मानवताको विहङ्गम दृष्टिमा विजयादशमी

कविता

– डा. मधु माधुर्य

रातो टीका र जमराका प्रतीकहरूमा
कैद दसैँ –
हरेक वर्ष शरद् ऋतुको
छातीमा फुल्ने उत्सव!
आफ्नै अन्तरात्माभित्र चलिरहेको
‘मौन महासङ्ग्राम’ न​बुझेस​म्म
बोका रेटेर निधार सजाउने संसारमा:
वर्षैपिच्छे राजा हुने आशीर्वाद मैले पनि थापेको थिएँ…!
या सोमरस पिउँदै
कति रमाएको थिएँ, पिङ, लङ्गुरबुर्जा
र पूजापाठमा हराएको थिएँ।

जबजब बुझ्न थालेँ
विजयादशमीको शाश्वत अर्थ
आफैँभित्रका दानव, असुर र अहंकारमय
रावणहरूलाई वध गरेर
अनेक विधिहरूद्वारा फराकिलो
आफ्नो निधारमा
घस्न थालेको छु –
आफ्नै दोष र विषादहरूको विगुती
आफैँमाथि बरसाउँदै पावन आशीर्वाद – आत्मबोधको … !
अनन्त शून्यताको …!
निर्वाणको …!

ㅁ ㅁ