यो । अघिसम्म मैले चाल्न खोजेको खुट्टा पनि दुखेर चलाउनै नमिल्ने भयो । त्यसपछि त म झनै अत्तालिएँ ।

आफूलाई साह्रै निरीह अवस्थामा पाएँ । मैले आफूलाई ‘ओभर स्टिमेट’ गरेछु र प्रकृतिलाई ‘अन्डरस्टिमेट’ गरेछु । प्रत्येक दिन कुनै न कुनै स्थानमा दुर्घटना भएको हुन्छ । कोही न कोहीले ज्यान गुमाइरहेका हुन्छन् । मैले सोँचे यस पटक मेरै पालो रहेछ ।

तर मैले तत्काल निर्णय गरेँ, म जसरी पनि किनारामा पुग्नुपर्छ । मैले हार खानु हुँदैन । मैले अन्तिम प्रयास गरेँ र किनार नजिकै आएँ । एउटा डोरी थियो । नजिकै उभिएको कुनै एकजनालाई माथि तान्न इसारा गरेँ ।

उसको सहारामा पानीबाट बाहिर आएँ । मेरो मुटुको धड्कन निकै जोडसँग धड्किहेको थियो । लामो लामो स्वास फेरिरहेँ । ताललाई एकपटक नियालेर हेरेँ । हरियो रङ्गको तालले मैलाई गहिरिएर डरलाग्दो गरी हेरेजस्तो लाग्यो । तालसँग आँखा जुधाइरहन मन लागेन । मैले डाँडोको चारैतिर उम्रिएका हरिया रूखहरू नियालेँ । अन्कन्टार ठाउँमा ताल धरापजस्तो लाग्यो ।

त्यो एक प्रकारले ज्यानै जानसक्ने दुर्घटनाका कारण मन अत्यन्तै निराश बन्यो, शरीरको स्फुर्ति मरेर गयो । धेरै बेरसम्म जीवनका तमाम कुराहरू सम्झिरहेँ । जीवनमा दुई चार पटक झन्डै मरेँ भन्ने पल आएनन् भने मान्छेले आफूलाई जहिल्यै विशेष सोच्न पुग्दो रहेछ । संसारका अर्बपति बाबुछोरा टाइटानिक डुबेको ठाउँमा पनडुब्बी लिएर किन जानुपर्थ्यो र ? मान्छेलाई उसको रहरले कहाँकहाँ पुयाउँछ । सगरमाथा चढ्न गएका सर मेलोरीलाई सम्झिएँ । डाँडाको बीचमा डाँडाहरू भन्दा गहिरो दहमा मैले दुस्साहस गरेँ । जिन्दगीको क्षणभङ्गुरतालाई मैले नजिकैदेखि महसुस गरेँ ।

जीवन जिउने क्रममा सँगालिएका अनुभव र विश्वासहरूले नै जिन्दगी बाँच्न प्रेरणा दिन्छन् । लङ्काबी यात्राको यो पल जिन्दगीभरका लागि स्मृति रहने भयो ।

हामी फेरि डुङ्गा चढ्यौँ । बोट चालकले अन्य डुङ्गासँगै प्रतिस्पर्धा गर्दै अझ जोडले कुदाए । मेरो मनमा भने अरू नै कुरा खेलेका थिए । रोपवेमा झुन्डिएर यात्रा गर्नु, जहाजमा उड्नु, बसमा गुड्नु, पानी जहाजमा तैरिनु । जोखिम नभएको ठाउँ त कतै पनि रहेनछ त ?

चालकले स्पिड बोट किनारतिरै पुयाए । हरियो जङ्गल किनारमा पुलको भग्नावशेष लाग्ने संरचना थियो । त्यही संरचनामा चिलहरू बसेका थिए । चालकले चिकेनका टुक्रा छरिदिए सायद । क्षणभरमा चिलहरू डाइभ हान्दै आएर पानीको सतहबाट मासु टिप्दै उड्न थाले । यो ठाउँलाई इगल फिडिङ भनिँदो रहेछ ।

यसपछि हामीलाई पुलाउ सिङ्गा बेसार भन्ने टापुमा लगेर झारियो । त्यहाँको समुद्री बिच अलिक फोहोर रहेछ । किनारमा सामुद्रिक जीवजन्तुका अवशेष रहेछन् । अलिक धारिला र चिप्ला ढुङ्गा रहेछन् । त्यहाँ पनि यशोदाको पौडी खेल्ने रहर पूरा भएन । समुद्री किनारमा नरम र सेतो बालुवा थियो । टापुमा बस्ती रहेनछ ।

दिउँसो डुङ्गा चढेकै ठाउँमा पुगेर हाम्रो आइल्यान्ड हपिङ यात्रा सकियो । डुङ्गाबाट झरेपछि हामी बस चढ्यौँ । साँझको खाना स्पाइस गार्डेनमा खायौँ । त्यतिन्जेलमा रातको ९ बजिसकेको थियो ।

खाना खाएपछि हामी बस चढ्यौं । लङ्काबीमा आजको रात हाम्रो अन्तिम रात थियो । अर्क दिन हामी प्लेन चढेर क्वालालम्पुर जाँदै थियौँ ।

हामी बसबाट फर्किरहेका थियौँ । हँसीमजाकमै कसैले शिवराजलाई ‘काले’ भनिदिएछ । सुन्नेबित्तिकै शिवराजको रिस टाउकोमा चढ्यो । ‘व्हाट डिड यु से ? यु सेड मि काले । आई विलथ्रो यु आउट फ्रम दिस बस नाउ !’ शिवराज अचानक जङ्गिए ।

माहोल एकाएक नमीठो भयो । मलेसियामा तमिलहरूलाई हेयात्मक तरिकाले काले भनिँदो रहेछ । तमिलहरूले मौका पर्दा लुट्छन् भनिन्छ । हामीलाई पनि आइटिनरीमा ट्याक्सवालाको विश्वास नगर्न र एक्लै नहिँड्न भनिएको थियो ।

शिवराजले आफूलाई रेसको आधारमा अपमान गरिएको महसुस गरे सायद । हामीले त्यसरी भनेको होइन भनेर सरी भन्यौँ ।

धेरै पछि मात्रै माहोल सहज भयो ।

०००