हातहरू (कविता)

कविता

डा. गोबिन्दसिंह रावत, टोरोन्टो

ती कलिला हातहरुले

हातैबाट संसार नियाल्ने

ज्ञान आर्जन गरी शिक्षित बन्ने

सञ्जालको स्वतन्त्रता माँगेका थिए

तर

कलिलोपनको अनुभव नभएकाहरुले

कलिला माँगलाई लत्याएर

सत्ताको उन्मुक्ततामा

हातहरु निमोठ्न खोजे

आवाजहरु दबाउन खोजे

अनि

कठोर हातहरुले चलाएका गोलीहरुलाई

कलिला हातहरुले रोक्न छेक्न खोज्दा

शरीर ढल्दै गए

आवाजहरु थपिदै गए

मूर्दावादमा उठेका हातहरु थपिदै गए

गाँउ गाउँबाट बस्ती बस्तीबाट

हातहरु बढ्दै गयो

देशको मुहार फेर्नलाई

आवाजहरुले बुलन्दी पाउँदै गयो

तर

अपराधमा चुर्लुम्म डुबेकाहरु

भ्रष्टाचारमा आहाल बसेका

स्वार्थका रक्तरञ्जित हातहरु

ज्वालाका मुश्ला लिएर

देशको धरोहरहरुलाई नामेट पार्न

रहस्यमय हातहरु

बढेपछि

इतिहास खरानी बन्दै गयो

अराजकताको मनस्थितिमा

आफ्नै पूर्खा निमिट्यान्न पार्दै गयो

अफ्नै भविष्य मेटाउँदै गयो

अरुको हातको

कठपुतली बनेर हामी आफै

ढल्दै गयो ढाल्दै गयौं

पुतली नचाउँने हातको चलखेलमा

नाँच्दै

आ–आफैलाई मास्दै गयौं

हामी आफै मासिदै गयौं

आफ्नै हातले

सिंहदरवार सर्वोच्च र संसद

हाम्रो राष्ट्रको धरोहर

राज्य संचालनको प्रतीक

नेपाली हातले मास्दै गायौं

बाल्दै गयौं ढाल्दै गयौं

आफ्नै मातृभूमिलाई

एक शताब्दी पर ढकेलेर

अपराधी हातहरु

रक्तरञ्जित हातहरु

समातेर

हामीले हामीलाई नै निमिट्यान्न पार्न

अर्को धृतराष्ट्र आफैलाई घोषित ग-यो ।

000

कवि परिचयः गोविन्द सिं रावत भारतको शिलाङमा जन्मेका हुन् र लामो समय नेपाल बसाई पछि हाल टोरण्टो क्यानाडावासी भएका छन् । विसं २०३७ मा “लामखुट्टे उपीया एण्ड रेट”, व्यग्ँय जुनकिरी साप्ताहिकमा प्रकाशनका साथ नेपाली साहित्य जगतमा उदाएका उनी कविता, कथा, नाटक, समालोचना, निबन्ध, अनसन्धानात्मक लेख, नियात्रा आदि विधामा कलम चलाउँछन् । उनका “पूर्वाञ्चल भारतको नेपाली कविताः एक सर्वेक्षण” (अनुसन्धान कृति)१९८६, सडक नाटक संग्रह (सडक नाटक) २०५७, विश्वरङ्गमञ्चमा सडक नाटक परम्परा (अनुसन्धान कृति) २०७०, नेता (नाटक संग्रह) २०७०, गङ्गा (कथा संग्रह) २०७१, आप्रवास साहित्य विचरण (समीक्षा संग्रह) २०७६ कृतिहरु प्रकाशित छन् ।