पवन आलोक नियात्रा पुरस्कार अब नियात्रा सम्मान हुने

मुख्य समाचार

२५ पुस २०८२, काठमाडौं ।

२०७७ सालमा वरिष्ठ नियात्राकार पवन आलोकको नाममा श्रीमती रेखा कँडेलद्वारा स्थापित रु २५ हजार नगद राशिको “पवन आलोक नियात्रा पुरस्कार” अब पवन आलोक नियात्रा सम्मान हुने भएको छ । सो सम्मानका साथ रु ५० हजार प्रदान गरिने भएको छ ।
प्रत्येक वर्ष प्रकाशित हुने नियात्रा कृतिमध्येबाट मूल्याङ्कन समितिको सिफारिसको आधारमा एक उत्कृष्ट कृतिलाई प्रदान गरिदै आएकोमा आउँदो स‌ंस्करणदेखि नियात्राकारले नियात्रा विधाको उन्नयनमा पुर्‌याएको योगदानको आधारमा प्रदान गरिने भएको छ । नियात्रा समाज नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको उक्त पुरस्कार स‌ंस्थापक श्रीमती रेखा कँडेल र नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले आज मिति २०८२ पुष २५ गते पुरस्कार संञ्चालनको संशोधित विनियमावलीमा हस्ताक्षर गरेका छन्।
वरिष्ठ नियात्राकार पवन आलोक, साहित्यकार राधेश्याम लेकाली तथा नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाको उपस्थितिमा पुरस्कार सञ्चालन विनियमावलीमा हस्ताक्षर भएको थियो ।
स्मरण रहोस्, यस पवन आलोक नियात्रा पुरस्कार पहिलोपल्ट विसं २०७७ मा ‘हिमाल शेर्पा र यती’ नियात्रा कृतिका लागि नियात्राकार भीष्म उप्रेतीलाई, दोस्रो पल्ट विसं २०७८मा ‘ग्रीष्मको नीलो बतास’ नियात्रा कृतिका लागि नियात्राकार डा दामोदर पुडासैनी किशोरलाई, तेस्रो पल्ट २०७९ मा ‘मिसर’ नियात्रा कृतिका लागि इल्या भट्टराईलाई र चौथो पल्ट विसं २०८० मा ‘गंगचुलीको हिउँ’ नामक नियात्रा कृतिका लागि नियात्राकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिएको थियो ।
सो निर्णय भएको नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले जानकारी दिनुभएकी छिन् ।