कवि तथा गीतकार भीमफेदीया विद्यालयमा सम्मानित

मुख्य समाचार

१८ बैशाख २०८३, भीमफेदी

कवि तथा गीतकार सुभाषचन्द्र पौडेल’भीमफेदीया’आफ्नो गाउँ भीमफेदीस्थित श्री महेन्द्र माध्यमिक विद्यालयको एक विशेष कार्यक्रममा बुद्ध जयन्तीका दिन सम्मानित भएका छन्।
वि.सं.२००४ सालमा स्थापित विद्यालयको ७९ औँ वार्षिक उत्सवका अवसरमा आयोजित वार्षिक भेलामा भएको सो कार्यक्रममा उनलाई सम्मान गरिएको हो।
विद्यालयको प्रगति प्रतिवेदन,शैक्षिक सत्र २०८३ को कार्य योजना तथा विद्यार्थी पुरस्कार र सम्मान कार्यक्रम अन्तर्गत भएको भेलामा भीमफेदीयाद्वारा रचित गीत ‘हाम्रो स्कुल’को विमोचन समेत गरिएको थियो भने उक्त गीतमा शिक्षिकाहरूले र यसअघि नै सार्वजनिक भइसकेको गीत ‘प्यारो गाउँ भीमफेदी’बोलका गीतमा विद्यालयका छात्राहरूले सुन्दर नृत्य प्रस्तुत गरेका थिए।कार्यक्रममा स-साना छात्राहरूले अन्य गीतहरूमा समेत सुन्दर नृत्य प्रस्तुत गरेका थिए।
सुन्दर नृत्य गर्ने कलाकार विद्यार्थीहरूलाई रुद्राक्षको माला लगाइदिएर भीमफेदीयाद्वारा सम्मान समेत गरिएको थियो भने विद्यालयका शिक्षकवर्गलाई पनि उनले रुद्राक्षको माला लगाइदिएर सम्मान गरेका थिए।
सम्मानका क्रममा उनले आफू भीमफेदीको भूमिपुत्र भएको बताउँदै भीमफेदीप्रति माया,लगाव र विद्यालयप्रति स्नेह तथा श्रद्धा रहेको बताए।मकवानपुर जिल्लाको पहिलो र पुरानो आफूले पढेको र पढाएको स्कुलबाट उत्पादित विद्यार्थीहरू देशकै उच्च तहमा पुगेको संस्मरण गर्दै उनले ऐतिहासिक महत्त्व बोकेको स्कुलबाट भविष्यमा पनि अब्बल जनशक्ति तयार हुने कुरामा विश्वस्त रहेको बताए।विद्यालयको ७९ औँ वार्षिकोत्सबका अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाई दिएका थिए।सोही अवसरमा भीमफेदीयाले स्थानीय ज्योति पुस्तकालयका लागि कम्प्युटर कि बोर्ड १० थान र माउस १० थान उपहारस्वरूप प्रदान गरेका थिए।
गत माघ २९ गतेका दिन भीमफेदीयाले’तिल गङ्गा गोविन्द स्मृति प्रोत्साहन छात्रवृत्तिप पुरस्कार’ प्रदान गरेको प्रसङ्ग प्रधानाध्यापक कुमार लामाले उठाएका सन्दर्भमा भीमफेदीयाले उक्त पुरस्कारलाई निरन्तरता दिने कुरा बताएका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार लामाले विद्यालयको वार्षिक प्रतिवेदन तथा आयव्यय विवरण पेश गर्दै विद्यालयलाई भौतिक,आर्थिक तथा नैतिक सहयोग प्रदान गर्ने सहयोगी हातहरूप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा कक्षा १ देखि १० सम्मका प्रथम,द्वितीय तथा तृतीय हुने,कक्षामा नियमित रूपमा हाजिर हुने,अनुशासित तथा सरसफाइमा उत्कृष्ट हुने छात्रछात्राहरूलाई नगद तथा शैक्षिक सामग्री सहित पुरस्कृत गरिएको थियो भने सहयोगी हातहरू र अभिभावकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि भीमफेदी गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठ रहेका थिए ।
सभापतिको आसनबाट बोल्दै विद्यालय व्यवस्थापन समिति का अध्यक्ष ईश्वरमान श्रेष्ठले विद्यालयको बारेमा संक्षेपमा प्रकाश पारेका थिए।कार्यक्रमलाई सफल तुल्याउन उपस्थित सबैप्रति आभार प्रकट गर्दै उनले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा जनप्रतिनिधिहरू सोमबहादुर घलान र बद्री पौडेलले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा सहायक प्रधानाध्यापक सविन दाहालले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक शिक्षिका किरण आले तथा सुनिता खनालले आकर्षक ढङ्गबाट कार्यक्रमको सञ्चालन र सहजीकरण गरेका थिए।

०००