“मरजाद” र “चौतारो चिन्तन” माथि परिचर्चा कार्यक्रम सम्पन्न

समाचार

१९ पुस २०८२,

वन तथा वातावरण साहित्यिक समूहको आयोजनामा प्रा. अवधेश सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’ र डा. हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह ‘चौतारो चिन्तन’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
भर्चुअल रुपमा संचालन गरिएको उक्त कार्यक्रममा देशभित्रका साहित्यकारहरूका साथै अमेरिका, क्यानाडा लगायत विदेशमा रहनु भएका साहित्य प्रेमी महानुभावहरू समेत उपस्थित रहेका थिए ।
सम्पूर्ण उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्दै कमला रुपाखेतीले वन तथा वातावरण साहित्य समूह साहित्यको माध्यमबाट पर्यावरण संरक्षणका लागि सामाजिक चेतना जगाउन सक्रिय समूह हो। तर यस समूहले संचालन गर्दै आएको विगतका कार्यक्रमहरू भन्दा लघुकथाका कृतिहरूमाथि परिचर्चा गर्न लागिएको यो कार्यक्रम भिन्न छ भन्नु भयो ।
अवधेश सिंहको मरजाद सङ्ग्रहमाथि परिचर्चा गर्दै भाषा आयोगका पूर्व सदस्य गोपाल अश्कले सङ्ग्रहभित्र रहेको लघुकथाहरूको चिरफार, लघुकथा र कथा लेखनका विविध पक्षको चर्चा गरे ।
डा. कुसुमाकर शर्माले डा. हिमलाल श्रेष्ठको चौतारो चिन्तनमाथि परिचर्चा गर्दै यस सङ्ग्रहको कभरले पर्यावरणीय चासो, चिन्ता र चिन्तनको सशक्त रुपमा मुखरित गरेको बताए।
दुवै परिचर्चाकारहरूले दुवै सङ्ग्रहहरू सर्जकको पहिलो लघुकथा कृति भएकोले भविष्यमा यस्तै लघुकथाको सङ्ग्रह प्रकाशित होस् र यसमा देखिएका केहि कमि तथा सिद्दान्तका दृष्टिकोणले अपुग भएका विषयलाई अङ्गीकार होस् भन्ने शुभकामना दिए ।
सो कार्यक्रलाई डा. ऋषि वस्ताकोटीले सहजिकरण गरेका थिए ।
समूहका संयोजक डा. रोशन शेरचनले कार्यक्रमको सारांश प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण साहित्यकारहरू लगायत सर्जक द्वय र परिचर्चाकार द्वयलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

०००