वरिष्ठ नेपाली कथाकार शमशेर अलीको निधन

मुख्य समाचार

३० अक्टोवर २०२६, कोलकाता

भारतीय नेपाली कथा साहित्यका विशिष्ट सर्जक तथा वरिष्ठ कथाकार शमशेर अलीको २९ अक्टोबर २०२६, बिहीबारका दिन कोलकातामा निधन भएको छ। उनी विगत करिब पाँच वर्षदेखि क्यान्सर तथा मिर्गौलासम्बन्धी जटिल स्वास्थ्य समस्यासँग जुध्दै कोलकातामा उपचाररत थिए। मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलाइसिस गराउँदै आएका अलीको लामो उपचार र जीवन सङ्घर्षको अन्ततः दुःखद अन्त्य भएको छ। १८ अगस्ट १९५६ मा कालेबुङको सिन्देबोङ बस्तीमा पिता स्व रुस्तम अली र माता सेलिना सितलिङ अलीका छोराका रुपमा जन्मिएका समशेर अली १९८० देखि नै साहित्य सिर्जनामा रुचि लिन लागेका थिए।

गम्भीर स्वास्थ्य प्रतिकूलताका बीच पनि साहित्य सिर्जनालाई निरन्तरता दिनु उनको जीवनको उल्लेखनीय पक्ष थियो। उपचारका क्रममा कोलकातामा रहँदा समेत उनले पाँचवटा कथासङ्ग्रह प्रकाशन गर्न सफल भए। शारीरिक पीडा र कठिन परिस्थितिले उनको सिर्जनात्मक चेतना तथा साहित्यप्रतिको समर्पणलाई कमजोर बनाउन सकेन। उनका कथासङ्ग्रह प्रकाशन हुनासाथ पाठकमाझ लोकप्रिय बन्ने गरेका थिए।

शमशेर अलीका कथाको प्रमुख विशेषता विषयवस्तुको नवीनता, प्रस्तुतिको रोचकता र स्थानीय जीवनको सूक्ष्म अवलोकन हो। समाजमा घटिरहेका सामान्य घटनाभित्र लुकेका असामान्य कथ्य र जीवनका विविध आयामलाई उनले आफ्नै मौलिक शैलीमा प्रस्तुत गर्ने गर्थे। सामान्य पात्र, परिवेश र घटनालाई समेत कलात्मक अभिव्यक्ति तथा विशिष्ट कथन संरचनामार्फत जीवन्त बनाउने उनको क्षमता असाधारण थियो। कथाका विषयवस्तुको खोजीमा निरन्तर सक्रिय रहने उनको सिर्जनशील स्वभावले नै उनलाई समकालीन कथाकारहरूबीच पृथक् पहिचान दिलाएको थियो।

उनका प्रकाशित कथाकृतिहरूमा बीउ भाले, सोल्दाती गोर्खा मोल्तो ब्योनी, आफ्रीन, हुट्टिट्याउँ, अबुई, मामा, द लास्ट डान्स र उँभौली रहेका छन्। यसका अतिरिक्त उनको संस्मरणात्मक कृति खँदुवा बन्दुक पनि प्रकाशित छ। उनका प्रकाशित कृतिहरूले भारतीय नेपाली कथा साहित्यमा उनको विशिष्ट उपस्थिति र दीर्घकालीन योगदानलाई स्थापित गरेका छन्।

अलीका कथामा संस्मरण, इतिहास र कल्पनाको सुन्दर संयोजन पाइन्छ। विशेषतः कालेबुङको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक परिवेश उनका कथाको महत्त्वपूर्ण आधारभूमि बनेको छ। कालेबुङको जनजीवन, सामाजिक सम्बन्ध, स्थानीय संस्कृति, परिवेश र समयक्रममा विकसित घटनाक्रमलाई उनले कथात्मक स्वरूप दिएका छन्। यस दृष्टिले उनका कथा साहित्यिक सिर्जना मात्र नभई एउटा भूगोलको समाज, संस्कृति र समयलाई अभिलेखित गर्ने महत्त्वपूर्ण साहित्यिक दस्तावेजसमेत हुन्।

उनका रचनामा स्थानीय जीवनको जीवन्त चित्रण, सामाजिक यथार्थको सूक्ष्म विश्लेषण र मौलिक कथनशैलीको विशिष्ट संयोजन भेटिन्छ। यही विशेषताले शमशेर अलीलाई भारतीय नेपाली कथा साहित्यको एउटा महत्त्वपूर्ण र स्मरणीय नामका रूपमा स्थापित गरेको छ।

उनको निधनले भारतीय नेपाली कथा साहित्यले एक प्रतिभाशाली र समर्पित सर्जक गुमाएको छ। जीवनको कठिनतम अवस्थामा समेत सिर्जनाकर्मप्रति अविचलित रहनु उनको साहित्यिक निष्ठा र प्रतिबद्धताको अनुपम उदाहरण हो। उनले आफ्ना सिर्जनामार्फत नेपाली साहित्यलाई दिएको योगदान र कालेबुङको समाज तथा जीवनलाई साहित्यमा सुरक्षित राख्न गरेको प्रयास दीर्घकालसम्म स्मरणीय रहनेछ।

विश्व परिक्रमा परिवार दिवङ्गत वरिष्ठ कथाकार शमशेर अलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त, इष्टमित्र तथा समस्त साहित्यिक समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ।

000

(नविन पौड्याल, कालिम्पोङको सहयोगमा)