ज्ञानको क्षितिज

कविता

सुनिता अधिकारी

शून्यको सन्नाटाभित्र
कस्को पहिलो स्पन्दनले
कोर्‍यो होला अस्तित्वको पहिलो अक्षर?
कुन अदृश्य ज्योतिले
रोपिदियो होला सृष्टिको बिउ
अन्धकारको मुटुमा?
चेतनाको पहिलो प्रभातमा
अनगिन्ती प्रश्नहरूको भार बोकेर
कसरी जाग्यो होला मौन उत्सुकता?

उत्कण्ठाका पाइलाहरू पछ्याउँदै
मानवले ढुङ्गाभित्र आगो खोज्यो
ज्वालाभित्र उज्यालो खोज्यो
प्रकाशभित्र सम्भावना खोज्यो
र तिनै सम्भावनाहरूभित्र
खोजिरह्यो आफ्नै अस्तित्वको अर्थ।

समयका अनन्त तरङ्गहरूसँगै
नयाँ ज्ञानको क्षितिज उघ्रिँदै गयो
जति-जति बुझ्दै गयो ब्रह्माण्डलाई
झन् झन् गहिरो बन्दै गयो
आफैँलाई बुझ्ने ज्ञानको क्षितिज ।

०००