दशैं : खुसीको पर्व !

कविता

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक)

– कृष्ण बाउसे

कलुषित धूम्रबीजले
देखाइरहेका थिए
सम्पदा-दहनपछिको रत्यौली ।

पोहोरको दसैँमा
ओभाना थिएनन्
मेरा आँखा ।
तैपनि
मनाएकै थिएँ ㅡदशैं।

शक्ति र सफलाले मैमत्त
भोगी मानव-प्रतापले
उष्मित हुन पुग्दा आमा हिमाल
यसपालि त
शान्त बगेको नदीको खप्परमाथि नै
बजारिन पुगी
उसकी काखे छोरी हिमनदी।

मेरो मनमा
कोलाहलमग्न छन्
त्रिशूलीको बगरभरि
स्वजनहरू
महिषासुरको आहारा भएका
ताजा दृश्य ।

तैपनि
मनाउँदै छु म
यसपालिको दशैं।

परापूर्व कालमा
यहीबेला हेर्थे रे
कृषकले अन्न भित्र्याउने साइत ।
यस्तै अवसरमा
आफ्नै दम्भको सिकार हुन्थ्यो रे
कुनै कलुषित विम्ब ।

प्राय: आँसुमा नै डुबेर
खुसीको पर्व मनाउन
जुर्ने गरेको छ मलाई ।

घटस्थापनाको कलशसमेत
प्राय: भरिएको हुन्छ आफ्नै आँसुले
तैपनि
गरिरहेको हुन्छु म हर्क बढाइँ
किनभने
बनाउन इच्छुक छु म –
पुर्खाको स्मृतिलाई
जैव-सांस्कृतिक विविधताको संगममा
अनन्त आशाको ध्वजा फहराउने
सुदीर्घ अनुष्ठान।