समसामयिक भारतीय नेपाली समालोचनाको प्रवृत्ति

गद्य विविध

नवीन पौड्याल

(प्रस्तुत आलेख २५ र २६ नोभम्वर २०१६ मा परिमल स्मृति महाविद्यालयद्वारावआयोजित राष्ट्रिय सङ्गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रको सम्पादित प्रस्तुति हो-सं)

१, आमुख

भारतमा नेपाली साहित्य एउटा समृद्धशील साहित्य बन्दै आएको छ। दिनानुदिन रूपमा विभिन्न विधाका पुस्तक, पत्रिका आदिको प्रकाशन, मासिक र सामयिक साहित्य गोष्ठीको आयोजना, साहित्यिक पुरस्कार वितरण, साहित्यिक संघ-संस्था जस्ता गतिविधि विचार्दा नेपाली साहित्य धेरै फस्टाउँदो नै देखा पर्छ। भारतमा चारवटा विश्वविद्यालयमा नेपाली भाषा साहित्यबारे उच्च तहमा अध्ययन- अध्यापन गरिन्छ तथा यसका सँगसँगै नेपाली समालोचना पनि अध्ययन अध्यापन कार्य भइरहेछन्। नेपाली साहित्य सिर्जनात्मक र समालोचना दुवै पक्षमा काम भइरहेछन्। सिर्जनाको परख गर्न समालोचना पनि सक्रिय नै पाइन्छ। समसामयिक नेपाली समालोचना निकै अगाडि बढेको छ। नेपाल र भारतमा कुल मिलाएर हेर्दा अघि फड्को हानेको छ। नेपाल र भारतबाहेक अमेरिका र युरोपतिर पनि नेपाली समालोचनाले पखेटा चाल्न थालेको छ। समालोचनाका विभिन्न सिद्धान्त, पद्धति र प्रणाली अपनाएर प्रयोग गरिएका समालोचना पनि निकै अगि बढेको छ। यद्यपि समग्र नेपाली साहित्यको परिप्रेक्ष्यमा हेर्दा आफ्नै मौलिक समालोचना सिद्धान्त भने अझसम्म तयारी भएको छैन। यद्यपि यसको विस्तारै विकास हुँदै आइरहेको छ।

. अध्ययन पद्धति र सीमा निर्धारण –

प्रस्तुत पत्र तयार पार्दा निम्न अध्ययन पद्धति अपनाइएको छ-

  • यसमा सर्वेक्षणात्मक र पुस्तकालीय पद्धति अपनाइएको छ।
  • यसमा समालोचनासित सम्बद्ध पद्धति र प्रकारका बारेमा परिभाषित गरिएको छैन।
  • समसामयिक भनेर सन् २००० सालदेखि यताको समयलाई लिइएको छ। यसमा २००० देखि यता प्रकाशित पुस्तकलाई मूल आधार लिइएको छ। यद्यपि पुस्तकाकार रूपमा नभए पनि समालोचनात्मक लेखादि लेखिरहने समालोचकलाई पनि यथाशक्य समावेश गर्ने कोसिस गरिएको छ।
  • यसमा समालोचनासँग सम्बद्ध आलोचना, मूल्याङ्कन, समीक्षा, विवेचना, विश्लेषण, अनुशीलन, समावलोकन, आदि पर्यायहरू नछुट्याएर समग्रमा रूपमा सबैलाई समालोचनाको रूपमा नै प्रस्तुत गरिएको छ।
  • यसमा समालोचनाका रूपमा मानिने केही मानदण्ड अपनाइएको छ – कृतिगत अध्ययन, साहित्येतिहास लेखन, समालोचनाका कुनै पद्धतिलाई आधार मानेर लेख्ने, साहित्यिक विवेचनात्मक सर्वेक्षण गरिने समालोचना।
  • यस पत्रमा समालोचनाको सम्पादित र अऩ्यका कृतित्वबारे विभिन्न समीक्षतको लेखहरूको संकलित पुस्तकलाई उत्ति महत्व दिइएको छैन।
  • यसमा हल्का फुल्का सतही लेख लेख्ने, किताबको सामान्य भूमिका लेख्ने, सामान्य टिप्पणीपरक लेख लेख्ने, पाठ्यपुस्तक र निर्देशिका लेख्ने, दैनिक समाचार-पत्रतिर मात्र लेख्नेलाई स्थान दिइएको छैन।
  • यसका साथै पत्रमा केही सीमितता पनि छ। यसमा बढी दार्जिलिङ-सिक्किम केन्द्रित बनाइएको छ तथा यसभन्दा अन्यत्रको त्यति अध्ययन गर्न सकिएको छैन। दार्जिलिङ सिक्किमतिर प्रकाशित सबै समालोचनालाई पनि यसमा समेट्न सकिएको छैन। अझै यस पत्रबाट ओझेल भएको पनि हुनसक्छ।
  • यसमा समालोचकका पदवी र उपाधि उल्लेख गरिएको छैन।

प्रस्तुत पत्रमा दुई किसिमका समालोचकहरूको वर्गीकरण गरिएको छ- २००० भन्दा अघिदेखि लेख्दै आएका र २००० सालदेखि यता नयाँ गरी झुल्केका समालोचकहरू। अघिल्लोमा इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दास, महानन्द पौड्याल, घनश्याम नेपाल, मोहन पी दाहाल, जस योञ्जन प्यासी, भीमकान्त उपाध्याय, कुमार प्रधान, जीवन नामदुङ, गुप्त प्रधान, हरेन आले, शान्तिराज शर्मा इत्यादि हुन्। एकाधबाहेक उनीहरू हालमा पनि लेखनमा उत्तिकै सक्रिय छन्।

२, दार्जिलिङ-सिक्किमका समालोचनाको स्थिति –

भारतीय नेपाली समालोचनामा दार्जिलिङबाट धेरै काम भएका छन्। यहाँबाट एकल समालोचनाको पुस्तक, बहुल लेखकका समालोचना संकलन, जीवनीपरक समालोचनाका पुस्तक, विभिन्न पत्रिकाको समालोचना विशेषाङ्क, संस्थागत समालोचना ग्रन्थ आदि प्रकाशित भएका छन्। सूर्यविक्म ज्ञवालीदेखि अहिलेसम्म आइपुग्दा दार्जिलिङ र सिक्किमले धेरै प्रगति गरेको छ। अहिले व्यक्तित्व र कृतिपरक पुस्तकहरू निकै प्रकाशित भएका छन्।  गोपालसिंह विश्व, विमल  जोशी प्रधान, मित्रदेव शर्मा, एन पी एस निरौला, टीका ढुङ्गेल आदि यसतर्फ सक्रिय छन्।  यसका साथै स्थानगत साहित्यिक सर्वेक्षण, नाट्य समीक्षण पनि बढेर गएको छ।  पाश्चात्य साहित्यका नयाँ नयाँ समालोचना सिद्धान्तहरूलाई यहाँ नेपाली कृतिका सन्दर्भमा अपनाउने गरेको पाइन्छ।

यीबाहेक पुस्तकाकार रूपमा नभए पनि बेला बेला विभिन्न पत्र-पत्रिकामा समालोचना प्रकाशित गरिरहने समालोचकहरूको संख्या पनि निकै छ। यहाँ सबैको नामोल्लेख गर्न नसकिए तापनि दार्जिलिङ सिक्किमका केही समालोचकहरूको सूचि यस प्रकार छ- रूद्र पौड्याल, कुमार छेत्री, ललिता राई अहमद, सुधा गुरूङ, साङ्गे डोमा डुक्पा, जनार्दन थापा, दशरथ खरेल, सुधीर छेत्री, सञ्जय बिष्ट, नवीन स्पन्द, मुन्नु गौतम, वत्सगोपाल, सुबास श्रेष्ठ, धनकुमार मंगर, भुपेन तामाङ, सबिता थापा संकल्प, सबिता संकल्प शैलीका छेत्री, टेकबहादुर छेत्री, बलराम पाण्डे, ज्ञानेन्द्र सुब्बा, अजय लामा, कृष्ण पुलामी, सबिता तामाङ, सदीप प्रधान आदि देखा परेका छन्।

यसैगरी असमलगायत पूर्वाञ्चलबाट पनि २००० देखि यता नेपाली समालोचनाका पुस्तक प्रकाशित भएका छन्। तिनको सूची पनि अब लम्बिदै गएको छ। लीलबहदुर छेत्रीदेखि विद्यापति दाहाल हुँदै अहिले नयाँ नयाँ समीक्षकहरू देखा परेका छन्। असम नेपाली साहित्य सभाले आफ्नो मुखपत्र सभा दर्पणमार्फत् नयाँ नयाँ समीक्षकहरू जन्माउँदै लगेको पाइन्छ। केही वर्षअघि इन्द्रेणी प्रकाशनबाट प्रकाशित असमेली नेपाली समालोचना खण्ड १ देखि खण्ड ३ सम्म गहकिलो कलेवरमा प्राकाशित गरेको छ। यसले असमबाट नेपाली समीक्षकहरूको संख्या ह्वात्तै बढेको छ। धेरै नयाँ नयाँ समीक्षकहरू जन्माएको छ। लीलबहादुर छेत्रीदेखि लिएर अहिले आएर नैना अधिकारी सम्म आइपुग्दा असमेली नेपाली समालोचना सशक्त बन्दै एको छ।

आसामका केही उल्लेखयोग्य समालोचकहरूमा विद्यापति दाहाल, छविलाल उपाध्याय, दुर्गाप्रसाद घिमिरे, ज्ञानबहादुर छेत्री, डा खेमराज नेपाल, डा जमदग्नि उपाध्याय, डा इन्दुप्रभा देवी, डा खगेन शर्मा, रूद्र बराल, डा दैवकीदेवी तिम्सिना, डा शान्ति थापा, मोहन सुवेदी,  डम्बर दाहाल, लक्ष्मण अधिकारी, अविकेशर शर्मा, डा गोमादेवी शर्मा आदि हुन्। असमेली नेपाली समालोचना खण्ड १ देखि कण्ड ३ सम्म आइपुग्दा असमबाट धेरै समीक्षकहरूको सङ्ख्या ह्वात्तै बढेको छ। अब नयाँ नयाँ समीक्षकहरूले नयाँ नयाँ कृति र सिद्धान्तका आधारमा समीक्षा लेखेका छन्। समीक्षाको नयाँ जोश र नयाँ लहर आएको छ।

३. समालोचनाका पद्धति र प्रकारका आधारमा भारतीय नेपाली समालोचना–

३.१. सैद्धान्तिक समालोचना – कुनै पनि पूर्वीय वा पाश्चात्य साहित्य सिद्धान्तलाई लिएर लेखिएको सैद्धान्तिक समालोचना हो। भारतबाट पनि समालोचनाका सबै प्रकारका पद्धति र सिद्धान्तहरूका बारे अध्ययन गरिएको पाइन्छ। यस किसिमको समालोचना लेख्नेहरूमा इन्द्रबहादुर राई, गुमानसिंह चामलिङ, घनश्याम नेपाल, मोहन पी. दाहाल, जस योञ्जन प्यासी, ज्ञानबहादुर छेत्री, खेमराज नेपाल, दिवाकर प्रधान, प्रतापचन्द्र प्रधान, जय क्याक्टस, राजकुमार छेत्री मुख्य गरी देखिन्छन्।

३.२. तुलनात्मक समालोचना – दुई वा दुईवटा भन्दा बढी भाषाको साहित्य, दुई वा भन्दा बढी कृति, एकै भाषाका दुई जना साहित्यकारबीचको कुनै एउटा पक्ष लिएर तुलना, एकै साहित्यकारको पनि अघिल्लो चरण र पछिल्लो चरणबीच कुनै पनि पक्षमा तुलनामक अध्ययन गरिएको तुलनात्मक समालोचना हो। भारतमा यस किसिमको नेपाली समालोचनामा लेख्ने अत्यन्त थोरै छन्। इन्द्रबहादुर राई, इन्दुप्रभा देवी, ममता लामा, विनेश प्रधान, मनप्रसाद सुब्बा,  डा दिलकुमार प्रधान, देवचन्द सुब्बा आदिका केही लेखमा तुलनात्मकता पाइन्छ।

३.३. प्रगतिवादी समालोचना – मूल रूपमा कार्ल मार्क्सको साम्यवादी विचारधारालाई साहित्यितिक कृतिभित्रबाट खोजी निकालेर अध्ययन गर्ने, कृतिभित्र सौन्दर्य पक्ष खोजी गर्ने पद्धति हो प्रगतिवाद। समाजकको आमुल परिवर्तनमा विश्वास राख्ने, आर्थिक समानता, द्वन्द्वात्मक भौतिकवादी दर्शन, निमुखाहरूको हक-हितको पक्ष लिएर लेखिएको समालोचना पाइन्छ। भारतमा प्रगतिवादी समालोचना पनि यदाकदा मात्र देखिन्छ। रत्न बान्तवा, जस योञ्जन प्यासी, पेम्पा तामाङ, विजय कुमार सुब्बा, रूपेश शर्मा, निर्देश परिमल, मोहन सुवेदी आदि मुख्य रूपमा देखिन्छन्।

३.४. इतिहासपरक समालोचना– कालक्रमिक रूपमा साहित्यको अध्ययन गरिने इतिहासपरक समालोचना हो। घनश्याम नेपालको नेपाली साहित्यको परिचयात्मक इतिहास,(दो.संशोधित सं,), मेघनाथ छेत्री – भारतीय नेपाली समालोचक र समालोचना, असीत राईको भारतेली नेपाली साहित्यको इतिहास, दीपक तिवारीको सिक्किमको नेपाली साहित्यिक इतिहास : परम्परा स्वरूप र प्रवृत्ति, गोमा अधिकारीको मणिपुरको नेपाली साहित्यको गतिविधि (२०१६), भारतीय नेपाली साहित्यको विश्लेषणात्मक अध्ययन (२०१७), छविलाल उपाध्याय उत्तर पूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधिमाथि एक दृष्टि,  नवीन पौड्याल -साहित्य सन्धान, ममता लामा, प्रेम प्रधान, ज्ञानबहादुर छेत्री, आदिले पनि अध्ययन गरेका छन्।

३.५. मनोविश्लेषणात्मक समालोचना– विशेषगरी सिग्मण्ड फ्रायडद्वारा प्रतिपादित मनका विभिन्न सिद्धान्त र अवस्थाको विश्लेषण गरेर लेखिएको यस्तो समालोचना भारतबाट लेख्ने थोरै छन्। मानवीय मनका अचेतन अवस्थाका विभिन्न तह, स्वप्न सिद्धान्त, प्रतीकात्मक अध्ययन, यौनमनोविश्लेषण ईदम अवस्था र लिबिडोको बारेमा लेखिएका समालोचना हो। इन्द्रबहादुर राई, प्रेम प्रधान, नवीन पौड्याल आदि देखा परेका छन्।

३.६. विधागत समालोचना– विभिन्न साहित्यिक विधाकेन्द्रित भई सैद्धान्तिक र प्रयोगात्मक समालोचना लेखिने विधापरक समलाचना हो। यता विधापरक समालोचना पनि विकसित भएको देखिन्छ। यद्यपि कथा, उपन्यासबारे बढी लेखिएका छन् भने निबन्ध, नाटक विधामा भने न्यून देखिन्छ। कविताभित्रका गजल, गीत उपविधाका समालोचना पनि देखा परेका छन्। मोहन पी दाहालको दार्जिलिङका नेपाली उपन्यास परम्परा र प्रवृत्ति, कृष्णराज घतानीको विजय मल्लकृत जिउँदो लास नाटक र कोही किन बर्बाद होस् नाटकको तात्विक निरूपण, नरेशचन्द्र खातीको अध्ययन नेपाली समालोचनाका अध्ययन नेपाली निबन्धका, दिवाकर प्रधानको कविताका कुरा, राजकुमार छेत्रीको सिर्जनाको समावलोकन, मेघनाथ छेत्रीको भारतीय नेपाली समालोचक र समालोचना, नवीन पौड्यालको आख्यान अनुशीलन, सोनाम शेर्पाको नेपाली कविताको आरेख प्रमुख रूपमा देखिन्छन्। गजल समालोचनाको क्षेत्रमा शैलेन्द्र समदर्शीको गजल- सिद्धान्त र सिर्जनावलोकन (२०१४), जमदग्नि उपाध्यायद्वारा सम्पादित गजल सिद्धान्त एवं विकासयात्रा (२०१६) मुख्य रूपमा यसतर्फ देखिन्छन्। गीत समालोचनामा जस योञ्जन प्यासीको भारतीय नेपाली गीतकार परिचायिक चर्चा अध्ययन, (२०१४), डी. पी. शङ्करको भारतीय नेपाली गीतकार, कमल रेग्मी, अनिता निरौलाको सिक्किमको गीत ब्लाक एण्ड व्याइटमा (आंशिक समालोचना) आदि देखा परेका छन्। निबन्ध समालोचनामा विनेश प्रधान, कविता लामा, भानु छेत्री आदि मात्र देखा पर्छन् भने नाटक समालोचनामा पनि थोरैनै विकसित भएको पाइन्छ। रूद्रराज मास्के, राजु हिमाङ्शु, मुक्ति उपाध्याय आदि प्रमुख रूपमा देखिन्छन्।

३.७. शैलीवैज्ञानिक समालोचना– कृतिभित्रको शैली पक्षलाई लिएर लेखिएको यस्तो समालोचना हो। कृतिको वाक्य, अर्थ, शब्द, रूप विन्यास, सङ्केत अक्षर विन्यास आदिका माध्यमबाट व्याख्या विश्लेषण गरिने शैली वैज्ञानिक समालोचना भने यता त्यति बढी नदेखि तापनि यदाकदा देखिन्छ। यसअन्तर्गत घनश्याम नेपाल, गोपालप्रसाद दाहाल, बासुदेव पुलामी आदि थोरै देखा परेका छन्।

३.८. पर्यासमालोचना– समालोचनाको फाँटको विस्तार हुँदै अब कृतिभित्र प्रकृति, परिवेश र विशेषगरी हरियाली पक्षलाई लिएर अध्ययन गरिएको समालोचना हो। अबको संसारमा पर्यावरण समस्या सबैभन्दा विकराल रूप लिइरहेको छ। मानिसका विकासका नाममा निर्माणकार्य, वन फँडानी, वायु प्रदुषण, कार्बोनडाइ अक्साइडको बढ्दो अनुपात आदिले गर्दा मान्छेको अस्तित्व नै खतरामा पर्न गएको छ। अब सास फेर्न पनि कठिन पर्दैछ। अबको साहित्य लेखन पनि मानिसलाई पर्यावरण प्रति जागरूकता, चिन्ता आदि गरिएको हुन्छ। यता भारतीय नेपाली साहित्यमा यस्तो समालोचना लेख्ने देवचन्द सुब्बा, बलराम पाण्डे, बासुदेव पुलामी देखा परेका छन्।

३.९. अन्तर्पाठात्मक समालोचना – कुनै पनि साहित्यिक पाठभित्र अन्य विषय विविधता, कृति, पाठ, प्रसङ्ग र तिनको प्रभाव आदिको सम्बन्ध गाँसिएको कुरा हेर्ने समालोचना पनि देखा परेको छ। घनश्याम नेपाल र टेकबहादुर छेत्री यसतर्फ अग्रसर देखिन्छन्।

३.१०. व्यक्तिकेन्द्री समालोचना– भारतबाट व्यक्तिकेन्द्री समालोचना पनि फस्टिन लागेको छ। यहाँका विशिष्ट सर्जकहरूको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पारिएका पुस्तक निकै भएका छन्। जस्तो सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित भानुभक्त स्मारक ग्रन्थ, (द्विशतकीयसमेत), पुष्पलाल उपाध्याय, लक्ष्मीप्रसाद देवकोटा, शिवकुमार राई, रूपनारायण सिंह, अगमसिंह गिरी, इन्द्रबहादुर राई, डा लक्खीदेवी सुन्दास, कृष्णसिंह मोक्तान, हरिप्रसाद गोर्खा राई, लीलबहादुर छेत्री, बद्रीनारायण प्रधान, राजनारायण प्रधान, हायमन दास राई किरात, कुमार प्रधान, दुर्गाप्रसाद घिमिरे, महानन्द पौड्याल, नवसापकोटा, जयन्तकृष्ण शर्मा, होमबहादुर छेत्री, गीता उपाध्याय, शरद छेत्री, केदार गुरूङ, शोभाकान्ति थेगिम, वीरभद्र कार्कीढोली, पी अभाव, सुकराज दियाली आदि प्रकाशित छन्। अभिनन्दन ग्रन्थ, कुनै पत्रिकाको अभिनन्दन विशेषाङ्क आदिको रूपमा यस्ता विशिष्ट स्रष्टाहरूको व्यक्तिकेन्द्री समालोचना फस्टिएको देखिन्छ।

३.११. कृतिकेन्द्री समालोचना – एउटै विशिष्ट कृतिमाथि समालोचना गरिएको एउटा सिङ्गै पुस्तक नै प्रकाशित हुने चलन पनि बढेर गएको देखिन्छ। यसो हुँदा त्यो कृतिको विशेष महत्त्व बढेर जान्छ। त्यस कृतिभित्र निहीत यावत् तथ्य, पक्ष र विशेषताहरूको समुचित अध्ययन हुन्छ। छविलाल उपाध्यायका दुइवटा कृति शाकुन्तल महाकाव्य एक दृष्टि (२००१) र महाकवि देवकोटाको व्यक्तित्व र मुनामदन (२००५) जय क्याक्टस- महाकाव्य कर्मायाण एक अध्ययन (२००८), भानु छेत्रीको धारावाहिक समीक्षामा धूमिल पृष्ठ (२०१३), किनारा विमर्श – (२०११) दिवाकर प्रधान सम्पादित यात्रा साहित्यमा एम. बी. प्रधान (२०१५) आदि देखा परेका छन्।

३.१२. शैक्षणिक वा प्रयोजनपरक समालोचना– पाठ्यपुस्तकको आवश्यकताबमोजिम र विद्यार्थीहरूको शैक्षिक तहअनुरूप बजार भावलाई हेरेर व्यवासायिक रूपमा लेखिने खालको समालोचना पनि देखिन्छ। दार्जिलिङ-सिक्किमतिर माध्यमिक तहदेखि स्नातकीय तहसम्मका विद्यार्थीका सहयोगी वा निर्देशिका आदिका रूपमा देखा पर्छन्। यसमध्ये कुनै स्तरीय नै हुन्छन् भने कुनै हल्का-फुल्का, टिपोट मात्र पनि पाइन्छन्। यस्ता किताबलाई समालोचना ग्रन्थको रूपमा मान्यता दिन भने मिल्दैन।

३.१३. प्राज्ञिक समालोचना– उच्च शिक्षासम्बन्धित तथा कुनै पनि पाठ वा कृतिको विधिवत रूपमा साङ्गोपाङ्गो लेखिएको प्राज्ञिक समालोचना हो। साहित्यको समालोचनाका शास्त्रीय, आन्तरिक, सैद्धान्तिक इत्यादि पक्षबारे अत्यन्त गहकिलो यस्तो समालोचना पनि यता फस्टिन लागेको छ। स्नातक र स्नातकोत्तर, शोधकार्य स्तरका विद्राथ्यीक सन्दर्भग्रन्थ आदिका रूपमा प्रयोग गर्न सकिन्छ। विशेषगरी शोधजर्नलहरू जस्तै सन्धान, नेपाली जर्नल, एकाडेमी जर्नल, सिकिक्म एकाडेमी जर्नल, प्रेक्षण, अभिज्ञान, अनुसन्धान, मध्यमार्ग (अचतिरिक्त अङ्क) आदितिर प्रकाशित लेखहरू प्राज्ञिक किसिमका हुन्छन्। यसमा लेख्नेहरू प्राध्यापक, अनुसन्धाता आदिको विशेष योगदान रहेको हुन्छ। इन्द्रबहादुर राई, घनश्याम नेपाल, मोहन पी दाहाल, नरेशचन्द्र खाती, कृष्णराज घतानी, राजेन्द्र भण्डारी, ममता लामा, राजकुमार छेत्री, विनेश प्रधान, कविता लामा, पुश्प शर्मा, भीमकान्त उपाध्याय, पुष्प शर्मा, निमा निची शेर्पा, देवचन्द्र सुब्बा, वासुदेव पुलामी, योगेश पन्त, योगेश खाती, नवीन पौड्याल आदिका यस किसिमका समालोचना देखा पर्छन्।

३.१४. नारीकेन्द्रित समालोचना – कृतिभित्र नारीका विविध पक्ष, नारीवाद आदिलाई धार बनाएर लेखिएको नारीवादी समालोचना हो। भारतमा खासगरी नारीवादी समालोचना खासै देखिन्न तर पनि फटाकफुटक रूपमा नारीकेन्द्रित लेखहरू प्रकाशित देखिन्छ। कृतिभित्र नारीका विविध समस्या, वेदना, क्रान्तिका स्वरहरूलाई खोतलेर निरकाल्ने काम पनि भएको देख्न पाइन्छ। रेमिका थापा, पेम्पा तामाङ, पुष्प राई, पुष्पा शर्मा, दीपक तिवारी, कविता लामा, ममता लामा आदिले नारीकेन्द्रित समालोचनाको प्रयास गरेका छन्।

३.१५. भाषाकेन्द्री समालोचना– कृतिभित्र भाषाशास्त्रीय अध्ययन गरिने किसिमको समालोचना पनि हुन्छ। यसमा भाषा प्रयोग, शब्द, अक्षर, अर्थ, सन्दर्भ, सङ्केत आदि जस्ता विभिन्न कुराको आधारमा कृतिको अध्ययन विश्लेषण गरिएको हुन्छ। यता भारतबाट पनि थोरै मात्रामा देखा पर्छ। घनश्याम नेपाल, कविता लामा, रागिनी थापा मुख्यगरी यसतर्फ सक्रिय देखिन्छन्। बासुदेव पुलामी, धनबहादुर मंगर, कृष्ण पुलामी आदिले पनि यस्ता समालोचना लेखेको पाइन्छ।

३.१६. सांस्कृतिक अध्ययन– कृतिभित्र संस्कृतिका पक्षहरूलाई केलाएर लेखिने समालोचना हो सांस्कृतिक समालोचना। गोर्खाली गोष्ठीभित्रका विभिन्न जात गोष्ठीहरूको सांस्कृतिक पक्षहरूलाई लिएर समालोचना लेखिएका पाइन्छन्। बासुदेव पुलामी, योगेश पन्त, भुपेन तामाङ, योगेश खाती, सूचन प्रधान, दिलकुमार प्रधान आदिका यस किसिमका फूटकर रूपमा समालोचना देखिन्छन्।

नव विकसित केही सिद्धान्तहरू जस्तै भयवादी समालोचना, अभिघात सिद्धान्त, किनारीकृत सिद्धान्त आदि पनि देखा परेका छन्। यस्ता नयाँ साहित्यिक वाद वा सिद्धान्तबारे नव पुस्ताका समालोचकहरूले कलम चलाउँदै गरेको पनि पाइन्छ।

. समसामयिक भारतीय नेपाली समालोचनाको दशा र दिशा-

समसामयिक भारतीय नेपाली समालोचनाका अध्ययन गरेर हेर्ने हामी निम्न कार्यहरू भएको देख्न सक्छौं-

  • यस चरणमा व्यक्तिकेन्द्रित समालोचना पनि फस्टाएको देखिन्छ। शिवकुमार राई, रूपनारायण सिंह, पारसमणि प्रधान, इन्द्रबहादुर राई, डा लक्खीदेवी सुन्दास, कृष्णसिंह मोक्तान, हरिप्रसाद गोर्खा राई, लीलबहादुर छेत्री, बद्रीनारायण प्रधान, राजनारायण प्रधान, हायमनदास राई किरात, कुमार प्रधान, दुर्गाप्रसाद घिमिरे, महानन्द पौड्याल, नवसापकोटा, जयन्तकृष्ण शर्मा, होमबहादुर छेत्री, गुप्त प्रधान, गीता उपाध्याय, डम्बर दाहाल, रामकृष्ण शर्मा, शेरमान थापा, सानु लामा, राजेन्द्र भण्डारी, वीरभद्र कार्कीढोली, जीवन नामदुङ, कर्ण थामी आदि जस्ता सर्जकका रचनाहरूबारे छुट्टै पुस्तकाकार वा पत्रिकाको अभिनन्दन अङ्कका रूपमा प्रकाश पारिएको छ।
  • यीबाहेक व्यक्तित्व र कृतित्वपरक धेरै पुस्तक प्रकाशित छन्। यस्तो खालको समीक्षा निकै मौलाएको छ। सर्जक व्यक्तिको जीवनी र कृतित्वमाथि मूल्याङ्कन गर्ने खालका लेखहरूको सँगालो धेरै मात्रामा प्रकाशित भएका देखिन्छन्। केही यस्ता लेखकहरूमा राजनारायण प्रधान, कृष्ण गिरी, जीवन लाबर, गोपालसिंह विश्व, एनपीएस निरौला, मित्रदेव शर्मा, विमला जोशी प्रधान, गोमादेवी शर्मा आदि सक्रिय देखिन्छन्।
  • यस चरणको समालोचना र अध्ययनलाई टेवा दिन राष्ट्रीय, अन्तर्राष्ट्रीय संगोष्ठीमा विभिन्न प्रस्तोताहरूले प्रस्तुत गरिएका अध्ययन पत्रहरूको संकलनका रूपमा पनि देखिन्छ। यस्ता संकलनहरू कुनै विधाविशेषमा केन्द्रीत हुनाले विधापरक, क्षेत्रीय सर्वेक्षणपरक र शोधपरक समालोचना पनि फस्टिएको देखिन्छ।
  • यस चरणमा केही साहित्यिक पत्रिकाहरूले पनि कुनै अङ्कलाई समालोचना विशेषाङ्कका रूपमा पनि प्रकाशित गरेर यसलाई टेवा दिएको पाइन्छ। चरित्र, बाडुली, नवआगमन, प्रक्रिया, निर्माण, दियालो, साहित्य सङ्केत, हाम्रो ध्वनि, विन्दु, पानस, परिषद पत्र, मुहान, आरोहण आदि जस्ता पत्रिकाहरूले पनि समालोचना अङ्क वा स्मृति अङ्क वा अभिनन्दन ग्रन्थ आदि प्रकाशित गरेर समालोचनालाई अघि बढाएको देखिन्छ।
  • यस चरणमा केही शोधपरक साहित्यिक जर्नलहरूको पनि प्रकाशन भएको देखिन्छ। जस्तो नेपाली जर्नल, नेपाली अकादमी जर्नल, अभिज्ञान, सिक्किम अकादमी जर्नल, सन्धान, सरस्वती, अनुशीलन, प्रेक्षण, चरित्र, हिमालयन रिसर्च जर्नल इत्यादि हुन्।
  • यस चरण भारतीय नेपाली समालोचना साहित्यको साहित्येतिहास, परम्परा र प्रवृत्ति केलाएर अध्ययन गर्ने काम पनि भएको पाइन्छ। यस क्रममा असीत राईको भारतेली नेपाली साहित्यको इतिहास, घनश्याम नेपालको नेपाली साहित्यको परिचयात्मक इतिहास, (सं.दो.सं.), दीपक तिवारीको सिक्किमको नेपाली साहित्यिक इतिहास परम्परा स्वरूप र प्रवृत्ति (२०१३), नेपाली नारी साहित्यको इतिहास, कविता लामाको भारतीय नेपाली बालसाहित्यमा नारी स्रष्टा (२०१४), मेघनाथ छेत्रीको भारतीय नेपाली समालोचक र समालोचना (२००८), पुष्पा शर्माको सिक्किमेली नेपाली कविताको विश्लेषण र मूल्याङ्कन (२०१५), राजेन्द्र भण्डारीको सिक्किमेली नेपाली कथाको अध्ययन, ज्ञानबहादुर छेत्रीद्वारा सम्पादित पूर्वाञ्चल भारतको नेपाली समालोचना यात्रा, प्रगतिवादी नेपाली समालोचना (अविकेशर शर्मा र अन्यको सम्पादन), अध्ययन समीक्षण (नेपाली साहित्य अध्ययन समितिको प्रकाशनमा रहेको समालोचनात्मक लेखहरूको सङ्कलन (२०२३), असमेली नेपाली समालोचना खण्ड १-२-३ आदि।
  • यस चरणमा कुनै एउटा कृतिमाथि परिचर्चा कार्यक्रम, संगोष्ठी, लेखकसित भेटघाट आदि पनि बेलाबखत सम्पन्न हुन्छन्। यसबाट पनि समालोचनाको फाँट बिस्तार नै भएको देखिन्छ।
  • सिलगडी र गान्तोकतिरबाट प्रकाशित हुने दैनिक समाचारपत्रहरूले पनि समालोचनालाई अघि बढाउने सहयोग गरेका छन्। जस्तै सुनचरी, हिमालय दर्पण, स्वर्णभूमि, समय दैनिक आदिले हप्तामा एकपल्ट वा पाक्षिक रूपमा कतै पुस्तक निरूपण, उकेरा, सृजना संवाद, आइतबारे आदि जस्ता स्थायी स्तम्भ राखेर यसलाई अघि बढाएका पनि छन्।
  • स्नातकोत्तरका संगोष्ठी, एम. फिलको संगोष्ठी र शोधप्रबन्ध र विद्यावारिधिका उपाधिका निम्ति शोधार्थीहरूले तयारी गरेको विश्लेषण कार्यले पनि समालोचनालाई पुष्टि गरेको पाइन्छ।
  • साहित्यकारको अन्तर्वार्ता लिएर पनि समालोचनालाई अघि बढाइएको पाइन्छ। शरद छेत्रीको हिँडाइहरू आलापहरू अन्तर्वार्ता संकलन हो। राजेन्द्र भण्डारीमाथि लिइएको अन्तर्वार्ता सङ्गलो प्रश्नहरूको घेरा र डा राजकुमार छेत्रीको सम्पादनमा रहेको अक्षरहरूमा संवाद पनि उल्लेखनीय छ।
  • इन्द्रेनी प्रकाशन, असमले असमेली नेपाली समालोचना नामक ग्रन्थ शृङ्खला शुरू गरेको छ। हालसम्म यसको तेस्रो शृङ्खला पुगिसकेको छ। यसले असमबाट नयाँ नयाँ समीक्षकहरूको उदय भएको छ। अध्ययनका नयाँ फाँट अघि बढाइएको छ।

५. समाहारमा-

समसामयिक भारतीय नेपाली समालोचनाका केही अभिप्राप्तिहरूको छोटोमा अध्ययन गर्दा-

  • यस चरणमा पनि प्रभाववादी प्रवृत्ति नै प्रबल रूपमा देखिन्छ। कृति पढेर त्यसबारे समालोचकलाई परेको मानसिक प्रभावलाई अधिकांश समालोचकहरूले प्रकाश पार्ने गरेको पाइन्छ। कृतिमा के छ भन्ने मात्र समालोचना बढी लेखिएको देखिन्छ।
  • यहाँका समालोचनाका कृतिको सूची हेर्दा सन्तोकजनक देखिए पनि वास्तविक समालोचकीय धर्म निभाएको भने बढी पाइन्न। समालोचनाको नाममा व्यक्ति र कृतिको प्रशङ्सा, कृतिको गूढ वस्तु पक्षभन्दा सतही पक्षको मात्र अध्ययन, दोष केलाउने कमजोरी पक्षमाथि आँखा चिम्लिनु वा पत्तो नलाउनु, पूर्वाग्रह आदि जस्ता कुरा पनि देखा पर्छन्।
  • यहाँको समालोचनामा शैलीवैज्ञानिक, संकथनात्मक, संरचनात्मक, भाषिक-पराभाषिक, संकेतवैज्ञानिक, मीथकीय, मनोविश्लेषणात्मक, नारीवादी, पर्या-आलोचनागत इत्यादि जस्ता समालोचनाको पक्षहरू खासै उल्लेखनीय रूपमा विकसित भएको पाइन्न।
  • यहाँ नारी समालोचकहरूको उपस्थिति पनि सन्तोकजनक देखिन्न। यद्यपि पछिल्लो दश वर्षमा केही नारी समालोचकहरूको सङख्या वृद्धि भइरहेको छ।
  • जीवनीपरक समालोचना पनि निकै फस्टिएको देखिन्छ। व्यक्तित्व र कृतित्व केलाउँदा सर्जकको कृतिगत अध्ययन पनि भएको पाइन्छ। अभिनन्दन गर्न्थ र स्मृति ग्रन्थ, सर्जक र सिर्जना आदि जस्ता ग्रन्थहरूतिर प्राय जीवनीपरक समालोचना पाइन्छन्।
  • शोधपरक समालोचनाले पनि फस्टिएको छ। यद्यपि यस्ता समालोचना उच्च शैक्षणिक व्यक्तिद्वारा मात्र अघि बढाइएको छ। विभिन्न विश्वविद्यालयबाट प्रकाशित शोध जर्नल, सङ्गोष्ठीहरूको सङ्कलन, र केही प्राध्यापकहरूको समालोचनाको पुस्तक प्रकाशनले पनि यस किसिमको समालोचनालाई टेवा दिएका छन्। गहन चिन्तन, अध्ययनका नयाँ सम्भावना र फाँटको विस्तार भइरहेका छन्।
  • सिर्जनात्मक कृतिका अनुपातमा दार्जिलिङ-सिक्किममा समालोचना त्यति फस्टिएको छैन। असममा भने समालोचना अझै पछाडिएको छ। समग्रमा भारतमा नेपाली समालोचना एकप्रकारले टाक्सिएको नै देखिन्छ। दार्जिलिङले जति समालोचना लेखेको छ त्यतिकै भरमा भारतमा नेपाली समालोचना अढिएको छ।
  • नेपाली समालोचनाको फाँटमा इन्द्रबहादुर राईले ठुलो नेतृत्वको अभिभार लिएको पाइन्छ भने तिनलाई अनुशरण गरेर आउनेहरूको संख्या पनि देखिन्छ। यद्यपि अझै धेरै अध्ययनको खाँचो छ।
  • यद्यपि भारतीय नेपाली समालोचनालाई आशालाग्दो स्थिति नै देखा पर्छ।

 

प्रमुख सन्दर्भ सूची

  • घनश्याम नेपाल, नेपाली साहित्यको परिचयात्मक इतिहास, सिलगढी,एकता बुक हाउस, दो. सं. सं, २०१०।
  • मेघनाथ छेत्री, भारतीय नेपाली समालोचना र समालोचक, सिलगडी, नेपाली सा. प्र. समिति, २००८।
  • सुदर्शन श्रेष्ठ (सम्पा.) भारतीय नेपाली समालोचना (२०७५), काठमाडौं, साथी प्रकाशन,
  • ज्ञानबहादुर छेत्री (सम्पा.) पूर्वाञ्चल भारतको समालोचना यात्रा, गुवाहाटी, नेपाली साहित्य परिषद्, असम, २०१२।
  • दीपक तिवारी, सिक्किमको नेपाली साहित्यिक इतिहास परम्परा स्वरूप र प्रवृत्ति, नाम्ची, रमा तिवारी, २०१३।)
  • ज्ञानबहादुर छेत्री (सम्पा.) पूर्वाञ्चल भारतको समालोचना यात्रा, गुवाहाटी, नेपाली साहित्य परिषद्, असम, २०१२।
  • दीपक तिवारी, सिक्किमको नेपाली साहित्यिक इतिहास परम्परा स्वरूप र प्रवृत्ति, नाम्ची, रमा तिवारी, २०१३।

 

लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।

Leave a Reply