डा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानडा
राजधानीमा धेरै वर्ष काम गरेपछि क्षेत्रीय प्रमुख भएर प्रदेशको क्षेत्रीय कार्यालय धनकुटामा आउने मौका पाएँ । यहाँ आएपछि रमासँग कार्यालयको कर्मचारी अझ भनौं मेरो निजी सचिवका रुपमा परिचय भयो । निजी सचिव भएको नाताले उनलाई मेरो कोठामा पस्न कुनै छेकबार थिएन । धनकुटा आएको साता दिनमा नै ‘सरले घरको खाना मिस गर्नु भएको होला’ भनेर डिनरका लागि निम्त्याएपछि हामीबीच आत्मियता बढ्न थाल्यो । गोरो छाला । चुच्चो नाक । अनि ठूला ठूला आँखा भएकी आकर्षक शारीरिक बनोटले तीस नकाटेकी अविवाहित रमाप्रति सबैको ध्यानाकर्षण जानु स्वभाविकै हो । फेरि मेरो र मेरै लागि काम गर्ने कर्मचारी भएकोले मलाई पनि रमाको साथ मन पर्न थालेको थियो । नयाँ ठाँउमा आएपछि केही दिन होटलमा बसेर एउटा भाडाको घरमा बस्न थालें । छोराको एस.ई.ई. जाँचले गर्दा रञ्जना र छोरालाई काठमाडौंमै छोडेर आउनु परेको थियो । फेरी पढाईको हिसाबले पनि छोरोलाई काठमाडौं छोड्न मिल्दैन्थ्यो । । नयाँ डेरा भएकोले म आफै अल्मलिइरहेको थिएँ । त्यसैले आफुलाई चाहिने अति आवश्यक पर्ने सामानहरु बाहेक मैले केही किनेको थिईन । रञ्जनाले छोराको जाँचपछि यहाँ आएर नयाँ घरलाई मिलाउने बारे कुरा भई सकेको थियो । अहिले चाहिने सामानहरु पनि प्राय: भिडियो कल गरेर रञ्जनालाई देखाएरमात्रै किनेको थिए । घर लिएपछि खाना बनाउन र अरु काम गर्न एकजना केटो कार्यालयका कर्मचारीले खोजी दिएका थिए । पहिलो दिन भान्साका लागि चाहिने सरसामान र मरमसाला सबै किन्नमा रमाले सहयोग गरीदिएकोले सजिलो भएको थियो । अझ भनौं धनकुटामा सरुवा भएर आएपछि मलाई स्थापित गर्नमा रमाले ठूलो सहयोग गर्दै आएकी थिईन् । निजी सचिव भएको नाताले पनि होला मेरो निजी कामहरुमा सहयोग गर्नु परेको थियो । महिलालाई बजार भाउ मिलाउन र खरिददारी गर्न आउने भएकोले घरायसी सामानहरु किन्न पनि प्राय: रमासँगै जाने गर्थे । यसरी हामी बीच निकटता बढ्दै गएको थियो ।
कार्यालयका अन्य कर्मचारीहरुबाट रमा विवाहिता नै हुन् भन्ने गरेको सुनेको थिएँ । यसबारे रमाले भने कहिल्यै मुख खोलिनन् । तर मैले एकपटक सोध्दा बिहे गरेर विदेश गएपछि ऊ कहिल्यै फर्केनन् भनेकी थिईन् । म धनकुटा आएको सातामै घरमा डिनर खुवाएर मीठो स्वाद चखाएपछि डेरामा केटोले बनाएको खानामा एकै प्रकारको स्वाद हुने गरेकोले म बेला बेलामा रमाको घरमा गएर मेजमानी खाने गर्थें । समाजको आँखा जहिले पनि चनाखो हुने गर्छ भन्ने थाहा पाएरै कार्यालयबाट डेरा फर्केपछि मात्रै म रमाको घरमा सुटुक्क जाने गर्थें । कतिसम्म भने म रमाको घरमा भएको बेला रञ्जनाको फोन आउँदा पनि नउठाउने र धेरैपटक म अहिले व्यस्त छु भनेर रञ्जनाको फोन काट्ने गर्थे । क्षेत्रीय प्रमुखको नाताले समय समयमा प्रदेशको राजधानी विराटनगर आउनु पर्ने हुन्थ्यो । विराटनगर आउँदा जोगबनीबाट सामानहरु किनेर ल्याउनु पर्छ भन्दै रमा पनि मसँगै आउने गर्थिन् । विराटनगरमा घर भएकी रमाले मसँग आउँदा आमाबुवा र परिवारसँग भेट गर्ने मौका पाउँथिन भने मैले पनि सहयात्री पाउथें । प्रदेश कार्यालयमा कहिलेकाहीँ मिटिङ्ग लम्बियो भने मलाई उतै होटलमा बस्नु पर्थ्यो । यसरी मसँग आउँदा रमालाई काज मिलाई दिन्थें । विराटनगरको मिटिङ्गमा क्षेत्रीय उपप्रमुख प्रचण्डलाई पनि कहिलेकाहीँ मसँगै आउनु पर्थ्यो । त्यसबेला रमा हुँदैन थिर्ईन् । तर मसँग विराटनगर जाँदा प्रदेशको कार्यालयमा ओर्लेपछि रमालाई मोटर दिएर पठाउँथे ।
धनकुटामा सरुवा भएदेखि रमाले मेरो हेरविचार गर्दै आएकी थिईन् । हामीबीच घनिष्ठता बढ्दै गएकोमा कार्यालयका कर्मचारीहरुले डाहा गर्न थालेको बारे रमाले भनेपछि म अलि सतर्क हुन थालें । एउटा जिम्मेबार हाकिम हुनुका साथै परिवारवाला मान्छे भएकोले कार्यालयमा रमाबाट अलि टाढै बस्नका लागि र कार्यालय समयमा रमासँग धेरै भेटघाट नहोस् भनेर मैले रमालाई प्रशासन शाखाको जिम्मा लगाएर अर्को शाखामा पठाई दिएँ । अर्को महिना छोराको जाँच सिध्याएर रिजल्ट नभएसम्म रञ्जना र छोरा तीन–चार महिनाको लागि बस्ने गरेर आउँदै थिए । रञ्जनाको उपस्थितिमा केही कुरा बाहिर नआओस भनेर सतर्क हुनु परेको थियो । रमालाई पनि खबरदारी गर्दै सतर्क गराएको थिएँ ।
क्षेत्रीय प्रमुख भएर आएको तीन महिनामा नै रमाप्रति आश्रित हुँदै गएको जस्तो लाग्न थाल्यो । यसबारे आफुलाईभन्दा बढी बाहिरकालाई थाहा हुन्छ भनेझैं एकपटक विराटनगर मिटिङ्गमा गाईरहेको बेला कार्यालयका उपप्रमुख प्रचण्डजीले बाटोमा हाकिम साबको बारेमा सुनिएको राम्रो हैन भन्दै रमाको बारेमा भनेपछि म झस्किएको थिएँ । प्रचण्डजीले परिवारबाट टाढा एक्लै बस्नु पर्दा यस्तो हुने गर्छ हाकिम साब तर सतर्क हुन पनि जरुरी हुन्छ भनेपछि मैले आफुलाई रमाबाट अब उपरान्त टाढै राख्ने विचार गर्न थालें ।
एकपटक रमासँग विराटनगर मिटिङ्गमा आउँदा उनले आफ्नो आमाबुवा यहीं भएकोले सरुवा गर्न धेरै प्रयास गरेको तर नपाएको भनेकी थिइन् । तर अब त पाए पनि विराटनगर नबस्ने भनेकी थिईन् । मैले धनकुटाबाट कुनै पनि बेला मलाई विराटनगरको प्रमुखमा बोलाउन सक्छ भनेपछि रमाले त्यसबेला त म पनि सँगै सरुवा हुन्छु भनेको सम्झना छ । रमाबाट छुटकारा पाउन मैले उनको सरुवा विराटनगरमा गराउने निर्णय गरें । अनि बिराटनगर मिटिङ्गमा आएको बेला प्रदेश प्रबन्धकलाई अनुरोध गर्दै मिलाईदिन सिफारिस गर्न थालें ।
यसबारे रमालाई बिराटनगरमा सरुवा मिलाई दिएको बारे भन्दा ‘म त हजुरसँगै सरुवा हुने हो राजा’ भनेको सुनेपछि म एकदमै झस्किएको थिएँ । मलाई लाग्यो म अनैतिक सम्बन्धले बनाएको जालोमा फस्दै गई रहेको छु र यसबाट चाँडै निस्किएन भने म झन्झन् फस्दै जान सक्छु । अनि रमाको पक्ष लिएर बोले जस्तै गरेर, ‘हामी सँगै एकै ठाँउबाट सरुवा भएर अर्को ठाँउमा सँगै गयौं भने सबैलाई झन् शङ्का लाग्न सक्छ’ । ‘फेरी मेरो श्रीमती र छोरा पनि आउँदै छन् । हामी बीचको सम्बन्ध कतै कसैलाई थाहा हुन दिन हुँदैन । तिमी पहिला सरुवा भएर जानु र म दुई–तीन महिनाभित्रै विराटनगरको हाकिम काठमाडौं सरुवा भएलगतै आई हाल्छु नि’ भनेर फकाएको थिएँ । मेरो कुरा सुनेर मसँग रिसाएझैं गरेको देखेपछि मैले फकाउने शैलीमा तिमी बिराटनगर गएपछि म ‘विराटनगर मिटिङ्ग छ भनेर हप्ता–दसदिनमा मिटिङ्गको निहुँ पारेर आई रहन्छु नि’ भनेपछि रमा सरुवा भएर जान मानेकी थिइन् ।
त्यसपछि मैले रमाको सरुवालाई प्राथमिकता दिदै यो प्रक्रिया अगाडि बढाउन आफै लागि परेपछि एकसातामा नै रमा विराटनगर प्रधान कार्यालयमा सरुवा भएर गईन् । सरुवा भएपछि र रञ्जनाहरु आउनु अघि विराटनगर मिटिङ्ग भनेर अन्तिमपटक रमालाई भेटेको थिएँ । त्यसपछि रञ्जना र छोरा आएपछि म आफै व्यस्त भए? ।
रमाले समय समयमा फोन गरेर सरुवा भएर कहिले आउने ? मैले बिर्सेको र उसलेमात्रै फोन गर्ने गरेको गुनासाहरु नसुनाएकी हैनन् । तर त्यसलाई आफ्नो व्यस्तता अनि घरायसी कामलाई निहुँ बनाएर मैले टार्दै अएको थिएँ । निरन्तर रमाको फोन आउन थालेपछि मैले प्रदेश कार्यालय भनेर उसको फोन नम्बर राख्नु पर्यो ।
छोराको रिजल्ट आएपछि रञ्जना छोरालाई लिएर काठमाडौं फर्कने तरखर गर्न थालिन् । छोरालाई राम्रो क्याम्पसमा भर्ना गर्नु पर्ने भएकोले म पनि सँगै जाने भने तापनि कार्यलयको व्यस्तताले गर्दा सँगै जान मिलेन । त्यसदिन रञ्जना र छोरालाई विराटनगर एयरपोर्टमा काठमाडौंको प्लेनमा चढाएर म आफ्नो मोटरमा बसेर रमालाई फोन गर्ने विचारले मोबाईन झिकेको मात्रै थिएँ अचानक फोनको घण्टी बज्न थाल्यो । रमाको फोन थियो । मैले हेलो भन्नासाथ उनले मलाई तुरन्तै भेट्न आउनु भनी । रमाको बोली अलि खरो लागेर मैले के भयो भन्दै आफु अहिले विराटनगरमा नै भएको र भेट्नका लागि तिमीलाई फोन गर्न लागेको भन्न नपाउँदै रमाले झन रुखो स्वरमा ‘म सरुवा भएर आएको तीन महिनासम्म याद आएन, आज मैले फोन गर्दामात्रै याद आयो हैन हाकिमसाब’ भनेर व्यँग्य कस्न थालिन् । मैले विराटनगर आउँदा बस्ने होटलमा आउनु अनि त्यहीँ बसेर कुरा गरौंला भन्दा रमा झन चर्को स्वरमा, होटलमा बोलाएर अझ कति बर्बाद गर्छौ हाकिसाब भनेर रुन थालिन् । मैले सान्त्वना दिंदै, के भयो, एकपटक भेटौं अनि कुरा गरौंला, किन रोएको भनेर सम्झाउन खोज्दा रमा झन मलाई दोष दिदै, मलाई बर्बाद गर्यौ, मलाई बदनाम गरायौं, म अब कसरी मुख देखाउने भनेर नानाथरी भन्न थालिन् । उसको कुरा सुनेर मलाई पनि डर लाग्न थाल्यो । म जतिपटक के भयो भनेर सोध्न खोज्दा ऊ त्यतिनै खरो स्वरमा मलाई सुनाउन थालिन् । उनको कुरा सुनेर म झन तर्सिए । के भयो भन्दै बारम्बार सोध्दा पनि रमा रुनुबाहेक केही बोलिनन् । मलाई एकप्रकारको डर लाग्न थाल्यो । मैले बारम्बार सोधेपछि रमाले ‘आई एम प्रेगेनेन्ट’ भनेको सुनेपछि म स्तब्ध भए । मेरो हातबाट मोबाईल खस्यो । डरले शरीर काप्न थाल्यो । फोन खसेर काटिएको रहेछ । त्यसपछि रमाको फोन आयो । फोन बजे तापनि उठाउने आँटै आएन । यो के भयो भनेर म आफै अनुत्तरित भएको थिएँ ।
म सधैनै युवतीबाट टाढै बस्दै आएको मान्छे । साथीहरुले के के भनेर जिस्काउनसमेत गर्थे । तर म कहिल्यै युवतीको संगतमा परेको थिईंन । पढाईपछि जागिर खाएर राम्रो ओहदामा पुगेपछि आमाबुवाले रोजेको रञ्जनासँग बिहे भएको थियो । बिहे भए लगत्तै छोरा भएपछि दायित्वबोध बढ्दै जान थाल्यो । दाम्पत्य जीवन सुखमय चलिरहेको थियो । बुढानिलकण्ठमा आफ्नै घर बनाएको थिएँ । दुई–चार वर्ष.राजधानी बाहिर काम गरेपछि बाँकी समय राम्रो ओहदोमा काठमाडौंमा बिताउन सकिन्थ्यो । त्यसैले बढुवा भएर धनकुटा आएको थिएँ । धनकुटा आएपछि अचानक रमासँगको सम्बन्ध बाक्लिएपछि आज म परिवार भएर पनि एक्लिएको जस्तो लाग्न थाल्यो । मोबाईलमा रमाको फोन बजिनै रहेको थियो । तर म भने आफैसँग डराई रहेको थिए । आँट गरेर रमाको फोन उठाएँ । हेलो भन्नासाथ उनी ‘अब त फोन पनि नउठाउने हैन’ भनेर कराउन थालिन् । मैले, यो कसरी भयो भनेको मात्र के थिए रमाले अचानक धम्कीको भाषामा बोल्न थालिन् । ‘तँलाई त्यतिकै कहाँ छोड्छु’ भनेर कराउन थालिन । उनका धम्कीपुर्ण गालिगलौंजका शब्दहरु सुन्न पनि गाह्रो पर्न थालेपछि मैले फोन काटी दिएँ । रमाको फोन लगातार आईरहेको थियो तर मैले उठाईंन ।
सरुवा भएर धनकुटा आएपछि रमासँग गाँसिएका दिनहरुलाई एकएक गर्दै केलाएर हेर्ने प्रयास गर्न थालें । मैले कता बिराएँ ? यही खोज्न थालें । हामीबीच सम्बन्ध भएका दिनहरुलाई सम्झदै केलाउन थालें । कहिल्यै कतै पनि असतर्कता गरेको जस्तो लागेन । म आफै पनि यसमा प्रतिबध्द थिएँ । म बहकिरहेको थाहा हुँदाहुँदै पनि मसँग मेरो प्रतिष्ठा पनि गाँसिएको थियो । त्यसैले सतर्कतालाई प्राथमिकता दिएरै रमासँग सम्बन्ध गाँसेको थिए । कतै म पनि चुकेकै हो त ? भन्नेमा म आफै विश्वस्त थिईन । त्यसपछि मैलेनै रमालाई फोन गरेर ‘मलाई केही समय देऊ अनि म यसबारे कुरा गर्छु’ भनेको मात्र थिएँ, रमाचाहीँ चर्को स्वरमा बोलीनै रहेकी थिईन् । अनि मैले बीचमा नै फोन काटी दिएँ ।
विराटनगरबाट धनकुटा पुगेपछि मैले प्रचण्डजीलाई फोन गरेर घरमै बोलाएँ । धनकुटामा मेरो विश्वासको पात्र वहाँमात्रै हुनु हुन्थ्यो । वहाँले मलाई सतर्क गराएपछि रमासँगको सम्बन्धको अध्यायनै बन्द गराएर रमालाई विराटनगर पठाएको थिएँ । प्रचण्डजी आएपछि मैले सबै कुरा बताएँ । वहाँले मलाई यसैको डर थियो भनेपछि म झसङ्ग भएँ । रमाको चरित्रमाथि प्रकाश पार्दै प्रचण्डजीले रमाको सम्बन्ध यस कार्यालयका पहिलेका लेखापालसँग रहेको बारे कार्यालयभरी नै हल्ला चलेपछि लेखापाल रातारात सरुवा भएर गएपछि रमाको सम्बन्ध धनकुटाका व्यापारी जानकी सप्लाएरका साहुजीसँग रहेको बारे पनि हल्ला चलेको बताउनु भयो । रमाले मभन्दा अघिका क्षेत्रीय प्रमुखलाई पनि नचाउन खोजेको बारे प्रचण्डजीले भनेपछि मलाई आफैसँग घृणा लाग्न थाल्यो । मैले प्रचण्डजीलाई ठोकुवा गरेर हामीबीचको सबै सम्बन्ध सतर्कताका साथ भएकोमा आफु विश्वस्त भएको बताएपछि प्रचण्डजीले मलाई मेरो डि.एन.ए. टेस्ट गराउने सल्लाह दिनु भयो । अनि यसबारे रमालाई पनि जानकारी गराउनु भनेपछि मलाई उनको सल्लाह उपयुक्त लाग्यो । प्रचण्डजीको सल्लाह पाएपछि मन केही हलुको भयो । तर मलाई वनको बाघले नखाए पछि मनको बाघले खाईरहेको थियो । म कतै चुकें कि भनेर आफैलाई दोषी बनाएको थिए । यो डि.एन.ए. टेस्टका बारेमा कतै हल्ला नहोस् भनेर प्रचण्डजीलाई अनुरोध गर्दै मसँगै जाने बाचा पनि गराएँ । प्रचण्डजीकै सल्लाहमा जोगबनीमा गएर डि.एन.ए. टेस्ट गराउने भयौं ।
त्यस रात मलाई निन्द्रानै लागेन । डेरामा पुगेपछि रञ्जना र छोरासँग काठमाडौंमा कुरा गरेर भोलीदेखि तीनचार दिनका लागि फिल्डमा जानु पर्ने भएकोले नेटवर्क नभएर फोन नलाग्न सक्छ त्यसैले फोन न गर्नु, म आफै गर्छु भनेर रञ्जनालाई ढाटें । अनि भोलिपल्ट बिहानै प्रचण्डजीलाई लिएर हामी बिराटनगरतिर लाग्यौं । मोटर बिराटनगरमै छोडेर हामी जोगबनी आयौं । जोगबनीमा डि.एन.ए. टेस्ट गर्ने ठाँउ नपाएपछि त्यहाँ भएको एउटा क्लिनिकबाट फारेवेसजगञ्जको ठेगाना पायौं । कार्यालयका दुवै हाकिम लगातार अनुपस्थित हुँदा नराम्रो हुने देखेर मैले प्रचण्डजीलाई मोटर लिएर धनकुटा जानु र मोटर फर्काउन भनेर म फारेवेसजगञ्जतिर लागें । फारेवेसजगञ्जमा खोज्दै ब्लु हेबेन पोली क्लिनिक पुगें । केही समयपछि डि.एन.ए. टेस्ट गराएर रिजल्ट भोली बिहान पाउने भनेपछि त्यस दिन त्यहीँ होटलमा बसे ।
भोलीपल्ट बिहान डि.एन.ए. टेस्टको नतिजा लिन पोलीक्लिनि आए । पोलीक्लिनिकको रिसेप्सनिष्टले मेरो रिपोर्ट दिदै मलाई डा. सन्तोष सिन्हालाई भेट्न पठायो । डा. सिन्हाले मेरो रिपोर्ट हेरेर मलाई सान्त्वना दिंदै, अरु माध्यमबाट पनि सन्तान पाउन सकिन्छ भनेको सुनेपछि म झस्किएँ । के भनेको डाक्टर भनेर उनलाईनै प्रतिप्रश्न गर्न थालें । डा. सिन्हाले मलाई पुरुष प्रजनन समस्याहरुमा कम शुक्रकीट मुख्य कारण हुने गर्दछ । तर कम शुक्रकीट भएकाहरुले पनि गर्भधारण गराउँछन् । तर तपाईको शुक्राणु गणना अर्थात शुक्राणु एकाग्रता कम भएकोले सफलतापूवर्क गर्भधारण गर्न सक्षम हुने सम्भावता एकदमै कम छ भनेपछि म एकैछिन् स्तब्ध भएँ । मौन भएर डाक्टरको कुरा सुन्दै रिपार्ट नियाल्न थाले । डा. सिन्हा मलाई सान्तोना दिंदै सन्तान प्राप्तिको ग्यारेण्टी दिन थाले । मैले डा. सिन्हालाई एकपटक फेरी डि.एन.ए. टेस्ट गराउन अनुरोध गरे । उनले मेरो अनुरोध स्वीकारेर मलाई ल्याबमा पठाउनु भयो । ल्याबमा टेस्ट गराएर म फेरी होटल फर्कें । प्रचण्डजीलाई फोन गरेर समय लाग्ने भएकोले रिजल्ट भोलीमात्र आउने भनेर ढाटें । दिनभरी आफुलाई होटलको कोठामा कैंद गरेर आफ्नो अतीत ब्युत्याउँन थालें । आजको रिजल्ट गल्ति भएको भन्ने शब्द सुन्न म आतुर थिए । अनि भोलीपल्ट बिहान पनि त्यहीँ डा. सिन्हा र डि.एन.ए. टेस्टको नेगेटिभ रिजल्टसँगै डाक्टरको बाउ बन्न सक्ने सम्भावना र उपायका लेक्चर सुनेर पोलीक्लिनिकबाट निस्कें । त्यहीँबाट म जोगबनी हुँदै बिराटनगर पुगें । बिराटनगरबाट रञ्जनालाई फोन गरेर फिल्डबाट बिराटनगर पुगेको र धनकुटा पुगेपछि फोन गर्ने भनेर जानकारी दिएँ । रञ्जनाले छोरा सेन्ट जेभियर्समा नाम निकाल्ला जस्तो छ भनिन् । मैले कुनै प्रतिक्रिया दिईंन । अनि त्यहीँबाट रमालाई फोन गरेर आफुले डि.एन.ए. टेस्ट गराएको र उसलाई पनि डि.एन.ए. टेस्ट गराउनु भन्दै मेरो डि.एन.ए. टेस्टको रिजल्ट कता पठाऊँ भन्न नपाउँदै रमाले फोन राखीन् ।
बाटोभरी मलाई मेरो डि.एन.ए. को रिजल्टले जिस्काई रहेको थियो । एकातिरबाट मुक्ती पाएको थिएँ भने अर्कोतिरबाट एउटा प्रश्न मेरो अगाडि तेर्सिएको थियो । बाटोमै प्रचण्डजीको फोन आएपछि मैले आफ्नो पुरुषार्थ देखाउँदै रमालाई फोन गरेको र डि.एन.ए. टेस्टको रिजल्ट कता पठाऊ भनेपछि रमाले फोन काटी दिएको सुनाएपछि प्रचण्डजीले गुड, अब केही हुँदैन हाकिमसाब ल आएर भेटौ भनेर फोन राख्नु भयो । अघि रञ्जनासँग राम्ररी कुरा नभएकोले होला रञ्जनाको फोन बारम्बार आई रहेको थियो । तर मलाई फोन उठाउने आँटै आएन । के भनुँ ? के सोधुँ ? तिम्रो छोराको एडमिसन सेन्ट जेभियर्समा भयो भनेर सोधुँ कि हाम्रो छोराको एडमिसन कता भयो भनेर सोधौं । बाटोभरी मैले आफैलाई प्रश्न गर्दै गएँ । मनमा अनुत्तरित प्रश्नहरु एकपछि अर्को गर्दै आई रहेको थियो । अन्त्यमा आफ्नो सुखमय पारिवारिक जीवनलाई निरन्तरता दिनका लागि विराटनगरको प्रान्तीय प्रमुख बन्ने ईच्छालाई थाति राखेर काठमाडौंमा परीवारसँगै उपप्रमुख भएर बस्ने निर्णय गरे । अनि रञ्जनालाई फोन गरेर परीवारसँग अलग बस्न गाह्रो हुँदो रहेछ । त्यसैले अब काठमाडौंमा नै सरुवा गराएर आउने विचार सुनाएपछि रञ्जनाले “आई लभ यु” भन्दै फोन राखीन् ।
०००
कथाकार परिचयः गोविन्द सिं रावत भारतको शिलाङमा जन्मेका हुन् र लामो समय नेपाल बसाई पछि हाल टोरण्टो क्यानाडावासी भएका छन् । विसं २०३७ मा “लामखुट्टे उपीया एण्ड रेट”, व्यग्ँय जुनकिरी साप्ताहिकमा प्रकाशनका साथ नेपाली साहित्य जगतमा उदाएका उनी कविता, कथा, नाटक, समालोचना, निबन्ध, अनसन्धानात्मक लेख, नियात्रा आदि विधामा कलम चलाउँछन् । उनका “पूर्वाञ्चल भारतको नेपाली कविताः एक सर्वेक्षण” (अनुसन्धान कृति)१९८६, सडक नाटक संग्रह (सडक नाटक) २०५७, विश्वरङ्गमञ्चमा सडक नाटक परम्परा (अनुसन्धान कृति) २०७०, नेता (नाटक संग्रह) २०७०, गङ्गा (कथा संग्रह) २०७१, आप्रवास साहित्य विचरण (समीक्षा संग्रह) २०७६ कृतिहरु प्रकाशित छन् ।
