साक्षी (कविता)

कविता

मीना श्रेष्ठ

म र मेरो वरिपरिको गोलगोल संसार

नियालीरहेछु निर्निमेष नयनहरूले

आँखा चिम्लिनु र आखाँ चियाउनुको भिन्नता

सास फेर्नु अर्थात् सासको आवतजावतका सिम्फोनी।

 

यहाँ

आउने आइरहेछ,  जाने फर्किरहेछ,

आँखाले देख्न सक्दासम्म

आउने आइरहेछ जाने गइरहेछ

फेरिएका छन् फगत हिंड्ने बाटाहरू।

 

लाग्छ, म छु र हिंडिरहेछन यी बाटाहरू

मेरा आँखा छन् र त बदलिइरहेछन् दृश्यहरू

मेरो सास छ र त सुनिएको छ धर्तीको सिम्फोनी

म छु र त संसार छ।

 

म देखिरहेछु,

घरि यहि नै संसार जस्तो गरी चुलिइने अहङ्कार,

म देखिरहेछु घरि केही थिएन जस्तो गरी रित्तिने सम्बन्धहरू

सम्बन्धको शहरमा लोप हुँदै गरेका मुर्छित भावना

कठै! माया लाग्छ आज आफ्नै ।

 

न अपमानको हिसाबकिताबको तिर्न सक्छु,

न त अन्यायको पैमाना गनेर थुपार्न सक्छु!

म त केबल हेरिरहन्छु

हेर्दा हेर्दै दृष्टिमा पानीको पर्दा खस्छ

जसलाई फेरि उघार्न सकिँदैन

मानौं भदौको तीव्र बर्सातले

बलेनीको भल चुलोतिर सोहोरिएको छ

म सँग आफ्नै अञ्जुलीको मात्र सहारा छ भल थेग्न

तर पनि

अहँ! सक्दिन आँखालाई नरो भन्न

किनकि

सबै दृश्यहरू, सबै बाटाहरू, सबै यात्रीहरू

मेरा आँखा छन् र त यो अस्तित्व छ

आँखाले हेर्न अस्वीकार गर्दाको दिन

यी सबै अस्तित्वहीन हुनेछन्

त्यसैले मैले हेर्नुछ

साक्षी भावले आफैले आफ्ना दृश्यहरू।

०००

कवि परिचयः खोटाङमा जन्मेकी मीना श्रेष्ठ २०५३ सालमा पहिलो कविताको प्रकाशनसँगै साहित्यको क्षेत्रमा पदार्पण गरेकी हुन् । उनका “बिस्कुन यो मनको” (२०७०), “फर्गेट एस्टर्डे” (२०७९) दुई कविता सङ्ग्रह प्रकाशित छन् । विद्यार्थी बेलादेखि राजनीतिमा सकृय उनी हाल कोशी प्रदेश सभा सांसद छिन् ।

Leave a Reply