नवीन पौड़याल, कालिम्पोङ, भारत
नेपाली सङ्गीताकाशमा नारायण गोपाल यस्ता कलाकार हुन् जसका सबै गीत लोकप्रिय बनेका छन् र पुस्तापुस्तामा हस्तान्तरण हुँदै आइरहेका छन्। उनले थोरै गीत गाए तर सबै गुणात्मक गाए। उनका जम्मै गीत कर्णप्रिय छन्, श्रुतिप्रिय छन्, सुपर हिट छन्। अहिलेका नयाँ पुस्ताका युवक युवतीहरूका निम्ति पनि उनी उत्तिकै लोकप्रिय छन्। जस्तै नेपाली गीत सुन्दिनँ भन्नेले पनि नारायण गोपालको नाम भने सुनेको हुन्छ, उनका कुनै कुनै गीत सुनेका नै हुन्छन्।
उनको गायन कलालाई सबैलाई उत्कृष्ठ भनेर नै स्वीकार गरेका छन्। उनको गायन लगभग तीन दशक रह्यो। उनी कलेज पढ्दा खेरि नै गायकको दर्जा पाइसकेका थिए। उनी बरोडामा शास्त्रीय सङ्गीत सिक्न गएका हुन् यद्यपि यो अभीष्ट अध्ययनलाई अधुरो राखेर फर्केका हुन्। उनका पिताजीले उनलाई शास्त्रीय गायनतिर लाग्न अराएका थिए तर उनलाई सुगम सङ्गीत गर्न नै लेखेको थियो। उनको गायनमा सुमधुरता, आह्लादकारिता, स्पष्टता पाइन्छ। उनको गायनलाई बुलु मुकारूङले तीन चरणमा विभाजन गरेका छन्- प्रथम चरण दोस्रो चरण र तेस्रो चरण। उनको पहिलो चरण केही आभ्यासिक चरण थियो। त्यतिबेला पनि उनका केही गीत लोकप्रिय भइसकेका थिए। उनको गायनको दोस्रो चरणमा उनले मुख्य गरी गोपाल योञ्जनको साथ पाएका थिए। तेस्रो चरणमा उनले मुख्यगरी दिव्य खालिङको साथ लिए।
नारायण गोपालको गायनमा हुनुपर्ने सम्पूर्ण गुण र विशेषता थिए। गायनमा हुनुपर्ने, गलामा सुमधुरता, शब्दचयन र शब्दोच्चारणमा स्पष्टता, स्वरमा मौलिकता, तान र सुरमा तीब्रता, लयमा सक्रियता, आवाजमा सीमाबद्धता, आह्लादकारिता आदि जस्ता गुण नारायण गोपालका गायनमा पाइन्छन्।उनको स्वरमा ईश्वरीय अलौकिक गुण पाइन्छ। यही अलौकिकताका कारणले उनका स्रोताहरू गीत सुन्दा आह्लादित हुन्छन्, आनन्दले झुल्छन्।उनका गीतमा स्रोताले आफ्नै जीवनका अनुभव र अनुभूति पाउँछन्। उनी गीतको चयन खुबै सचेत भएर गर्दथे। गीत कमसल छ भने स्थापित गीतकारका गीत पनि गाउँदैन थिए बरू आफुले रूचाएको खालको लेख्नेलाई गीत आफैं मागी मागी गाउँथे भन्ने जानकारी विभिन्न गीतकारका लेखहरूबाट थाहा पाइन्छ। उनले जसरी भए पनि गीत चाहिँ अर्थवान, उच्चस्तरीय, सुमधुर, सुललित होस् भन्ने कुरा खोजेका थिए।
नारायण गोपालसित दार्जिलिङको घनिष्ठ सम्बन्ध छ। उनी दार्जिलिङलाई मन पराउँथे अनि दार्जिलिङले पनि नारायण गोपाललाई धेरै प्रेम गरेको थियो। दार्जिलिङको घर घरमा नारायण गोपालका श्रोता-भक्तहरू थिए। अहिले पनि नारायण गोपाल हाम्रो मन मस्तिष्कमा विराजमान छन्। नारायण गोपालका रेकर्ड र क्यासेट किन्न दार्जिलिङ सधैँ लालयित हुन्थ्यो। दार्जिलिङ र नारायण गोपालको ससुराली र ज्वाँइको तथा दार्जिलिङको मितछोराको सम्बन्ध थियो। उनको जीवनका दुई अभिन्न अङ्ग पत्नी र मित दुवै दार्जिलिङबाट पाएका थिए। उनी दार्जिलिङे ज्वाईं थिए। उनले दार्जिलिङकी पेमला लामासित पत्र-मित्रताबाट हुर्किएको भावना प्रेम बन्यो अनि त्यही प्रणयमा परिणत भयो। दुईजनाको पत्र-मित्रता केही वर्ष चलेपछि दुवै भावनात्मक रूपमा प्रेममा बाँधिए। पेमलालाई भेट्न दार्जिलिङ आए, पेमलालाई दार्जिलिङको प्रसिद्ध महाकालबाबा मन्दिरमा भगवानलाई साक्षी मानी स्वयम्बर गरे, दुई एक भए। त्यसमा ईश्वरवल्लभ, गोपाल योञ्जन कर्म योञ्जन साथमा थिए, साक्षी बनेका थिए। नारायण गोपालहरूको बिहाको चाँजो-पाँजो मिलाइदिने नै यीनै तीनजना थिए। पेमलालाई लिएर काठमाडौं घर जाँदा आमा बाबुले स्वीकार गरेनन्। यसो हुँदा उनीहरू भूपी शेरचन लाई सम्झिएर पोखरा गए। पोखरामा भूपी शेरचनको आश्रयमा बसे, त्यहाँ उनले अमरसिंह माध्यमिक विद्यालयमा शिक्षण कार्य गरेका थिए। पछि घरबाट बोलाहट भएपछि मात्र उनीहरू काठमाडौं गए। पेमला उनका निम्ति वरदान थिइन्, पहिलो श्रोता थिइन्। जीवनभरि मायालु भएर रहिन्।
नारायण गोपालसित दार्जिलिङको ग्रह मिलेको हुनपर्छ। गोपाल योञ्जन उनका घनिष्ठ मित्र, मित, शुभचिन्तक सबै थिए। गोपाल योञ्जनको मित्रता छुटेपछि दार्जिलिङकै दिव्य खालिङ पनि उनका घनिष्ठ ‘सोम’ का रूपमा उदाए। उनीसित पनि उनको जीवनको पछिल्ला दस वर्ष जति साङ्गीतिक सहकार्य भयो। यीबाहेक दार्जिलिङका अम्बर गुरूङको सङ्गीतमा पनि उनले केही गीत गाएका थिए। दार्जिलिङका चन्दन लोम्जेल, कर्म योञ्जन, शान्ति ठटालको संगीतमा पनि उनले गीत गाएका छन्। अरूणा लामा र दिलमाया खातीसित पनि मिलेर युगल गीत गाएका थिए।
नारायण गोपालका लागि साङ्गीतिक कार्यक्रम गरिदिनु, उनको निधनको लगत्तै उनको नाममा शोक श्रद्धाञ्जलि कार्यक्रम सिलगड़ीमा राखिनु, नारायण गोपालको स्मृतिमा पुरस्कार वितरण गर्नु, उनको निधनमा उनका लाखौंश्रद्धालु शोकाकुल हुनु, त्यतिखेर सबैको मुख मुखमा नारायण गोपाल नै नारायण गोपाल स्वतः प्रकट हुनु, कतिजनाले एक छाक खाना छोड्नु जस्ता प्रकारले उनको सम्मान गरे। बरू उनलाई त्यतिको मान सम्मान नेपालले गरेन होला। सुनिन्छ नेपालले त उनको प्रतिभालाई उति फस्टाउन दिएन। उनको स्वाभिमानी स्वभावलाई अभिमानी स्वभाव ठानेर उनलाई लत्यायो। उनीबाट चाकरी चापलुसी खोज्यो जो उनमा थिएन। रेडियो नेपालले उनका धेरै गीत प्रशारण गरिदिएन भन्ने जानकारी पाइन्छ। दार्जिलिङले उनलाई सदा ज्वाइँ नै ठानेर सम्मान दिइरह्यो। दार्जिलिङका जनजनमा उनीप्रति साँचो भक्ति स्नेह र प्रशंसा थियो।
नेपाली सङ्गीताकाशमा दुई गोपाल उज्ज्वल नक्षत्र हुन्। गाउने नारायण र बजाउने गोपाल योञ्जन भएर नेपाली सङ्गीतलाई उचाइँ दिएका हुन्। नेपाली जगतले यी दुईका सहकार्यबाट लाभान्वित भएका छन्। नेपालीमा विशेवस्तरीय गीतको सिर्जना भयो, कालजयी गीत बनिए। यद्यपि दुइ दुईका बीचको सम्बन्धमा तुषाराघात पनि भएको हुनुपर्छ। दुवैजना बोलीचाली समेत नभएको पनि उल्लेख पाइन्छ। तपाईँबिना पनि नै मेरो गीत अझै राम्रो हुन सक्छ भन्ने कुरा गरेर उनीहरू छुट्टिएका थिए भन्ने कुरा सुनिन्छ। यद्यपि यस कुरामा कतिको सत्यता छ त्यो त उनीहरू दुवैलाई मात्र थाह थियो। त्यसपछि नारायण गोपालले आफैंले पनि आफ्ना केही गीतमा सङ्गीत दिएको चर्चा पाइन्छ। गोपाल योञ्जनसितको यो अन्तरालमा दिव्य खालिङ पनि नारायण गोपालको नजिक भए। नारायण गोपाल र दिव्य खालिङको युगलबन्दीले पनि नेपाली गीतको उचाइँ बढेको हो। दुईजना गोपालहरूले लगभग दस वर्ष जति सहकार्य गरेका थिए। गोपाल योञ्जन र नारायण गोपालको खटपटको कुरा त उनका अन्य सहकर्मीहरूले समेत उल्लेख गरेका छन्। किरण प्रधानले पनि एक ठाउँमा आफुले गोपाल योञ्जनले किरण प्रधानलाई गीत गाउन दिँदा नारायण गोपालले हियाएर केही भनेको कुरा पनि उल्लेख गरेका छन्। चेतन कार्कीले समेत दुईजनालाई फेरि जोड्ने प्रयास गरेका थिए तर सफल भएनन् भन्ने कुरा उल्लेख गरेका छन्। दुईजनामा केही मतभेद थियो भनेर गोपाल योञ्जनकी छोरी सिर्जनासिंह योञ्जनले भने पटक्क स्वीकार गरेकी छैनन्। नाराय़ण गोपाललाई घाटबाट जलाएर फर्केपछि गोपाल योञ्जन आफ्नो घरमा बसेर धेरै बेर रोएका थिए भन्ने कुरा उल्लेख गरेकी छन्। यद्यपि दुईमा केही तुषारापात भएको हुनुपर्छ। नारायण गोपालको निधनमा गोपाल योञ्जनले स्मरिकामा नारायण गोपालबारे खासै उल्लेखनीय उद्गार व्यक्त गरेका छैनन्। नत्र त्यत्रा वर्ष सङ्गत गरेका र आफ्नो मितका बारेमा सांकेतिक रूपमा थोरै मात्र लेख्नु स्वाभाविक थिएन। उनले चाहेका भए नारायण गोपालको आनीबानी, दार्जिलिङसित आत्मीयता, गायनकला, सत्संगति, गायनयात्रा, दुईबिचका मिठा मिठा संस्मरण आदिबारे प्रश्स्त लेख्न सक्थे। यद्यपि दुवै सरस्वतीपुत्र थिए। दुवै लोभलाग्दा, होनहार प्रतिभाशाली थिए, दुवै साङ्गीतिक क्षेत्रका सगरमाथा उचाईका थिए। ।
नारायण गोपालले कतिवटा गीत गाए, त्यो खोजी पर्नुपर्ने देखिन्छ। कसैले उनका गीत एक सय सत्तरीवटा भनेका छन् त कसैले योभन्दा बढी। जति गीत भए तापनि गीति अल्बम थोरै हुन्। उनको निधनपछि भने म्युजिक नेपाल आदिले अल्बम निकालेका हुन्। मितज्यू नाइट, गीतियात्रा-१, ब्लु नोट्स आदि उनका गीतका अल्बम हुन्। उनको निधनपछि म्युजिक नेपालले नारायण गोपाल श्रद्धाञ्जलि भन्ने क्यासेट अल्बम निकालेको थियो। उनका गीति क्यासेट हारालुछ बिक्री हुन्थे। सिक्किम, दार्जिलिङ कालिम्पोङ, सिलगड़ी, खरसाङ मिरिक बजारदेखि लिएर ससाना बजारतिरपनि नारायण गोपालका क्यासेट बिक्री हुन्थे र घर घरमा क्यासेटबाट गीत बज्थ्यो। गीतियात्रा, ब्लु नोट्स् जस्ता फिते क्यासेट खुब लोकप्रिय थिए।
नारायण गोपालले आफ्नो जीवनकालमा केही साङ्तीतिक कार्यक्रम गरेका थिए। नेपालतिर कतिचोटि गरे होलान् त्यसको लेखाजोखा गरिएको छैन। यता भारतमा दुई चार चोटि स्टेजमा कार्यक्रम गरेका थिए। सन् १९६६ तिर उनको एउटा साङ्गीतिक कार्यक्रम थियो। त्यसमा कार्यक्रममा उनका मोटा मोटा औँलाहरूले हार्मोनियमका रिडहरू भत्किउन्जेलसम्म बजाएका थिए भन्ने संस्मरण शान्ति ठटालले सुनाएकी हुन्। (जे. के. बराइली, बिर्सनै नसकिने गीत-सङ्गीतका पदचापहरू, पृष्ठ ३३२)। त्यसपछि सन् १९६७ मा पनि दार्जिलिङको क्यापिटल हलमा पनि एउटा साङ्गीतिक कार्यक्रममा नारायण गोपालले गीत प्रस्तुत गरका थिए। त्यसपछि सन् १९६९ मा अक्टोबर महिनामा दार्जिलिङ र कालिम्पोङमा मितज्यू नाइट कार्यक्रम भएको थियो। कालेबुङको कुमुदिनी स्कुलको धर्महलमा नारायण गोपाल र नारायण गोपालले मिलेर कार्यक्रम गरेका थिए। १७ र १८ जनवरी, १९८९ मा सिलगडीको दीनबन्धु मञ्चमा ‘जागृति सङ्घ’ सिलगड़ीको आयोजनामा स्वर्णिम सन्ध्या कार्यक्रम सम्पन्न भएको थियो। त्यसमा भक्तराज आचार्य र लोचन भट्टराई पनि सामेल थिए। त्यस कार्यक्रममा नारायण गोपाल चर्चाको शिखरमा पुगे। सिलगडीका नेपाली, हिन्दी, बङ्गाली, अङ्ग्रेजी दैनिक पत्रिकामा यस समाचारले भरिएका थिए।
नेपाली समाजमा कोही पुरूषको स्वर मिठो भए नारायण गोपालको जस्तै स्वर भन्ने उपमा दिइन्छ। यो नारायण गोपालको स्वरको तृष्णा हो, चाहना हो। उनी नेपाली समाजका धुकधुकी हुन्। यद्यपि उनको जस्तो स्वर भएका धेरै छन्, हजारौं छन् तर नारायण गोपाल नै कोही हुन सक्दैन। उनको गायनको छेउछाउ पुग्न कोही सक्लान् तर नारायण गोपालको गीतको तृष्णा मेट्न कोही सक्दैन। यो त उनको दिव्य स्वर हाम्रो जनमानसमा घुसिसकेको छ। नारायण गोपालको स्वरलाई मन नपराउने यदि कोही छ भने कि त उ बहिरो हो, कि पत्थर जडित मुटु भएको हो, कि सङ्गीत नै नबुझ्ने मूढ़ व्यक्ति हो।
दार्जिलिङ जिल्लाभित्रको सिलगडी शहरका केही गारायण गोपालप्रेमीहरूले उनको निधनको लगत्तै दुई महिनापछि स्वर सम्राट नारायण गोपालको सम्झनामा प्रतिभा परिचय साँझ कार्यक्रम सम्पन्न भएको थियो। बी बी विश्वकर्माको अगुनवाइमा उनकै बाटुली प्रकाशनको आयोजनामा १९९१ को फरवरी २३ र २४ तारिक २ दिन दिनव्यापी कार्यक्रम मित्र सम्मेलन भवन सिलगडीमा सम्पन्न भएको थियो। यसै कार्यक्रममा नारायण गोपालको सम्झनामा उनको स्मृतिमा विभिन्न विधाका कलाकारलाई ‘नारायण गोपाल स्मृति पुरस्कार’ले सम्मानित गरेको थियो। नाट्यअभिनय, सङ्गीतकार, समाजसेवा, पत्रकारिता, गायन आदि क्षेत्रमा नारायण गोपालका नाममा पुरस्कार दिन थालिएको थियो। यस कार्यक्रमा उनलाई श्रद्धाञ्जलि दिएर एउटा उद्घाटन गीत पनि बी बी विश्वकर्मको शब्द र कृष्ण घतानीको सङ्गीतमा प्रस्तुत भएको थियो। त्यसै गरी २३ र २४ फरवरी, १९९२ मा पनि प्रतिभा परिचय साँझ पनि सम्पन्न भएको थियो।
नारायण गोपालको निधनमा काठमाडौं एक दुई पत्रिकाले श्रद्धाञ्जलि अङ्क भने प्रकाशित भएको थियो। यद्यपि नारायण गोपाल स्मृति ग्रन्थ भनेर नै भने नाम्ची सिक्किमबाट प्रकाशित भएको छ। इश्वी २०१९ मा मोहन प्रकाश राईको सम्पादनमा परिमल प्रकाशन नाम्ची सिक्किमबाट‘स्वर सम्राट नारायणगोपाल स्मृति ग्रन्थ’ नामक एउटा गहकिलो पुस्तक प्रकाशित भएर गतिलो काम भएको छ। यसमा माघ १९ गते, २०४७ मा नारायण गोपालको निधन हुँदा विभिन्न सङ्घ-संस्था निकायहरूबाट उनको परिवारजनमा पठाइएका शोक समवेदना पत्रहरू प्रस्तुत गर्दै उनका विभिन्न प्रकारले मूल्याङ्कन गरेका लेखहरू पनि समावेश गरिएका छन्। यसमा नारायण गोपालको गीत गायन, व्यक्तित्व, कृतित्व, उनीसितका संस्मरण, उनको आनीबानी आदि सबै पक्ष समेटिएका भारत र नेपालका जम्मा उनत्तरजनाका लेखहरू समावेश छन्। यसमा मुख्य गरी, अम्बर गुरूङ, प्रेमध्वज प्रधान, अरूणा लामा, कर्म योञ्जन, कालीप्रसाद रिजाल, चेतन कार्की, तारादेवी, दीपक जङ्गम, दिनेश अधिकारी, दिव्य खालिङ, नगेन्द्र थापा, गोपाल योञ्जन, देवकुमार दुमी, पेमाला गुर्वाचार्य, बुलु मुकारूङ, बी बी विश्वकर्मा, भैरवनाथ रिमाल कदम, भीम विराग, भुपेन्द्र रायमाझी, लोचन भट्टराई, डा विश्वम्भर प्याकुरेल आदि जस्ता सङ्गीतका साधकहरूका पनि लेखहरू समावेश छन्। अझ नगेन्द्र थापा, चेतन कार्की, बुलु मुकारूङ र पेमाला गुर्वाचार्यका लेखबाट नारायण गोपालको वास्तविक कुरा जान्न सकिन्छ। नगेन्द्र थापाका अनुसार नारायण गोपाल एक रसिला हँसिला, मिलनसार, केटाकेटी स्वभावको विनोदी स्वभावका थिए। नारायण गोपाल इतिहासको गहिरा अध्येता थिए भन्ने जानकारी दिएका छन्। उनी असनमा बस्ता पहलमानी पनि गर्थे। अम्बर गुरूङले नारायण गोपालको बारेमा सन्तुलित विचार व्यक्त गरेका छन्। उनीहरूका बिचमा दुई वर्ष बोलीचाली बन्द भए तापनि पनि पछिबाट फेरि मित्रता सुचारू भएको थियो भन्ने मत अघि सारेका छन्। तारादेवीले आफ्नो संस्मरणमा नारायण गोपाल घमण्डी पटक्क होइनन्, तारादेवीलाई बहिनीसमान व्यवहार गर्थे, तारू भन्थे भन्ने संस्मरण लेखेकी छन्। यस ग्रन्थ अध्ययन गर्दा नारायण गोपाल एक साँच्चैका ईश्वरप्रदत्त गायक थिए, नेपाली सङ्गीतका सगरमाथा थिए भन्ने कुरा बुझिन्छ। एक संस्मरणमा रनजीत गजमेरले चिनो फिल्मको गीत रेकर्डिङका क्रममा नारायण गोपाल मुम्बईमा गजमेरका घरमा बसेका बेला कति सरल व्यवहार गर्ने, बसुन्जेल मिठा मिठा खाना ढुक्कै पकाउने, हँसिला रसिला र सजिला थिए भन्ने कुरा सुनाएका छन्। यसर्थ, उनी घमण्डी, सन्की थिए भन्ने कुरा कतैबाट पुष्टि हुँदैन बरू उनी सरल विचारका, मिलनसार, सहयोगी थिए। उनी अभिमानी नभएर स्वाभिमानी थिए, नझुक्ने प्रवृत्तिका थिए भन्ने कुरा बुझिन्छ। कहिलेकाँही झडङ्ग रिसाएर आफ्ना साथीभाइ वा गाउँदै गरेको गीतको रेकर्डसमेत छोडेर जान्थे भन्ने जस्ता कुरा सामान्य हुन्। आम मानिस झैं उनी पनि सबैलाई रिझाएर राख्न नसक्ने सामान्य मानिस थिए। मानिसमा हुने सामान्य कमी कमजारी उनकामा पनि थिए।
दार्जिलिङका पुरण गिरीले ईश्वी २०२२ मा मर्मको मिठास नामक एउटा गीतिकाव्य लेखेका लेखेका छन्। यो काव्य अत्यन्तै मिठासले भरिएको छ। यसको अध्ययन गर्दै जाँदा पाठकलाई नारायण गोपालको जीवनी रहेछ भन्ने लाग्छ। यस काव्यको पृष्ठभूमि पात्र नारायण गोपाल हुन् र उनलाई नै काव्यनायक तुल्याएर गीत काव्य रचिएको छ। प्रमुख पात्रको नाम हरि राखिएको छ। यस नामबाट नै पाठकले छनक पाउँछन् किनकि नारायणको अर्को नाम हरि पनि हो। यसमा नारायण गोपालसित कुनै शारदा नामकी युवतीसित घनिष्ठ प्रेम बसेको हुन्छ। गायनमा लट्टिएर नै शारदा हरिसित मोहित हुन्छिन्। दुईजनाको प्रेम विवाहमा परिणत गर्न खोज्दा हरिको रक्सी पिउने बानी स्पष्ट हुन्छ। शारदाका आमा बाबु हरिको कलाकारितालाई स्वीकार गरे पनि मदपानको कुलतमा डुबेको मत्थुलाई छोरी दिन कदापि राजी हुँदैनन् बरू शारदाकै मन फर्काएर हरिसित छुटाएर अर्को पात्र उदार भन्ने युवकसित बिहा गराइदिन्छन्। बिहेपछि शारदाले आफ्नो पति उदारलाई आफ्नो र हरिका बीचको विगतको प्रेमकथा सुनाउँछे तर पनि पतिले सहजै स्वीकारी उदारता देखाउँछ। यसपछि हरि र उसको गायनमा मोहित हुने लक्ष्मीको प्रेम हुन्छ र उनीहरूको बिहा भने सजिलै हुन्छ। लक्ष्मीका बाबु आमाले यति ठुला गायक हरिलाई छोरी सजिलै दिन्छन्। बिहेपछि पनि हरिले शारदालाई फोन गरी गीत र अन्य भावना पोखाउँदै गर्छ। पछि हरि बिरामी भई अस्पतालमा भर्ती हुँदा शारदाको पति उदार पनि विमार भएर त्यहीँ भर्ती भएको हुन्छ। त्यहाँ फेरि शारदा र हरिको भेट हुन्छ। शारदा र लक्ष्मीको भेट भएर शारदा हरिको प्रशंसक भएर हरिको सेवा गरेको कुरा जनाउँछे। एकदिन लक्ष्मी बाहिर गएका बेला शारदाका हातमा हरिको निधन हुन्छ। त्यतिबेला दुईजनाको प्रेमको विजय भएको सार्थकता पाएको उल्लेख छ।
मर्मको मिठास काव्यको मूल कथा नै नारायण गोपालको जीवनी हो। यसमा भएको कथावस्तु नारायण गोपालकै जीवनीलाई आधार बनाएर तयार पारिएको हो। एउटा उत्कृष्ठ गायकको प्रेमकथालाई गीतकै माध्यमबाट प्रकाश पारिएको छ। रक्सी पिउने बानीले गर्दा उसको प्रेमिका छुट्यो, स्वास्थ्य छुट्यो। शारदालाई मगनी गर्न जाँदा हरिले गोपाल र कर्मलाई लिएर गएको कुरा उठाइएको छ जुन उनका मित गोपाल योञ्जन र मितदाजु कर्म योञ्जन हुन्। पछिल्ली प्रेमिका लक्ष्मी सम्भवतः उनकी धर्मपत्नी पेमाला थिइन्। कथामा केही थपघट, काल्पनिकता, भावुकता आदिका फुलबुट्टा भरेर काव्यलाई सुन्दर र मौलिक पारेका छन्। यद्यपि यसका काव्यनायक नारायण गोपाल नै हुन्। यसरी नारायण गोपालको प्रेमकहानीलाई पुरण गिरीले बडो सरल गेयात्मक र काव्यात्मक भाव र शैलीमा उतारेर एउटा कलाकारलाई जीवन्त तुल्याइदिएका छन्।
यसैगरी कालिम्पोङका कवि राजेन्द्र भण्डारीले पनि एउटा कविता लेखेका छन्- नारायण गोपाल। यसमा नारायण गोपालको गायन सुनेर उनको गायन प्रतिभाप्रति मंत्रमुग्ध बनेको भावलाई कवितामा विभिन्न प्रतीक र उपमा दिएर उतारेका छन्।
नारायण गोपाल नेपाली सङ्गीतको उच्चासनमा बसेका छन्। उनले गीतको मात्रात्मकतामा बल गरेनन् बरू गुणात्मकता बल गरे। गुणात्मकता कायम राख्ने कतै सम्झौता गरेनन्। कसैले के भन्ला भन्ने मुख नहेरी ‘गीत राम्रो छैन’ भनी प्वाक्क भन्न सक्थे। मन नपरेको गीत जोसुकै ठुलो गीतकारले लेखेको भए पनि गाएनन्। गीतमा शब्द शब्द केलाउँथे, मूल मर्म विचारेर उत्कृष्ठ ठहरिए मात्रै गाउँथे। बरू गीतकार सिकारू भए पनि गीत मिठो छ भने गाउँथे। जुनसुकै गीत गाएर नेपाली गीतलाई सस्तो बनाएनन्, सस्तो लोकप्रियताको लोभमा परेनन्, धनको लालचमा परेर ठुला मान्छेका जुनसुकै गीत गाएनन्, पुरस्कारको वास्ता गरेनन्। उनको आफ्नै जीवन शैली थियो, आफ्नै गाउने शैली थियो। उनले नकमाएका थिएनन्, आफ्नो पुर्ख्यौली जायजेथा र आफ्नो कमाइलाई नारायण गोपाल साङ्गीतिक कोश बनाउने इच्छापत्र दिएका थिए। यसै कोषले अहिले पनि काम गरिरहेको छ। नारायण गोपाल बाँचुञ्जेल पनि नेपाली सङ्गीतलाई उच्चासनमा राखे भने मरेपछि पनि यसको उन्नतिमा लागि दान दिएर गए। वाह! कति महान नारायण गोपाल…. !!!!
आधार स्रोत पुस्तक
१. मोहनप्रकाश राई (सम्पा.), स्वरसम्राटनारायण गोपाल स्मृति ग्रन्थ, नाम्ची, परिमल प्रकाशन, ईस्वी २०१९।
२. जे के बराइली, बिर्सनै नसकिने गीत सङ्गीतका पदचापहरू, लेखक स्वयम्, २०२२।
०००
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१) भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ, भारतमा बसोवास गर्छन् ।लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१) भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ, भारतमा बसोवास गर्छन् ।
