लीलाराज दाहाल
एक:
च्यातिएको मन यो सिउने कहिले होला
पलपल मैं मरिरहें जिउने कहिले होला
मरुभूमिको बीज झैँ सुकिरहें म
माया प्रेमको जल यो पिउने कहिले होला !
दुईः
प्रेमको मदिरा धेरै कडा हुन्छ
सम्झनाको हिरा धेरै कडा हुन्छ
अनगिन्ती छन् नि मसलाहरू त
यो बिछोडको जीरा धेरै कडा हुन्छ !
तीनः
के भएको समय नि फूल फुल्न छोड्यो अचेल
केहीमा नि चाह छैन मन भुल्न छोड्यो अचेल
प्रकृतिको नियम पनि फेरिएको जस्तो लाग्छ
पश्चिमपट्टि उज्यालो छ पूर्व खुल्न छोड्यो अचेल !
चारः
फूल बनेर फुल्नु बिस्तारै बिस्तारै
आकाश जस्तै खुल्नु बिस्तारै बिस्तारै
प्रेम भनेको त यस्तो होस् न साइँला
आफूलाई नै भुल्नु बिस्तारै बिस्तारै !
पाँचः
बोलाई तिमीलाई जगाउनै सकिनँ
हेरेर तिमीलाई अघाउनै सकिनँ
भत्काए पनि त्यो मनको समाहा
उर्लेर तिमीलाई बगाउनै सकिनँ !
छः
जसै मबाट तिम्रो दिल दूर हुनेछ
बिर्सनलाई मन यो मजबुर हुनेछ
तिमीले नि सधैँभरि साथ दियौ भने
मरुभूमि मै बस्न मन मञ्जुर हुनेछ !
सातः
या त उसले प्रेम गर्न नजानेको हुनुपर्छ
या त प्रेमलाई ठूलो कुरा नठानेको हुनुपर्छ
प्रेमको तलाउ नत्र यसरी सुक्ने नै थिएन
या त उसलाई प्रेमिकाले नछानेको हुनुपर्छ !
कवि परिचयः लीलाराज दाहाल परवानीपुर, सर्लाहीमा जन्मेका हुन् र हाल वागमती नगरपालिका ११, जिल्ला सर्लाही हुँदै हाल ललितपुर बस्छन् । उनी कथा, लघुकथा, गजल, मुक्तक बिधामा रचना गरिरहेका छन् र ती फूटकर रुपमा बिभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
