१३ पुस २०८०, काठमाडौं
पारिजात स्मृति केन्द्रले हालै दिवङगत शान्तदासको सम्झनामा उनको योगदानको चर्चा कार्यक्रम “साहित्यमा शान्तदास’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा साहित्यकार शान्तदास मानन्धरका व्यक्तित्वका विविध पाटाहरूमा केन्द्रित रहेर वक्ताहरूले आफ्ना विचारहरू राखेका थिए । विचार राख्ने क्रममा मार्क्सवादी चिन्तक निनु चापागाईले शान्तदास मानन्धरको बाल साहित्यका साहित्यकारका रूपमा बढि चर्चा भए पनि साहित्यका अन्य विधामा पनि महत्वपूर्ण योगदान रहेको बताए ।
चिन्तक रामराज रेग्मीले ‘प्रगतिवादी साहित्य र वाम राजनीतिमा शान्तदासको योगदान’ विषयक आफ्नो विचारपत्र प्रस्तुत गर्दै सत्ताधारीहरूले चिन्न नसके पनि शान्तदास जनताको हृदयमा बस्न सफल भएको बताए ।
साहित्यकार मल्ल के सुन्दरले वि. सं.२०२२ सालदेखि सामाजिक जागरणको अभियानमा शान्तदास जहिले पनि र जस्तोसुकै परिस्थितिमा उत्तिकै सक्रियताका साथ अघि बढेको बताए ।
पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्केले चीनका प्रसिद्ध साहित्यकार लुसुन र शान्तदास मानन्धरका केही स्वभावहरू मिल्दोजुल्दो रहेको आफूलाई लागेको बताए ।
साहित्यकार डा. यादेवि ढकालले शान्तदास मानन्धरले बालसाहित्यमा पुर्याउनुभएको योगदानको विशेष चर्चा गरिन् ।
पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संचालन स्मृतिकेन्द्रका सदस्य सीता शर्माले गरेकी थिइन् ।
