नाग पञ्चमी

कथा

किरण आचार्य, नेपालगञ्ज

नागपञ्चमीको दिन नागको फोटोमा पूजाआजा गरिसके पछि कमला र उनका परिवार विहानको भात खाने तरखर गर्न लागेका थिए कि बाहिर बिन बजाएको आवाज आयो । छोरी निशाले भनी , ” आहा !! मलाई बिनको आवाज कस्तो मनपर्छ । बलिउडको नागिन फिल्मलाई सम्झिन्छु ।”
“किन नि ? ” ब्यङ्ग गर्दै दाजु महेशले सोध्यो ।
“कस्तो मीठो धुन क्या । श्रीदेवी त नागिन भएर नाच्न लाग्ने । के साँचै होला ? ”
“मनोरञ्जन हो के को साँचो हुनु ?”
अलिबेर पछि आमा कमलाले भनिन , ” एएए ! आज नागपञ्चमी भएको हुनाले सपेराले नाग ल्याएको होला । जाउँ , पहिले नागदेवको दर्शन गरौँ ।”
पति उमेश , महेश र निशा एकैपटक हाँसे ।
महेशले भन्यो , “अन्धविश्वासको पनि सीमा हुन्छ नि । आज नागको पूजा गरियो अझ दर्शन गर्न भातै नखाएर जाने रे । कहिले कुकुर पूजा भन्या छ, कहिले काग अनि कहिले पिपल त कहिले गोबर्धन पहाड । कस्तो धर्म मान्छौँ क्या , हामी । केही त सुधार गरौँ समय अनुसार । ”
कमलाकी सासुआमाले रिसाउँदै भनिन , “पापिष्ट, देवताहरुलाई के भनेको ?”
उनीहरु सबैका कुरा सुनीरहेका उमेशले भने , ” ए बाबू , तैँले वातावरण विषय पढेको छस ? ”
“हजुर । पढेको छु ,बुबा ?”
“अनि विज्ञानमा पारिस्थितिक प्रणाली नि ?” “पढेको छु । किन र बुबा ?”
“यो जुन जुन जनावर , सर्प , पहाड र बृक्षको पूजा गर्ने भनेर भनिएको छ नि ती ती कुराको संरक्षण गरौँ भनेको होला कि नहोला ?”
सबैले झस्केर एकैपटक भने , “हँ? हामीले त यो कोणबाट सोँचेकै थिएनौँ ।

०००