१२ बैशाख २०८३, काठमाडौं
छहरा साहित्य समाज, धापासीले ह्वाइट माउन्टेन स्कुलको सभाकक्षमा योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह “बोकेदाह्री”को परिचर्चा कार्यक्रम समाजका सदस्यहरुका निम्ति सम्पन्न गरेको छ ।
कार्यक्रम सभाध्यक्ष, विशेष अतिथि जस्ता औपचारिकता नगरी अनौपचारिकरुपमा कार्यक्रम सञ्चालन गरिएको थियो । संस्थाका उपाध्यक्ष तोया गौतमले सहजीकरण गर्नु भएको सो कार्यक्रममा वक्ताहरुले “बोकेदाह्री” लघुकथासङ्ग्रहभित्रका आफूलाई मन पर्ने कथाहरुको चर्चा गरेका थिए । प्रा. नारायण प्रसाद कट्टेलले लघुकथासङ्ग्रहभित्रका केही लघुकथाका विशेषताहरुको चर्चा गरे भने तिलक शर्मा पौडेल, भोला प्रेमी, मीता तिमिल्सिना, भगवती सापकोटा, सारा तिमिल्सिना, आनन्द पौड्याल, ज्ञानेन्द्र प्रसाद दाहाल, रमा शर्मा, रघुनाथ आचार्य र जगन्नाथ देवकोटाले आ–आफूलाई मनपर्ने लघुकथाको चर्चा गरे । डा. वासुदेव काफ्लेले कघुकथाकारको लेखकीय परिचय प्रस्तुत गर्दै “बोकेदाह्री” लघुकथा सङ्ग्रहभित्र परेका केही लघुकथाहरुको चर्चा गरे । उनले “सम्बन्ध” शीर्षक लघुकथा आफू र आफ्नी आमालाई समेत मन परेको कुरा उल्लेख गरे । प्रा. गङ्गाधर कट्टेलले “बोकेदाह्री” लघुकथासङ्ग्रहभित्रका कथाहरुको चर्चा गर्दै आफ्नो समालोचकीय दृष्टिकोण प्रस्तुत गरे । कार्यक्रम सञ्चालक छहरा साहित्य समाजका उपाध्यक्ष तोया गौतमले आफूले लघुकथासङ्ग्रह भित्रका सबै लघुकथाहरु पढेको र धेरै लघुकथाहरु आफूलाई मन परेको भनी बताए ।
अन्त्यमा छहरा साहित्य समाजका अध्यक्ष तथा लघुकथासङ्ग्रह “बोकेदाह्री”का लेखक योगेन्द्र तिमिल्सिनाले आफूलाई निकै मनपरेको “मान्छे” शीर्षक लघुकथा वाचन गरेका थिए र सहभागीहरुका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
०००
